+

म्याच फिक्सिङमा सर्बियन टेनिस खेलाडी मिलिसेभिचलाई २४ वर्षको प्रतिबन्ध

२०८३ असोज  ३० गते ८:४८ २०८३ असोज ३० गते ८:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सर्बियाका टेनिस खेलाडी स्टेफान मिलिसेभिचलाई म्याच फिक्सिङको आरोपमा अन्तर्राष्ट्रिय टेनिस अखण्डता प्राधिकरणले २४ वर्षको प्रतिबन्ध लगाएको छ।
  • २९ वर्षीय मिलिसेभिचमाथि आफू सहभागी भएका पाँचसहित ६ खेलमा फिक्सिङ र २०२२ देखि २०२४ सम्म थप ६ खेलमा प्रयास गरेको आरोप लागेको छ।
  • आईटीआईएले अनुसन्धानमा असहयोग गरेको र सातपटकको सम्पर्क प्रयासमा पनि सहभागी नभएको भन्दै उनलाई ५३ हजार पाउन्ड जरिवाना पनि गरेको छ।

३० असोज, काठमाडौं । सर्बियाका टेनिस खेलाडी स्टेफान मिलिसेभिचलाई म्याच फिक्सिङमा संलग्न भएको आरोपमा २४ वर्षको प्रतिबन्ध लगाइएको छ। टेनिसमा आजीवन प्रतिबन्धबाहेक भ्रष्टाचारविरुद्धको अनुसन्धानबाट लगाइएका कडा कारबाहीमध्ये यो एक हो।

अन्तर्राष्ट्रिय टेनिस अखण्डता प्राधिकरण (आईटीआईए) का अनुसार २९ वर्षीय मिलिसेभिचमाथि आफू सहभागी भएका पाँच खेलसहित कुल ६ खेलमा म्याच फिक्सिङ गरेको आरोप लागेको थियो। सन् २०२२ देखि २०२४ सम्म थप ६ खेलमा फिक्सिङ गर्ने प्रयास गरेको आरोप पनि उनीमाथि छ।

व्यावसायिक टेनिसको तल्लो तहमा खेल्दै आएका मिलिसेभिचमाथि भ्रष्ट सञ्जालको हिस्साका रूपमा अन्य व्यावसायिक खेलाडीलाई भर्ती गरेको वा भर्ती गर्ने प्रयास गरेको आरोपसमेत लागेको छ। आईटीआईएका अनुसार उनीमार्फत भर्ती गरिएका खेलाडीमाथि पनि म्याच फिक्सिङको आरोप छ।

प्रतिबन्धको अवधि लामो हुनुमा अनुसन्धानमा असहयोग गर्नु पनि प्रमुख कारण रहेको आईटीआईएले जनाएको छ। स्वतन्त्र अनुसन्धान संस्थाले सातपटक सम्पर्क गर्ने प्रयास गर्दा पनि मिलिसेभिचले अनुसन्धान प्रक्रियामा सहभागी नभएको आईटीआईएको भनाइ छ।

उनलाई ५३ हजार पाउन्ड जरिवानासमेत गरिएको छ। प्रतिबन्ध अक्टोबर २०५० मा सकिनेछ। त्यसबेला उनी ५३ वर्षका हुनेछन्।

प्रतिबन्ध अवधिभर उनले विश्व टेनिस, महिला टेनिस संघ (डब्लूटीए), एटीपी, ग्रान्डस्लाम वा कुनै राष्ट्रिय टेनिस संघले आयोजना वा मान्यता दिएका प्रतियोगितामा खेल्न, प्रशिक्षकका रूपमा सहभागी हुन वा उपस्थित हुन पाउने छैनन्।

यसअघि गत डिसेम्बरमा फ्रान्सका टेनिस खेलाडी क्वेन्टिन फोलियोलाई पनि म्याच फिक्सिङमा संलग्न खेलाडीहरूको सञ्जालमा केन्द्रीय भूमिका खेलेको ठहर गर्दै २० वर्षको प्रतिबन्ध लगाइएको थियो।

सन् २०२२ मा विश्व वरीयतामा ४८८औँ स्थानसम्म पुगेका फोलियोले सन् २०२२ देखि २०२४ सम्म भएका ११ खेलसँग सम्बन्धित आरोप अस्वीकार गरेका थिए। तीमध्ये आठ खेलमा उनी आफैँ सहभागी थिए। तर सुनुवाइका क्रममा ११ मध्ये १० खेलसँग सम्बन्धित ३० आरोपमध्ये २७ वटा पुष्टि भएका थिए।

-बीबीसीबाट

टेनिस खेलाडी प्रतिबन्ध

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय