+
+
Shares
संस्कृति :

प्रतियोगितामा नखुम्चियोस् झिझिया

झिझिया केवल हामीले प्रस्तुत गर्ने नृत्य होइन। यो हामीले पुर्खाबाट पाएको सम्पदा, समुदायसँग बाँड्ने ज्ञान र आगामी पुस्तालाई हस्तान्तरण गर्नुपर्ने साझा जिम्मेवारी हो।

अभिलेष बिनित कर्ण अभिलेष बिनित कर्ण
२०८३ असोज ३० गते ९:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मधेशमा दशैँ नजिकिँदै गर्दा झिझिया प्रतियोगिता बढिरहेका छन्, तर यसको उद्देश्य संस्कृति संरक्षण हो कि पुरस्कार र राजनीतिक लोकप्रियता भन्ने प्रश्न उठेको छ।
  • लेखले झिझियालाई मिथिलाको जीवित सांस्कृतिक परम्परा भन्दै यसको गीत, अर्थ, इतिहास र अग्रज ज्ञान नयाँ पुस्तासम्म पुर्‍याउनुपर्नेमा जोड दिएको छ।
  • स्थानीय सरकार, विद्यालय, सांस्कृतिक समिति र अभिभावकले झिझिया संरक्षणलाई वर्षभरि चल्ने सिकाइ, अभिलेखीकरण र पारदर्शी सार्वजनिक बजेटसँग जोड्नुपर्ने सुझाव दिइएको छ।

दशैँ नजिकिँदै जाँदा मधेशका गाउँबस्तीमा झिझियाको रौनक बढ्न थाल्छ। गाउँका गल्लीहरूमा गीत गुञ्जिन थाल्छन्, बालबालिका र युवायुवतीहरू अभ्यासमा जुट्छन् अनि विभिन्न टोल र बस्तीमा झिझियाको तयारी सुरु हुन्छ। यो केवल नाचगानको समय होइन, मिथिलाको संस्कृति, सामुदायिक सम्बन्ध र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको परम्परा सम्झने समय पनि हो।

तर आज हामीले एउटा महत्त्वपूर्ण प्रश्न सोध्नुपर्ने बेला आएको छ, के हामी झिझियालाई जीवित सांस्कृतिक परम्पराका रूपमा जोगाउँदै छौँ? वा यसलाई पुरस्कारको रकम, प्रतिस्पर्धा र राजनीतिक लोकप्रियताको माध्यम बनाउँदै छौँ?

यो प्रश्न सोध्नुको उद्देश्य झिझिया प्रतियोगिता बन्द गर्नु होइन । बालबालिका र युवाहरूले प्रतियोगितामा भाग लिनु गलत हो भन्ने पनि होइन। बरु, झिझियाको नाममा भइरहेका गतिविधिले हाम्रो संस्कृतिको जरा कति बलियो बनाइरहेको छ र नयाँ पुस्तालाई यसको वास्तविक महत्त्व बुझाउन कति सफल भइरहेको छ भन्ने विषयमा गम्भीर छलफल गर्नुपर्ने आवश्यकताबारे हो।

झिझिया केवल नाच होइन, हाम्रो पहिचान हो

झिझिया नेपाल र भारतको मिथिला क्षेत्रमा प्रचलित परम्परागत लोकनृत्य हो। विशेषगरी दशैँ र देवी दुर्गाको आराधनासँग यसको सांस्कृतिक सम्बन्ध जोडिएको छ। परम्परागत रूपमा महिला तथा किशोरीहरूले टाउकोमा प्वाल पारिएको माटोको घैँटो राखेर त्यसमा बत्ती बाल्दै झिझिया नाच्ने चलन छ। घैँटोका प्वालबाट निस्कने प्रकाश, लोकगीतको लय, नृत्यको ताल र सामूहिक सहभागिताले झिझियालाई विशिष्ट बनाउँछ।

झिझियासँग बालबालिका, परिवार र समुदायलाई नकारात्मक शक्तिबाट जोगाउने जनविश्वास पनि जोडिएको पाइन्छ। यस्ता विश्वासलाई हाम्रो सांस्कृतिक लोकपरम्पराको हिस्साका रूपमा बुझ्नुपर्छ। यसले हाम्रो समाजको धार्मिक आस्था, लोकविश्वास र सांस्कृतिक चेतनालाई प्रतिबिम्बित गर्छ।

झिझियाको महत्त्व यसको बाहिरी प्रस्तुतिमा मात्र सीमित छैन। यसमा मिथिलाको जीवनशैली, महिलाहरूको सांस्कृतिक भूमिका, लोकगीत, सामुदायिक एकता र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको ज्ञान समेटिएको छ।

विगतमा झिझियाका गीत, नाच्ने शैली र परम्परागत अभ्यास नयाँ पुस्ताले आफ्ना अग्रजहरूबाट सिक्थे। बालबालिकाले घरपरिवारका सदस्य र गाउँका महिलाहरूलाई हेरेर, गीत सुनेर र सामुदायिक उत्सवमा सहभागी भएर संस्कृतिबारे बुझ्थे। यो ज्ञान सधैँ पुस्तकमा लेखिएको हुँदैनथ्यो; मानिसका स्मृति, आवाज, व्यवहार र सामूहिक जीवनमा जीवित रहन्थ्यो।

यही झिझियाको वास्तविक शक्ति हो। यो केवल मञ्चमा देखाइने प्रस्तुति होइन, हाम्रो सामूहिक स्मृति र सांस्कृतिक पहिचानको हिस्सा हो।

मोनिका मोटिनको सन् २०२४ मा प्रकाशित ‘प्राग्मेटिज्म–एक्टिङ एन्ड द रिभाइभल अफ फिलोसफी इन काठमाडौं’ नामक अध्ययनले जनकपुरधाममा झिझियाको पुनरुत्थान, सांस्कृतिक संस्थाहरूको भूमिका र युवाहरूको सहभागितालाई केलाएको छ। त्यस्तै, सन् २०२१ मा प्रकाशित सञ्जीव कुमार मिश्रले गरेका अध्ययनमा झिझियालाई मिथिलाको जीवित सांस्कृतिक परम्पराका रूपमा चर्चा गरेको छ।

यी अध्ययनले हामीलाई एउटा महत्त्वपूर्ण कुरा सम्झाउँछ- संस्कृति जोगाउनु भनेको त्यसलाई देखाइरहनु मात्र होइन, त्यसको ज्ञान र अर्थलाई पनि नयाँ पुस्तासम्म पुर्‍याउनु हो।

परम्पराबाट प्रतियोगितातर्फ: के परिवर्तन हुँदै छ?

आज मधेशका विभिन्न ठाउँमा दशैँको समयमा झिझिया प्रतियोगिताहरू आयोजना हुने क्रम बढिरहेको देखिन्छ। विभिन्न सांस्कृतिक समिति र युवा समूहहरूले कार्यक्रम आयोजना गर्छन्। कतिपय ठाउँमा स्थानीय सरकारले आर्थिक सहयोग तथा पुरस्कारको व्यवस्था पनि गर्छन्। केही ग्रामीण क्षेत्रमा एउटै गाउँपालिका वा नगरपालिकाका विभिन्न वडामा समेत झिझिया प्रतियोगिता आयोजना हुने गरेको स्थानीय अनुभव सुनिन्छ।

पहिलो दृष्टिमा यो सकारात्मक देखिन्छ। यस्ता कार्यक्रमले युवाहरूलाई अवसर दिन सक्छन्, सांस्कृतिक गतिविधिमा आकर्षण बढाउन सक्छन् र समुदायलाई एकै ठाउँमा ल्याउन सक्छन्। आर्थिक स्रोतको अभावमा कार्यक्रम गर्न नसक्ने सांस्कृतिक समूहहरूका लागि स्थानीय सरकारको सहयोग उपयोगी पनि हुन सक्छ।

तर, यहाँ प्रश्न कार्यक्रम कति भए भन्ने मात्र होइन। मुख्य प्रश्न हो—यी कार्यक्रमबाट नयाँ पुस्ताले आफ्नो संस्कृतिबारे के कति ज्ञान हासिल गरिरहेका छन्?

हामी हरेक वर्ष झिझिया नाचिरहेको देख्न सक्छौँ। गीत र संगीत पनि सुनिरहन सक्छौँ। प्रतियोगिता पनि बढिरहन सक्छन्। तर परम्परागत गीतका जानकार, पुराना कलाकारका अनुभव र समुदायमा जीवित सांस्कृतिक अभ्यास हराउँदै गए भने त्यो हाम्रो ठूलो सांस्कृतिक क्षति हुनेछ। प्रतियोगिताको संख्या बढ्दै जानु मात्र संस्कृतिको संरक्षण भएको प्रमाण होइन।

जब प्रतियोगिताको मुख्य आकर्षण पुरस्कारको रकम, जित्ने होड, दर्शकको भीड र व्यक्तिगत चर्चा बन्छ, तब संस्कृतिको वास्तविक अर्थ पछाडि पर्न थाल्छ।

एकजना बालबालिकाले झिझियाको नृत्य सिक्न सक्छ, परम्परागत पोसाक लगाउन सक्छ र मञ्चमा राम्रो प्रस्तुति दिन सक्छ। तर, उसलाई झिझिया किन मनाइन्छ, यसका गीतहरूको अर्थ के हुन्, माटोको घैँटोको सांस्कृतिक महत्त्व के हो र विगतका पुस्ताले यसलाई कसरी मनाउँथे भन्ने कुरा सिक्ने अवसर नै दिइएन भने हाम्रो प्रयास अधुरो रहन्छ।

यसका लागि बालबालिकालाई दोष दिन मिल्दैन। उनीहरूलाई जस्तो अवसर र वातावरण दिइन्छ, उनीहरूले त्यसैअनुसार ज्ञान हासिल गर्छन् र सहभागी हुन्छन्। यदि हामीले कार्यक्रमलाई पुरस्कार जित्ने प्रतिस्पर्धाका रूपमा प्रस्तुत गर्छौँ भने उनीहरू पुरस्कारतर्फ आकर्षित हुनु स्वाभाविक हो।

यदि हामीले संस्कृतिको ज्ञान र सिकाइलाई महत्त्व दिन्छौँ भने उनीहरूले आफ्नो परम्परालाई बुझ्ने अवसर पाउँछन्। समस्या बालबालिकाले प्रतियोगितामा भाग लिनु होइन; उनीहरूलाई आफूले प्रस्तुत गरिरहेको संस्कृतिको अर्थ बुझ्ने अवसर नदिनु हो। मञ्चमा देखाइने नाच केही मिनेटको हुन सक्छ, तर त्यससँग जोडिएको सांस्कृतिक ज्ञान पुस्तौँसम्म जीवित रहनुपर्छ।

संस्कृति संरक्षण कि राजनीतिक लोकप्रियताको माध्यम?

यस विषयको अर्को महत्त्वपूर्ण पक्ष स्थानीय सरकार र राजनीतिसँग सम्बन्धित छ। स्थानीय सरकारको जिम्मेवारी सडक, भवन र भौतिक पूर्वाधार निर्माणमा मात्र सीमित हुँदैन। स्थानीय भाषा, लोककला, संस्कृति र परम्पराको संरक्षण गर्नु पनि उसको महत्त्वपूर्ण दायित्व हो।

त्यसैले झिझियाजस्ता सांस्कृतिक गतिविधिमा सार्वजनिक बजेट खर्च गर्नु आफैँमा गलत होइन। बरु, संस्कृति संरक्षणमा सार्वजनिक लगानी बढ्नुपर्छ। तर, त्यो लगानीको उद्देश्य के हो भन्ने प्रश्न महत्त्वपूर्ण हुन्छ।

यदि सांस्कृतिक कार्यक्रमको सहयोग समुदायको सांस्कृतिक पहिचान जोगाउन, नयाँ पुस्तालाई सिकाउन र परम्परागत ज्ञान हस्तान्तरण गर्न प्रयोग हुन्छ भने त्यसले दीर्घकालीन लाभ दिन्छ। तर यदि त्यही सहयोग मुख्यतः राजनीतिक लोकप्रियता बढाउन, आफ्नो प्रभाव देखाउन वा आगामी निर्वाचनका लागि जनसमर्थन बलियो बनाउन प्रयोग हुन थाल्यो भने संस्कृतिको मूल उद्देश्य ओझेलमा पर्न सक्छ।

कार्यक्रम आयोजना हुन्छ, मञ्च सजिन्छ, पुरस्कार वितरण गरिन्छ, तस्बिर खिचिन्छन् र सामाजिक सञ्जालमा चर्चा हुन्छ। तर कार्यक्रम सकिएपछि झिझियाको परम्परागत ज्ञान जोगाउन के गरियो भन्ने प्रश्न अनुत्तरित रहन सक्छ। यहाँ सबै जनप्रतिनिधि वा सांस्कृतिक समितिमाथि आरोप लगाउनु उचित हुँदैन।

कुनै स्थानीय सरकारले आर्थिक सहयोग गरेको आधारमा मात्रै त्यसलाई राजनीतिक स्वार्थसँग जोड्न पनि मिल्दैन। सार्वजनिक बजेटको दुरुपयोग वा निर्वाचनमुखी प्रयोग भएको निष्कर्ष निकाल्न बजेट, खर्च विवरण, निर्णय प्रक्रिया र कार्यक्रमको वास्तविक उद्देश्यसम्बन्धी प्रमाण आवश्यक हुन्छ। तर यस सम्भावनाबारे सार्वजनिक बहस हुनु आवश्यक छ।

मधेशको पहिचान यहाँका भाषा, लोकगीत, चाडपर्व, कला, परम्परा र सामुदायिक जीवनसँग जोडिएको छ। झिझिया यही सांस्कृतिक पहिचानको एउटा महत्त्वपूर्ण हिस्सा हो। यसको भविष्य हामीले वर्षमा कति पटक नाच्यौँ भन्ने कुराले मात्र निर्धारण गर्दैन। नयाँ पुस्ताले यसलाई कति बुझ्यो, कति आत्मसात् गर्‍यो र आगामी पुस्तासम्म पुर्‍याउन कति सक्षम भयो भन्ने कुराले निर्धारण गर्छ।

स्थानीय सरकारले सांस्कृतिक ज्ञान र परम्परा जोगाउन लगानी गरिरहेको छ कि देखिने कार्यक्रम आयोजना गर्न मात्र प्राथमिकता दिइरहेको छ? सांस्कृतिक समितिहरूलाई परम्परागत गीत, स्थानीय इतिहास र पुस्तान्तरणमा जोड दिन प्रोत्साहित गरिएको छ कि उनीहरूको सफलता पुरस्कार र भीडका आधारमा मापन भइरहेको छ? सार्वजनिक बजेटले दीर्घकालीन सांस्कृतिक सम्पदा निर्माण गरिरहेको छ कि केही घण्टाको कार्यक्रममै सीमित भइरहेको छ?

यी प्रश्न उठाउनु कसैको विरोध गर्नु होइन। यो सार्वजनिक स्रोतको सदुपयोग र सांस्कृतिक उत्तरदायित्वको विषय हो। संस्कृतिले जनप्रतिनिधि र समुदायबीचको सम्बन्ध बलियो बनाउनुपर्छ, संस्कृति आफैँ राजनीतिक लोकप्रियता प्रदर्शन गर्ने मञ्च बन्नु हुँदैन। पुरस्कार जित्ने उत्साहभन्दा संस्कृति बुझ्ने अवसर ठूलो हो।

कल्पना गरौँ, एउटा बालबालिका झिझिया प्रतियोगितामा सहभागी हुन्छ। उसले धेरै दिन अभ्यास गर्छ, राम्रो प्रस्तुति दिन्छ र पुरस्कार जित्ने आशा राख्छ। परिवार खुसी हुन्छ, साथीहरूले प्रशंसा गर्छन् र गाउँमा उत्साहको वातावरण बन्छ। यसमा कुनै समस्या छैन।

तर, त्यही बालबालिकालाई केही सरल प्रश्न सोधौँ— हामी दशैँमा झिझिया किन नाच्छौँ? यसका परम्परागत गीतहरूको अर्थ के हो? माटोको घैँटो किन प्रयोग गरिन्छ? हाम्रा अग्रजहरूले झिझिया कसरी मनाउँथे? यदि नयाँ पुस्तालाई यी प्रश्नबारे सोच्ने, सोध्ने र सिक्ने अवसर नै दिइएको छैन भने हामीले आफ्नै कार्यक्रमको उद्देश्यबारे पुनर्विचार गर्नुपर्छ।

हरेक बालबालिकाले झिझियाको सम्पूर्ण इतिहास जान्नैपर्छ भन्ने होइन। संस्कृति सिक्ने प्रक्रिया क्रमिक हुन्छ। तर सांस्कृतिक कार्यक्रमको सफलता केवल कति पुरस्कार वितरण गरियो, कति समूह सहभागी भए र कति दर्शक आए भन्ने आधारमा मापन गरिन्छ भने त्यसले सांस्कृतिक सिकाइलाई पर्याप्त महत्त्व दिँदैन। यसरी नै बिस्तारै संस्कृतिको बाहिरी स्वरूप बाँकी रहन सक्छ, तर त्यसको भित्री अर्थ नयाँ पुस्ताका लागि अपरिचित बन्न सक्छ।

हामी हरेक वर्ष झिझिया नाचिरहेको देख्न सक्छौँ। गीत र संगीत पनि सुनिरहन सक्छौँ। प्रतियोगिता पनि बढिरहन सक्छन्। तर परम्परागत गीतका जानकार, पुराना कलाकारका अनुभव र समुदायमा जीवित सांस्कृतिक अभ्यास हराउँदै गए भने त्यो हाम्रो ठूलो सांस्कृतिक क्षति हुनेछ। प्रतियोगिताको संख्या बढ्दै जानु मात्र संस्कृतिको संरक्षण भएको प्रमाण होइन।

विगतको सम्मान गरौँ, तर परिवर्तनसँग डराउनु हुँदैन

संस्कृति संरक्षणको अर्थ हरेक परिवर्तनको विरोध गर्नु पनि होइन। परम्परा समयसँगै परिवर्तन हुँदै आएका छन्। समाजको आवश्यकता, जीवनशैली र नयाँ पुस्ताको रुचिअनुसार सांस्कृतिक अभ्यासमा पनि परिवर्तन आउन सक्छ।

मञ्चमा प्रस्तुति दिनु, आधुनिक ध्वनि प्रणाली प्रयोग गर्नु, प्रतियोगिता आयोजना गर्नु वा नयाँ पुस्तालाई सहभागी गराउनु आफैँमा गलत होइन। बरु, यस्ता माध्यमले झिझियालाई नयाँ दर्शकसम्म पुर्‍याउन र युवाहरूको रुचि बढाउन मद्दत गर्न सक्छन्।

जनकपुरधाममा झिझियाको पुनरुत्थानबारे गरिएको अध्ययनले सांस्कृतिक संस्था र युवाहरूले यस परम्परालाई सार्वजनिक जीवनमा पुनः स्थापित गर्न खेलेको भूमिकालाई पनि उजागर गरेको छ। यसले आधुनिक माध्यम र परम्परागत संस्कृतिबीच अनिवार्य रूपमा द्वन्द्व हुनुपर्छ भन्ने देखाउँदैन। मुख्य कुरा परिवर्तनको दिशा हो।

संस्कृतिलाई समयअनुसार विकसित बनाउने परिवर्तन सकारात्मक हो; तर त्यसको अर्थ, ज्ञान र सामुदायिक स्वामित्व कमजोर बनाउने परिवर्तनबारे हामी सचेत हुनुपर्छ। यदि प्रतियोगितामा परम्परागत गीत, सांस्कृतिक इतिहास, अग्रज कलाकारसँगको संवाद र नयाँ पुस्ताका लागि सिकाइका अवसर समावेश गरिए भने प्रतियोगिता नै संस्कृति संरक्षणको राम्रो माध्यम बन्न सक्छ। तर यदि ध्यान पुरस्कार, मञ्चको सजावट, प्रस्तुति र लोकप्रियतामा मात्र केन्द्रित भयो भने कार्यक्रम मनोरञ्जनपूर्ण त बन्न सक्छ, तर सांस्कृतिक संरक्षणमा यसको योगदान सीमित रहन सक्छ।

हामीले युवाहरूलाई झिझियाबाट टाढा राख्ने होइन। झिझियासँग उनीहरूको सम्बन्ध अझ गहिरो बनाउने हो।

स्थानीय सरकारले अब के गर्नुपर्छ?

यदि मधेशका स्थानीय सरकारले झिझियालाई साँच्चिकै जोगाउन चाहन्छन् भने दशैँको समयमा अनुदान र पुरस्कार वितरण गरेर मात्र आफ्नो जिम्मेवारी पूरा भएको ठान्नु हुँदैन। संस्कृति संरक्षणलाई सिकाइ, अभिलेखीकरण, सामुदायिक सहभागिता र पुस्तान्तरणसँग जोड्नुपर्छ।

१. हरेक प्रतियोगितामा सांस्कृतिक ज्ञानलाई पनि महत्त्व दिऔँ

नृत्य प्रतियोगितासँगै झिझियाको इतिहास, सांस्कृतिक महत्त्व, परम्परागत गीत र अभ्यासबारे छोटो प्रस्तुति राख्न सकिन्छ। सहभागी बालबालिकालाई गीतको अर्थ बुझ्ने, परम्परागत बाजाबारे जान्ने र झिझियासँग जोडिएका स्थानीय कथाहरू सुन्ने अवसर दिनुपर्छ।

प्रतियोगिताको मूल्याङ्कनमा नृत्यको प्रस्तुति मात्र होइन, संस्कृतिबारेको ज्ञानलाई पनि स्थान दिन सकिन्छ।

२. अग्रज र नयाँ पुस्ताबीच सम्बन्ध जोडौँ

स्थानीय सरकारले अनुभवी झिझिया कलाकार, विशेषगरी यस परम्परालाई लामो समयदेखि निरन्तरता दिँदै आएका महिलाहरूको ज्ञानलाई सम्मान गर्नुपर्छ।

उनीहरूको अनुभव, गीत र नृत्य सिक्न बालबालिका तथा युवाहरूका लागि नियमित कार्यशाला आयोजना गर्न सकिन्छ। अग्रज कलाकारलाई केवल कार्यक्रममा नाच्न बोलाउने होइन, उनीहरूलाई सांस्कृतिक ज्ञानका शिक्षक र संरक्षकका रूपमा पहिचान गर्नुपर्छ।

३. लोप हुँदै गएको ज्ञानलाई अभिलेखीकरण गरौँ

हरेक वडा वा स्थानीय तहले विद्यालय, सांस्कृतिक समिति र समुदायसँग मिलेर झिझियाका परम्परागत गीत, स्थानीय भिन्नता, पुराना अभ्यास र अग्रजका अनुभव अभिलेख गर्न सक्छन्।

गीतको अडियो तथा भिडियो रेकर्ड, स्थानीय कलाकारको मौखिक इतिहास र सांस्कृतिक अभ्यासको विवरण तयार गरेर सामुदायिक अभिलेखालय निर्माण गर्न सकिन्छ। यस्ता सामग्री विद्यालय र सांस्कृतिक कार्यक्रममा प्रयोग गर्न सकिन्छ। यो काम गर्दा ज्ञानका वास्तविक जानकारहरूको सहमति, सहभागिता र स्वामित्वको सम्मान गर्नुपर्छ।

४. सार्वजनिक बजेट पारदर्शी बनाऔँ

स्थानीय सरकारले सांस्कृतिक कार्यक्रमका लागि छुट्याइएको बजेट, सहयोग प्राप्त गर्ने समितिको छनोट प्रक्रिया, खर्चको विवरण र कार्यक्रमको उद्देश्य सार्वजनिक गर्नुपर्छ।

अनुदान वितरण राजनीतिक निकटता वा व्यक्तिगत सम्बन्धका आधारमा होइन, स्पष्ट मापदण्ड र सांस्कृतिक आवश्यकताका आधारमा हुनुपर्छ। समितिहरूले कति रकम खर्च गरे भन्ने मात्र होइन, संस्कृतिको संरक्षण र सिकाइमा के योगदान गरे भन्ने कुरा पनि देखाउन सक्नुपर्छ।

५. सफलताको मापदण्ड बदलौँ

झिझिया कार्यक्रमको सफलता कति वडा सहभागी भए, कति दर्शक आए वा कति पुरस्कार वितरण गरियो भन्ने आधारमा मात्र मापन गर्नु हुँदैन।

कति बालबालिकाले परम्परागत गीत सिके? कति अग्रज कलाकार सहभागी भए? कति गीत र सांस्कृतिक अभ्यास अभिलेखीकरण गरिए? कार्यक्रम सकिएपछि पनि कति समूहले नियमित रूपमा झिझिया सिक्ने र अभ्यास गर्ने काम जारी राखे?

यी प्रश्नलाई पनि मूल्याङ्कनको हिस्सा बनाउनुपर्छ।

६. बालबालिकालाई संस्कृतिको सक्रिय संरक्षक बनाऔँ

बालबालिकालाई निर्देशनअनुसार नाच्ने कलाकारका रूपमा मात्र हेर्नु हुँदैन। उनीहरूलाई प्रश्न सोध्न, अग्रजसँग कुराकानी गर्न, पुराना गीत अभिलेख गर्न र साथीहरूलाई झिझियाबारे जानकारी दिन प्रोत्साहित गर्नुपर्छ।

जब बालबालिकाले आफ्नो संस्कृतिको महत्त्व बुझ्छन्, तब उनीहरू केही घण्टाको कार्यक्रममा सहभागी हुने व्यक्ति मात्र रहँदैनन्; संस्कृतिलाई आगामी पुस्तासम्म पुर्‍याउने सक्रिय संरक्षक बन्छन्।

झिझिया संरक्षण सबैको साझा जिम्मेवारी

झिझिया जोगाउने जिम्मेवारी स्थानीय सरकारको मात्र होइन। सांस्कृतिक समिति, विद्यालय, अभिभावक, कलाकार, पत्रकार, सामाजिक संस्था र आम नागरिक सबैको भूमिका छ।

अभिभावकले बालबालिकालाई नाच सिकाउनेसँगै त्यसको इतिहास र गीतको अर्थ बुझाउन सक्छन्। विद्यालयले स्थानीय सांस्कृतिक सम्पदालाई अतिरिक्त क्रियाकलापमा समावेश गर्न सक्छन्। सांस्कृतिक समितिले मञ्चीय प्रस्तुतिसँगै परम्परागत ज्ञानलाई प्राथमिकता दिन सक्छन्। पत्रकारले पुरस्कार वितरण र प्रतियोगिताको समाचारसँगै संस्कृति संरक्षणमा भएका वास्तविक प्रयासलाई पनि उजागर गर्न सक्छन्।

स्थानीय सरकारले भने संस्कृति संरक्षणलाई दशैँमा मात्र सम्झिने गतिविधि होइन, वर्षभरि सञ्चालन हुने सार्वजनिक जिम्मेवारीका रूपमा विकास गर्नुपर्छ।

यस प्रक्रियामा झिझियालाई पुस्तौँदेखि जोगाउँदै आएका महिलाहरू, स्थानीय कलाकार र सांस्कृतिक रूपमा कम प्रतिनिधित्व भएका समुदायको योगदानलाई उचित सम्मान दिनु पनि उत्तिकै आवश्यक छ।

संस्कृति संरक्षणले समुदायको स्वामित्व, सम्मान र सहभागिता बलियो बनाउनुपर्छ। संस्कृति जोगाउने मानिसहरू नै ओझेलमा पर्ने र अरूले मात्र त्यसको श्रेय पाउने अवस्था आउनु हुँदैन।

आफैंलाई प्रश्न गरौं 

मधेशको पहिचान यहाँका भाषा, लोकगीत, चाडपर्व, कला, परम्परा र सामुदायिक जीवनसँग जोडिएको छ। झिझिया यही सांस्कृतिक पहिचानको एउटा महत्त्वपूर्ण हिस्सा हो। यसको भविष्य हामीले वर्षमा कति पटक नाच्यौँ भन्ने कुराले मात्र निर्धारण गर्दैन। नयाँ पुस्ताले यसलाई कति बुझ्यो, कति आत्मसात् गर्‍यो र आगामी पुस्तासम्म पुर्‍याउन कति सक्षम भयो भन्ने कुराले निर्धारण गर्छ।

प्रतियोगिता बन्द गर्नुपर्ने आवश्यकता छैन। सार्वजनिक बजेटको सहयोग रोक्नुपर्ने पनि होइन। पुरस्कारका लागि उत्साहित हुने बालबालिकालाई दोष दिनुपर्ने त झन् कुनै कारण छैन। आवश्यकताको प्राथमिकता बदल्ने मात्र हो।

प्रतियोगितालाई सिकाइको अवसर बनाऔँ। सार्वजनिक बजेटलाई दीर्घकालीन सांस्कृतिक सम्पदा निर्माणमा लगाऔँ। जनप्रतिनिधिले पारदर्शी सहयोगमार्फत आफ्नो प्रतिबद्धता देखाऊन्। सांस्कृतिक समितिले पुस्तौँबीच ज्ञान हस्तान्तरण गर्ने कामलाई प्राथमिकता दिऊन्। अनि बालबालिकालाई मञ्चमा उभ्याउनुअघि उनीहरूलाई आफ्नो संस्कृतिको अर्थ बुझ्ने अवसर दिऔँ।

माटोको घैँटोभित्र बलिरहेको दियो झिझियाको सुन्दर प्रतीक हो। तर, झिझियाको उज्यालो मञ्चमा मात्र होइन, यसलाई जोगाउने मानिसहरूको मन, स्मृति र व्यवहारमा पनि जीवित रहनुपर्छ। यदि झिझिया प्रतियोगिताका रूपमा मात्र बाँकी रह्यो भने यसको बाहिरी स्वरूप जोगिएला, तर यसको अर्थ र ज्ञानको एउटा हिस्सा हराउन सक्छ। यदि हामीले सांस्कृतिक ज्ञान, सामुदायिक स्वामित्व र नयाँ पुस्ताको सहभागितामा लगानी गर्‍यौँ भने यसको मौलिक जरा जोगाउँदै यसलाई समयअनुसार अघि बढाउन सक्छौँ।

झिझियाको भविष्य कसले ठूलो पुरस्कार जित्यो, कसले ठूलो कार्यक्रम आयोजना गर्‍यो वा कसले धेरै ताली पायो भन्ने कुराले तय हुनु हुँदैन। आगामी पुस्ताले यो परम्परा बुझेर आफ्नो जीवनमा निरन्तरता दिन सक्यो कि सकेन भन्ने कुराले तय हुनुपर्छ। त्यसैले यस वर्ष मधेशमा कतिवटा झिझिया प्रतियोगिता भए भनेर मात्र नसोधौँ। आजका बालबालिकाले बीस वर्षपछि पनि झिझियाका गीत, कथा र सांस्कृतिक महत्त्व सम्झनेछन् कि छैनन् भनेर पनि सोचौँ। किनकि सांस्कृतिक कार्यक्रम आयोजना गर्नु र संस्कृति संरक्षण गर्नु एउटै कुरा होइन।

झिझिया केवल हामीले प्रस्तुत गर्ने नृत्य होइन। यो हामीले पुर्खाबाट पाएको सम्पदा, समुदायसँग बाँड्ने ज्ञान र आगामी पुस्तालाई हस्तान्तरण गर्नुपर्ने साझा जिम्मेवारी हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?