News Summary
Generated by OK AI. Editorially reviewed.- न्युयोर्कमा आईसीईको गोलीबारी घटनापछि डेमोक्रेटिक पार्टीका मध्यमार्गी र प्रगतिशील नेताहरू ट्रम्पकालीन आप्रवासन नीतिविरुद्ध एकजुट भएका छन्।
- मेयर जोहरान मामदानीले अक्टोबर १६ को पत्रमा १०० भन्दा बढी निर्वाचित डेमोक्रेटिक अधिकारीको हस्ताक्षरसहित पार्किङ लट र ग्यारेज मालिकलाई आईसीईका लागि सम्पत्ति नदिन आग्रह गरेका छन्।
- हाकिम जेफ्रीज, चक शूमर र किर्स्टन गिलब्रान्डसहितका नेताहरूले आन्तरिक मतभेद पन्छाउँदै न्युयोर्कका डेमोक्र्याटहरूको साझा मोर्चा देखाएका छन्।
२ कात्तिक, काठमाडौं । न्युयोर्क सिटीमा गत अक्टोबरमा संघीय आप्रवासन अधिकारीहरू (आईसीई) ले गरेको गोलीबारीको घटनाले डेमोक्रेटिक पार्टीभित्र दुर्लभ र चाखलाग्दो राजनीतिक एकता कायम गराएको छ।
पार्टीको मध्यमार्गी (इस्टाब्लिस्मन्ट) र प्रगतिशील प्रोग्रेसिव) दुवै धारका शीर्ष नेताहरू डेमोक्रेटिक हाउस लिडर (संसदीय दलका नेता) हाकिम जेफ्रीज र न्युयोर्कका मेयर जोहरान मामदानी यस मुद्दामा हात मिलाउन आइपुगेका छन्।
यो अनपेक्षित सहकार्यले ट्रम्प प्रशासनको समयका आप्रवासनसम्बन्धी कडा नीतिहरूको विरोध गर्ने मामिलामा डेमोक्रेटिक पार्टीभित्र कति बलियो सहमति छ भन्ने प्रष्ट पारेको छ।
क्वीन्स डेमोक्रेटिक पार्टीका प्रमुख तथा जेफ्रीजका निकटका सहयोगी प्रतिनिधि ग्रेगरी मीक्सले भने, ‘डेमोक्रेटिकहरू आईसीईको विषयमा स्पष्ट रूपमा एकजुट छन्। मेयरले पनि स्थानीय मुद्दाहरूमा मसँग सहकार्य गर्नुभएको छ र लिडर जेफ्रीजले पनि न्युयोर्कको काङ्ग्रेसनल डेलिगेसनसँग काम गर्ने इच्छा देखाउनुभएको छ।’
पार्किङ र ग्यारेज मालिकहरूलाई खुला पत्र
यसै सन्दर्भमा, मेयर मामदानीले गत अक्टोबर १६ को मितिमा न्युयोर्क सिटीका १०० भन्दा बढी निर्वाचित डेमोक्रेटिक अधिकारीहरूको हस्ताक्षरसहितको एक पत्र सार्वजनिक गरेका छन् । जसमा नगरका सम्पूर्ण काङ्ग्रेसनल डेलिगेसनका सदस्यहरू समेत सामेल छन्।
उक्त पत्रमा पार्किङ लट र ग्यारेज मालिकहरूलाई सम्बोधन गर्दै आग्रह गरिएको छ, ‘आप्रवासी न्युयोर्कवासीहरूसँगको ऐक्यबद्धतामा र हाम्रो प्रिय सहरप्रतिको साझा प्रतिबद्धताका रूपमा, हामी अनुरोध गर्दछौं कि तपाईंहरूले आफ्नो सम्पत्तिलाई आईसीईको प्रवर्तन कारबाहीका लागि स्टेजिङ एरियाका रूपमा भाडामा नदिनुहोस्, ऋणमा नदिनुहोस् वा उपलब्ध नगराउनुहोस्।’
नेताहरूले अक्टोबरको सुरुमा न्युयोर्कको मार्बल हिल क्षेत्रमा २८ वर्षीय ओस्कर बेल्गाल माथि भएको गोलीकाण्ड एकमात्र घटना नभएको बताएका छन् । यसले क्वीन्स र म्यानहट्टनमा भएका पुराना घटनाहरूको स्मरण गराएको उल्लेख गरेका छन्।
आन्तरिक मतभेदलाई पन्छाउँदै साझा मोर्चा
जेफ्रीज र मामदानी राष्ट्रिय राजनीतिमा आ-आफ्नो वैचारिक समूहका प्रमुख अनुहार हुन्।
यसअघि गत वर्षको चुनावमा मामदानीलाई समर्थन गर्न ढिलाइ गरेको कारण जेफ्रीजले वामपन्थीहरूको आलोचना ब्याहोर्नु परेको थियो । यस स्प्रिंगको प्राथमिक चुनावमा पनि उनीहरूबिच राजनीतिक प्रतिस्पर्धा देखिएको थियो। यद्यपि, केही दिनअघि ब्रुकलिनमा भएको एक हाउजिङ प्रोजेक्टको उद्घाटन कार्यक्रममा उनीहरू सँगै देखिएका थिए।
यो पत्रमा हस्ताक्षर गर्नेहरूमा सिनेटका अल्पसङ्ख्यक नेता चक शूमर र सेनेटर किर्स्टन गिलब्रान्डसमेत रहेका छन्। मामदानीसँग प्रतिस्पर्धा गरेका डेमोक्रेटिक प्रतिनिधिहरूले समेत यसमा ऐक्यबद्धता जनाएका छन्।
डोनाल्ड ट्रम्पको प्रशासनकालीन आप्रवासन नीतिहरूविरुद्ध उभिन यो मुद्दा न्युयोर्कका डेमोक्र्याटहरूका लागि वैचारिक भिन्नता बिर्सिएर एकै ठाउँमा उभिने कडी बनेको छ।
– एक्सियोसबाट
प्रतिक्रिया 4