+
+
Shares

फेसबुकको गल्ती : न्यु मेक्सिकोमा मेटालाई किन तोकियो २५ अर्ब डलर जरिवाना ?

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक ५ गते १८:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • न्यु मेक्सिकोका न्यायाधीशले डाटा गोपनीयतामा उपभोक्तालाई भ्रमित पारेको ठहर गर्दै मेटालाई अमेरिकी राज्य न्यु मेक्सिकोलाई २५ अर्ब डलर तिर्न आदेश दिएका छन्।
  • न्यु मेक्सिकोका महान्यायाधिवक्ता राउल टोरेजले यो अमेरिकी इतिहासमै कुनै कम्पनीविरुद्ध राज्यले गरेको सबैभन्दा ठूलो वा ठूलामध्येको एक फैसला भएको बताएका छन्।
  • क्याम्ब्रिज एनालिटिकाले सन् २०१६ को निर्वाचनमा ८ करोड ७० लाख फेसबुक प्रयोगकर्ताको व्यक्तिगत डाटा सङ्कलन गरेको खुलासापछि न्यु मेक्सिकोले सन् २०२१ मा मेटाविरुद्ध मुद्दा दायर गरेको थियो।

५ कात्तिक, काठमाडौं । डाटा गोपनीयताका विषयमा उपभोक्ताहरूलाई जानाजानी भ्रमित पारेको ठहर गर्दै न्यु मेक्सिकोका एक न्यायाधीशले मेटा प्लेटफर्म्सलाई अमेरिकी राज्य न्यु मेक्सिकोलाई २५ अर्ब डलर तिर्न आदेश दिएका छन्।

फैसलाको तीन हप्ताभन्दा बढी समयपछि आएको आदेशमा न्यायाधीश फ्रान्सिस म्याथ्युले लेखेका छन्, ‘फेसबुकको गल्ती जुन वर्षौंदेखि र योजनाबद्ध रूपमा सर्वसाधारणमाझ प्रसारण गरिएको छ– फेसबुकको मुख्य व्यावसायिक अभ्यासको केन्द्रमै प्रहार गर्दछ।’

न्यायाधीशले राज्यको कानुनअनुसार २१९ अर्ब डलरभन्दा बढी जरिवाना हुनुपर्ने निष्कर्ष निकालेका थिए, तर उनले त्यसलाई घटाएर २५ अर्ब डलर कायम गरेका हुन्। न्यु मेक्सिकोका महान्यायाधिवक्ता राउल टोरेजले यो अमेरिकी इतिहासमै कुनै कम्पनीविरुद्ध राज्यले गरेको सबैभन्दा ठूलो (वा ठूलामध्येको एक) फैसला भएको बताएका छन्।

यता, मेटाका प्रमुख कानुनी अधिकारी सीजे महोनीले भने कम्पनीले पुनरावेदनमा जित्ने विश्वास व्यक्त गरेका छन्। उनले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘यो फैसला र यसको कार्यान्वयनमा महान्यायाधिवक्ताको दृष्टिकोणले न्यु मेक्सिको राज्यमा व्यापार गर्न लगभग असम्भव बनाइदिएको छ। मूल रूपमा, यो मुद्दा अनलाइनमा मानिसहरूले के बोल्न पाउँछन् भन्ने नयाँ नियमहरू लागू गर्न अभिव्यक्तिमाथि कर लगाउने प्रयास हो।’

मुद्दा के हो ?

क्याम्ब्रिज एनालिटिकाले थर्ड-पार्टी एपमार्फत ८ करोड ७० लाख फेसबुक प्रयोगकर्ताको व्यक्तिगत डाटा सङ्कलन (चोरी) गरेको खुलासा भएपछि न्यु मेक्सिकोका महान्यायाधिवक्ताले सन् २०२१ मा मेटाविरुद्ध मुद्दा दायर गरेका थिए।

हाल बन्द भइसकेको बेलायती राजनीतिक परामर्शदाता कम्पनी क्याम्ब्रिज एनालिटिकाले सन् २०१६ को निर्वाचनका क्रममा फेसबुक डाटा सङ्कलन गरी लक्षित राजनीतिक विज्ञापनहरू बनाएको थियो। त्यतिबेला उक्त कम्पनीले डोनाल्ड ट्रम्पको सफल राष्ट्रपतीय अभियानका लागि काम गरेको थियो।

राज्यले मेटामाथि न्यु मेक्सिकोका फेसबुक प्रयोगकर्ताहरूलाई उनीहरूको डाटामा कसको पहुँच छ भन्नेबारे झुट बोलेको र प्लेटफर्ममा पोस्ट हुने घृणास्पद अभिव्यक्ति र भ्रामक सूचनाहरूको व्यवस्थापनमा लापरवाही गरेको आरोप लगाएको थियो।

राज्यका वकिलहरूले फेसबुकका सीईओ मार्क जुकरबर्गले सन् २०१० मा वासिङ्टन पोस्टमा लेखेको एक लेखलाई उद्धृत गरेका थिए, जसमा उनले कम्पनीले प्रयोगकर्ताको डाटा नबेच्ने दाबी गरेका थिए।

तर कम्पनीले थर्ड-पार्टीहरूलाई प्रयोगकर्ताको डाटामा व्यापक पहुँच भएको कुरा थाहा पाएर पनि नाफाका लागि घृणास्पद अभिव्यक्ति वा अन्य हानिकारक सामग्रीलाई बेवास्ता गरेको आरोप वकिलहरूले लगाएका छन्।

न्यु मेक्सिकोका महान्यायाधिवक्ता टोरेजले यो फैसला सिलिकन भ्यालीका लागि एउटा स्पष्ट सन्देश हुनुपर्ने बताएका छन्।

के मेटाले अन्य मुद्दाहरू पनि खेपिरहेको छ ?

किशोरकिशोरीको मानसिक स्वास्थ्यमा इन्स्टाग्राम र फेसबुकले पारेको असरलाई लिएर मेटाले हजारौँ मुद्दा र सांसदहरूको दबाब सामना गरिरहेको छ।

कम्पनीले फेसबुक र इन्स्टाग्रामलाई बालबालिकाहरूलाई लत लाग्ने गरी डिजाइन गरेको दाबीसहित राज्यका महान्यायाधिवक्ताहरूको गठबन्धनले दायर गरेको मुद्दाको सुनुवाइ अगस्टमा क्यालिफोर्नियाको सङ्घीय अदालतमा सुरु भएको छ। यसले कम्पनीलाई ठूलो क्षतिपूर्ति तिर्न र आफ्ना प्लेटफर्महरूमा व्यापक परिवर्तन गर्न बाध्य पार्न सक्छ।

यसका साथै, कम्पनीले सङ्घीय कानुनको उल्लङ्घन गर्दै बालबालिकाको डाटा अवैध रूपमा सङ्कलन र प्रयोग गरेको भन्दै २९ वटा राज्यले दायर गरेको मुद्दाको पनि यसले सामना गर्नेछ।

क्याम्ब्रिज एनालिटिकासँग सम्बन्धित मुद्दामा अन्य छ वटा राज्यले ४५ करोड ९० लाख डलरमा सम्झौता गरेका छन्। यो सम्झौता किशोरकिशोरीको मानसिक स्वास्थ्यमा कम्पनीका प्लेटफर्महरूले पुर्‍याएको क्षतिका दाबीहरू समाधान गर्न मेटाले अगस्टमा गरेको १७ अर्ब डलरको बहु-राज्य सम्झौताको एउटा हिस्सा हो।

यसअघि यसै वर्षको सुरुमा, न्यु मेक्सिकोले इन्स्टाग्राम र फेसबुकमा युवाहरूको यौन शोषणलाई सहज बनाएको र प्लेटफर्मको सुरक्षाबारे उपभोक्ताहरूलाई भ्रमित पारेको दाबीसहित मेटाविरुद्धका दुई मुद्दामा ९४ करोड २० लाख डलर जितेको थियो।

कर्पोरेट संस्थाहरूप्रति कडा नीतिको वकालत गर्ने गैरनाफामूलक संस्था अमेरिकन इकोनोमिक लिबर्टिज प्रोजेक्टले पछिल्लो २५ अर्ब डलरको जरिवाना मेटाका लागि समुन्द्रमा एक थोपा जस्तै भए पनि यसले मानिसहरू जवाफदेहिता चाहन्छन् भन्ने कुरा देखाएको बताएको छ।

संस्थाकी कार्यकारी निर्देशक निधि हेग्डेले भनिन्, ‘अहिले उनीहरू ‘म्युज’ नामक एआई असिस्टेन्ट ल्याउँदैछन्, जसले मानिसहरूलाई बैंक खातादेखि मेडिकल जानकारीसम्म सबै कुरा यसलाई सुम्पन प्रोत्साहित गरिरहेको छ। त्यसैकारण हामीलाई उनीहरूलाई नियन्त्रण गर्न साहस भएका निकाय र वास्तविक रूपमा प्रभावकारी कानुनहरूको आवश्यकता छ।’

(अलजजिरा लगायतको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?