News Summary
Generated by OK AI. Editorially reviewed.- टेस्लाले टेक्ससमा बहुप्रतिक्षित इलेक्ट्रिक स्पोर्ट्स कार ‘रोडस्टर’ को नयाँ संस्करण सार्वजनिक गर्दै यसलाई ‘रियल लाइफ फ्लाइङ कार’ भनेको छ ।
- इलन मस्कले स्पेसएक्स परिसरको डेमोमा कारले र्याम्पबाट उफ्रेर हावामै फ्लिप गर्दै सुरक्षित ल्यान्डिङ गरेको देखाउँदै ‘यसले त साँच्चै काम गर्यो !’ भनेका छन् ।
- मस्कका अनुसार दुई जना बस्न मिल्ने यो कार ०.८१ सेकेन्डमा ९७ किलोमिटर प्रतिघण्टा पुग्न सक्छ, तर व्यावसायिक उत्पादन र सुरक्षा मापदण्ड अझै स्पष्ट छैन ।
१ कात्तिक, काठमाडौं । अमेरिकी विद्युतीय कार उत्पादक कम्पनी टेस्लाले टेक्ससमा आयोजित एक विशेष कार्यक्रमकाबिच आफ्नो बहुप्रतिक्षित इलेक्ट्रिक स्पोर्ट्स कार ‘रोडस्टर’ को नयाँ संस्करण सार्वजनिक गरेको छ ।
यसलाई कम्पनीले ‘रियल लाइफ फ्लाइङ कार’ (वास्तविक जीवनको उड्ने कार) को रूपमा प्रस्तुत गरेको छ । जसमा रकेटमा प्रयोग हुने थ्रस्टरहरूको सहायताले जमिनबाट हावामा उड्न र हावामै मोडिन सक्ने क्षमता रहेको छ ।
स्पेसएक्सको परिसरमा आयोजित डेमो कार्यक्रममा टेस्लाका मुख्य कार्यकारी अधिकृत इलन मस्कले दर्शकहरूलाई सम्बोधन गर्दै भने, ‘आज राति तपाईंहरूले केही यस्ता अचम्मका कुराहरू देख्दै हुनुहुन्छ, जुन कसैले कल्पना पनि गरेका थिएनन् ।’ मस्कले यो भिडियो एआई जेनेरेटेड नभई वास्तविक भएको प्रमाणित गर्नकै लागि लाइभ डेमो प्रदर्शन गरिएको बताए ।
कसरी उड्छ नयाँ रोडस्टर ?
डेमोका क्रममा सेकेन्ड जेनेरेसनको यो रोडस्टर कार एक ठूलो र्याम्पमा तीव्र गतिमा उक्लिन्छ र त्यहाँबाट हावामा उफ्रिन्छ । त्यसपछि कारले हावामै फ्लिप देखाउँछ र एयर जेटको सहायताले जमिनमा सुरक्षित रूपमा ल्याण्ड गर्छ ।
सफल ल्यान्डिङपछि मस्कले खुसी व्यक्त गर्दै भनेका थिए, ‘यसले त साँच्चै काम गर्यो !’
यो कारलाई विकास गर्न टेस्ला र स्पेसएक्सका इन्जिनियरहरूले संयुक्त रूपमा सहकार्य गरेका छन् । दुई जना बस्न मिल्ने यो कारमा अन्तरिक्षमा रकेट र उपग्रहहरूको दिशा परिवर्तन गर्न प्रयोग गरिने ‘कोल्ड–ग्याँस थ्रस्टर’ प्रविधि जडान गरिएको छ । यसले कम्प्रेस्ड हावा वा ग्यासलाई उच्च दबाबका साथ बाहिर फ्याँकेर गाडीलाई अतिरिक्त बल प्रदान गर्छ ।
कारमा हावामै नियन्त्रण गर्नका लागि ‘एल्टिट्यूड थ्रस्टर्स’ र पछाडिको भागमा ‘मेन थ्रस्टर्स’ राखिएका छन् । यसले कारलाई रकेटझैँ उड्न मद्दत गर्छ ।
दुनियाँकै सबैभन्दा तीव्र गति र विशेषताहरू
इलन मस्कका अनुसार यो कार प्रयोगको दृष्टि पूर्ण रूपमा ‘व्यवहारिक’ हुनेछ । यो कारले मात्र ०.८१ सेकेन्डमा ९७ किलोमिटर प्रतिघण्टाको गति समात्न सक्छ । यदि यो यही रफ्तारका साथ बजारमा आयो भने यो विश्वकै सबैभन्दा छिटो पिकअप लिने कार बन्नेछ ।

कार्यक्रममा जब यो कार साधारण सडकमा गुड्न सक्छ कि सक्दैन भन्ने प्रश्न सोधियो, तब मस्कले हाँस्दै जवाफ दिए, ‘यो तपाईंको सडक कस्तो छ भन्ने कुरामा निर्भर गर्छ ।’
यो कारको डेमो बाहिरिएसँगै सोसल मिडियामा मानिसहरूले विभिन्न कल्पनाहरू गर्न थालेका छन् । कोही टोल बूथ पार गर्न कार उडाउने कुरा गरिरहेका छन् त कोही ट्राफिक जाम वा खत्तम सडकका खाडलहरू छल्न यो कार उपयोगी हुने अनुमान लगाइरहेका छन् ।
यद्यपि, यो अहिलेसम्म रोडस्टरको केवल एक ‘डेमो’ मात्र हो । भविष्यमा बजारमा आउँदा यो गाडी कुन–कुन कडा सुरक्षा मापदण्ड र सडक नियमहरूसँग आउँछ तथा यसको व्यावसायिक उत्पादन कहिले हुन्छ भन्नेबारे अझै स्पष्टता आइसकेको छैन ।
प्रतिक्रिया 4