+
+
Shares

बाढीले खोस्यो दसैंको टीका, बेपत्ता आफन्तको पर्खाइमा खाली निधार

शम्भु प्रसाद थारु/रासस शम्भु प्रसाद थारु/रासस
२०८३ कात्तिक ४ गते १७:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भोटेकोशी नदीको बाढीले बर्दियाका ७६ जना बेपत्ता भएपछि धेरै परिवारले दसैँमा टीका लगाउने खुसी गुमाएका छन्।
  • गेरुवा–५ सुखारकी भगिरथी थारुका छोरा जगत थारु भदौ १० गतेको बाढीपछि बेपत्ता छन्, र यस वर्ष उनको निधार खाली रह्यो।
  • राजापुर–९ तिनघरवाकी सिर्जना थारुका श्रीमान् प्रदीप थारु बेपत्ता भएपछि परिवारले काजक्रिया गर्न सकेका छैनन्।

४ कात्तिक, बर्दिया । बडादसैँमा अभिभावकका हातबाट टीका र जमरा लगाएर आशीर्वाद थाप्ने रहर कसलाई पो हुँदैन र ?

वर्षभरि जहाँ भए पनि दसैँमा घर फर्किएर परिवारसँग टीका लगाउने र खुसी साटासाट गर्ने प्रतीक्षामा रहेका बर्दियाको गेरुवा गाउँपालिका–५ सुखारका केही परिवारका लागि यस वर्ष दसैँको खुसी आएन।

भोटेकोशी नदीमा आएको बाढीले आफन्त बेपत्ता बनाएपछि उनीहरूको दसैँ उल्लासमय बन्न सकेन। विगतका वर्षमा दसैँका दिन घरमा आफन्त जम्मा हुन्थे। अभिभावकको हातबाट टीका र जमरा लगाउने, आशीर्वाद लिने र परिवारसँगै रमाइलो गर्ने चलन थियो।

तर, यस वर्ष दसैँको टीका लगाउन घर फर्किने आफन्तको खबर कुरिरहेका परिवारमा बाढीले एकाएक दुःख निम्त्यायो। टीका लगाउने प्रतीक्षामा रहेका उनीहरूका लागि बाढीको खबरसँगै दसैँको खुसी पनि खोसियो।

गेरुवा–५ सुखारकी ४२ वर्षीया भगिरथी थारुका लागि यस वर्षको दसैँ विगतका वर्षजस्तो रहेन। गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा परेर छोरा जगत थारु बेपत्ता भएपछि उनको परिवार शोकमा छ। दसैँमा छोरासँगै टीका लगाउने र खुसी साट्ने आशा गरेकी भगिरथीको निधार यस वर्ष खाली नै रह्यो।

“दसैँमा छोराछोरीसँगै बसेर टीका लगाउने, आशीर्वाद दिने र लिने गर्थ्यौं। यस वर्ष पनि दसैँमा छोरा आउला, टीका लगाउन पाइएला भन्ने आशा थियो। तर, बाढीमा छोरा बेपत्ता भएपछि हाम्रो त खुसी नै खोसियो,” उनले भनिन्।

डेढ महिनादेखि छोराको पर्खाइमा रहेकी भगिरथीलाई दसैँ आए पनि मनमा खुसी छैन। घरमा चाडपर्वको वातावरण बने पनि छोराको अत्तोपत्तो नहुँदा उनको मनमा पीडा र पर्खाइ मात्रै छ। आफन्त फर्किएर आउने आशा अझै मरेको छैन। तर, यस वर्षको दसैँ भने छोरासँग टीका लगाउने रहर अधुरै राखेर बितेको छ।

राजापुर–९ तिनघरवाकी सिर्जना थारुको पीडा पनि उस्तै छ। भोटेकोशी बाढीमा श्रीमान् प्रदीप थारु बेपत्ता भएपछि उनको परिवारमा पनि दसैँको रौनक हराएको छ। हरेक वर्ष दसैँमा श्रीमान्सँग टीका लगाएर आशीर्वाद साट्ने उनी यस वर्ष श्रीमान्को अनुपस्थितिमा निराश भएर चाडपर्व मनाउन बाध्य छिन्।

“दसैँमा श्रीमान् घर आउनुहुन्छ, टीका लगाउँछौँ भन्ने आशा थियो। बाढीमा बेपत्ता भएपछि त्यो खुसी पनि रहेन। श्रीमान् कहाँ हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ भन्ने थाहा छैन। यस्तो अवस्थामा कसरी खुसी भएर दसैँ मनाउनु ?” उनले भनिन्।

गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा परेर गेरुवा गाउँपालिका–५ सुखारका जगत थारु, मनोज थारु, सुरेन्द्र थारु र सर्वेस थारु गरी चार जना बेपत्ता भएका थिए। त्यसैगरी, राजापुर–९ तिनघरवाका सुरेश थारु, अमिस थारु, सिसन थारु, प्रदीप थारु र राजु थारु गरी पाँच जना बेपत्ता भएका थिए।

उनीहरूका परिवार डेढ महिनादेखि आफन्त फर्किने आशामा छन्। बेपत्ताको अवस्था पत्ता नलागेकाले परिवारले अन्तिम संस्कार तथा काजक्रिया गर्न सकेका छैनन्।

गेरुवा गाउँपालिका–५ का वडाध्यक्ष तथा प्रवक्ता धर्मप्रकाश चौधरीका अनुसार भोटेकोशी बाढीका कारण गाउँपालिकाका १४ परिवारमा यस वर्ष दसैँको खुसी छाउन सकेन।

“बाढीमा आफन्त बेपत्ता भएपछि परिवार शोकमा छन्। दसैँमा टीका लगाएर खुसी साट्ने समयमा उनीहरू आफन्तको पर्खाइमा छन्। यस्तो अवस्थामा कसरी खुसी भएर चाडपर्व मनाउन सकून् र ?” उनले भने।

भोटेकोशी बाढीमा परी बर्दियाका ७६ जना बेपत्ता भएका छन्। बेपत्ता आफन्तको अवस्था अज्ञात रहँदा ती परिवारका लागि दसैँको टीका केवल परम्परा र उत्सवको विषय मात्र बनेन, आफन्तसँगको विछोड र पुनर्मिलनको आशासँग पनि जोडियो।

अरूका घरमा परिवारका सदस्यले एकअर्कालाई टीका लगाइदिँदै आशीर्वाद साटिरहेका बेला पीडित परिवार भने बेपत्ता आफन्त फर्किने आशामा दिन गन्दै छन्। दसैँको टीका लगाएर परिवारसँग खुसी साट्ने उनीहरूको रहर यस वर्ष बाढीले अधुरै बनायो।

उनीहरूका घरमा पनि चाडपर्व त आएको छ। तर, मनमा खुसी भने फर्किन सकेको छैन। उनीहरूका लागि यस वर्षको दसैँ टीका र जमराको उत्सवभन्दा पनि बेपत्ता आफन्तको सम्झना, फर्किने आशा र पीडाबीच बितेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?