News Summary
Generated by OK AI. Editorially reviewed.- दसैं नजिकिँदै गर्दा ‘१२ गाउँ’, ‘जन्ते बाख्रो’, ‘मोहर’, ‘परदेशी–२’, ‘बेहुली फ्रम मेघौली’ र ‘प्रसाद २’ युट्युबमा सार्वजनिक भएका छन् ।
- यीमध्ये ‘१२ गाउँ’को दोस्रो सिक्वेल अहिले हलहरूमा प्रदर्शन भइरहेको छ, र पहिलो भाग युट्युबमा हेर्न सकिने लेखमा भनिएको छ ।
- लेखले युट्युबलाई सिनेमा घरको पहुँच नपुगेका दर्शकका लागि सहज माध्यम भन्दै देश–विदेशमा नेपाली फिल्म पुग्ने प्लेटफर्म भनेको छ ।
नेपाली फिल्मको एउटा रोचक कुरा छ । सिनेमा घरमा प्रदर्शन हुँदा कतिपय फिल्मले दर्शक पाउँदैनन् । कसैले भनेजस्तो पोस्टर टाँस्ने माडको समेत खर्च उठाउँदैनन् । यसरी हलमा हरिबिजोग भएका फिल्मले युट्युबमा भने चमत्कार नै गर्छन् ।
जस्तोसुकै फिल्म होस्, युट्युबमा लाखौंले हेरिदिन्छन् । करोडौंले हेरिदिन्छन् ।
कहिलेकाहीँ मान्छेहरू कटाक्ष गरिरहेका हुन्छन्, ‘सित्तैमा पाएपछि हेर्छन् ।’ तर हामीकहाँ सिनेमा घरको पहुँच सबैतिर छैन । सीमित सहरी क्षेत्रमा मात्र सिनेमा हल छन् । त्यो पनि सीमित संख्यामा । यस्तो अवस्थामा कुनै पनि फिल्म हेर्न लामो यात्रा गरेर हलसम्म पुग्नु त्यति व्यावहारिक हुँदैन ।
यस्तो अवस्थामा युट्युबजस्ता प्लेटफर्म सहज माध्यम बनिदिन्छन् । र, यसैबाट देश–विदेशमा रहेका नेपालीमाझ फिल्म पुग्छन् । हातहातमै ।
हलमा जस्तो यसमा समयको पाबन्दी छैन । न अतिरिक्त बन्दोबस्तीको झन्झट । आफूलाई मन लागेको फिल्म खोजीखोजी हेरे पुग्छ ।
अब कुरा गरौं, भर्खर युट्युबमा सार्वजनिक भएका फिल्मबारे । दसैंको तिथि नजिकिएसँगै दर्जन हाराहारी फिल्म एकपछि अर्को गर्दै युट्युबमा आएका छन् ।
१२ गाउँ
जनरा : एक्सन ड्रामा
कलाकार : समीर भट्ट, विराज भट्ट, सनिशा भट्टराई
निर्देशक : विराज भट्ट
प्लेटफर्म : बुढासुब्बा डिजिटल
यो फिल्मको दोस्रो सिक्वेल अहिले हलहरूमा प्रदर्शन भइरहेको छ । यदि ‘१२ गाउँ’को पहिलो भाग छुटाउनुभएको छ भने धन्दा नमान्नुहोला । युट्युबमा तपाईंले सजिलै यो फिल्म हेर्न सक्नुहुनेछ । यो फिल्म कस्तो छ ? त्यो त तपाईंले हेरेर थाहा पाउनुहुनेछ । एक्सन रुचाउनुहुन्छ भने ‘१२ गाउँ’ तपाईंका लागि एउटा विकल्प हुन सक्छ । भनिहालौं, यो समीर भट्टको डेब्यु फिल्म हो, जुन ब्लकबस्टर भयो ।
जन्ते बाख्रो
जनरा : कमेडी
कलाकार : सौगात मल्ल, अशिफ साह, गरिमा शर्मा
निर्देशक : सिमोश सुनुवार
प्लेटफर्म : म्युन इन्टरटेनमेन्ट
तपाईं कमेडी फिल्म रुचाउनुहुन्छ भने ‘जन्ते बाख्रो’ हेर्न सक्नुहुनेछ । दुई घण्टा १० मिनेट भरपुर मज्जा लिन सक्नुहुनेछ । सौगात मल्लका प्रशंसक हुनुहुन्छ भने उनले तपाईंलाई फिल्म अवधिभर बाँधेर राख्छन् । फिल्ममा हाँसो, मजाकसँगै सामाजिक जीवनका स–साना कुराहरू समेटिएका छन् ।
मोहर
जनरा : सस्पेन्स, थ्रिलर
कलाकार : पल शाह, बेनिशा हमाल, नीति शाह, लक्ष्मी गिरी
निर्देशक : ओम प्रतिक
प्लेटफर्म : ओएसआर मुभिज
तपाईं सस्पेन्स थ्रिलर सिनेमा त पक्कै हेर्नुहुन्छ । अलिअलि रहस्य, अलिअलि डर । फिल्मले तपाईंको मनलाई स्थिर रहन दिँदैन । यो फिल्मले दुई घण्टा १८ मिनेटसम्म तपाईंलाई बाँधेर राख्छ । फिल्म प्रेम, विछोड र बदलाको कथामा आधारित छ ।
परदेशी–२
जनरा : सोसल ड्रामा
कलाकार : प्रकाश सपूत, केकी अधिकारी, वर्षा सिवाकोटी, प्रशान्त तामाङ, दिलीप रायमाझी
निर्देशक : नारायण रायमाझी
प्लेटफर्म : नारायण रायमाझी
तपाईंहरूमध्ये कति परदेशमै हुनुहुन्छ । दसैंमा घर आउने मेलोमेसो नमिलेको हुन सक्छ । तपाईंको जस्तै बाध्यताको कथा समेटिएको फिल्म हो, ‘परदेशी–२’ । नारायण रायमाझीको यो फिल्म कथा र संगीत दुवैका लागि हेर्न सकिन्छ । उच्च शिक्षाका लागि विदेशिने नेपाली विद्यार्थी र वैदेशिक रोजगारीमा गएका युवाहरूको जीवनमा आउने चुनौती, भावना तथा परिवारसँगको विछोडको कथा फिल्ममा समेटिएको छ ।
बेहुली फ्रम मेघौली
जनरा : सोसल ड्रामा, कमेडी
कलाकार : स्वस्तिमा खड्का, निश्चल बस्नेत, विजय बराल, रक्षा थापा, वसुन्धरा भुसाल
निर्देशक : साजन काफ्ले र आकाश बराल
प्लेटफर्म : ओएसआर मुभिज
तपाईं कमेडी फिल्मको दर्शक हुनुहुन्छ भने यो एउटा विकल्प हुन सक्छ । स्वस्तिमा खड्का, विजय बराललगायतको अभिनय रहेको फिल्मले तपाईंलाई दुई घण्टा आठ मिनेटसम्म मज्जाले मनोरञ्जन दिलाउनेछ ।
प्रसाद २
जनरा : सोसल ड्रामा
कलाकार : विपिन कार्की, केकी अधिकारी, अर्पण थापा, महेश त्रिपाठी
निर्देशक : सुदर्शन थापा
प्लेटफर्म : ओएसआर मुभिज
तपाईंले ‘प्रसाद’ फिल्म हेर्नुभयो ? निकै रुचाइएको फिल्म थियो त्यो । सोही सफलतापछि निर्माण गरिएको फिल्म हो, ‘प्रसाद २’ । यो फिल्मले जातीय विभेद र पारिवारिक संघर्षलाई केन्द्रमा राखेर कथा बुनेको छ । अलि गम्भीर सामाजिक मुद्दा उठान गरेको फिल्म हेर्नुहुन्छ भने ‘प्रसाद २’ एउटा विकल्प हुन सक्छ ।
प्रतिक्रिया 4