+
+
Shares
समीक्षा :

राजनीतिक आडम्बरभित्रको ‘छ माया छपक्कै–२’

चिरञ्जीवी मास्के चिरञ्जीवी मास्के
२०८३ कात्तिक २ गते ९:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दीपकराज गिरी, दीपाश्री निरौला र दीपेन्द्र लामाको ‘छ माया छपक्कै-२’ फूलपातीको दिन चरिकोटको कालिञ्चोक चलचित्र मन्दिरमा प्रदर्शन भएको छ ।
  • फिल्मले महाभारत सिरियलबाट प्रेरित राजनीति, परिवार, प्रेम, जातीय विभेद र विदेशमोहका कथालाई प्रस्तुत गरेको समीक्षामा उल्लेख छ ।
  • समीक्षामा फिल्मको अभिनय, बिम्ब र सन्देशलाई प्रभावकारी भनिएको छ, तर कथावस्तु र प्राविधिक पक्ष अझ बलियो हुनुपर्ने टिप्पणी पनि गरिएको छ ।

४० को दशकमा टेलिभिजन भएको घर चरिकोटमा निकै कम थियो । साँझ परेपछि महाभारत सिरियल हेर्न टेलिभिजन भएको घरमा छिमेकीको भीड लाग्ने गर्थ्यो । मेरा कान्छा मामा (श्यामकृष्ण श्रेष्ठ) को घरमा पनि २४ इन्चको रङ्गीन टेलिभिजन थियो । हरेक साँझ हामी उहाँको कोठामा महाभारत सिरियल हेर्न जम्मा हुने गर्थ्यौँ ।

सिरियलको बीचबीचमा आउने विज्ञापनको समयमा मामासँग महाभारतका राजनीतिक तिकडम र छलछामका विषयमा चर्चा–परिचर्चा हुन्थ्यो । महाभारतका कृष्ण, दुर्योधन, शकुनी, भीष्म पितामह, अर्जुन, युधिष्ठिरलगायतका पात्रहरूसँगको दर्शकीय उठबसले धेरै नेपालीलाई राजनीतिक तिकडम र छलछाम सिकाएको हुनुपर्छ । मामासँग विज्ञापनको छुट्टीमा हुने चर्चा-परिचर्चा यस्तै विषयमा केन्द्रित गरिन्थ्यो ।

फूलपातीको दिन चरिकोटको कालिञ्चोक चलचित्र मन्दिरमा दीपक (दीपकराज गिरी)-दीपा (दीपाश्री निरौला)–दीपेन्द्र (लेखक–निर्देशक दीपेन्द्र लामा) को ‘छ माया छपक्कै-२’ हेर्दा मलाई ४० को दशकमा मामाको कोठामा परिवार र छिमेकीसँग बसेर महाभारत हेरेको त्यही समय याद आयो ।

किनभने लेखक-निर्देशक दीपेन्द्र लामाले ‘छ माया छपक्कै-२’ को कथावस्तुलाई महाभारतको सिरियलबाटै तन्काएका रहेछन् । ‘छ माया छपक्कै–२’ को कथासार राजनीतिक महाभारतले निम्त्याउने पारिवारिक तथा सामाजिक घटना-दुर्घटनाको तीतो यथार्थभित्र रुमलिएको छ ।

फिल्म उत्कृष्ट छ, तर दीपक-दीपाको निर्माण तथा दीपेन्द्र लामाको लेखन-निर्देशनमा बनेको फिल्म अझ उत्कृष्ट हुनुपर्ने थियो कि ! मलाई चाहिँ यस्तै लाग्यो । गम्भीर विषयमा कलाकारहरूको उत्कृष्ट अभिनय र भरपुर मनोरञ्जन पस्कन सकेको ‘छ माया छपक्कै–२’ ले पहिलो दिनदेखि नै दर्शकको अपार माया भने पाइरहेको देखिन्छ ।

राजनीतिक महाभारतमा कसरी परिवारमा विखण्डन सुरु हुन्छ, जातीयताको नारालाई कसरी उपयोग–दुरुपयोग गरिन्छ, सामाजिक आडम्बर र वंश–परम्परा अघि बढाउने नाममा प्रेमको हत्या कसरी हुन्छ जस्ता विषयवस्तुलाई लेखक–निर्देशक दीपेन्द्र लामाले निकै मिहिनेत गरेर प्रस्तुत गरेका छन् । झन्डै तीन घण्टाको फिल्ममा दीपेन्द्र लामाले धेरै कुरा दिन खोजेका छन् । धेरै विषय अटाउँदा विषयवस्तुको गहनतालाई कसिलो बनाउन नसकिएको हो कि ! त्यसैले उत्कृष्ट यो फिल्म अझ उत्कृष्ट बन्न नसकेको हो कि ?

तर दीपेन्द्र लामाले ‘छ माया छपक्कै-२’ मा कम्युनिस्ट आडम्बर र डेमोक्रेट फ्रिडमको प्रभाव भने सटिक ढङ्गले प्रस्तुत गर्न सकेका छन् । कम्युनिस्ट पार्टीका महासचिव (कुमार गुरुङ) को छोटो समयको प्रगति र स्थानीय तहमा पार्टीको पक्षमा सङ्घर्ष गरिरहने इमानदार कार्यकर्ता (प्रकाश घिमिरे) को दुर्गतिको चित्रणले समाजवाद-साम्यवादका लक्ष्य कसरी पूरा भइरहेका छन् भन्ने प्रश्न उठाएको छ ‘छ माया छपक्कै–२’ ले ।

राजनीति र प्रेमको चपेटामा परेका राजा (दीपकराज गिरी) को क्रान्तिकारिता आमा (रमा थपलिया) को धार्मिक मान्यता र श्रीमती (केकी अधिकारी) को विदेशमोहबाट कुन हदसम्म प्रताडित बन्यो भन्ने हिसाबकिताब ‘छ माया छपक्कै–२’ भित्र अटाउन सकेको छैन ।

राजनीतिक अवसानपछि पठाओको आम्दानीले सुखद भविष्य खोज्दै गरेका राजालाई प्रेमको तरङ्गले पुनः राजनीतिको कठबारमा बजारी दिएको कथा निकै रोचक छ । मुलुकको आर्थिक दुरवस्थाले युवाहरूमा विदेशमोह देखिएको तथ्यलाई ‘छ माया छपक्कै–२’ को कथामा सपक्कै मिलाइएको देखिन्छ ।

राजनीतिमा दलित समुदायलाई उपयोग गर्न जातीय विभेदको विरोध गर्ने  नेता (निर्मल शर्मा) ले आफ्नै छोरा (रिहान गिरी) को प्रेमिका दलित युवती (सनिशा भट्टराई) भएकै कारण घर भित्र्याउन अस्वीकार गरेको विषयलाई नेपाली समाजमा जातीय विभेद केवल उपयोगवादको नारामात्र हो भन्ने सङ्केतका रूपमा मान्न सकिन्छ । जातीय विभेद हटाउन सामाजिक रूपमा अझै धेरै उल्झनहरू हटाउनुपर्छ भन्ने सन्देश ‘छ माया छपक्कै-२’ ले दिएको छ ।

कम्युनिस्ट पार्टी सिद्धान्तले होइन, व्यवहारले पूर्ण हुन्छ भन्ने मान्यतालाई अघि सारिएको कथावस्तु रहेको ‘छ माया छपक्कै-२’ ले नेपालको राजनीतिक परिवेशमा कम्युनिस्ट पार्टीहरूको भूमिकाले जनताको जीवनस्तरमा सुधार ल्याएको छ त ? भन्ने गम्भीर प्रश्न पनि उठाएको छ ।

चप्पल लगाएर राजधानी छिरेका कम्युनिस्ट नेताहरू हातमा महँगा घडी, सुकिला–मुकिला पहिरन र चिल्ला गाडीसहित गाउँ फर्कंदा पृष्ठभूमिमा यथास्थितिमा रहेका जनताको कारुणिक दैनिकीलाई फराकिलो रूपमा प्रस्तुत गरेको छ ‘छ माया छपक्कै-२’ ले ।

चप्पल लगाएर राजधानी छिरेका कम्युनिस्ट नेताहरू हातमा महँगा घडी, सुकिला–मुकिला पहिरन र चिल्ला गाडीसहित गाउँ फर्कंदा पृष्ठभूमिमा यथास्थितिमा रहेका जनताको कारुणिक दैनिकीलाई फराकिलो रूपमा प्रस्तुत गरेको छ ‘छ माया छपक्कै-२’ ले ।

अर्को दसैँमा ‘छ माया छपक्कै–३’ ल्याउने घोषणा गरेका दीपक-दीपाले मेयरको तयारी गरिरहेका राजालाई जनपक्षीय राजनीतिक कार्यक्रम कार्यान्वयन गर्ने नेताका रूपमा उभ्याउने अपेक्षा दर्शकको छ । तर, यो विषय ‘छ माया छपक्कै–३’ को लेखक–निर्देशक को बन्ने भन्ने कुराले पनि निर्धारण गर्ला । लेखक-निर्देशकका रूपमा दीपेन्द्र लामा नै दोहोरिए भने ‘छ माया छपक्कै–३’ ले पक्कै पनि राजनीतिक विकृति निमिट्यान्न पार्ने सूत्र दिनेछ ।

फिल्ममा कलाकारहरूको अभिनयको कुनै टीकाटिप्पणी नै हुँदैन । किनभने सबैको भूमिका एकसेएक छ । माताको रूपमा प्रवेश गरेकी दीपाश्री निरौलाको छोटो भूमिका जति प्रभावकारी छ, त्यति नै सन्देशमूलक पनि छ । धार्मिक अन्धविश्वास समस्याको समाधान होइन भन्ने सन्देश दिन दीपेन्द्र लामाले ‘छ माया छपक्कै-२’ मा सटिक परिवेश मिलाइदिएका छन् ।

दीपकराज गिरी र केकी अधिकारीले विगतको अभिनय जादुलाई लयमै राखेका छन् । नयाँ कलाकार भएरै पनि सनिशा भट्टराई र रिहान गिरीको अभिनय उत्कृष्ट छ । रविन्द्र झा, कर्मा शाक्य, जीतु नेपाल, मेक्सम गौडेललगायतको अभिनय पनि तारिफयोग्य छ । पछिल्लो समय हास्यव्यङ्ग्य क्षेत्रमा राम्रै स्थान बनाउँदै गएका मेक्सम गौडेललाई चाहिँ अन्याय भएको हो कि ? उनको भूमिका अझ फराकिलो बनेको भए कथाले न्याय पाउँदा दर्शकको माया पनि अझ बढ्ने थियो कि ?

फिल्ममा लेखक-निर्देशक दीपेन्द्र लामाले जसरी राम्रा–राम्रा बिम्बको प्रयोग गरेका छन्, त्यसले फिल्मको तौलमात्र बढाएको छैन, एउटा पत्रकार राम्रो लेखक-साहित्यकार पनि हुन सक्छ भन्ने बलियो प्रमाण उभ्याएको पनि छ । फिल्मको कथावस्तु राजनीति, परिवार, प्रेम, विभेदजस्ता विविध विषयमा गोलमटोल नबनेको भए, कथाको दौड एउटा विषयको मार्गमा मात्र अघि बढेको भए, अझ उत्कृष्ट बन्ने होडमा ‘छ माया छपक्कै-२’ पहिलो बन्ने थियो ।

फिल्मको प्राविधिक पक्ष पनि केही कमजोर हो कि ! प्रविधिमा हामीले छिमेकी भारतको हलिउड फिल्म उद्योगलाई किन पछ्याउन सकिरहेका छैनौँ होला ?

जे होस्, महाभारत कथाको प्रभावमा जन्मिएको ‘छ माया छपक्कै-२’ ले ४० को दशकको मेरो संस्मरणसँगै राजनीतिक बेगमा चेतनाको शून्यता र युवा मनहरूको अवमूल्यन भएको कुरालाई राम्रै सङ्केत गर्न सकेको छ । सायद यसैका लागि जेन–जी विद्रोह भएको हो कि ? यो मेरो नितान्त व्यक्तिगत जिज्ञासा हो ।

लेखक
चिरञ्जीवी मास्के

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?