+
+
Shares
दसैं विशेष :

कुन बजार जाने, कस्ता लुगा किन्ने ?

चाहे तपाईं भिडभाड छिचोल्दै असन-न्युरोडमा गएर बार्गेनिङ गर्दै लुगा किन्नुस् वा मोबाइलमा एक क्लिक गरेर अफरमा घरमै मगाउनुस्, बजारमा ‘छानिछानि’ र अनलाइनमा ‘जानीजानी’ किनमेल गर्नुभयो भने तपाईंको दसैं गजबकै बन्ने छ ।

ऋतु काफ्ले ऋतु काफ्ले
२०८३ कात्तिक १ गते १२:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दसैंको किनमेलका लागि काठमाडौं उपत्यकाका भृकुटीमण्डप, असन, इन्द्रचोक, महाबौद्ध, न्युरोड र दरबारमार्गका बजारमा उपभोक्ताको भीड बढेको छ ।
  • यस वर्ष दसैंमा कटन लखनऊइ चिकनकारी को–अर्ड सेट, कर्डोरोय, जर्जेट अनारकली गाउन, ओभरसाइज्ड टिसर्ट र कार्गो प्यान्टको माग उच्च देखिएको छ ।
  • दराजले ‘दसैं धमाका’ सेल चलाइरहेको छ, भने टिकटक लाइभ र इन्स्टाग्राम पेजहरूले पनि घरमै लुगा पुर्‍याउने अफर दिएका छन् ।

१ कात्तिक, काठमाडौं । शरद ऋतु आगमनसँगै नेपालीहरूको घरआँगनमा दसैं भित्रिसकेको छ । दसैं भन्नु नै मिठो खाने, राम्रो लगाउने, मान्यजनबाट टीका थाप्ने र पारिवारिक जमघटमा रमाउने चाड हो ।

वर्षभरि सामान्य वा जस्तोसुकै लुगा लगाए पनि दसैंका बेला परिवारका सबै सदस्यलाई नयाँ लुगा किन्ने र टीकाको दिन चिटिक्क परेर सजिनुको मज्जा नै बेग्लै हुन्छ ।

यतिबेला काठमाडौं उपत्यकाका मुख्य व्यापारिक केन्द्रहरू दसैंको किनमेल गर्नेको भिडले खचाखच छन् । तर, पछिल्ला केही वर्षयता किनमेलको शैलीमा ठूलो परिवर्तन आएको छ ।

एकातिर पसल–पसल चहारेर, मोलमोलाइ (बार्गेनिङ) गरेर लुगा किन्नेको भिड सडकदेखि मलसम्म उस्तै छ भने अर्कातिर घरमै बसेर मोबाइलको स्क्रिनबाट ‘अनलाइन सपिङ’ गर्नेहरूको संख्या पनि ह्वात्तै बढेको छ ।

यसपालि बजारमा महँगीले उपभोक्तालाई तर्साएकै अवस्था छ ।  गोजीको बजेट हेरेर परिवारका सबैलाई पुग्ने गरी सस्तो र राम्रो लुगा कहाँ किन्ने भन्ने अलमल धेरैलाई हुन सक्छ । काठमाडौं यस्तो सहर हो, जहाँ ५ सय रुपैयाँदेखि ५ लाख रुपैयाँसम्मका लुगा एकै दिनमा किन्न सकिन्छ । आफ्नो बजेट र रोजाइ अनुसार काठमाडौंका कुन बजारमा जाने त ?

दसैंको किनमेलका लागि काठमाडौंका केही प्रमुख बजार र त्यहाँको अवस्था यस्तो छ :

भृकुटीमण्डप खुला बजार : सस्तो र सुलभ

तपाईंको बजेट कम छ र सस्तोमा राम्रा लुगा किन्न चाहनुहुन्छ भने भृकुटीमण्डप खुला बजार पहिलो रोजाइ हुन सक्छ । यहाँ विशेषगरी निम्न र मध्यम वर्गीय परिवारको ठूलो घुइँचो लाग्ने गर्छ ।

यहाँका स्टलहरूमा पाइन्ट, टिसर्ट, ज्याकेट, जुत्तादेखि बालबालिकाका सबैखाले कपडा पाइन्छन् । मल र ठूला पसलमा २ हजार पर्ने पाइन्ट यहाँ बार्गेनिङ गरेर १ हजारदेखि १२ सय रुपैयाँसम्ममा किन्न सकिन्छ । यति तपाईंलाई आवश्यक हो भने घरायसी प्रयोजनका सामग्री पनि उपलब्ध छन् ।

असन, इन्द्रचोक र महाबौद्ध : होलसेल र खुद्रा दुवै

काठमाडौंको सबैभन्दा पुरानो व्यापारिक केन्द्र असन र इन्द्रचोकमा यतिबेला खुट्टा राख्ने ठाउँ छैन । यहाँका साँघुरा गल्लीहरूमा लुगा, भाँडाकुँडादेखि जुत्ताचप्पलसम्मका पसल भरिभराउ छन् ।

विशेषगरी साडी, कुर्था–सुरुवाल, ढाकाका कपडा र तन्ना/पर्दा किन्नका लागि इन्द्रचोक र असन प्रख्यात छन् । त्यस्तै महाबौद्ध क्षेत्र जुत्ताचप्पल र कपडाको होलसेल बजार हो । परिवार ठूलो छ र एकै पटक धेरै लुगा किन्नुपर्ने छ भने महाबौद्ध गएर होलसेल पसलमै खुद्रा सामान पनि अलि सस्तोमा किन्न सकिन्छ ।

न्युरोड र रञ्जना गल्ली : फेसनका नयाँ ट्रेन्ड

तपाईंलाई सस्तो मात्र होइन, बजारमा चलेको नयाँ डिजाइन र ‘ट्रेन्डी’ लुगा चाहिएको छ भने न्युरोड, खिचापोखरी र रञ्जना गल्ली उपयुक्त गन्तव्य हो । यहाँ युवापुस्ताको बढी भिड लाग्छ । मध्यम बजेट (२ हजारदेखि ५ हजारसम्म) मा राम्रा र स्टाइलिस लुगाहरू यहाँ किन्न सकिन्छ ।

यो वर्षको फेसन ट्रेन्ड : के किन्दैछन् उपभोक्ता ?

बजारमा हरेक वर्ष फेसन ट्रेन्ड फेरिन्छ । यसपालि दसैंमा पनि केही खास डिजाइनका लुगाको माग उच्च छ ।

यस वर्ष दसैंमा नेपाली फेसन बजारमा परम्परागत सांस्कृतिक पहिरन र आधुनिक वेस्टर्न फ्युजनको आकर्षक सम्मीश्रण मुख्य ट्रेन्डका रूपमा देखिएको छ ।

चाडपर्वको रौनकसँगै मौसममा आएको हल्का परिवर्तनका कारण बजारमा कटन लखनऊइ चिकनकारी को–अर्ड सेट, कर्डोरोय र जर्जेटका अनारकली गाउनहरू महिलामाझ निकै लोकप्रिय छन् । खासगरी ‘नाइन्टिज भिन्टेज कुर्ता सेट’ को माग अत्यधिक भएको व्यवसायीहरूले बताएका छन् ।

पुरुषहरूमा ओभरसाइज्ड टिसर्ट, कार्गो प्यान्टसहित स्ट्रिटवेयर र सदाबहार स्मार्ट क्याजुअल क्रेज उच्च छ । बालबालिकाका लागि भने हेर्दा राम्रोमात्र नभई लगाउँदा सजिलो (कम्फर्टेबल) हुने सुतीका फ्रक र बाबासुट अभिभावकले बढी खोज्ने गरेका छन् ।

नेपाली दसैं बजारमा कपडाको मूल्य सस्तो र महँगो दुवै प्रकारको उपलब्ध छ, तर यो तपाईंले सामान किन्ने लोकेसन (बजार) र कपडाको ब्रान्ड वा गुणस्तरमा भर पर्छ ।

ब्रान्ड खोज्नेका लागि दरबारमार्ग र सपिङ मल  

बजेटको कुनै चिन्ता छैन र अन्तर्राष्ट्रिय ब्रान्डका ओरिजिनल लुगा लगाउने सोख छ भने दरबारमार्गका शोरुमहरू वा सिभिल मल, छाया सेन्टर, लबिम मल र सिटी सेन्टरजस्ता ठाउँमा जान सकिन्छ । यहाँ एडिडास, पुमा, जारा, गुच्चीजस्ता ब्रान्डका आउटलेट छन् ।

मलहरूले दसैं लक्षित विभिन्न उपहार योजना र ‘फेस्टिभल अफर’ सञ्चालन गर्दै लाइभ म्युजिक सहित ग्राहकलाई आकर्षित गरिरहेका छन् ।

बजार विकल्प बन्दै अनलाइन सपिङ र ‘मेगा सेल’

दिनभरि ट्राफिक जाम छिचोल्दै बजार पुग्ने र पसिना काड्दै पसल–पसल चहार्ने झन्झटबाट मुक्त हुन चाहनेका लागि अहिले अनलाइन सपिङ गजबको विकल्प बनेको छ ।

नेपालको ठूलो ई–कमर्स प्ल्यटफर्म दराजले ‘दसैं धमाका’ सेल चलाइरहेको छ, जहाँ कपडा र जुत्तामा भारी छुट दिइएको छ । डिजिटल वालेट (ईसेवा, खल्ती) र विभिन्न बैंकका कार्डमार्फत भुक्तानी गर्दा पाइने थप ‘क्यासब्याक’ वा छुटले अनलाइन सपिङलाई झनै मलजल गरेको छ ।

दराजबाहेक टिकटक लाइभ र इन्स्टाग्राम पेजहरूले पनि ‘मेगा क्लियरेन्स सेल’, ‘बाइ वान गेट वान फ्री’ भन्दै घरघरमै लुगा पुर्‍याइदिने सुविधा दिएका छन् ।

बजारमा देखिने सेल र अनलाइनमा आउने अफरहरू जति आकर्षक हुन्छन्, त्यसमा जोखिम पनि उत्तिकै हुन्छ । ‘बम्पर छुट’ को विज्ञापन देख्दैमा आँखा चिम्लेर अर्डर गरिहाल्नु हुँदैन, यसमा सचेत हुनुपर्छ ।

कतिपय अवस्थामा अनलाइनमा देखाइएको फोटो र घरमा आइपुगेको लुगाको रङ, साइज र कपडाको गुणस्तर (फ्याब्रिक) आकाश–जमिन फरक पर्न सक्छ ।

त्यसैले अनलाइनबाट लुगा किन्दा सधैं विश्वासिलो पेजबाट मात्र किन्नुपर्छ । सामान चित्त नबुझे फिर्ता वा साट्न मिल्ने पोलिसी छ कि छैन भनेर यकिन गरे फसिने चिन्ता हुँदैन ।

त्यस्तै भौतिक बजारमा पनि ‘सेल’ मा राखिएका लुगामा दाग लागेको, सिलाइ उप्किएको वा पुरानो स्टक हुन सक्ने भएकाले राम्ररी जाँचेर मात्र किन्नुपर्छ । भिडभाडमा आफ्नो पकेट र झोलाको सुरक्षामा विशेष ध्यान दिन प्रहरीले बारम्बार अनुरोध गर्दै आइरहेको छ ।

दसैं देखासिकी गर्ने चाड होइन । अरूले महँगा ब्रान्ड लगाए भन्दैमा ऋण काढेरै लुगा किन्नुपर्छ भन्ने छैन । ‘छुट छ’ भन्दैमा नचाहिने सामान थुपार्ने ‘इम्पल्स बायर’ बन्नु आर्थिक रूपमा हानिकारक हुन सक्छ । आफ्नो गोजीको आकार हेरेर, शरीरलाई सुहाउने र लगाउँदा आरामदायी हुने लुगा किन्नु नै राम्रो हुन्छ ।

चाहे तपाईं भिडभाड छिचोल्दै असन–न्युरोडमा गएर बार्गेनिङ गर्दै लुगा किन्नुस् वा मोबाइलमा एक क्लिक गरेर अफरमा घरमै मगाउनुस्, बजारमा ‘छानिछानि’ र अनलाइनमा ‘जानीजानी’ किनमेल गर्नुभयो भने तपाईंको दसैं गजबकै बन्ने छ ।

लेखक
ऋतु काफ्ले

काफ्ले अनलाइनखबरकाे बिजनेस ब्युराे संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?