News Summary
Generated by OK AI. Editorially reviewed.- कार्तिक २६ गते प्रदर्शनमा आउने फिल्म ‘बाटुलो जून’को ‘अल्लारे ठिटो आयो’ बोलको डान्सिङ नम्बर निर्माण टिमले आइतबार सार्वजनिक गरेको छ।
काठमाडौं । यही कार्तिक २६ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बाटुलो जून’ मा समावेश डान्सिङ नम्बर सार्वजनिक भएको छ । अनमोल केसी स्टारर फिल्मको ‘अल्लारे ठिटो आयो’ बोलको गीत निर्माण टिमले आइतबार सार्वजनिक गरेको हो ।
गीतको भिडियोमा अनमोलसँगै प्रिन्सी खतिवडा फिचर्ड छिन् । प्रिन्सीको यो डेब्यू फिल्म हो । भिडियोमा अनमोल र प्रिन्सीको दोहोरी नोकझोकसहितको केमेस्ट्री देख्न सकिन्छ ।
नजिकिँदो तिहार पर्व र देउसी भैलोलाई लक्षित गरेर गीत सार्वजनिक गरिएको निर्माण टिमले बताएको छ । गीतमा अडियोतर्फ रुबै र प्रविण बेडुवालको स्वर छ भने संगीत निर्माण, मिक्सिङ र मास्टरिङ रूप महानताले गरेका छन् । गीतमा पञ्चेबाजा, सारङ्गी, गीतार र बाँसुरीको धुन समेटिएको छ ।
भुवन केसीको निर्देशन र सनराइज पिक्चर्स प्रालीको ब्यानरमा तयार भएको ‘बाटुलो जून’ ३० देखि ४० दशकको नेपाली परिवेशमा आधारित प्रेम कथानक फिल्म हो । यो फिल्ममार्फत एक आदर्श प्रेमलाई केन्द्रमा राख्दै तत्कालीन सामाजिक परिवेश, जीवनशैली र प्रेम गर्ने तौरतरिकालाई पर्दामा उतार्ने प्रयास गरिएको निर्माण टिमले बताएको छ ।
राजेश श्रेष्ठको छायांकन रहेको फिल्ममा कृष्ण भण्डारीको सम्पादन र रोमन बज्राचार्यको पार्श्व संगीत समावेश छ । प्रदीप श्रेष्ठ एसोसिएट निर्देशक रहेको ‘बाटुलो जून’लाई जिया केसी र भविष्य खड्काले निर्माण गरेका हुन् । सह- निर्मातामा विवेक थापा छन् । यो फिल्मबाट लामो समयपछि अभिनेत्री गरिमा पन्तले अभिनयमा पुनरागमन गरेकी छिन् ।
प्रतिक्रिया 4