+
+
Shares

डोनाल्ड ट्रम्पको दाबी : जेलेन्स्कीलाई मैले कुरा गरिरहेको छु भन्ने नै थाहा छैन

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक ३ गते १४:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जेलेन्स्कीले अमेरिकी सेनेटरहरूसँग आपतकालीन भर्चुअल बैठकमा गुप्तचर साझेदारी र हतियार आपूर्तिमा गुप्त प्रतिबन्ध लगाइएको भन्दै गुनासो गरेका छन्।
  • उनले प्याट्रिअट इन्टरसेप्टर लगभग सकिएको र रुसका ब्यालिस्टिक आक्रमणबारे अमेरिकी पूर्वचेतावनी नआएको बताए।
  • ट्रम्पले जेलेन्स्कीले युद्ध रोक्न नचाहेको भन्दै कडा आलोचना गरेका छन्।

३ कात्तिक, काठमाडौं । अमेरिकी प्रशासनले युक्रेनमाथि गुप्तचर साझेदारी (इन्टेलिजेन्स सेयरिङ) र हतियार आपूर्तिमा गुप्त रूपमा प्रतिबन्धहरू लगाएको दाबी गर्दै युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सोमबार अमेरिकी सेनेटरहरूको दुवै दलका (बाइपार्टिजन) प्रतिनिधिहरूसँग आपतकालीन भर्चुअल बैठक गरेका छन्।

रुससँगको युद्ध अन्त्य गर्न थप सहुलियत दिन बाध्य पार्ने उद्देश्यले वासिङ्टनले यस्तो अघोषित दबाब सिर्जना गरेको युक्रेनी अधिकारीहरूको ठहर छ।

जेलेन्स्कीले सेनेटरहरूसँग राखेका मुख्य गुनासाहरू

रिपब्लिकन सेनेटर थम टिलिस र डेमोक्रयाट सेनेटर रिचर्ड ब्लुमेन्थलको नेतृत्वमा भएको उक्त बैठकमा जेलेन्स्कीले मियामीमा भएको पछिल्लो वार्तापछि युक्रेनले भोगिरहेका गम्भीर समस्याहरूको फेहरिस्त पेस गरेका छन्।

ह्वाइट हाउसले खारेज गरे पनि एलन मस्कको स्टारलिंक र अमेरिकी सैन्य ‘स्टारशिल्ड’ प्रणाली अझै पनि आंशिक रूपमा प्रतिबन्धित रहेको र यसले रूसी आक्रमणकारी ड्रोनहरू खसाल्न गम्भीर बाधा पुर्‍याएको जेलेन्स्कीले बताए।

पछिल्लो साता तीनपटक रुसले प्रहार गरेको ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमणबारे अमेरिकाबाट कुनै पनि पूर्वचेतावनी नआएको र यो गुप्तचर साझेदारी कटौती भएको स्पष्ट सङ्केत भएको उनले उल्लेख गरे।

नाटो देशहरूले पहिले नै पैसा तिरीसकेका प्याट्रिअट र एनएएसएएमएस प्रणालीका लागि आवश्यक एआईएम–९एक्स क्षेप्यास्त्रहरू रक्षा सचिव पिट हेगसेथले स्वीकृत नगरेको बताउँदै जेलेन्स्कीले भने, ‘हामीसँग अमेरिकी साझेदारहरूबाट आएका प्याट्रिअट इन्टरसेप्टरहरू लगभग बाँकी छैनन्।’

यी सबै घटनाक्रमहरूले युक्रेनलाई सहयोग सुस्त बनाउने कुनै उच्च राजनीतिक निर्णय भइसकेको स्पष्ट पार्ने उनको भनाइ थियो।

बैठकपछि प्रतिक्रिया दिँदै सेनेटर ब्लुमेन्थलले पुटिनजस्ता तानाशाहीविरुद्ध शक्तिले मात्र काम गर्ने बताउँदै युक्रेनप्रतिको द्विपक्षीय समर्थन स्पष्ट र अडिग रहेको प्रतिक्रिया दिए।

मियामी बैठकको विवाद र रिफाइनरी आक्रमण रोक्ने प्रस्ताव

१० दिनअघि मियामीमा ट्रम्पका दूतहरू स्टिभ विटकफ र जेरेड कुश्नरसँगको वार्ताका क्रममा यो सङ्कट सुरु भएको थियो।

युक्रेनी अधिकारीहरूका अनुसार, यदि युक्रेनले रूसी तेल रिफाइनरीहरूमा आक्रमण गर्न छोडेन भने अमेरिकाले गुप्तचर सहयोग हटाउन र हतियार बिक्री रोक्न सक्ने चेतावनी विटकफ र कुश्नरले दिएका थिए। अमेरिकी अधिकारीहरूले भने यो धम्की नभई अमेरिकी उपभोक्तालाई असर पार्ने काम नगर्न गरिएको आग्रह मात्र भएको दाबी गरेका छन्।

आइतबार विटकफ र कुश्नरसँग पुनः कुराकानी गरेका जेलेन्स्कीले अमेरिकी दूतहरूसमक्ष एक प्रस्ताव राखेका थिए । जसअनुसार, युक्रेनले आगामी ३० दिनसम्म रूसी रिफाइनरीहरूमाथि आक्रमण रोक्नेछ। त्यसको बदलामा अमेरिकाले युक्रेनलाई ती ३० दिनका लागि रूसी ब्यालिस्टिक क्षेप्यास्त्रहरूबाट बचाउन प्याट्रिअट इन्टरसेप्टरहरू उपलब्ध गराउनुपर्नेछ।

तर, युक्रेनी अधिकारीहरूका अनुसार अमेरिकी दूतहरू यो प्रस्तावमा सकारात्मक देखिएका छैनन्। आगामी हप्ता नर्वेको ओस्लोमा हुने सम्भावित भेटमा यस विषयमा थप छलफल हुन सक्नेछ।

ट्रम्पको कडा प्रतिक्रिया: ‘जेलेन्स्कीले केही बुझेका छैनन्’

सोमबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले अझै पनि युक्रेनसँग गुप्तचर जानकारी साझा गरिरहेको दाबी गर्दै स्टारलिंक थ्रोटलिङको आदेश कसले दियो भन्ने आफूलाई थाहा नभएको र पत्ता लगाउने बताए।

तर, जेलेन्स्कीप्रति चर्को असन्तुष्टि व्यक्त गर्दै ट्रम्पले भने, ‘स्पष्ट रूपमा भन्नुपर्दा जेलेन्स्कीले खासै मद्दत गरिरहेका छैनन्। उनी युद्ध रोक्न चाहँदैनन्। जेलेन्स्कीलाई आफूले के कुरा गरिरहेको छु भन्ने नै थाहा छैन। सायद अब जेलेन्स्कीले युक्रेनको तर्फबाट वार्ता गर्न अरू कसैलाई जिम्मा दिने समय आएको छ… हामीले युक्रेनलाई धेरै दिएका छौँ, उनीहरूले हामीलाई केही दिएका छैनन्।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?