News Summary
Generated by OK AI. Editorially reviewed.- नाना पाटेकरका छोरा मल्हारले पारिवारिक सम्बन्धबारे फैलिएका हल्ला निराधार भएको भन्दै आमा–बुबाबीचको सम्बन्ध राम्रो रहेको बताए ।
- मल्हारका अनुसार गोवामा निधन हुनुअघि नानासँग काकाका छोरा प्रसाद र अमय सधैँ साथमा थिए, र उहाँ कहिल्यै एक्लो हुनुहुन्नथ्यो ।
- तनुश्री दत्ताले नानाको अन्तिम संस्कार र उपचार प्रक्रियाबारे प्रश्न उठाएपछि मल्हारले त्यो पुरानो विवाद न्यायिक रूपमा टुङ्गिसकेको बताए ।
७५ वर्षको उमेरमा अक्टोबर ८ मा गोवामा हृदयाघातका कारण निधन भएका अभिनेता नाना पाटेकरको पारिवारिक सम्बन्धलाई लिएर विभिन्न अड्कलबाजी भइरहेका छन् ।
निधनपछि नाना र उनकी पत्नी नीलकान्तिबीच सम्बन्ध राम्रो नरहेको र जीवनको अन्तिम समयमा अभिनेता निकै एक्लो भएको चर्चा चलेको थियो । सामाजिक सञ्जालमा फैलिएका यस्ता खबरप्रति उनका छोरा मल्हार पाटेकरले असन्तुष्टि जनाएका छन् । उनले यी खबरहरू निराधार भएको स्पष्ट पार्दै नाना स्वस्थ रहेको र परिवारका सदस्यहरू पनि सधैँ उनको साथमा रहेको बताएका छन् ।
‘हिन्दुस्तान टाइम्स’ लाई दिएको अन्तर्वार्तामा मल्हारले पारिवारिक मतभेदको खबरबारे भने, ‘धेरै कुराहरू भाइरल भइरहेका छन्, जुन पूर्ण रूपमा गलत छन् । हामीले इन्स्टाग्राममा परिवारका तस्बिर साझा गर्दैनौँ भन्दैमा हाम्रो सम्बन्ध छैन भन्ने होइन । मेरा आमाबुबा अलग बसे पनि उनीहरूबीचको सम्बन्ध राम्रो थियो । उहाँहरू ३८–३९ वर्षसम्म सँगै रहनुभयो । बाहिरबाट देखिएजस्तो सबै कुरा हुँदैनन् ।’
मल्हारले थपे, ‘मैले पढेका खबरको जवाफमा भन्न चाहन्छु, उहाँ कहिल्यै एक्लै हुनुहुन्नथ्यो । उहाँको स्वास्थ्य पनि बिग्रिएको थिएन । हामीमध्ये कोही न कोही सधैँ उहाँसँगै हुन्थ्यौँ । उहाँ जिममा साढे दुई घण्टासम्म व्यायाम गर्नुहुन्थ्यो । आजका युवाहरूले समेत त्यति गर्न सक्दैनन् । उहाँको शारीरिक तन्दुरुस्तीको स्तर नै फरक थियो ।’
मल्हारका अनुसार उनका आमाबुबा वर्षौंदेखि अलग बस्दै आए पनि उनीहरूबीच भावनात्मक सम्बन्ध भने सधैँ कायम थियो ।
अन्तिम समयसम्म नाना पाटेकरसँग थिए भतिजा
मल्हारले नाना गोवामा रहँदा उनका काकाका छोरा प्रसाद साथमा रहेको जानकारी दिएका छन् । प्रसादले नानाका सबै बैठक तथा भेटघाटको व्यवस्थापन गर्थे । नाना माधुरी दीक्षितसँग ‘केबीसी मराठी’ को छायाङ्कनमा सहभागी हुने तयारीमा थिए । त्यसका लागि उनले प्रसादलाई मुम्बई पठाएका थिए ।
त्यसपछि नानासँग उनका अर्का काकाका छोरा अमय थिए । निधन हुनुभन्दा केही घण्टाअघिसम्म अमय नानासँगै रहेको मल्हारले बताएका छन् ।
नाना घरको माथिल्लो तलामा रहेको कोठामा आराम गर्न गएपछि अमय आफ्नो घर फर्किएका थिए । पछि नानालाई असहज महसुस भएपछि उनले पहिले अमयलाई सन्देश पठाए र त्यसपछि फोन गरे । तर, अमय त्यहाँ पुग्दासम्म ढिलो भइसकेको थियो ।
मल्हारले बिहान ५ बजे आमाले फोन गरेर बुबाको निधनको खबर दिएको पनि बताएका छन् । त्यतिबेला उनी पुणेमा थिए । आमासँग कुरा गरेपछि आफ्नो संसार नै रोकिएजस्तो महसुस भएको उनले सुनाए ।

तनुश्री दत्ताका अभिव्यक्तिप्रति पनि असन्तुष्टि
वर्षौँअघि नाना पाटेकरमाथि ‘मिटु’ अभियानअन्तर्गत यौन दुर्व्यवहारको आरोप लगाएकी अभिनेत्री तनुश्री दत्ताले उनको निधनको खबर सार्वजनिक भएपछि विभिन्न विवादास्पद अभिव्यक्ति दिएकी थिइन् । नानाका छोरा मल्हारले यसबारे पनि प्रतिक्रिया दिएका छन् ।
मल्हारका अनुसार उनले उल्लेख गर्न नचाहेको एउटा विवादलाई केही मानिसले फेरि उठाइरहेका छन्, जबकि त्यससम्बन्धी कानुनी प्रक्रिया टुङ्गिसकेको छ ।
उनले भने, ‘कसैको नाम नलिई भन्न चाहन्छु, मानिसहरूले अनावश्यक रूपमा फेरि अगाडि ल्याइरहेको त्यो मुद्दा टुङ्गिसकेको छ । न्यायिक प्रक्रियाबाट सबै कुरा स्पष्ट भइसकेको छ । त्यसपछि पनि मानिसहरू बोलिरहेका छन् । त्यस्ता व्यक्तिलाई म केही भन्न चाहन्नँ । सत्य जे हो, त्यही रहन्छ । भगवानले उनीहरूको भलो गरून् ।’
नानाको निधनप्रति तनुश्रीले उठाएकी थिइन् प्रश्न
नाना पाटेकरको निधनपछि तनुश्री दत्ताले उनको अन्तिम संस्कार राति गरिएको विषयमा प्रश्न उठाएकी थिइन् । इन्स्टाग्राम लाइभका क्रममा उनले बलिउड वा सञ्चारमाध्यमसँग सम्बन्धित कसैले पनि नानाको पार्थिव शरीर नदेखेको दाबी गरेकी थिइन् ।
उनले राति ११ बजेर २८ मिनेटमा अन्तिम संस्कार गरिएको विषयमा समेत आपत्ति जनाएकी थिइन् । कानुनी मुद्दाबाट बच्न यस्तो नाटक गरिएको हुन सक्ने आशङ्का पनि उनले व्यक्त गरेकी थिइन् ।
तनुश्रीले रातिको समयमा अन्तिम संस्कार गर्न किन हतार गरिएको र परिवारका सदस्यले समेत नानाको अनुहार राम्ररी देखेका थिए कि थिएनन् भन्ने प्रश्न उठाएकी थिइन् ।

‘अस्पताल लैजाँदाका भिडियो र तस्बिर किन छैनन् ?’ तनुश्री
तनुश्रीले इन्स्टाग्राम लाइभमार्फत नानालाई अस्पताल लैजाने र उपचारसँग सम्बन्धित प्रक्रियाबारे पनि प्रश्न गरेकी थिइन् । आफ्नो दुर्घटना हुँदा समेत तस्बिर र भिडियो सार्वजनिक भएको उदाहरण दिँदै उनले नानालाई अस्पताल लैजाँदाको, अस्पतालमा मृत घोषित गर्दाको तथा पोस्टमार्टम गर्दाको कुनै भिडियो वा तस्बिर सार्वजनिक नभएको दाबी गरेकी थिइन् ।
उनका अनुसार अन्तिम संस्कारका बेला नानाको अनुहार ढाकिएको थियो, जसका कारण वास्तविकता कसैले थाहा पाउन नसकेको उनको आशङ्का थियो ।
तनुश्री दत्ताले सन् २००४ मा ‘फेमिना मिस इन्डिया युनिभर्स’ को उपाधि जितेकी थिइन् ।
‘मिटु’ अभियानसँगै चर्किएको थियो विवाद
तनुश्री दत्ता र नाना पाटेकरबीचको विवाद सन् २००८ देखि चर्चामा आएको थियो । तनुश्रीले ‘हर्न ओके प्लीज’ फिल्मको एउटा गीतको छायाङ्कनका क्रममा नानामाथि यौन दुर्व्यवहारको आरोप लगाएकी थिइन् ।
सन् २०१८ मा भारतमा ‘मिटु’ अभियानले व्यापक चर्चा पाएपछि यो विषय फेरि चर्चामा आएको थियो । त्यसै वर्ष अक्टोबरमा तनुश्रीका वकिल नितिन सतपुतेले मुम्बईको ओशिवारा प्रहरी कार्यालयमा निवेदन दिँदै नाना पाटेकर, कोरियोग्राफर गणेश आचार्य, निर्माता समी सिद्दिकी र निर्देशक राकेश सारङको नार्को एनालाइसिस तथा लाइ डिटेक्टर परीक्षण गर्न माग गरेका थिए ।
यद्यपि, सन् २०१९ जुनमा अनुसन्धानपछि प्रहरीले नाना पाटेकरलाई क्लिन चिट दिएको थियो ।
आरोपबारे नानाले पनि दिएका थिए प्रतिक्रिया
सन् २०२४ मा ‘लल्लनटप’ लाई दिएको अन्तर्वार्तामा नाना पाटेकरलाई तनुश्रीले आफूमाथि गम्भीर आरोप लगाउँदा रिस उठेको थियो कि थिएन भनेर सोधिएको थियो ।
त्यसको जवाफमा नानाले भनेका थिए, ‘झुट हो भने रिस के कुरामा उठ्नु ? अब जे कुरा भइसके, त्यसबारे के बोल्ने ? मलाई रिस उठेन ।’
प्रहरीमा जाहेरी परेको विषयमा सोधिएको प्रश्नको जवाफमा उनले आफूले कुनै गलत काम नगरेको दाबी गरेका थिए । कसैले आफूले दुर्व्यवहार गरेको आरोप लगाउँदा त्यसको जवाफमा आफूले नगरेको कुरा स्पष्ट पार्नुबाहेक अरू के भन्न सकिन्छ भन्ने उनको भनाइ थियो ।
दैनिक भास्कर
प्रतिक्रिया 4