News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली पारा टेबलटेनिस टोली सीमित प्रशिक्षण र पूर्वाधार अभावबीच पाँचौँ एसियन पारा गेम्समा पदक जित्ने लक्ष्यसहित टोकियो पुगेको छ ।
- टोलीमा स्वीकृत न्यौपाने, दिगमसिंह चेम्जोङ, विवेक राई, केशव थापा, सोनिका ढकाल, लाली तामाङ र निर्मला भण्डारी छन् ।
- खेल तालिका सार्वजनिक भएसँगै एकलतर्फका प्रतिस्पर्धा आजबाट सुरु हुँदैछन्, त्यसपछि युगलतर्फका खेल हुने छन् ।
३० असोज, टोकियो । नेपाली पारा टेबलटेनिस टोली पाँचौँ एसियन पारा गेम्समा पदक जित्ने लक्ष्यसहित जापान आइपुगेको छ । सीमित प्रशिक्षण, न्यून सरकारी लगानी र आवश्यक पूर्वाधार अभावका बीच टोली जापानको नागोयामा भइरहेको पारा गेम्समा सहभागी हुन जापान आएको हो ।
टोलीमा स्वीकृत न्यौपाने, दिगमसिंह चेम्जोङ, विवेक राई, केशव थापा, सोनिका ढकाल, लाली तामाङ र निर्मला भण्डारी छन् । व्यक्तिगत मिहिनेत र निरन्तर अभ्यासबाट आफ्नो खेलमा सुधार गर्दै आएका खेलाडीमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गर्ने र देशका लागि पदक जित्ने हुटहुटी रहेको राष्ट्रिय पारा टेबलटेनिस सङ्घका अध्यक्ष गणेश केसीले बताए ।
स्वीकृत न्यौपाने नेपाली टोलीका आशालाग्दा खेलाडी हुन् । उनले सन् २०२५ मा दुबईमा आयोजित एसियन युथ पारा गेम्सको यू–२३ पुरुष एकल, क्लास–७ मा रजत पदक जितेका थिए ।
फाइनलमा चाइनिज ताइपेइका खेलाडीसँग ३–२ को सेटमा पराजित भए पनि उनको प्रदर्शनले नेपालको अन्तर्राष्ट्रिय पदक सम्भावना उजागर गरेको थियो । एउटै विधामा सबैभन्दा धेरै ७ जना खेलाडी लिएर राष्ट्रिय पारा टेबलटेनिस सङ्घ उत्रिएको जानकारी अध्यक्ष केसीले दिए ।
केशव थापा सन् २०१८ र २०२२ का एसियन पारा गेम्समा सहभागी भइसकेका अनुभवी खेलाडी हुन् । विवेक राईले सन् २०२२ को हाङझाउ एसियन पारा गेम्समा प्रतिस्पर्धा गरेका थिए । दिगमसिंह चेम्जोङले पनि चौथो एसियन पारा गेम्समा सहभागिता जनाइसकेका छन् ।
महिलातर्फ सोनिका ढकालले सन् २०१८ मा इन्डोनेसियामा आयोजित एसियन पारा गेम्समा, लाली तामाङले चौथो एसियन पारा गेम्समा र निर्मला भण्डारीले सन् २०२५ मा दुबईमा आयोजित एसियन युथ पारा गेम्समा सहभागिता जनाइसकेका छन् । अन्तर्राष्ट्रिय अनुभव र व्यक्तिगत मिहिनेतलाई आधार बनाएर खेलाडीहरू यस पटक उत्कृष्ट नतिजा निकाल्ने लक्ष्यमा छन् ।
पर्याप्त प्रशिक्षण सुविधा, नियमित प्रशिक्षण शिविर, आवश्यक खेल सामग्री तथा अन्य देशका खेलाडीसँग तयारी खेल खेल्ने अवसर नपाउँदा टोलीको तयारी अपेक्षाअनुसार हुन सकेन । तर स्वयंसेवक प्रशिक्षक बसन्त भारतीका अनुसार खेलाडीको उच्च मनोबल, निरन्तर मिहिनेत र देशका लागि केही गरेर देखाउने अठोटले पदकको आशा भने गर्न सकिन्छ ।
खेलतालिका सार्वजनिक भएसँगै एकलतर्फका प्रतिस्पर्धा आजबाट सुरु हुँदैछ । त्यसपछि युगलतर्फका खेल हुने छन् । सीमित तयारीका बाबजुद नेपाली खेलाडी आफ्नो क्षमता प्रदर्शन गर्दै, व्यक्तिगत खेल सुधार गर्दै पदक जित्ने लक्ष्यमा केन्द्रित छन् ।
तयारी कमजोर भए पनि मनोबल बलियो छ । व्यक्तिगत मिहिनेत, आत्मविश्वास र खेलमा सुधार गर्ने अठोटका साथ नेपाली खेलाडी अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा देशको गौरव बढाउने लक्ष्यसहित मैदानमा उत्रने तयारीमा छन् ।
खेलमा विभिन्न ८ विधाका खेलमा २४ खेलाडी सहभागी हुने छन् । टेबल टेनिसमा ७, एथलेटिक्स ७, ब्याडमिन्टनमा १, पावर लिफ्टिङ २, पौडीमा २, जुडोमा दुई, ह्विल चेयर टेनिसमा १, तेक्वान्दोमा २ जना सहभागी हुने छन् ।
प्रतिक्रिया 4