News Summary
Generated by OK AI. Editorially reviewed.- दशैं बिदामा पूर्वी नेपालका भेडेटार, ह्यात्रुङ झरना, चोःलुङ पार्क, तिनजुरे र गुफापोखरी घुम्न सकिने प्रमुख गन्तव्यका रूपमा उल्लेख गरिएका छन्।
- धनकुटाको पाख्रीबासस्थित संसारी सिमसार २०६९ सालदेखि विकास हुँदै आएको करिब २५ रोपनी क्षेत्रफलको पर्यटकीय क्षेत्र बनेको छ।
- तेह्रथुमको ह्यात्रुङ झरना करिब ३६५ मिटर अग्लो भएकाले जिल्लाको प्रमुख पर्यटकीय आकर्षणका रूपमा चिनिएको छ।
१ कात्तिक, तेह्रथुम । दशैंको आगमनसँगै गाउँघरमा चाडपर्वको रौनक बढ्न थालेको छ । बजारमा किनमेल गर्नेको चहलपहल बढेको छ भने लामो बिदाको सदुपयोग गर्दै परिवार र आफन्तसँग घुमफिर गर्दैछन् ।
दशैं पारिवारिक भेटघाट र रमाइलोमा सीमित नभई प्रकृति, संस्कृति र नयाँ ठाउँको अनुभव लिने अवसर पनि हो ।
यही अवसरमा पूर्वी नेपालका प्राकृतिक, सांस्कृतिक, धार्मिक तथा ऐतिहासिक महत्त्व बोकेका पर्यटकीय स्थलको भ्रमणले बिदालाई थप अविस्मरणीय बनाउन सक्छ ।
पूर्वी नेपालका तराई, पहाड र उच्च पहाडी भूभागमा प्राकृतिक विविधतासँगै मौलिक संस्कृति, धार्मिक आस्था र ऐतिहासिक सम्पदा फैलिएका छन् ।
कतै अग्ला झरना र हरियाली डाँडाकाँडा छन् भने कतै गुराँसका वन, शान्त पोखरी, सांस्कृतिक पार्क र हिमाली दृश्य ।
यस्ता गन्तव्यले पर्यटकलाई मनोरञ्जनसँगै स्थानीय जनजीवन, परम्परा र पहिचान बुझ्ने अवसरसमेत प्रदान गर्छन् ।
दशैंको बिदामा घुमफिरको योजना बनाउनेहरूका लागि धनकुटाको भेडेटारदेखि तेह्रथुमको ह्यात्रुङ झरना, चोःलुङ पार्क, आरआर गार्डेन, तिनजुरे, पाथीभरा र गुफापोखरीसम्मका गन्तव्य आकर्षणका केन्द्र बन्न सक्छन् ।
भेडेटारदेखि धनकुटा, हिलेदेखि सिधुवासम्म
धनकुटाको भेडेटार, हिले र आसपासका पहाडी बस्ती प्राकृतिक दृश्य, स्थानीय बजार र ग्रामीण जनजीवनका लागि परिचित छन् । धनकुटाको भेडेटार पूर्वी नेपालकै चर्चित पहाडी पर्यटकीय स्थल हो ।
भेडेटारको चिसो मौसम, कुहिरोले ढाकिने डाँडाकाँडा र खुला मौसममा देखिने टाढाका पहाडी दृश्यले पर्यटकलाई आकर्षित गर्छन् ।
यहाँको चार्ल्स प्वाइन्टबाट धरान, तराईका समथर भूभाग र मौसम खुलेका बेला हिमाली शृङ्खलासमेत नियाल्न सकिन्छ ।
स्काईवाक यहाँको पछिल्लो समय मुख्य पर्यटकहरुको आकर्षक बन्दै आएको छ ।
भेडेटार नजिकै रहेको नमस्ते झरना अर्को आकर्षण हो । हरियाली वनजङ्गलबीच रहेको करिब ८० मिटर अग्लो झरना प्राकृतिक सौन्दर्य र फोटोग्राफीका लागि उपयुक्त स्थल हो ।
भेडेटारबाट धनकुटा बजार हुँदै हिले र सिधुवातर्फको यात्रा गर्दा पहाडी जनजीवन, कृषि उत्पादन, स्थानीय बजार र मनोरम भू–दृश्यको अनुभव गर्न सकिन्छ ।
धनकुटा बजार पुरानो पहाडी बस्ती र स्थानीय उत्पादनका लागि परिचित छ भने हिले आसपासका डाँडाबाट मौसम खुलेका बेला हिमाली दृश्य नियाल्न सकिन्छ ।
यस मार्गमा यात्रा गर्ने पर्यटकले प्राकृतिक सौन्दर्यसँगै पूर्वी पहाडको मौलिक जीवनशैली बुझ्ने अवसर पाउँछन् ।
हरियाली चियाबारी, पोखरीको शान्त वातावरण, आकर्षक मूर्तिहरू र प्रकृतिसँग रमाउन सकिने खुला क्षेत्र ।
पूर्वी पहाडको सुन्दर पर्यटकीय गन्तव्यका रूपमा परिचित बन्दै गएको धनकुटाको पाख्रीबासस्थित संसारी सिमसार पुग्ने पर्यटकलाई यिनै दृश्यले आकर्षित गर्छन् ।
कुनै समय झाडी र दलदलले ढाकिएको यो क्षेत्र अहिले घुमफिर, वनभोज र पारिवारिक मनोरञ्जनको केन्द्र बनेको छ ।
संसारी सिमसार पाख्रीबास
धनकुटाको पाख्रीबास नगरपालिका–४ मा अवस्थित संसारी सिमसार पाख्रीबास बजारबाट करिब पाँच सय मिटर तल पर्छ ।
पर्यटकीयस्थल हिले बजारबाट करिब पाँचदेखि छ किलोमिटरको दूरीमा रहेको यो क्षेत्र धनकुटा सदरमुकामबाट करिब १८ देखि १० किलोमिटर उत्तरपश्चिममा अवस्थित छ ।
सहज पहुँच र प्राकृतिक वातावरणका कारण यहाँ आन्तरिक पर्यटकको आकर्षण बढ्दै गएको छ ।
करिब २५ रोपनी क्षेत्रफलमा फैलिएको संसारी सिमसारलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने काम २०६९ सालदेखि सुरु भएको हो ।
तत्कालीन जिल्ला विकास समितिको सहयोगमा पानी संरक्षणका लागि संरचना निर्माण भएपछि पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको हो ।
स्थानीयको सक्रियता, विभिन्न दाताको सहयोग र पूर्वाधार निर्माणसँगै यसको स्वरूप फेरिँदै गएको हो । पछिल्लो समय यहाँ पर्यटकहरुको आकर्षक बढ्दै गएको छ ।
चो:लुङ पार्क
तेह्रथुमको लालीगुराँस नगरपालिकाको वसन्तपुरमा रहेको चो:लुङ पार्क प्राकृतिक सौन्दर्यसँगै लिम्बू समुदायको सभ्यता, संस्कृति र इतिहास बुझ्ने महत्वपूर्ण स्थल हो ।
यो पार्क घुमफिर गर्ने ठाउँ मात्र नभई याक्थुङ (लिम्बू) समुदायको मुन्धुमी परम्परा र सांस्कृतिक सम्पदा संरक्षण गर्ने केन्द्रका रूपमा विकसित भइरहेको छ ।

पार्कमा परम्परागत शैलीका संरचना, ढुङ्गे बाटा, फलैँचा, बिसौनी र मुन्धुमसँग सम्बन्धित सांस्कृतिक प्रतीकहरू देख्न सकिन्छ । यहाँको विशेषता भनेको प्रकृति र संस्कृतिलाई एकै ठाउँमा जोड्नु हो ।
लिम्बू समुदायको प्रकृतिप्रतिको आस्था, पुर्खाको सम्झना र ढुङ्गासँग जोडिएको सांस्कृतिक परम्पराले यस स्थललाई अन्य पर्यटकीय गन्तव्यभन्दा फरक बनाएको छ ।
पार्कमा रहेको सांस्कृतिक सङ्ग्रहालयमा लिम्बू समुदायसँग सम्बन्धित ऐतिहासिक दस्तावेज, परम्परागत गरगहना, वेशभूषा र घरेलु सामग्रीसमेत अवलोकन गर्न सकिन्छ ।
त्यसैले चोःलुङ पार्कको भ्रमण मनोरञ्जनमा मात्र सीमित नभई स्थानीय इतिहास र पहिचान बुझ्ने अवसर पनि हो ।
आरआर गार्डेन, तिनजुरे र पाथीभरा
तेह्रथुमको बसन्तपुर आसपासका आरआर गार्डेन, तिनजुरे क्षेत्र र पाथीभरा धार्मिक तथा प्राकृतिक पर्यटनका दृष्टिले भ्रमणमा समेट्न सकिने स्थल हुन् ।
यी स्थानको भ्रमण गर्दा पहाडी भू–दृश्य, वनस्पति, स्थानीय बस्ती र धार्मिक आस्थासँग जोडिएका परम्पराको अनुभव गर्न सकिन्छ ।
तिनजुरे क्षेत्र विशेषगरी गुराँसका विभिन्न प्रजाति र अग्लो डाँडाबाट देखिने मनोरम दृश्यका लागि परिचित छ ।
तिनजुरे डाँडा करिब तीन हजार ६६ मिटर उचाइमा रहेको छ । यहाँबाट मौसम खुलेका बेला पूर्वी हिमाली शृङ्खलाको दृश्य अवलोकन गर्न सकिन्छ ।
तिनजुरे–मिल्के–जलजले क्षेत्रलाई नेपालको महत्वपूर्ण गुराँस क्षेत्रका रूपमा चिनिन्छ ।
वसन्त ऋतुमा गुराँस फुल्दा यस क्षेत्रका वनजङ्गल रङ्गीन बन्छन् । दशैंको समयमा भने हरियाली डाँडाकाँडा, स्वच्छ पहाडी वातावरण र खुला मौसममा देखिने हिमाली दृश्यले पर्यटकलाई आकर्षित गर्न सक्छन् ।
यसै क्षेत्रको भ्रमणमा पाथीभरा धार्मिक स्थललाई पनि समेट्न सकिन्छ । धार्मिक आस्था राख्नेहरूका लागि मन्दिरको दर्शन र शान्त वातावरणमा समय बिताउने अवसर हुन्छ ।
आरआर गार्डेनको भ्रमणलाई तिनजुरे तथा आसपासका स्थानसँग जोडेर यात्राको योजना बनाउन सकिन्छ । यद्यपि यी गन्तव्यमा पुग्ने बाटो र स्थानीय सुविधाबारे यात्रा गर्नुअघि जानकारी लिनु उपयुक्त हुन्छ ।
गुफापोखरी
तेह्रथुम र सङ्खुवासभाको पहाडी क्षेत्रसँग जोडिएको गुफापोखरी पूर्वी नेपालको आकर्षक प्राकृतिक तथा धार्मिक गन्तव्य हो ।
प्राकृतिक पोखरी तिनजुरे–मिल्के–जलजले पदमार्गको महत्त्वपूर्ण विश्रामस्थलसमेत हो । पोखरीको शान्त वातावरण, आसपासका वनजङ्गल र उचाइमा फैलिएका पहाडी भूभागले यस क्षेत्रलाई विशिष्ट बनाएका छन् ।
मौसम खुलेका बेला यहाँबाट कञ्चनजङ्घा, मकालु र अन्य हिमाली शृङ्खलाको दृश्य अवलोकन गर्न सकिन्छ ।
पोखरी धार्मिक आस्थासँग पनि जोडिएकाले विभिन्न समुदायका मानिस यहाँ दर्शन तथा भ्रमणका लागि पुग्ने गर्छन् ।
गुफापोखरी प्रकृति अवलोकन, फोटोग्राफी र पदयात्रामा रुचि राख्नेहरूका लागि उपयुक्त गन्तव्य हो । यहाँको भ्रमणलाई बसन्तपुर, तिनजुरे र मिल्के क्षेत्रको यात्रासँग जोड्न सकिन्छ ।
उचाइमा रहेको स्थान भएकाले मौसम परिवर्तनको सम्भावना ध्यानमा राख्दै न्यानो कपडा, आवश्यक सामग्री र बसोबासको पूर्वतयारी गर्नु राम्रो हुन्छ ।
ह्यात्रुङ झरना
तेह्रथुमको फेदाप क्षेत्रमा रहेको ह्यात्रुङ झरना जिल्लाको प्रमुख पर्यटकीय आकर्षणमध्ये एक हो ।
अग्लो पहाडको भिरबाट झर्ने पानी र आसपासको प्राकृतिक वातावरणले यसलाई विशिष्ट बनाएको छ । करिब ३६५ मिटर अग्लो भनिने यो झरना नेपालको अग्ला झरनामध्ये एकका रूपमा परिचित छ ।
झरनाको भव्य दृश्य, हरियाली डाँडाकाँडा र ग्रामीण परिवेशले प्रकृतिमा रमाउन चाहने पर्यटकलाई आकर्षित गर्छन् ।
यहाँको भ्रमण गर्दा पहाडी भूगोल र स्थानीय बस्तीको जनजीवनसमेत नजिकबाट अनुभव गर्न सकिन्छ ।
ह्यात्रुङ झरना तेह्रथुमको पर्यटन पहिचान स्थापित गर्ने महत्त्वपूर्ण प्राकृतिक सम्पदा हो ।
यस क्षेत्रको पर्यटन प्रवर्धन गर्न सडक तथा पदमार्गको सुधार, सरसफाइ, सूचना र सुरक्षाको व्यवस्थापन आवश्यक छ ।
भ्रमणमा निस्कनुअघि सडकको अवस्था बुझ्नु र भिरालो बाटोमा सावधानी अपनाउनु उपयुक्त हुन्छ ।
प्रतिक्रिया 4