+
+
Shares

देशभर ट्रमा सेन्टर विस्तार र पुनर्स्थापना केन्द्र निर्माण गर्ने सरकारको तयारी

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ३० गते १७:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले दुर्घटनामा परेका नागरिकलाई समयमै गुणस्तरीय उपचार दिन विभिन्न स्थानमा ट्रमा सेन्टर विस्तार र पुनर्स्थापना केन्द्र निर्माण गर्ने भएको छ।
  • स्वास्थ्यमन्त्री निशा मेहताले राजधानीबाहिर पनि आकस्मिक स्वास्थ्य सेवा विस्तार भइरहेको बताउँदै समयमै उद्धार र उपचारको महत्त्व औँल्याउनुभयो।
  • उहाँले सडक सुरक्षा, ट्राफिक नियमको पालना, हेल्मेट र सिट बेल्टको अनिवार्य प्रयोग तथा मादक पदार्थ सेवन गरेर सवारी नचलाउन आग्रह गर्नुभयो।

३० असोज, काठमाडौं । सरकारले दुर्घटनामा परेका नागरिकलाई समयमै गुणस्तरीय उपचार उपलब्ध गराउन देशका विभिन्न स्थानमा ट्रमा सेन्टर विस्तार गर्ने र उपचारपछि सामान्य जीवनमा फर्किन सहयोग पुर्‍याउन पुनर्स्थापना (रिह्याबिलिटेसन) केन्द्र निर्माण गर्ने काम अघि बढाउने भएको छ ।

ट्रमा दिवसका अवसरमा आयोजित कार्यक्रममा मन्तव्य व्यक्त गर्दै  स्वास्थ्यमन्त्री निशा मेहताले राजधानीमा मात्र नभई देशका विभिन्न भूभागमा रहेका नागरिकले पनि समयमै आकस्मिक स्वास्थ्य सेवा पाउने व्यवस्था गर्न ट्रमा उपचार सेवाको पहुँच विस्तार गरिरहेको बताइन् ।

दुर्घटनामा परेका व्यक्तिको जीवन बचाउनुका साथै उपचारपछि उनीहरूलाई पुन: सामान्य जीवनमा फर्काउन आवश्यक सहयोग र सेवा उपलब्ध गराउनु पनि उत्तिकै महत्त्वपूर्ण रहेको उनको भनाइ थियो ।

मन्त्री मेहताले सडक दुर्घटना, प्राकृतिक विपद् तथा अन्य आकस्मिक घटनाबाट हुने मानवीय क्षति न्यूनीकरण गर्नु राज्य, स्वास्थ्य क्षेत्र र समग्र समाजको साझा जिम्मेवारी भएको उल्लेख गरिन् ।

दुर्घटनापछि घाइतेको जीवन रक्षा गर्न समयमै उद्धार, घटनास्थलमै प्राथमिक उपचार, शीघ्र अस्पताल पुर्‍याउने व्यवस्था र गुणस्तरीय आकस्मिक उपचारको महत्त्वपूर्ण भूमिका रहने बताइन् ।

गम्भीर घाइतेको उपचारमा केही मिनेटको ढिलाइले समेत जीवन र मृत्युबीचको अन्तर सिर्जना गर्न सक्ने भएकाले आकस्मिक स्वास्थ्य सेवालाई थप प्रभावकारी र व्यवस्थित बनाउन आवश्यक रहेको मन्त्री मेहताले बताइन् । यसका लागि एम्बुलेन्स सेवाको प्रभावकारिता बढाउने, स्वास्थ्य संस्थाबीच समन्वय सुदृढ गर्ने तथा दक्ष जनशक्ति र आवश्यक उपकरणको उपलब्धता सुनिश्चित गर्नुपर्नेमा उहाँले जोड दिइन् ।

उनले दुर्घटनापछि उपचार गर्नु जति आवश्यक छ, दुर्घटना हुनै नदिनु पनि उत्तिकै महत्त्वपूर्ण रहेको बताइन् । सडक सुरक्षा, ट्राफिक नियमको पालना, हेल्मेट तथा सिट बेल्टको अनिवार्य प्रयोग र मादक पदार्थ सेवन गरेर सवारी नचलाउने विषयमा जनचेतना अभिवृद्धि गर्नुपर्ने उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?