News Summary
Generated by OK AI. Editorially reviewed.- पर्साको ठोरी गाउँपालिका–१ का ३२ वर्षीय शिवराज फुँयालले सरकारी सेवासँगै १० कठ्ठामा अफ्रिकन सिमल तरुलको व्यावसायिक खेती थालेका छन्।
- उनले चितवनको अन्नपूर्ण नर्सरीबाट २ हजार बिरुवा ल्याएर खेती सुरु गरेका छन् र कम्तीमा ५ लाख रुपैयाँ खुद आम्दानीको लक्ष्य राखेका छन्।
- शिवराजले सिँचाइ अभाव भएको बाँझो जमिनमा कम लगानीको यो खेती गर्न युवालाई स्वदेशमै अवसर खोज्न आग्रह गरेका छन्।
८ कात्तिक, काठमाडौं । सरकारी जागिर, वृद्ध आमाबुबाको स्याहारसुसार र घरगृहस्थीको जिम्मेवारी । यी सबै दायित्व पूरा गर्दै फुर्सदको समयलाई व्यावसायिक कृषिमा लगाएर आम्दानीको नयाँ सम्भावना खोजिरहेका छन्, पर्साको ठोरी गाउँपालिका–१ सरस्वती नगरका ३२ वर्षीय शिवराज फुँयाल ।
छिमेकी जिराभवानी गाउँपालिकामा आठौं तहका शिक्षा अधिकृतका रूपमा कार्यरत शिवराजले यस वर्ष १० कठ्ठा जमिनमा अफ्रिकन जातको सिमल तरुलको व्यावसायिक खेती गरेका छन् ।
उनका अनुसार यो तरुल नेपालको रैथाने वा लोकल जातको होइन, यो विशेषगरी अफ्रिका महादेशमा पाइने उन्नत जातको हो ।
सरकारी सेवाको व्यस्तताबीच थालेको यो अफ्रिकन सिमल तरुल खेतीबाट यसपटक कम्तीमा पाँच लाख रुपैयाँ खुद आम्दानी गर्ने उनको लक्ष्य छ ।
कम लगानी र कम मिहिनेतमा गर्न सकिने खेती
मधेश प्रदेशको पश्चिमी भेगमा पर्ने ठोरी गाउँपालिका चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको छ । पर्साको सदरमुकाम वीरगञ्जबाट करिब ६८ किलोमिटर टाढा रहेको यस क्षेत्रका अधिकांश बासिन्दा कृषिमा संलग्न छन् । तर, सिँचाइ र जनशक्तिको अभावमा कतिपय जमिन बाँझै छन् । त्यही परिवेशमा शिवराजले कम लगानी र तुलनात्मक रूपमा कम मिहिनेतमा गर्न सकिने नयाँ खेतीको प्रयोग गरेका हुन् ।
शिवराजको घर र कार्यस्थलबीच करिब ३० किलोमिटर दूरी छ । उनी दैनिक मोटरसाइकलमा कार्यालय आउजाउ गर्छन् । दिनभर शैक्षिक तथा प्रशासनिक जिम्मेवारी सम्हालेर घर फर्किएपछि पनि उनको काम सकिँदैन । दाजुको परिवार वीरगञ्जमा बस्ने भएकाले वृद्ध आमाबुबाको स्याहारसुसार, औषधिउपचार र घरायसी कामको मुख्य जिम्मेवारी उनकै काँधमा छ ।
यी जिम्मेवारीका बीच उनले कृषि कर्मका लागि पनि समय निकालिरहेका छन् । बिहान–बेलुका र सार्वजनिक बिदाका दिन खेतमा पुगेर बिरुवाको हेरचाह गर्ने, औषधि छर्ने र झारपात हटाउने काम उनी आफैं गर्छन् ।
चितवनबाट सिके, ठोरीमा प्रयोग गरे
अफ्रिकन सिमल तरुल खेती गर्ने प्रेरणा उनले चितवन भ्रमणका क्रममा पाएका हुन् । केही समयअघि साथीसँग चितवन पुगेका बेला अन्नपूर्ण नर्सरीमार्फत भइरहेको यसको व्यावसायिक खेती र त्यसबाट किसानले आर्जन गरिरहेको आम्दानीबारे उनले जानकारी पाए । त्यसपछि आफ्नै गाउँको माटोमा पनि यो खेती परीक्षण गर्ने निर्णय गरे ।
उनले चितवनस्थित अन्नपूर्ण नर्सरीबाट खरिद गरेर ल्याएका २ हजार बिरुवा १० कठ्ठा जमिनमा रोपेर व्यावसायिक खेती सुरु गरे ।

अहिले बिरुवा हुर्किएर उत्पादन दिने चरणमा पुगेका छन् । छिट्टै उत्पादन बजारमा बिक्रीका लागि तयार हुने उनको अपेक्षा छ ।
शिवराजका अनुसार यसको खेतीमा रोप्ने बेला बढी समय र श्रम खर्चिनुपर्छ । त्यसपछि भने तुलनात्मक रूपमा कम हेरचाह गरे पुग्छ । उनका अनुसार अहिलेसम्म खेतमा दुई पटक मात्र गोडमेल गरिएको छ ।
खेतीको लागतबारे उनी भन्छन्, ‘मान्छे लगाउने, जमिन जोत्ने, गोडमेल गर्ने र फसल थन्काउनेसम्म गर्दा जम्मा करिब ५० हजार रुपैयाँ खर्च हुने अनुमान गरेको छु ।’
फलसँगै बिरुवा बेचेर आम्दानीको अपेक्षा
अफ्रिकन सिमल तरुलबाट फल बिक्रीका अतिरिक्त बिरुवा बेचेर पनि आम्दानी गर्न सकिने शिवराज बताउँछन् ।
यसको बिरुवा तयार पार्ने तरिकाबारे उनी भन्छन्, ‘एउटा बिरुवाबाट ७–८ वटासम्म नयाँ बिरुवा बनाउन सकिन्छ । १० देखि १५ सेन्टिमिटरको टुक्रा काटेर रोपे पुग्छ, त्यो आफैँ बढेर ठूलो हुन्छ ।’
यसरी फल र बिरुवा दुवैबाट कुनै पनि कुरा खेर नजाने हुँदा यसपटक कम्तीमा पनि ५ लाख रुपैयाँ खुद आम्दानी हुने उनको अपेक्षा छ ।
यद्यपि, बजारको यथार्थ माग, मूल्य र उत्पादनको परिमाणबारे पूर्ण आँकलन फसल बजारमा आएपछि मात्र गर्न सकिने उनको बुझाइ छ ।
साथै, यो सिमल तरुल धेरै प्रकारका बिरामीहरूका लागिसमेत स्वास्थ्यबर्द्धक र उपयोगी हुने उनले बुझेका छन् ।
बाँझो जमिनमा खेती गर्न युवालाई आग्रह
शिवराजको अनुभवमा अफ्रिकन सिमल तरुल खेतीका लागि अत्यधिक सिँचाइ आवश्यक पर्दैन । पर्याप्त आकाशे पानी पर्ने ठाउँमा पनि खेती गर्न सकिने उनको भनाइ छ ।
त्यसैले सिँचाइ सुविधाको अभावमा बाँझो रहेका जमिनको सदुपयोग गर्न यो खेती एउटा विकल्प हुन सक्ने उनी बताउँछन् । यद्यपि, यसको उपयुक्तता स्थानीय माटो, पानी, मौसम र खेती व्यवस्थापनमा निर्भर हुन्छ ।
रोजगारीका लागि विदेश जाने युवालाई लक्षित गर्दै शिवराज आफ्नै ठाउँमा पनि अवसर खोज्न आग्रह गर्छन् । उनी भन्छन्, ‘विदेश गएर पसिना बगाउनुको सट्टा यदि युवाहरूले स्वदेशमै, आफ्नै परिवारसँग बसेर थोरै बुद्धि र मिहिनेत लगाउने हो भने विदेशको भन्दा बढी आम्दानी आफ्नै आँगनमा गर्न सकिन्छ ।’
उनको प्रयासको उद्देश्य खेतीबाट आम्दानी गर्नु मात्र होइन, फुर्सदको समयलाई उत्पादनमूलक काममा लगाउन सकिन्छ भन्ने देखाउनु पनि हो ।
सरकारी सेवामा रहेर कृषि कर्मलाई निरन्तरता दिनुले स्थानीय युवालाई नयाँ सम्भावना खोज्न प्रेरित गरेको छ ।
सामाजिक काममा पनि सक्रिय
शिवराज कृषि कर्ममा मात्र सीमित छैनन् । गाउँमा हुने सामाजिक, सांस्कृतिक तथा विकास निर्माणका गतिविधिमा पनि उनी सक्रिय रहँदै आएका छन् ।
सरकारी सेवाको जिम्मेवारी पूरा गर्दै खेती र सामाजिक काममा समेत समय दिनुले स्थानीयस्तरमा उनको प्रशंसा हुने गरेको छ ।
औपचारिक शिक्षाको दायराबाट बाहिर निस्केर प्रयोगात्मक रूपमा आत्मनिर्भर बन्न सिकाउने शिवराज फुँयाल गाउँका युवाहरूका लागि प्रेरणाका स्रोत बनेका छन् ।
प्रतिक्रिया 4