+
+
Shares

चन्द्रलाल तामाङ : बिहान-बेलुका किसान, दिउँसो वडाध्यक्ष 

चन्द्रलाल धनकुटा नगरपालिका-२ का निर्वाचित अध्यक्ष हुन् । नेकपा एमालेबाट लगातार दोस्रो कार्यकाल वडाको नेतृत्व सम्हालिरहेका उनी जनप्रतिनिधि मात्र होइनन्, सफल र उदाहरणीय पशुपालक किसान पनि हुन् ।  

हरि अधिकारी हरि अधिकारी
२०८३ कात्तिक ५ गते १७:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • धनकुटा नगरपालिका–२ का वडाध्यक्ष चन्द्रलाल तामाङ बिहान गोठमा काम गरेर १० बजेपछि वडा कार्यालयमा जनसेवा गर्छन् ।
  • नेकपा एमालेबाट दोस्रो कार्यकाल नेतृत्व गरिरहेका तामाङले १८ गाई र दुई भैँसी पालेर दैनिक करिब १४० लिटर दूध उत्पादन गर्छन् ।
  • तामाङले करिब ७ लाख ऋण लिएर सुरु गरेको मधुगंगा एग्रो पशुपालन फर्म अहिले ४० लाख रुपैयाँभन्दा बढीको भएको छ ।

५ कात्तिक, विराटनगर । राजनीतिमा लागेका अधिकांशमाथि प्राय: लाग्ने आरोप हो– पेसा वा व्यवसाय छैन, तर जीवनशैली भने तडकभडकपूर्ण हुन्छ ।

राजनीतिलाई कमाइको माध्यम बनाउँदा पद दुरुपयोग, कमिसन मोह र भ्रष्टाचारका विकृति स्थानीय तहदेखि केन्द्रसम्मै छरपस्ट छन् । तर, उत्पादन र पसिनासँग नजोडिएका नेता–कार्यकर्ताको भिड बाक्लिँदै गर्दा धनकुटाका चन्द्रलाल तामाङ भने अलि भिन्न छन् ।

मिर्मिरेअघि नै धनकुटा नगरपालिका–२ भिरगाउँका तामाङको दैनिकी सुरु हुन्छ । बिहान गोठमा गाईवस्तुको स्याहारसुसार गर्नु, घाँसपानी मिलाउनु र बाल्टीभरि दूध दुहुनु उनको नियमित काम हो ।

तर, घडीमा १० बज्नासाथ उनको परिचय फेरिन्छ । बिहान गोठमा पसिना बगाउने तिनै हात १० बजेपछि वडा कार्यालयको कुर्सीमा पुगेर नागरिकका फाइल पल्टाउन र सिफारिसपत्रमा हस्ताक्षर गर्न व्यस्त हुन्छन् । कार्यालय समयपछि फेरि गोठमा बेलुकाको कर्म सुरु हुन्छ ।

चन्द्रलाल धनकुटा नगरपालिका–२ का निर्वाचित अध्यक्ष हुन् । नेकपा एमालेबाट लगातार दोस्रो कार्यकाल वडाको नेतृत्व सम्हालिरहेका उनी जनप्रतिनिधि मात्र होइनन्, सफल र उदाहरणीय पशुपालक किसान पनि हुन् ।

‘राजनीति समाजसेवा हो, जीविकोपार्जनको माध्यम होइन,’ चन्द्रलाल भन्छन्, ‘राजनीति गर्ने मान्छेको आफ्नै पेसा र व्यवसाय हुनुपर्छ, मेरो पेसा कृषि हो, सेवा राजनीति ।’

पालिकामा पनि उनी कृषिको कुरा उठाइरहन्छन् । वडामार्फत किसानलाई खेती र पशुपालनका लागि तालिम दिन्छन् ।

गोठमा काम गर्ने भएकाले चन्द्रलाल बिहान कतै जान पाउँदैनन् । ‘पालिकाको बैठक बिहान नराख्न भन्छु, राखे भने जान्न, गोठको काम नसकी हिँड्न मिलेन,’ उनी भन्छन्, ‘राजनीति गर्ने मात्रै होइन, आफ्नै पेसा–व्यवसाय पनि हुनुपर्छ ।’

चन्द्रलालको खेतबारीमा पहिले अलैँची, मौसमी–बेमौसमी तरकारी र चिया थियो । तर, धेरै मिहिनेत गरेर लगाएको चिया खेतीबाट सोचेजस्तो आम्दानी भएन । त्यसपछि उनी पशुपालनतिर लागे ।

‘मधुगंगा एग्रो पशुपालन फर्म’ मार्फत उनी गाईपालन गरिरहेका छन् । सानो लगानीबाट सुरु भएको यो यात्रा एउटा ठूलो फार्मका रूपमा विकसित भइसकेको छ । अहिले उनको गोठमा १८ वटा उन्नत जातका गाई र दुई भैँसी छन् ।

दैनिक १ सय ४० लिटर हाराहारी दूध उत्पादन गर्छन् । करिब ७ लाख ऋण लिएर सुरु भएको उनको यो फार्म ४० लाख रुपैयाँभन्दा बढीको भएको छ ।

गाईपालन मात्र होइन, चन्द्रलालले छुर्पी बनाउने घरेलु उद्योग पनि सञ्चालन गरेका छन् । बेमौसमी तरकारी खेतीमा पनि उत्तिकै सक्रिय छन् ।

जनप्रतिनिधिको जिम्मेवारी र ठूलो फार्म सँगसँगै हाँक्नु सामान्य विषय होइन । तर, चन्द्रलालको बिहान सबेरै उठ्ने बानीले उनलाई कहिल्यै कामको बोझ महसुस हुन दिएको छैन । उनी सबेरै उठेर गोठको अधिकांश काम भ्याइसक्छन् ।

उनी जनप्रतिनिधिको भूमिकामा वडावासीको समस्या सुल्झाउन गाउँ र कार्यालयतिर निस्कँदा गोठ र फार्मको व्यवस्थापन उनकी श्रीमती  रामकुमारीले सम्हाल्छिन् ।

कृषि र पशुपालनमा रमाउने चन्द्रलालको योजना यत्तिकैमा रोकिने छैन । उनी गोठलाई आधुनिक बनाएर गाई थप्ने तयारीमा छन् । गाई थप्ने हुँदा चुनाव भने उठ्ने योजना छैन ।

‘दुई कार्यकाल काम गरियो, भिरगाउँको बाटो बनाउने एजेन्डा थियो, बल्ल पूरा भयो,’ उनी भन्छन्, ‘अब गोठमा अलिक ध्यान दिने, जनप्रतिनिधि हुँदा गोठको सबै काम भ्याइन्नँ ।’

लेखक
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?