+
+
Shares

ट्रम्पकी प्रेस सचिव जाकारिया पदबाट हट्दै, भन्छिन्- ‘ट्रम्प दयालु, सानदार र विनम्र छन्’

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ३१ गते ११:२०

३१ असोज, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी प्रेस सचिव केटी जाकारियाले आफ्नो पदबाट राजीनामा दिएकी छिन्। ह्वाइट हाउसमा आयोजित आफ्नो पहिलो प्रेस ब्रिफिङलाई लिएर चौतर्फी आलोचना भएपछि उनी पदबाट हट्ने अड्कलबाजी तीव्र बनेको थियो।

मङ्गलबार ह्वाइट हाउसको प्रेस सचिवका रूपमा आफ्नो पहिलो ब्रिफिङ गरेकी जाकारियाको प्रस्तुति १५ मिनेटभन्दा पनि कम समय चलेको थियो। ब्रिफिङका क्रममा पत्रकारहरूले केवल तीन वटा मात्र प्रश्न सोध्न पाएका थिए। त्यसलगत्तै मिडियाले उनको योग्यता र यो जिम्मेवारीका लागि उनको तयारीलाई लिएर कडा प्रश्नहरू उठाउन थालेका थिए।

शुक्रबार पद छाड्ने खबर सार्वजनिक हुनुभन्दा केही घण्टाअघि राष्ट्रपति ट्रम्पले पनि जाकारियाको बहिर्गमनको सङ्केत दिएका थिए। ट्रम्पले मिडियाले जाकारियाप्रति ज्यादै कठोर र अप्रिय व्यवहार गरेको टिप्पणी गर्दै भनेका थिए, ‘मैले उहाँलाई सोधेको थिएँ- के यो काम साँच्चै तपाईंको लागि हो? किनकि साँचो भन्नुपर्दा तपाईंलाई यस्तो व्यवहार सहनुपर्ने आवश्यकता नै छैन।’

पदत्यागको घोषणा गर्दै जाकारियाले सामाजिक सञ्जाल ‘एक्स’ मा लेखेकी छिन्, ‘राष्ट्रपति ट्रम्प एक दयालु, शानदार, विनम्र, अरूको ख्याल राख्ने, जोसले भरिएको र मिहिनेती मानिस हुनुहुन्छ। कसैले पनि अमेरिकालाई त्यति महान बनाउन सक्ने छैन, जस्तो उहाँले बनाउनुभयो र आज पनि बनाउँदै हुनुहुन्छ। उहाँका लागि काम गर्न पाउनु मेरो लागि ठूलो सम्मानको कुरा हो।’

प्रेस ब्रिफिङको कमजोरीका साथै जाकारियाको कानुनी योग्यतालाई लिएर पनि विवाद उब्जिएको छ। राष्ट्रपति ट्रम्पले नियुक्ति गर्दा उनलाई ‘वकिल’ भनेका थिए भने जाकारिया स्वयंले पनि आफूलाई सोही रूपमा प्रस्तुत गर्दै आएकी थिइन्। उनले सन् २०११ मा क्यालिफोर्नियाको पेपरडाइन युनिभर्सिटीबाट कानुनको पढाइ पूरा गरेकी भए पनि अमेरिकामा कानुनको डिग्री पाउँदैमा स्वतः वकालत गर्ने लाइसेन्स मिल्दैन। वाल स्ट्रिट जर्नलका अनुसार जाकारियाले क्यालिफोर्निया बार परीक्षा दिएकी भए पनि उनी उत्तीर्ण हुन सकेकी थिइनन्।

उक्त आलोचना, योग्यता सम्बन्धी विवाद र राष्ट्रपति ट्रम्पको अभिव्यक्तिपछि अन्ततः जाकारियाले ह्वाइट हाउसको प्रेस सचिवको पद छाड्ने निर्णय लिएकी हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?