News Summary
Generated by OK AI. Editorially reviewed.- रियाधको किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थल खुले पनि पूर्वस्वीकृति अनिवार्य रहेकाले अन्तर्राष्ट्रिय उडान अझै सामान्य अवस्थामा फर्किएका छैनन् ।
- मिसाइल र ड्रोन आक्रमणपछि साउदिया, लुफ्थान्सा, केएलएम, फिलिपिन्स एयरलाइन्स र डेल्टासहित धेरै वायुसेवाले रियाध उडान रद्द गरेका छन् ।
- साउदी हवाई क्षेत्रका जोखिमबारे ईएएसए र एफएएले चेतावनी दिएका छन्, तर नियमित यात्रु सेवा कहिले पूर्णरूपमा सुरु हुने मिति तय भएको छैन ।
५ कात्तिक, काठमाडौं । साउदी अरब रियाधस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थल आधिकारिक रूपमा खुला भए पनि अन्तर्राष्ट्रिय उडान भने अझै सामान्य अवस्थामा फर्किन सकेका छैनन् ।
जहाज अवतरण र उडान गर्न वायुसेवा कम्पनीहरूले अझै पूर्वस्वीकृति लिनुपर्ने हुन्छ । जबकि, विमानस्थल पुन: सञ्चालनमा आइसकेको छ । तर, धेरै वायुसेवा कम्पनीले आफ्ना उडान रद्द गरेका छन् ।
साउदी राजधानीमा भएको मिसाइल तथा ड्रोन आक्रमणपछि लागु गरिएका उडान प्रतिबन्धका कारण यात्रुले निरन्तर अनिश्चितताको सामना गरिरहेका छन् ।
यद्यपि, केही उडान तालिका यथावत् देखिए पनि वायुसेवाहरूले अझै उडान सञ्चालन तथा सुरक्षा जोखिम मूल्यांकन गरिरहेका छन् ।
अन्तर्राष्ट्रिय यात्रु सेवा कुनै पनि प्रतिबन्धविना पूर्णरूपमा पूर्ववत् सञ्चालन हुने कुनै निश्चित मिति अझै तय भएको छैन ।
संसारभरिको उडान ट्र्याकिङ गर्ने ‘फ्लाइटराडार२४’ का अनुसार किङ खालिद विमानस्थल (रियाध विमानस्थल) पूर्वस्वीकृति अधीनमा रहेर आवागमनका लागि खुला छ, तर पछिल्लो जानकारी हेर्दा कुनै पनि यात्रुवाहक उडानले अनुमति दिएका थिएनन् ।
हिजो बुधबार नै किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा हुनुपर्ने १ सय ८० उडान रद्द भएका थिए भने ३ उडान डिले भएका थिए । यो विश्वकै सर्वाधिक प्रभावित विमानस्थलका रूपमा देखिएको थियो ।
बुधबार साउदिया एयरलाइन्स र फ्लाइनासले मात्र व्यावसायिक उडान गरेका थिए । उडान तालिका सार्वजनिक भएर पनि दर्जनौं वायुसेवाले उडान रद्द गरेका थिए ।

प्रतिबन्धबीच किङ खालिद विमानस्थल पुन: सञ्चालनमा
एक साता लामो अवरोधपछि १८ अक्टोबरदेखि किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थल पुन: सञ्चालनमा आएको छ । तर, नियमित यात्रु सेवा अझै सामान्य हुन सकेको छैन । अन्तर्राष्ट्रिय वायुसेवाहरूले साउदी राजधानीका लागि आफ्ना उडान रद्द गर्ने क्रम जारी राखेका छन् ।
साउदी अरबको नागरिक उड्डयनज प्राधिकरणले किङ खालिद विमानस्थलमा ‘नोटाम’ जारी गरेका कारण वायुसेवाहरूले आगमन र प्रस्थानका लागि उड्डयन प्राधिकरणसँग अनिवार्य पूर्वस्वीकृति लिनुपर्छ ।
त्यस्तै प्राधिकरणले अर्को छुट्टै नोटाम जारी गरेर वायुसेवाहरूलाई आपत्कालीन वा वैकल्पिक अवतरण विमानस्थलका रूपमा किङ खालिद विमानस्थल प्रयोग गर्न रोक लगाएको छ ।
यी दुवै प्रतिबन्ध १७ अक्टोबरदेखि लागु भएका हुन् । दुवै प्रतिबन्ध अनिश्चितकालका लागि लगाएका हुन् ।
रियाध उडान गर्ने जर्मनीको लुपफ्थान्सा, नेदरल्यान्डको केएलएम र फिलिपिन्सको फिलिपिन्स एयरलाइन्स लगायत वायुसेवाले उडान रद्द गर्ने अवधि आगामी नोभेम्बरसम्म लम्ब्याएका छन् ।
किङ खालिद विमानस्थल पुन: सञ्चालनले नियमित व्यावसायिक सेवा फेरि सुरु हुने प्रतीक्षामा रहेका यात्रु र वायुसेवाहरूलाई खासै भरोसा वा निश्चितता दिन सकेको छैन ।

कुन–कुन वायुसेवाले अझै गरिरहेका छन् रियाध उडान ?
अधिकांश अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले किङ खालिद विमानस्थल पुन: खुलेको समयभन्दा निकै पछिसम्म उडान रद्द रहने घोषणा गरिसकेका छन् ।
वायुसेवा कम्पनीहरूले प्रकाशन गरेको ट्राभल एड्भाइजरी अनुसार लुफ्थान्साले १८ नोभेम्बरसम्म रियाध उडान स्थगित गरेको छ भने केएलएमले ३१ अक्टोबरसम्म रियाध र दम्माम उडान रद्द गरेको छ ।
त्यस्तै फिलिपिन्स एयरलाइन्सले २९ नोभेम्बरसम्मका लागि रियाधका सबै उडान स्थगित गरेको छ । हङकङको क्याथे प्यासिफिक एयरवेजले रियाधमा पुन: उडान सुरु गर्ने आफ्नो योजना सन् २०२७ जनवरी अन्तिमसम्मका लागि स्थगित गरेको छ ।
त्यस्तै कतारको कतार एयरवेज र यूएईको इतिहाद एयरवेजले पनि रियाध र दम्मामलाई असर गर्ने गरी उडान रद्द अवधि २४ अक्टोबरसम्म थपेका छन् ।
उता, अमेरिकाको डेल्टा एयरलाइन्सले सुरुमा २३ अक्टोबरका लागि तय गरेको एटलान्टा–रियाध सिधा उडान सेवा सारेर २०२७ मार्चसम्मका लागि स्थगित गरेको छ ।

वायुसेवा कम्पनीहरू किन रियाध फर्किन सकेका छैनन् ?
साउदी राजधानी रियाधमा निरन्तर भएका मिसाइल र ड्रोन आक्रमणबाट किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलका भौतिक संरचना तथा जहाजहरूमा क्षति पुगेपछि उडानमा गम्भीर प्रभाव परेको छ ।
सुरक्षा सम्बन्धी चिन्ता विमानस्थलमा मात्र सीमित नभई सम्पूर्ण हवाई क्षेत्र (एयर स्पेस) सम्म फैलिएको छ ।
युरोपियन युनियन एभिएसन सेफ्टी एजेन्सी (ईएएसए) ले मिसाइल तथा ड्रोन गतिविधि, हवाई रक्षा प्रणालीका सैन्य गतिविधिका कारण यात्रुवाहक जहाज गलत निशानामा पर्ने जोखिम रहेको भन्दै साउदी हवाई क्षेत्रका तोकिएका भागबाट नउड्न र अन्य क्षेत्रमा उच्च सतर्कता अपनाउन वायुसेवा कम्पनीहरूलाई सुझाव दिएको छ ।
त्यस्तै अमेरिकाको फेडेरल एभिएसन एडमिनिस्ट्रेसन (एफएए) ले पनि सैन्य गतिविधि र स्याटेलाइट नेभिगेसन सिस्टममा हुने अवरोधका कारण साउदी अरबमाथि उडान गर्दा सतर्कता अपनाउन छुट्टै एड्भाइजरी जारी गरेको छ ।
तर, युरोप र अमेरिककाका यस्ता चेतावनीले साउदी अरबका सबै उडानमा पूर्ण प्रतिबन्ध भने लगाएका छैनन् । वायुसेवा कम्पनीहरूले पुन: उडान सञ्चालन गर्ने वा नगर्ने निर्णय गर्नुअघि आफैंले जोखिम मूल्यांकन गर्नुपर्ने हुन्छ ।
अमेरिकी दैनिक ‘द वाल स्ट्रिट जर्नल’ ले समीक्षा गरेको एक बीमा प्रतिवेदन अनुसार आक्रमण क्रममा ६ वटा व्यावसायिक जहजमा क्षति पुगेको थियो, जसको बीमा गरिएको कूल मूल्य ३७ करोड ५० लाख अमेरिकी डलर बराबर छ ।

रियाध यात्रा गर्नेले अब के गर्नुपर्छ ?
यात्रुले टिकट बुकिङ भइसकेका आधारमा मात्रै आफ्नो उडान सञ्चालन हुन्छ भनेर सोच्नु गलत हुनेछ । विमानस्थल आधिकारिक रूपमा खुले पनि वायुसेवा कम्पनीहरूले उडान रद्द गर्ने वा तालिका फेरबदल गर्ने क्रम भने जारी राख्न सक्छन् ।
यात्रुले विमानस्थल जानुअघि सिधै आफ्नो सम्बन्धित वायुसेवा कम्पनीसँग उडानको वर्तमान अवस्थााबरे अनिवार्य सोध्नुपर्छ । उडान रद्द भएका यात्रुले वैकल्पिक यात्राको व्यवस्था, पुन: बुकिङ र टिकट रकम फिर्ता लिन सम्बद्ध वायुसेवा वा ट्राभल एजेन्सीसँग सम्पर्क गर्नुपर्छ ।
किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थल पूर्वअनुमति प्राप्त वायुसेवा कम्पनीका जहाज आवागमनमा खुला रहे पनि कुनै प्रतिबन्धविना नियमित यात्रु उडान पूर्णरूपमा पुनर्बहाली हुने निश्चित मिति भने अझै तय भएको छैन ।
प्रतिक्रिया 4