+
+
Shares

दशैंमा काठमाडौं उपत्यकामा सवारी दुर्घटना घट्यो

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक ६ गते १०:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं उपत्यकामा यस वर्षको दशैंमा १०५ सवारी दुर्घटना हुँदा गत वर्षको १५५ भन्दा ५० ले घटेको ट्राफिक प्रहरीले जनाएको छ।
  • दुर्घटनामा मृत्यु हुनेको संख्या १० बाट घटेर ३ पुगेको ट्राफिक प्रहरी कार्यालय रामशाहपथले जनाएको छ।
  • प्रवक्ता नरेशराज सुवेदीका अनुसार अधिकांश दुर्घटना दुईपाङ्ग्रे सवारीसाधन र तीव्र गतिसँग सम्बन्धित छन्।

६ कात्तिक, काठमाडौं । यस वर्षको दशैंमा काठमाडौं उपत्यकामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षतिमा कमी आएको ट्राफिक प्रहरीले जनाएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथको तथ्यांक अनुसार गत वर्षको दशैंमा १५५ वटा सवारी दुर्घटना भएकामा यस वर्ष १०५ वटा दुर्घटना भएका छन् ।

यसअनुसार गत वर्षको तुलनामा यस वर्ष दुर्घटनाको संख्या ५० ले घटेको हो ।

त्यस्तै, दुर्घटनामा परी मृत्यु हुनेको संख्या पनि १० बाट घटेर तीनमा झरेको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार यस वर्ष भएका अधिकांश दुर्घटना दुईपाङ्ग्रे सवारीसाधनसँग सम्बन्धित छन् । तीव्र गतिका कारण सवारीसाधन अनियन्त्रित हुँदा दुर्घटना हुने गरेको उनले बताए ।

चाडपर्वलाई लक्षित गरी ट्राफिक प्रहरीले पूर्वतयारीसहित सुरक्षा योजना लागू गर्नु, नियमित निगरानी बढाउनु र सरोकारवालासँग समन्वय गर्नुले दुर्घटना न्यूनीकरणमा सहयोग पुगेको सुवेदीको भनाइ छ ।

‘ट्राफिक प्रहरीले पूर्वतयारीसहित योजनाबद्ध रूपमा काम गर्दा सडक सुरक्षित भएको छ । यातायात व्यवसायी, मजदुर साथीहरू र सम्पूर्ण सरोकारवालाको एकीकृत प्रयासले नागरिकले सुरक्षित यात्रा गरिरहेका छन्,’ उनले भने ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले दुर्घटनापछि तत्काल उद्धार र प्रभावकारी उपचारको व्यवस्था गर्दा घाइतेको ज्यान बचाउन सहयोग पुगेको बताए ।

उनका अनुसार दशैंका समयमा सडक सुरक्षालाई प्राथमिकतामा राख्दै ट्राफिक प्रहरी र जनपथ प्रहरीले नियमित जाँच, अनुगमन तथा संयुक्त जाँचलाई प्रभावकारी बनाएका थिए ।

चाडपर्वका बेला सवारीसाधनको आवागमन बढ्ने भएकाले चालकको लापरबाही, तीव्र गति र ट्राफिक नियम उल्लंघनका कारण दुर्घटनाको जोखिम बढ्ने गर्छ । यसलाई ध्यानमा राखेर प्रहरीले विभिन्न स्थानमा जाँच र निगरानी बढाउनुका साथै आवश्यकताअनुसार प्रहरी परिचालन गरेको थियो ।

यस वर्ष दुर्घटना र मृतकको संख्या घटे पनि दुईपाङ्ग्रे सवारीसाधनसँग सम्बन्धित दुर्घटना तथा तीव्र गतिका कारण हुने जोखिम भने कायमै छ । ट्राफिक प्रहरीले चालकलाई गति नियन्त्रण गर्न, ट्राफिक नियम पालना गर्न र सुरक्षित तरिकाले सवारीसाधन चलाउन आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?