३० असोज, चितवन । गाउँघरका किसानले उत्पादन गर्ने परम्परागत बस्तुहरुको बजारीकरणका लागि चितवनका एक युवाले भरतपुरमा मानापाथी स्टोर सञ्चालनमा ल्याएका छन् ।
नयाँ युवा पुस्ता माझ गाउँका उत्पादनहरुलाई परिचित गराउन भरतपुर महानगरपालिका वडा नं. १५ का युवा फणिन्द्र न्यौपानेले भरतपुर १० को सप्तगण्डकी रोडमा मानापाथी स्टोर सञ्चालनमा ल्याएका हुन् ।
उनले स्टोरको नाम नै नेपालका ग्रामिण भेगमा लेनदेनका लागि प्रयोग हुने माना र पाथीलाई जोडेर मानापाथी राखेका छन् । सञ्चालक न्यौपानेका अनुसार गाउँघरमा हिजोको अग्रज पुस्ताले खाने गरेका सामाग्री तथा बस्तुहरु राखेका छन् ।
उनले मानापाथी स्टोरमा सातु, जौं, तोरी, रुदिलो र चिउरीको मह, मस्यौरा, गुन्द्रुक, भट्टमास, गुल्मीको गुद, कोदो, फापर र मकैंको पिठो, मकैको च्याख्ला, सिदे नुन, बीरे नुन, जिम्बु, बेसार, सिस्नोको धुलो र झोल, मार्सी चामल, तितौरा, विभिन्न जिल्लाका रैथाने उत्पादनहरुलाई प्राथमिकताका साथ राखेका छन् ।
‘पछिल्लो समयमा शहरी क्षेत्रमा सुगर तथा प्रेसरका बिरामी बढ्दै गएका छन्, ति बिरामीहरुलाई लक्षित गरेर मकैंको च्याख्ला, कोदो र फापरको पिठो राखेको छु’ सञ्चालक न्यौपाने भन्छन्, ‘नयाँ युवा पुस्तालाई पनि चखाउनुपर्छ भन्ने हो, पहिले गाउँघरमा ढिडो खाएर हुँर्किएको पुस्ता बसाई सरेर चितवन आएको छ, उहाँहरुलाई खान मन लागे पाउन सजिलो होस् भनेर स्टोरमा राखेको हो ।’
बजार नपाएका किसानका रैथाने उत्पादनलाई प्राथमिकतामा दिएर स्टोर खोलेको न्यौपानेले बताए । किसानबाट सिधैं उपभोक्तासम्म रैथाने उत्पादन पुर्याउने र नयाँ पुस्तालाई ति उत्पादनहरू चिनाउने उद्देश्य राखेको सञ्चालक न्यौपानेले बताए । ‘अहिलेको पुस्ताले तितौरा चिनेको छैन, मस्यौरा पनि कम खाएको होला, चामल कताबाट आउछ भन्यो भने बोराबाट भन्छ, आलुलाई पिडालु र पिडालुलाई आलु भन्ने अवस्था छ, त्यसैले उनीहरु भित्र आफ्नोपन र परम्परा जोगाउन सकियोस् भन्ने हो’, सञ्चालक न्यौपानेले भन्छन्, ‘किसानले उत्पादन गरेका अर्गानिक बस्तुहरु सिधै ल्याएर बेच्न सकियोस् भनेर मानपाथी खोलेको हो ।’
सकभर हरेक जिल्लाका रैथाने उत्पादनलाई आफ्नो स्टोरमा राखेर बेच्ने र चिनाउने प्रयास गर्ने उनले बताए । मानापाथी कै आडमा युवाहरू चिया खानका लागि चियादानीमा आउने भएकोले उनीहरुको चासो पनि रहने विश्वास लिएको न्यौपानको भनाइ छ । मानापाथी स्टोरको वरपर दुई ठूला मेडिकल कलेज, भरतपुर अस्पताल, विभिन्न कलेजहरुसमेत भएकोले युवाहरुलाई नेपाली ग्रामिण भेगमा हुने उत्पादन र पुर्खाहरुले खाने गरेका उत्पादनहरुका बारेमा जानकारी लिन एक शिक्षालय जस्तो पनि हुने विश्वास लिएको सञ्चालक न्यौपानेले बताए ।
न्यौपानेले जम्मा ४ लाखको लगानीमा यो स्टोर सञ्चालन थालेका हुन् । सानो लगानीमा पनि केही नयाँ काम गर्न सकिन्छ भन्ने देखाउनका लागि मानापाथीको कन्सेप्टमा लागेको उनले बताए । ‘मेरो परिवार पनि किसान हो, हामीले गाँजर बेच्न नपाउँदा, ठगिदा भोगेको पीडा मसँग पनि छ, बजार नपाएकै कारणले लागत भन्दा निकै कममा बेच्नुपरेको थियो’ न्यौपानेले भने, ‘अन्य किसानलाई आफ्ना उत्पादनले बजार नपाउँदा ठगिन नपरोस् भनेर यस्ता स्टोर खोलेको हुँ ।’
प्रतिक्रिया 4