+
+
Shares

अमेरिकाले सहयोग रोके युक्रेनको अवस्था के होला ? रुसलाई कति फाइदा पुग्छ ?

ट्रम्पले एक साताभित्रै यस्ता ४ वटा कदम चाले, जसले युक्रेनको अप्ठ्यारा बढाएको छ। अब प्रश्न उठ्छ– यदि ट्रम्पले युक्रेनलाई सैन्य सहयोग र जासुसी सूचना दिन बन्द गरे भने जेलेन्स्कीको सेनाको अवस्था के होला ?

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १ गते ९:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ट्रम्पले एक सातामा चार कदम चालेर युक्रेनमाथिको अमेरिकी सैन्य सहयोग र जासुसी सूचनामा निर्भरता कमजोर पारेका छन्।
  • अमेरिकाले सूचना र हतियार रोके युक्रेनलाई रुसी मिसाइलको चेतावनी, प्याट्रियट मिसाइल र युद्धमैदानको निगरानीमा कठिनाइ हुने लेखमा उल्लेख छ।
  • रुसी डिजेलमा अस्थायी छुट र ऊर्जा केन्द्रमाथिको आक्रमण रोक्ने घोषणाले रुसलाई आर्थिक र रणनीतिक फाइदा पुग्न सक्ने लेखमा भनिएको छ।

१ असोज, काठमाडौं । करिब ५ वर्षदेखि रुससँग युद्ध लडिरहेको युक्रेनसामु अहिले नयाँ सङ्कट खडा भएको छ। जुन अमेरिकाको हतियार र जासुसी सूचनाको भरमा युक्रेनी सेनाले रुसी आक्रमणको सामना गरिरहेको छ, त्यही देशका राष्ट्रपति डोनाल्ड ट्रम्प अहिले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको पक्षमा उभिएको देखिन्छ।

ट्रम्पले एक साताभित्रै यस्ता ४ वटा कदम चाले, जसले युक्रेनको अप्ठ्यारा बढाएको छ। अब प्रश्न उठ्छ– यदि ट्रम्पले युक्रेनलाई सैन्य सहयोग र जासुसी सूचना दिन बन्द गरे भने जेलेन्स्कीको सेनाको अवस्था के होला ? के युक्रेनले अमेरिकी सहयोगविना रुसको सामना गर्न सक्ला ? र, ट्रम्पको बदलिएको रबैयाबाट पुटिनलाई कति फाइदा पुग्ला ?

आउनुहोस्, पछिल्ला केही घटनाक्रम हेरौं:

९ अक्टोबर: बढ्दो डिजेलको मूल्यको दोष युक्रेन युद्धलाई

ट्रम्पले अमेरिकामा बढिरहेको डिजेलको मूल्यको कारण रुस–युक्रेन युद्धलाई मानेका छन्। यसपछि उनले रुसी डिजेलको बिक्रीमा लागेको प्रतिबन्धमा अस्थायी छुट दिए। यसबाट इन्धनको मूल्य घटाउन मद्दत पुग्ने उनको भनाइ थियो।

यो निर्णय यसकारण पनि महत्त्वपूर्ण छ कि रुसले तेल र ग्यासको बिक्रीबाट ठूलो आम्दानी गर्छ, जसले उसलाई युद्धको खर्च जुटाउन मद्दत गर्छ। रुसी इन्धनको बिक्रीमा छुट मिल्दा मस्कोलाई आर्थिक फाइदा पुग्न सक्छ।

१० अक्टोबर: जेलेन्स्कीलाई भने– नयाँ राष्ट्रपति चुन

भोलिपल्ट ट्रम्पले सीधै जेलेन्स्कीको नेतृत्वमाथि प्रश्न उठाए। उनले युक्रेनले रुससँग सम्झौता गरेर युद्ध अन्त्य गर्न सक्ने नयाँ राष्ट्रपति चुन्नुपर्ने बताए। ट्रम्पको आरोप थियो– जेलेन्स्कीसँग युद्ध अन्त्य गर्ने धेरै मौका थिए, तर उनले त्यसको फाइदा उठाएनन्।

युक्रेनी राष्ट्रपति रुससँग सम्झौताको दिशामा अघि बढ्नुपर्ने उनको भनाइ थियो।

११ अक्टोबर: जेलेन्स्कीसँग सल्लाह नै नगरी युद्धविराम घोषणा

तेस्रो दिन ट्रम्पले रुस–युक्रेन युद्धमा ऊर्जा केन्द्रहरूमाथिको आक्रमण रोक्न युद्धविरामको घोषणा गरे। ऊर्जा केन्द्रहरूमा विद्युत् संयन्त्र, तेल रिफाइनरी र इन्धनसँग जोडिएका अन्य महत्त्वपूर्ण पूर्वाधारहरू पर्छन्।

रुस र युक्रेन दुवैले एकअर्काको ऊर्जा केन्द्रहरूमा आक्रमण गर्दै आएका छन्, जसले विद्युत् आपूर्ति, इन्धन उपलब्धता र सैन्य अभियानमा असर पार्छ। तर ट्रम्पको यो घोषणापछि विवाद उत्पन्न भयो।

जेलेन्स्कीले आफूलाई यस सम्झौताबारे पहिल्यै जानकारी नभएको बताए। रुसले युक्रेनमाथिका यस्ता आक्रमण बन्द गरेमा मात्र युक्रेनले रुसका ऊर्जा केन्द्रहरूमा आक्रमण रोक्ने उनले स्पष्ट पारे।

१३ अक्टोबर: स्टारलिङ्क सेवाको स्पिड घटाइयो

जुन इन्टरनेटको प्रयोग गरेर युक्रेनले आफ्ना तीव्र गतिको ड्रोन उडाउँदै रुसमा आक्रमण गरिरहेको थियो, त्यसमा अचानक ’स्पिड लक’ लगाइयो। पहिले यी ड्रोन २०० किमी प्रतिघण्टाको गतिमा आक्रमण गर्थे।

लक लागेपछि यसको गति १६० किमी प्रतिघण्टामा सीमित भयो। जब कुनै ड्रोनले यो गति पार गर्न खोज्छ, त्यसमा जडान भएको इन्टरनेट सिग्नल टुट्छ र ड्रोन खस्न थाल्छ।

जेलेन्स्कीले यसको दोष एलन मस्कलाई दिए। तर पछि मस्कले यसबाट पन्छिँदै यो अमेरिकी सरकारले गरिरहेको स्पष्टीकरण दिए।

अमेरिकाले सहयोग रोकिदिए युक्रेनको अवस्था के होला ?

१. मिसाइल आक्रमणको चेतावनी पाउन मुस्किल: अमेरिकाको जासुसी सूचना (इन्टेलिजेन्स) ले युक्रेनलाई रुसी मिसाइल आक्रमणबारे पहिल्यै सतर्क गराउन मद्दत गर्छ। यसबाट सैनिक र सर्वसाधारणलाई सुरक्षित स्थानमा पुग्ने समय मिल्छ। अमेरिकी सूचना बन्द भएमा यो व्यवस्था कमजोर हुन सक्छ।

२. प्याट्रियट मिसाइलको अभाव: युक्रेनले अमेरिकी प्याट्रियट मिसाइलको मद्दतले रुसी ब्यालिस्टिक मिसाइलहरूलाई खसाल्ने प्रयास गर्छ। यदि अमेरिकाले यसको आपूर्ति रोकिदियो भने युक्रेनका सहर र सैन्य अखडाहरूको सुरक्षा गर्न अझ गाह्रो हुनेछ।

३. सैन्य अभियानमा असर: अमेरिकी सञ्चार प्रविधिमा अवरोध आउँदा ड्रोनमार्फत निगरानी र आक्रमण गर्न, युद्धमैदानमा सैनिकहरूको गतिविधिमाथि नजर राख्न र आक्रमणको योजना बनाउन मुस्किल हुनेछ।

४. रुसलाई दबाब दिने रणनीति कमजोर: युक्रेनले रुसी तेल रिफाइनरी र ऊर्जा केन्द्रहरूमा आक्रमण गरेर रुसको आम्दानी र युद्ध क्षमतालाई नोक्सान पुर्‍याउने प्रयास गर्छ।

यदि अमेरिकाले यी आक्रमणको विरोध गर्‍यो र रुसी इन्धनको बिक्रीमा छुट दियो भने युक्रेनको रणनीतिमाथि दबाब बढ्न सक्छ।

यद्यपि, यसको मतलब अमेरिकी सहयोग बन्द हुनेबित्तिकै युक्रेनले युद्ध हार्छ भन्ने होइन। युक्रेनले आफ्नै देशमा हतियारको उत्पादन बढाएको छ र युरोपेली देशहरूले पनि उसलाई सैन्य सहायता दिइरहेका छन्।

तर अमेरिकी जासुसी सूचना र केही विशेष हतियारको पूर्ण विकल्प तयार गर्नु युक्रेनका लागि सहज हुनेछैन।

ट्रम्पको निर्णयबाट रुसलाई के फाइदा ?

रुसका लागि सबैभन्दा ठूलो फाइदा भनेको युक्रेन र अमेरिकाबीच बढ्दो मतभेदले किभमाथि पर्ने दबाब हो। यदि युक्रेनले जासुसी सूचना र हतियार कम पाउँछ भने उसलाई रुसी आक्रमणको सामना गर्न थप मुस्किल पर्नेछ।

रुसी इन्धनको बिक्रीमा छुट मिल्दा रुसलाई आर्थिक फाइदा पनि हुन सक्छ। अर्कोतर्फ, ऊर्जा केन्द्रहरूमा आक्रमण रोक्ने दबाबले युक्रेनको त्यो रणनीतिलाई कमजोर बनाउन सक्छ, जसको माध्यमबाट उसले रुसको युद्ध क्षमतामा चोट पुर्‍याउन चाहन्छ।

ट्रम्पले जेलेन्स्कीको साथ छोड्नुको कारण के हो ?

१. युद्ध अन्त्य गर्न युक्रेनमाथि दबाब: ट्रम्प रुस र युक्रेनबीच चाँडै सम्झौता होस् भन्ने चाहन्छन्। यसका लागि उनी जेलेन्स्कीलाई सहुलियत दिन (सम्झौताका लागि लचिलो हुन) भनिरहेका छन्।

२. रुससँग सम्बन्ध सुधार्ने प्रयास: ट्रम्प रुससँग वार्ता र आर्थिक सम्बन्धलाई अगाडि बढाउन चाहन्छन्। यसले युक्रेनलाई प्राप्त हुने अमेरिकी सहयोगमा प्रत्यक्ष असर पर्ने आशङ्का छ।

३. अमेरिकामा तेलको मूल्य घटाउने: युक्रेनले रुसी तेल रिफाइनरीहरूमा गरेको आक्रमणबाट असन्तुष्ट ट्रम्पले यी आक्रमणका कारण डिजेलको मूल्य बढिरहेको बताएका छन्। उनी रुसबाट डिजेलको आपूर्ति बढाएर मूल्य घटाउन चाहन्छन्।

४. पुटिनसँग सम्झौताको प्रयास: ट्रम्पले रुसलाई डिजेल व्यापारको अनुमति दिने र जेलेन्स्कीलाई आक्रमण रोक्न दबाब दिने जस्ता कदम चालेका छन्। यसबाट रुसलाई आर्थिक फाइदा पुग्न सक्छ भने युक्रेनको स्थिति कमजोर बन्ने आशङ्का छ।

(दैनिक भास्कर र एजेन्सीहरूको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?