+
+
Shares

बाजुराको जुकोट डाँडामा करोडौँ लगानीका भवन अलपत्र

पालिकाले क्याम्पस स्थापना गर्ने उद्देश्यले निर्माण गरेका भवन पाँच वर्षभन्दा बढी समय बितिसक्दा पनि प्रयोगमा आउन सकेका छैनन् ।

प्रकाश सिंह प्रकाश सिंह
२०८३ कात्तिक ५ गते ६:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्वामिकार्तिक खापर गाउँपालिका–३, जुकोटमा क्याम्पसका लागि निर्माण गरिएका २ भवन ५ वर्षभन्दा बढी समयदेखि प्रयोगविहीन छन्।
  • ती भवन निर्माणमा २ करोड ३६ लाख ६० हजार ३ सय २६ रुपैयाँ खर्च भएको र अहिले कोठामा गाईगोरु बस्ने गरेको स्थानीयले बताएका छन्।
  • तल्लो र माथिल्लो जुकोटबीचको विवादका कारण भवन प्रयोगमा ल्याउन नसकिएको र स्वास्थ्य चौकी तथा वडा कार्यालय भवन अभावमा छन्।

५ कात्तिक, बाजुरा । बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका–३, जुकोटमा करोडौँ रुपैयाँ खर्च गरेर निर्माण गरिएका दुईवटा भवन प्रयोगविहीन अवस्थामा अलपत्र परेका छन् ।

पालिकाले क्याम्पस स्थापना गर्ने उद्देश्यले निर्माण गरेका भवन पाँच वर्षभन्दा बढी समय बितिसक्दा पनि प्रयोगमा आउन सकेका छैनन् । संरक्षण र नियमित उपयोगको अभावमा भवनका संरचनासमेत जीर्ण बन्दै गएका छन् ।

जुकोटको डाँडामा निर्माण गरिएका उक्त भवनमा कुल २ करोड ३६ लाख ६० हजार ३ सय २६ रुपैयाँ खर्च भएको गाउँपालिकाका सूचना अधिकारी सुविस्तबहादुर शाहीले जानकारी दिए ।

उनका अनुसार जग्गा खरिदमा ७ लाख ७१ हजार १ सय ९० रुपैयाँ, भवन निर्माणमा १ करोड ५८ लाख ८९ हजार १ सय ३६ रुपैयाँ र पर्खाल निर्माणमा ६० लाख रुपैयाँ खर्च गरिएको थियो । भवन निर्माणका लागि भने तीन करोड रुपैयाँभन्दा बढीको ठेक्का सम्झौता गरिएको थियो ।

करोडौँ रुपैयाँ खर्च गरेर निर्माण गरिएका भवनका कोठामा अहिले गाईगोरु बस्ने गरेको स्थानीय बताउँछन् ।

गाउँपालिका अध्यक्ष भरतबहादुर रोकायाले आफू निर्वाचित हुनुअघिको कार्यकालमा निर्माण भएका भवन प्रयोगमा ल्याउन प्रयास गरे पनि सफल हुन नसकेको बताए । उनका अनुसार सुरुमा जग्गा खरिद गर्दा शम्भुसुन्दा माध्यमिक विद्यालयका नाममा गरिएको थियो ।

स्वास्थ्य चौकी पुरानो र जीर्ण भवनबाट सेवा प्रवाह गरिरहेको छ भने वडा कार्यालयको आफ्नै भवनसमेत छैन । यता, माथिल्लो डाँडामा करोडौँ खर्च गरेर बनाइएका भवन भने उपयोगविहीन छन् ।

स्वास्थ्य चौकी र वडा कार्यालयलाई भवन अभाव

पालिकाले उक्त भवनमा विद्यालय सञ्चालन गर्ने, वडा कार्यालय राख्ने वा स्वास्थ्य चौकी सार्ने विकल्पमा छलफल गरे पनि स्थानीयबीचको विवादका कारण भवन प्रयोगमा ल्याउन नसकिएको जनाएको छ ।

विडम्बना, भवन निर्माण भएको स्थानभन्दा तल स्वास्थ्य चौकी र वडा कार्यालय सञ्चालनमा छन् । तर, दुवै कार्यालयलाई पर्याप्त भवनको अभाव छ ।

जुकोट स्वास्थ्य चौकी पुरानो र जीर्ण भवनबाट सेवा प्रवाह गरिरहेको छ भने वडा कार्यालयको आफ्नै भवनसमेत छैन । यता, माथिल्लो डाँडामा करोडौँ खर्च गरेर बनाइएका भवन भने उपयोगविहीन छन् ।

स्थानीयस्तरमा विवाद

स्थानीयका अनुसार तल्लो जुकोट र माथिल्लो जुकोटबीचको विवादका कारण भवन प्रयोगमा ल्याउन समस्या भएको हो । विद्यालयको जग्गा शम्भुसुन्दा माध्यमिक विद्यालयका नाममा रहे पनि विद्यालयलाई नयाँ भवनमा सार्ने विषयमा सहमति जुट्न सकेको छैन । विद्यालय सञ्चालन भइरहेको स्थान र निर्माण गरिएका भवनबीच करिब दुई सय मिटरको दूरी छ ।

स्थानीयस्तरको विवादका कारण एकातिर विद्यालयलाई व्यवस्थित रूपमा सञ्चालन गर्न समस्या भएको छ भने अर्कोतिर स्वास्थ्य चौकी र वडा कार्यालय भवन अभावमा छन् । उपलब्ध संरचनाको उपयोग हुन नसक्दा सरकारी लगानी खेर जाने जोखिम बढेको छ ।

गाउँपालिकाले भवन सञ्चालनमा ल्याउन प्रयास भइरहेको जनाएको छ । तर, पाँच वर्षभन्दा बढी समयदेखि प्रयोगविहीन रहेका भवनलाई कहिले र कसरी उपयोगमा ल्याइन्छ भन्ने विषय अझै टुंगिएको छैन ।

लेखक
प्रकाश सिंह

परोपकारी पत्रकारितामा रूचि राख्ने सिंह बाजुराका पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?