+
+
Shares

‘फौजीलाई कुन हो दशैं, कुन चाड तिहार’

नागरिकको सुरक्षा नै प्रहरीको दशैं

आर्थिक रूपमा कमजोर भएका व्यक्ति प्रहरी सेवामा आउने हुँदा घरको आर्थिक व्ययभार उनीहरूमाथि थपिन्छ । दशैंमा आर्थिक व्ययभारको मनोदशासँगै घरपरिवारमा सँगै बसेर दशैं मनाउन नपाउँदा केही प्रहरी खिन्न हुन्छन् ।

नारायण अधिकारी नारायण अधिकारी
२०८३ असोज ३१ गते १७:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दशैंको सुरक्षाका लागि देशभर ५० हजार ४५८ प्रहरी परिचालन हुने र काठमाडौं उपत्यकामा ७ हजार ६६८ प्रहरी खटिने नेपाल प्रहरीले जनाएको छ।
  • प्रहरी प्रधान कार्यालयले दशैंमा अधिकांश प्रहरीको बिदा ब्यारेकमै बित्ने र नियमित रासनबाहेक मासुका लागि अतिरिक्त बजेट नआउने जनाएको छ।
  • प्रहरीले घटस्थापनामा दशैं घरमा जमरा राख्ने, नवमीमा मौलो पूजा गर्ने र दशमी तथा एकादशीमा टीका थाप्ने चलन रहेको छ।

३१ असोज, काठमाडौं । ‘सबै फेस्टिभ मुडमा हुने, कार्यालय बन्द हुने र आर्थिक गतिविधिसमेत बढ्ने हुँदा अपराध गर्नेहरूले चाडपर्वलाई अवसरका रूपमा लिन्छन् । तिनै अपराधीको अवसर रोक्न प्रहरी चाडपर्वमा थप चनाखो हुन्छ ।’

दशैंको पूर्वसन्ध्यामा भएको पत्रकार सम्मलेनमा जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलिप घिमिरेले चाडपर्वमा हुनसक्ने अपराध र प्रहरीले गर्नुपर्ने थप कामका बारेमा भने ।

‘दशैं कसैको लागि दशा नबानोस्, सबैले हर्षोल्लासका साथ मनाउन्,’ यत्ति भनेर उनले कुराको बिट मारेका थिए ।

प्रहरीका यी भनाइ र चाडबाड लक्षित सुरक्षा योजनाले पनि प्रहरी अघिपछिभन्दा चाडबाडमा थप सक्रिय हुने गरेको पुष्टि गर्छ ।

आम मानिसले हर्षोल्लासका साथ चाडबाड मनाइरहँदा प्रहरी कर्मचारीले भने कसरी दशैं मनाउलान् ? नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी अबिनारायण काफ्ले प्रहरीले दशैं कसरी मनाउनेभन्दा पनि दशैंलाई कसरी सुरक्षित बनाउने भन्नेतर्फ केन्द्रित भएको बताउँछन् ।

उनका अनुसार दशैंको सुरक्षाका लागि देशभर ५० हजार ४५८ प्रहरी परिचालन हुन्छन् । काठमाडौं उपत्यकामा ७ हजार ६६८, कोशी प्रदेशमा ८ हजार १३३, मधेश प्रदेशमा ७ हजार २३०, बागमती प्रदेशमा ४ हजार ४९९, गण्डकी प्रदेशमा ५ हजार १८८, लुम्बिनी प्रदेशमा ७ हजार ९२१, कर्णाली प्रदेशमा ५ हजार ३१४ र सुदूरपश्चिम प्रदेशमा ४ हजार ५०५ प्रहरी परिचालन हुन्छन् ।

आम नागरिकलाई दशैं मनाउन केन्द्रित हुँदा अपराध गर्नेका लागि त्यो नै मौका हुने भएकाले यो बेला विशेष चनाखो हुनुपर्ने उनीहरू बताउँछन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार दशैंका लागि भनेर ५० हजार प्रहरी परिचालन भएकाले यस पटक पनि अधिकांश प्रहरीको दशैं ब्यारेकमै बित्नेछ ।

देशभरका जिल्ला प्रहरी कार्यालय र सोभन्दा माथिल्ला प्रहरी कार्यालयले घटस्थापनाको दिन आ–आफ्नो कार्यालयमा रहेको दशैं घर (पूजाघर)मा जमरा राखिसकेका छन् ।

नवमीको दिन प्रहरीले मौलो पूजा गर्छ, जहाँ बली दिने चलन छ । दशैंमा घर जान नपाएका प्रहरीले दशमीको दिन आफ्नो कार्यालयका कार्यालय प्रमुखबाट टीका थाप्छन् ।

एकादशीको दिन महानिरीक्षक (आईजीपी) को हातबाट टीका थाप्ने चलन प्रहरीमा छ । यो बाध्यकारी नभए पनि एउटा चलनको रूपमा स्थापित भइसकेको छ ।

विपद् प्रतिकार्यमा खटिएका सुरक्षाकर्मीहरू।

दशैंको मुख्य परिकार नै मासुलाई लिइन्छ । मासु नखानेहरू भने अन्य साकाहारी परिकार खान्छन् । दशैंमा प्रहरीलाई मासु खुवाउनुपर्ने, तर दशैंको मासुको लागि भनेर छुट्टै बजेट अहिलेसम्म राज्यले उपलब्ध गराएको छैन । नियमित आउने रासन स्केल बाहेक दशैंको मासुका लागि भनेर थप रकम प्रहरीलाई आउँदैन । थप रकम नआउने हुँदा प्रहरीलाई दशैंमा मासु जुटाउने चिन्ता रहन्छ ।

‘नियमित रासन स्केलअनुसार हप्ताको दुई पटक मासु हुन्छ । तर दशैंमा फूलपातीको दिनदेखि पूर्णिमासम्म दैनिकजसो मासु खुवाउने चलन छ,’ एक प्रहरी अधिकारी भन्छन्, ‘यो मासुको जोहो भने कार्यालय प्रमुखले नै गर्दै आएका हुन्छन् ।’

तर, केही साना स्तरका प्रहरी इकाइ तथा प्रहरी चौकीमा भने सबै प्रहरी कर्मचारी मिलेर रकम नै उठाएर मासु खरिद गर्ने प्रचलन पनि रहेको छ । समय मिलाएर ठाउँ र परिवेशअनुसार समय मिलाएर नाचजान गर्ने, पिङ हाल्नेसमेत गरिन्छ । दशैंमा प्राय: प्रहरी अधिकारीसँगै बसेर सामूहिक भोज गरिन्छ ।

दशैंमा त झन् प्रहरीका लागि ब्यारेक नै गाउँघर, परिवार सबथोक बन्ने गर्छ । दशैंको बेला सबैजसो कार्यालय प्रमुखहरू आफ्नो कार्यालय तथा ब्यारेकमै हुन्छन् । त्यहीं आफ्ना परिवार बोलाएर दशैं मनाउने चलन छ ।

दशैंमा आमाबाबु, परिवार तथा छोराछोरीले घरमा बोलाउँदासमेत जान नपाउने अवस्थामा प्रहरी हुन्छन् । कतिपय प्रहरी अधिकृतले एक दशकदेखि ब्यारेकमै दशैं मनाइरहेको अवस्थासमेत छ । घरपरिवारमा सँगै बसेर दशैं मनाउन नपाउँदा कतिपय प्रहरी अधिकारीहरू खिन्न हुने अवस्था पनि आउँछ ।

आर्थिक रूपमा कमजोर भएका व्यक्ति प्रहरी सेवामा आउने हुँदा घरको आर्थिक व्ययभार उनीहरूमाथि थपिन्छ । दशैंमा आर्थिक व्ययभारको मनोदशासँगै घरपरिवारमा सँगै बसेर दशैं मनाउन नपाउँदा केही प्रहरी खिन्न हुन्छन् ।

सुरक्षाकर्मीको दशैं मर्म बुझाउने एउटा गीत नै छ,

‘फौजीलाई कुन हो दशैं, कुन चाड तिहार ।’

पियारीले हरेक महिना चिठी पठाउँथिन्

यसपालिको दशैंमा त घर आऊ भन्थिन्

लालाबाला हरेक साँझ बाटो हेर्छन् अरे

थुम्थुम्याउँछु भन्थिन् उनी, आउँछन् भनी भरे

भन्नेलाई भन्दिए भो बिर्स घरबार

फौजीलाई कुन हो दशैं, कुन चाड तिहार ।

सशस्त्र प्रहरी बल (एपीएफ)ले निर्माण गरेको यो गीत हरेक वर्ष दशैंमा अत्यधिक गुञ्जिने गीतको सूचीमा पर्छ । दीपक कोइरालाको शब्द, गैरे सुरेशको संगीत तथा जगदीश समालको स्वर रहेको यो गीत राष्ट्रसेवक कर्मचारीप्रति पूर्ण रूपमा समर्पित छ ।

दशैंमा अधिकांशजसो प्रहरी घर जान पाउँदैनन् । यो गीतले उनीहरूको भावना समेट्छ ।

लेखक
नारायण अधिकारी

अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?