+
+
Shares
दसैं विशेष :

हरेक वर्ष २ लाख नेपाली जान्छन् विदेश घुम्न, मुख्य सिजन दसैं

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अनुसार नेपाली ट्राभल एजेन्सी मार्फत विदेश घुमफिरमा जाने नेपालीको परम्परागत मुख्य गन्तव्य थाइल्यान्ड हो ।

अच्युत पुरी अच्युत पुरी
२०८३ कात्तिक २ गते ८:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अध्यागमन विभागका अनुसार सन् २०२१ देखि २०२५ सम्म वार्षिक औसत १ लाख ९९ हजार ९ सय ७६ नेपाली पर्यटन र तीर्थयात्रामा विदेश गएका छन् ।
  • नाट्टाले भिसा प्रक्रिया र अग्रिम बुकिङका कारण थाइल्यान्ड टुर प्याकेज बहिष्कार गर्ने चेतावनी दिएको छ ।
  • विभागको तथ्यांकअनुसार पछिल्लो ५ वर्षमा सबैभन्दा धेरै नेपाली यूएई गएका छन्, जहाँ वार्षिक औसत २ लाख ७१ हजार ८ सय ९३ जना पुगेका छन् ।

२ कात्तिक, काठमाडौं । हरेक वर्ष औसत २ लाख नेपाली विदेश घुमफिरमा निस्कने गरेको पाइएको छ ।

अध्यागमन विभागको तथ्यांक अनुसार सन् २०२१ देखि २०२५ सम्म वार्षिक औसत १ लाख ९९ हजार ९ यस ७६ नेपाली पर्यटन र तीर्थयात्रा भ्रमणमा गएका छन् । यसमध्ये घुमफिरको मुख्य सिजन दसैं भएको व्यवसायी बताउँछन् ।

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अनुसार नेपाली ट्राभल एजेन्सी मार्फत विदेश घुमफिरमा जाने नेपालीको परम्परागत मुख्य गन्तव्य थाइल्यान्ड हो ।

पछिल्लो समय युनाइटेड अरब इमिरेट्स (यूएई) अर्को आकर्षक गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ । पछिल्लो समय थाइल्यान्डको भिसा प्रक्रियाका कारण नेपाली यात्रु तथा व्यवसायी ठूलो आर्थिक जोखिममा परेको भन्दै नाट्टाले थाइल्यान्ड टुर प्याकेज नै बहिष्कार गर्ने चेतावनी दिएको छ ।

नाट्टाका अनुसार भिसा स्वीकृतिको सुनिश्चितता नहुँदा पनि आवेदकलाई हवाई टिकट तथा होटल बुकिङ अनिवार्य गरिएको छ । भिसा स्वीकृत नभए अग्रिम बुकिङ गरेको रकम फिर्ता नहुने प्रावधानले थाइल्यान्डमा झन्झट बढ्दै जाँदा यात्रु यूएई लगायत अन्य गन्तव्यतर्फ आकर्षित हुन थालेका छन् ।

विदेश जानेमध्ये अध्ययन, परिवार र आफन्त भेटघाट, अस्थायी बसोबास र स्थायी बसोबासमा जाने नेपालीको तथ्यांक ‘भ्रमण सेग्मेन्ट’ मा समावेश छैन ।

यसैगरी सम्मेलन/सेमिनार, व्यवसाय, स्वास्थ्य उपचार, सरकारी भ्रमण, सांस्कृतिक कार्यक्रममा जाने नेपालीको संख्या समेत समावेश छैन । संयुक्त राष्ट्रसंघीय मिसन, खेलकुद कार्यक्रम, आफ्नो मुलुक फिर्ता र अन्य प्रयोजनमा जाने नेपालीको संख्या समेत समावेश छैन । त्यस्तै पर्यटनमा रोजगारी प्रयोजनमा जाने संख्यासमेत समावेश हुँदैन ।

विभागका अनुसार २०२५ मा मात्र पर्यटन तथा तीर्थयात्रामा २ लाख ३३ हजार १ सय ८ नेपाली गएको तथ्यांक छ । पछिल्ला वर्षहरूमा नेपाली आप्रवासन दर निरन्तर वृद्धि भइरहेको देखिएको छ ।

पछिल्लो ५ वर्षमा कुल ७१ लाख २६ हजार ४ सय ५९ नेपाली विभिन्न प्रयोजनका लागि विदेशिएका छन् । यसमध्ये ५२ प्रतिशत  भने वैदेशिक रोजगारीमा गएका हुन् ।

‘यस तथ्यांकले अर्थतन्त्रको संरचनात्मक निर्भरता वैदेशिक रोजगारीमा रहेको देखाएको छ,’ विभाग भन्छ ।

विभागको तथ्यांक अनुसार रोजगारीपछि पर्यटन उद्देश्यले विदेश जाने नेपाली संख्या अधिक छ । यस्तो संख्या औसत १४ प्रतिशत छ ।

पछिल्लो ५ वर्षयता पर्यटनमा कुन वर्ष कति नेपाली गए विदेश ?

सन् २०२१ : १ लाख १० हजार ५ सय २१

सन् २०२२ : १ लाख ७७ हजार ३ सय ४

सन् २०२३ : २ लाख ४ हजार ५ सय १७

सन् २०२४ : २ लाख ७४ हजार ४ सय २८

सन् २०२५ : २ लाख ३३ हजार १ सय ८

कुल : ९ लाख ९८ हजार ८ सय ७८

अस्थायी आवासीय प्रयोजनमा जाने ५.२५ प्रतिशत र ४.२० प्रतिशत नेपाली भने स्थायी बसोबासका लागि जाने गरेको देखिन्छ । अध्यागमन विश्लेषण अनुसार हरेक वर्ष विदेशिने नेपालीमध्ये ६० प्रतिशत नागरिक आर्थिक अवसर खोजी र बसाइँसराइ उद्देश्यले विदेशी मुलुक प्रस्थान गरिरहेका छन् ।

शिक्षा आर्जन गर्ने उद्देश्य सहित विदेश जाने नेपालीको संख्यात्मक हिस्सा ६.९ प्रतिशत छ । यसको प्रवृत्तिगत अवस्था हेर्दा २०२१ मा शिक्षाका लागि विदेशिने नागरिक २६ हजार रहेकोमा सन् २०२५ मा ४ सय प्रतिशत बढेर १ लाख ३३ हजार पुगेको छ ।

यस प्रकारको प्रवृत्तिबाट नेपालीको विदेश यात्राको उद्देश्य अल्पकालीन रोजगारीबाट शिक्षा आर्जन गर्दै दीर्घकालीन बसोबासतर्फ निर्देशित रहेको विश्लेषण विभागले गरेको छ ।

पर्यटन बाहेक कुन प्रयोजनमा विदेशिन्छन् कति नेपाली ?

अध्यागमन विभागको तथ्यांक अनुसार २०२१ देखि २०२५ सम्म वैदेशिक रोजगारीमा औसत हरेक वर्ष ७ लाख ४३ हजार ६ सय ८२ नेपाली विदेशिएका छन् । २०२५ मा मात्र यो संख्या ८ लाख ६६ हजार ३ सय १० छ ।

अध्ययनमा हरेक वर्ष औसत ९७ हजार ९ सय ५६ जना विदेशिने गरेको देखिन्छ । २०२५ मा यो संख्या १ लाख ३३ हजार ८ सय ७० छ । परिवार/आफन्तका रूपमा विदेशिने संख्या औसत १ लाख १६ हजार ३ स ७८ छ । यस प्रयोजनका लागि १ लाख ३० हजार नेपाली विदेश गएका थिए ।

अस्थायी बसोबास उद्देश्यले हरेक वर्ष औसत ७४ हजार ८ सय ८१ विदेशिएका छन् । २०२५ मा यो संख्या ९७ हजार ९ सय ३९ छ । स्थायी बसोबासमा औसत ५९ हजार ८ सय ६४ विदेशिने गरेका छन् । २०२५ मा यो संख्या ६४ हजार ७ यस ६० छ ।

‘अन्य’ प्रयोजनमा औसत ३२ हजार ८ सय ५० नेपाली विदेशिने गरेको पाइएको छ । २०२५ मा यस प्रयोजनमा ४९ हजार ३ सय ८६ नेपाली विदेश गएका थिए ।

आश्रितका रूपमा हरेक वर्ष १९ हजार ९ सय ४९ नेपाली विदेशिन्छन् । सम्मेलन/सेमिनार र तालिममा हरेक वर्ष १७ हजार ५ सय ९७ नेपाली विदेश जान्छन् । व्यवसायका लागि औसत १४ हजार ८ सय ६० नेपाली विदेश जाने गरेको तथ्यांक छ ।

त्यस्तै स्वास्थ्य उपचारमा १५ हजार ८ सय ११, सरकारी भ्रमणमा ११ हजार २ सय ५४, अनुमति आवश्यक नपर्ने रोजगारीमा ८ हजार ६ सय ८६ र सांस्कृतिक कार्यक्रममा २ हजार ९ सय ५९ नेपाली जाने गरेको विभागले जनाएको छ ।

संयुक्त राष्ट्रसंघीय मिसनमा ६ हजार १ सय ४, खेलकुद कार्यक्रममा २ हजार ४ सय ४० र आफ्नो मुलुक फिर्ताका रूपमा ४३ जना औसत नेपाली विदेश जाने गरेको विभागको तथ्यांक छ ।

पछिल्लो ५ वर्षमा कुल कति नेपाली गए विदेश ?

सन् २०२१ : ६ लाख २६ हजार ४ सय ८१

सन् २०२२ : १३ लाख ९७ हजार २ सय ५०

सन् २०२३ : १५ लाख ७२ हजार ४ सय

सन् २०२४ : १६ लाख ८५ हजार ४ सय ९२

सन् २०२५ : १७ लाख ९ सय ६९

कुन देश जान्छन् धेरै नेपाली ?

अध्यागमन विभागको पछिल्लो तथ्यांक अनुसार नेपालीको सबैभन्दा मुख्य आकर्षण यूएईमा छ । पछिल्लो ५ वर्षमा औसत विदेश प्रस्थान गरेकामध्ये सबैभन्दा धेरै यूएई गएका छन् । जसमा रोजगारीको संख्यासमेत समावेश छ ।

यूएईमा हरेक वर्ष औसत २ लाख ७१ हजार ८ सय ९३ जाने गरेको तथ्यांक छ । दोस्रो स्थानमा कतार छ । कतारमा हरेक वर्ष औसत १ लाख ६८ हजार ४ सय ८९ जाने गरेको देखिन्छ । तेस्रो स्थानमा साउदी अरब छ । साउदीमा हरेक वर्ष १ लाख ४४ हजार ३ सय ६७  नेपाली पुगेका छन् । चौथो स्थानमा भारत छ । भारतमा हरेक वर्ष औसत १ लाख १३ हजार ८ सय ५३ नेपाली जाने गर्छन् ।

त्यस्तै  जापानमा वार्षिक औसत ८१ हजार ७ सय ४८, अस्ट्रेलिया ८२ हजार ५ सय ६७, मलेसिया १ लाख ५ हजार ८ सय ३६, बेलायत ४५ हजार ४ सय ६५, कुवेत ४५ हजार ७ सय ४७, अमेरिका ६० हजार १ सय ४८, चीन ५१ हजार २ सय २४, थाइल्यान्ड २६ हजार ६ सय ४६, दक्षिण कोरिया २८ हजार ६ सय ९९, ओमान १४ हजार ५ सय ५७ र हङकङमा वार्षिक औसत १४ हजार ३ सय ८८ नेपाली पुग्ने गरेको तथ्यांक छ ।

लेखक
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?