News Summary
Generated by OK AI. Editorially reviewed.- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नयाँ दिल्लीको एनडीटीभी वर्ल्ड समिट २०२६ मा नेपाली राष्ट्रवादलाई भारतविरोधसँग जोड्ने युग सकिएको बताएका छन् ।
- त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. तारा भुसालले वाग्लेको अभिव्यक्तिलाई कूटनीतिक मर्यादा र नेपालको राष्ट्रिय स्वाभिमानमाथि प्रश्न उठाउने भन्दै आलोचना गरेका छन् ।
- राप्रपाका कमल थापा र एमालेका गोकुल बास्कोटाले पनि वाग्लेको दिल्ली मन्तव्यलाई आपत्तिजनक र बौद्धिक ज्ञानको टाट पल्टाइ भनेका छन् ।
८ कात्तिक, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (टीयू) का अर्थशास्त्रका प्राध्यापक डा. तारा भुसालले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारत भ्रमणका क्रममा व्यक्त गरेको धारणाको आलोचना गरेका छन् ।
एनडीटीभी वर्ल्ड समिटमा अर्थमन्त्री डा. वाग्लेको सम्बोधन र उनका अभिव्यक्तिहरू सुनिएको उल्लेख गर्दै डा. भुसालले सामाजिक सञ्जालमार्फत प्रश्न उठाएका हुन् ।
उनी लेख्छन्, ‘विश्व बैंक र यूएनडीपीमा लामो अनुभव बटुलेका एक स्थापित अर्थशास्त्री तथा नेपालका अर्थमन्त्रीले अन्तर्राष्ट्रिय मञ्चमा अर्थतन्त्र र क्षेत्रीय सहकार्यका कुरा उठाउनु आफैंमा सकारात्मक हो । तर, जुन मिडिया प्लेटफर्म, राजनीतिक पृष्ठभूमि र रणनीतिक समयमा यो भयो त्यहाँ केही गम्भीर प्रश्नहरू खडा हुन्छन् ।’
डा. भुसालले कूटनीतिक मर्यादामै प्रश्न उठाएका छन् ।
‘एक देशको बहालवाला अर्थमन्त्रीले अर्को देशका विदेशमन्त्रीलाई ग्यालरीबाट प्रश्न सोध्ने शैली र दिल्लीको राजनीतिक मञ्चमा प्रस्तुत हुने तरिकाले कूटनीतिक मर्यादा (प्रोटोकल) को पालना भयो कि भएन ?,’ डा. भुसाल लेख्छन्, ‘यदि यो भ्रमण आगामी दिनमा सत्ता समीकरणका लागि दिल्लीको आशीर्वाद वा वैधानिकता खोज्ने प्रयास हो भने, यसले नेपालको स्वतन्त्र विदेश नीति र राष्ट्रिय स्वाभिमानमा पुन: प्रश्न उठाउँछ ।’
साथै, उक्त मञ्चमा डा. वाग्लेले व्यक्त गरेको बिचारप्रति पनि डा. भुसालको प्रश्न छ ।
उनी लेख्छन्, ‘भारतविरोधी अन्ध–राष्ट्रवाद गलत हो, त्यसमा दुईमत छैन । तर, भारत विरोधी नहुनुको अर्थ नेपालका वास्तविक आर्थिक र भौगोलिक चासोहरूलाई बिर्सेर भारतीय संस्थापनकै बोलीमा बोली मिलाउनु होइन ।’
अर्थमन्त्री डा. वाग्ले भारत भ्रमणमा छन् ।
भ्रमणका क्रममा भारतको नयाँ दिल्लीमा आयोजित ‘एनडीटीभी वर्ल्ड समिट २०२६’ मा बोल्दै उनले नेपाली राष्ट्रवादलाई भारतको विरोधका रूपमा बुझ्ने युगको अन्त्य भएको बताएका थिए ।
नयाँ पुस्ताको आकांक्षा आर्थिक समृद्धि र सुशासन रहेको स्पष्ट पार्दै नेपालको परराष्ट्र नीति सकारात्मक दिशामा अघि बढेको बताएका हुन् ।
विगतमा दशकौंसम्म निश्चित वैचारिक प्रशिक्षणका कारण नेपाली राष्ट्रवादलाई भारत–विरोधसँग जोडेर हेर्ने भाष्य निर्माण भएको उनले बताएका छन् ।
‘तर, हाम्रो पुस्ता फरक छ । हामीले विश्व देखेका छौँ, हाम्रा आकांक्षाहरू आर्थिक छन् । हामी राम्रो रोजगारी, सुशासन र असल छिमेकी सम्बन्ध चाहन्छौँ,’ डा. वाग्लेले भनेका छन्, ‘त्यसैले म निकै खुसीका साथ भन्न सक्छु कि नेपाली राष्ट्रवादलाई ‘एन्टी–इन्डियनिज्म’ सँग जोड्ने त्यो युग अब सकियो ।’
अर्थमन्त्री वाग्लेको यस्तो अभिव्यक्तिप्रति टीयूका अर्थशास्त्रका प्राध्यापक डा. भुसालले प्रश्न उठाएका हुन् । उनी भन्छन्, ‘अर्थशास्त्री डा. वाग्लेबाट तथ्यमा आधारित र आत्मसम्मानपूर्ण कूटनीतिको अपेक्षा थियो ,केवल दिल्लीलाई खुसी पार्ने भाषणको होइन ।’
जे विषयमा बोल्नुपर्ने हो त्यसमा भने अर्थमन्त्री वाग्ले मौन रहेको डा. भुसालको टिप्पणी छ । डा. भुसालका नजरमा अर्थमन्त्री डा. वाग्लेले व्यापार घाटा र रणनीतिक मुद्दामा मौनता साँधेका छन् ।
उनी थप्छन्, ‘अर्थशास्त्रीय दृष्टिकोणबाट नेपाल–भारत सम्बन्धको मुख्य चुरो गैर–भन्सार अवरोध, व्यापार घाटा, ऊर्जा व्यापारमा भारतीय एकाधिकार र कालापानी/लिपुलेक जस्ता विवादित सीमा मुद्दा हुन् ।’
यी विषयमा नबोलेको भन्दै उनी थप्छन्, ‘तर, वाग्लेज्यूले आर्थिक सहकार्य र विपद् व्यवस्थापनका सुरक्षित र हलुका विषयमा मात्र कुरा सीमित राख्नुभयो । यस्ता गम्भीर मुद्दालाई ओझेलमा पारेर ज्वाइनड् एट द हिप (हामी सँगै जोडिएका छौँ) जस्ता भावनात्मक शब्द प्रयोग गर्नुले काठमाडौँको कूटनीतिक साख र बार्गेनिङ पावर बढाउँदैन ।’
साथै, डा. वाग्लेले जुन स्थानमा बोले त्यसमा पनि डा. भुसालको प्रश्न छ ।
‘कर्पोरेट/सत्ता संरक्षित मिडियाको भाष्य’ शिर्षक अन्तर्गत उनी लेख्छन्, ‘अदानी समूहको स्वामित्वपछि एनडीटीभी वर्ल्डको सम्पादकीय निष्पक्षता र मोदी सरकारप्रतिको झुकाव सर्वविदितै छ । यस्तो मञ्चलाई दिल्लीले आफ्नो सफ्ट पावर र विदेशी नीति सफल भएको देखाउन प्रयोग गर्दै आएको छ ।’
यहाँनेर डा. भुसालले अर्थमन्त्री डा. वाग्लेको अभिव्यक्ति पुन: स्मरण गरेका छन् ।
‘त्यहाँ (एनडीटीभी वर्ल्ड समिटमा) पुगेर नेपालमा भारतविरोधी राष्ट्रवादको युग सकियो भन्दै काठमाडौँको तर्फबाट सर्टिफिकेट’ दिनु कति हतारो थियो ?’ डा. भुसालको प्रश्न छ, ‘के यो नेपालको नयाँ राजनीतिक नेतृत्वले भारतीय संस्थापन पक्षलाई दिएको आत्मसमर्पणवादी आश्वस्तता मात्र त होइन ?’
डा. वाग्लेको अभिव्यक्तिलाई लिएर राजनीतिक दलका नेता/कार्यकर्ताले समेत प्रश्न उठाएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता कमल थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेपाल–भारत सम्बन्धका सन्दर्भमा डा. स्वर्णिम वाग्लेले हालै दिल्लीमा दिनुभएको अभिव्यक्ति आपत्तिजनक मात्र नभई नेपाली राष्ट्रियतामाथिको ठाडो अवमूल्यन हो ।’
नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले अर्थमन्त्री डा. वाग्लेले धारणालाई बौद्धिक ज्ञानको टाट पल्टाईको संज्ञा दिएका छन् ।
पहिले पनि यस्तै अभिव्यक्तिका कारण डा. वाग्ले विवादमा परेका थिए ।
रास्वपाले २०८० साल फागुन २१ गते ऊर्जा क्षेत्रको विषयमा नीतिगत छलफल राखेको थियो । उक्त कार्यक्रममा डा. वाग्लेले नेपालको जलविद्युतको प्रयोग, विदेश निर्यात लगायतको विषयमा भूराजनीतिलाई समेत जोडेर ब्याख्या गरेका थिए ।
‘सबैभन्दा ठूलो र अहिले अलि पेचिलो जियोपोलिटिकल (भूराजनीतिक) पनि भइराख्या छ । अब इन्डियाले यो होल गेममा हामी अवेर (सचेत) हुनुपर्छ’, उनले भनेका थिए, ‘चाइनिज पुँजी, चाइनिज कन्ट्याक्टरहरू र चाइनिज तकनिकी (प्रविधि) उपयोग भएकोमा हामी लिँदैनौँ भनेर अब उसले भन्न पायो । आफ्नो स्वभरिनिटी च्वाइस पनि हो ।’
नेपालले भारतसँग १० वर्षमा १० हजार मेगावाट विजुली बिक्री गर्ने गरी दीर्घकालीन विद्युत व्यापार सम्झौता गरेको छ । तर चिनियाँ लगानी वा निर्माण प्रक्रियामा चिनियाँ ठेकदार कम्पनी संलग्न भएको जलविद्युत आयोजनाको विद्युत खरिद गर्न भारतले मानेको छैन ।
यसले नेपालका सबै खोलानाल तथा जलविद्युत आयोजनामा भारतको एकाधिकार स्थापित हुने कतिपयको चिन्ता छ । तर, डा. वाग्लेले भारतको अडानलाई सहयोग हुने गरी धारणा राखे । भारतको अडानको व्याख्या गर्दै डा. वाग्लेले भने, ‘हाम्रो लेऊ भनेको पनि हुन सक्छ वा अब किन जानीजानी आफ्नो जियोपोलिटिकल राइबल (प्रतिस्पर्धी) लाई उठाउन दिने भन्ने पनि छ ।’
चीनसँग १४० अर्ब डलरको व्यापार गर्ने भारतले एक दुई करोडका आयोजनामा किन यसो गरेको होला भन्ने प्रश्न गर्दै उनले एउटा सन्देश दिन खोजेको हुन सक्ने बताए । उनले अगाडि भनेका थिए, ‘यसलाई साउथ एशियन मनरो डक्ट्रिन पनि भन्न सकिन्छ ।’
१८२३ मा अमेरिकाका पाँचौँ राष्ट्रपति जेम्स मनरोले अमेरिकी कंग्रेसमा भाषण गर्ने क्रममा एउटा नीति वक्तव्य दिएका थिए । जसमा उनले ल्याटिन अमेरिका र क्यारेबियन क्षेत्रलाई अमेरिकाको प्रभावक्षेत्र (स्फेयर अफ इन्फ्लुयन्स) का रूपमा व्याख्या गरेका थिए । ‘त्यसलाई मनरो डक्ट्रिन पनि भनिन्छ’ डा. वाग्ले स्वयंले भनेका थिए ।
अहिले भारतले ‘दक्षिण एसियाली मनरो डक्ट्रिन’ अघि सार्दै यो क्षेत्र आफ्नो भएको र अरुलाई नआउन भनेको वाग्लेको विश्लेषण छ । उनी त्यतिमै रोकिएका थिएनन् ‘अब इन्डिया इज अ राइजिङ पावर । उसले भन्यो कि – यो स्फेयर अफ इन्फ्लुयन्समा तिमी बाहिरी शक्तिहरू दखल नगर । राइजिङ पावरहरुको यो कुरा हामीले पनि बुझिदिनुपर्छ ।’
भूराजनीतिक विषयमा प्राक्टिकल र व्यवहारिक हुनुपर्ने भन्दै डा. वाग्लेले कच्चा राष्ट्रवाद जाग्न नहुने समेत बताएका थिए । उनले भनेका थिए, ‘यो जिङगोइजम (अति राष्ट्रवाद) लाई अलिकति मेलो गरेर प्राक्टिकल साधन के हो ? साध्य के हो ? भनेर छुट्याएर गयौं भने धेरै कुराहरु क्लियर हुन्छ ।’
त्यसबेला डा. वाग्ले यस्तो अभिव्यक्तिका कारण विवादमा परेका थिए ।
अहिले फेरि भारत भ्रमणका क्रममा डा. वाग्ले नेपाली राष्ट्रवादलाई भारतको विरोधका रूपमा बुझ्ने युगको अन्त्य भएको बताए सँगै उनको अभिव्यक्ति विवादमा परेको हो ।
प्रतिक्रिया 4