+
+
Shares

ब्राजिलमा आज राष्ट्रपतीय निर्वाचन, लुला र बोल्सोनारोबीच प्रतिस्पर्धा

निर्वाचनमा वर्तमान राष्ट्रपति तथा वामपन्थी नेता ८० वर्षीय लुइज इनासियो लुला र दक्षिणपन्थी सिनेटर ४५ वर्षीय फ्लाभियो बोल्सोनारोबीच प्रतिस्पर्धा हुँदैछ । फ्लाभियो पूर्वराष्ट्रपति जैर बोल्सोनारोका छोरा हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक ८ गते ६:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ब्राजिलमा नयाँ राष्ट्रपति चयनका लागि आइतबार लुइज इनासियो लुला र दक्षिणपन्थी सिनेटर फ्लाभियो बोल्सोनारोबीच दोस्रो चरणको निर्वाचन हुँदैछ ।
  • पहिलो चरणमा अग्रस्थान हासिल गरेका फ्लाभियोले दोस्रो चरणमा पनि मतदाताको समर्थन जुटाउनुपर्नेछ ।
  • फ्लाभियोले अपराधविरुद्ध कडा कारबाही, कर घटाउने र सरकारी खर्च कटौती गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

८ कात्तिक, काठमाडौं । ब्राजिलमा नयाँ राष्ट्रपति चयनका लागि आइतबार दोस्रो चरणको निर्वाचन हुँदैछ । निर्वाचनमा वर्तमान राष्ट्रपति तथा वामपन्थी नेता ८० वर्षीय लुइज इनासियो लुला र दक्षिणपन्थी सिनेटर ४५ वर्षीय फ्लाभियो बोल्सोनारोबीच प्रतिस्पर्धा हुँदैछ ।

लुला चौथो पटक राष्ट्रपति बन्ने प्रयासमा छन् ।
यसअघि पहिलो चरणको मतदानमा अग्रस्थान हासिल गरेका फ्लाभियो बोल्सोनारोले राष्ट्रपतिमा निर्वाचित हुन दोस्रो चरणमा पनि मतदाताको समर्थन जुटाउनुपर्नेछ ।

फ्लाभियो पूर्वराष्ट्रपति जैर बोल्सोनारोका छोरा हुन् । सन् २०२२ को निर्वाचनमा पराजित भएपछि सत्ता कब्जाको षड्यन्त्र गरेको अभियोगमा जैरलाई २७ वर्षको जेल सजाय सुनाइएको छ । स्वास्थ्य समस्याका कारण उनी हाल घरमै नजरबन्दमा रहेर सजाय भोगिरहेका छन्।

गत अक्टोबर ४ मा भएको पहिलो चरणको मतदानमा फ्लाभियोले अग्रता हासिल गरेका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यसलाई ‘निकै ठूलो’ जितको संज्ञा दिएका थिए ।

पहिलो चरणमा पछि परेका उम्मेदवारले दोस्रो चरणमा मतान्तर उल्ट्याएर जित हासिल गरेको उदाहरण ब्राजिलको राष्ट्रपतीय निर्वाचनमा अहिलेसम्म नरहेको बताइएको छ ।

फ्लाभियोका समर्थकहरू अन्तिम चुनावी सभाहरूमा उत्साहित देखिएका छन् । संगठित अपराधविरुद्ध कडा कारबाही गर्ने, कर घटाउने र सरकारी खर्च कटौती गर्ने उनको प्रतिबद्धताले देशमा परिवर्तन ल्याउने समर्थकहरूको विश्वास छ ।

निर्वाचनको पूर्वसन्ध्यामा फ्लाभियोले मिनास गेराइस राज्यको राजधानी बेलो होरिजोन्टेमा चुनावी अभियान सञ्चालन गरेका थिए । सन् १९८० को दशकदेखि नै यो राज्य राष्ट्रपतीय निर्वाचनका उम्मेदवारका लागि महत्त्वपूर्ण मानिँदै आएको छ ।

सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमार्फत फ्लाभियोले समर्थकहरूलाई भनेका छन्, ‘समय अब नजिक आइसकेको छ । हाम्रो राष्ट्रको आगामी ३० वा ४० वर्षको भविष्य निर्धारण गर्न अब केही घण्टा मात्रै बाँकी छन् ।’

उनले आफ्ना पिता जैरलाई जेलमुक्त गराउने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।

रियो दि जेनेरियोको बार्रा दा तिजुकामा पनि फ्लाभियोका समर्थकहरूले राष्ट्रिय झन्डाका रङका पोसाक लगाएर चुनावी समर्थन प्रदर्शन गरेका थिए । उक्त क्षेत्रमा उनका पिता जैरको घर छ ।

‘ब्राजिललाई परिवर्तन चाहिएको छ । लामो समयदेखि वामपन्थीहरूले अर्थतन्त्र र देशलाई बिगारेपछि अहिले फ्लाभियोले परिवर्तनको प्रतिनिधित्व गर्छन्,’ एक समर्थकले बीबीसीसँग भने ।

अर्की समर्थकले फ्लाभियोको मुख्य आकर्षण ब्राजिलमा हिंसा अन्त्य गर्ने, आतंकवाद र लागुऔषध तस्करी नियन्त्रण गर्ने तथा ब्याजदर घटाउने प्रतिबद्धता रहेको बताइन् ।

निर्वाचनको परिणामले ब्राजिलको आगामी राजनीतिक दिशा, अपराध नियन्त्रण नीति, कर प्रणाली र सरकारी खर्चसम्बन्धी प्राथमिकता निर्धारण गर्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?