+
+
Shares

‘अन्धेरे मे’ : हिउँमा बेरिएको एउटा सेतो छाया जस्तो स्मृति

ऊ रातिको समयमा बुबाको भारी पाइलाको आवाज सुन्छ, जसले उसलाई त्रसित बनाउँछ । त्यहाँ उसकी आमा र बुबाबीच कलह भइरहेको हुन्छ ।

कञ्चन कञ्चन
२०८३ कात्तिक १० गते १२:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • निर्मल वर्माको कथामा आधारित सर्ट फिल्म ‘अन्धेरे मे’ ले अमरावतीको गर्मी बिदामा परिवारभित्रको तनाव, बालमनोविज्ञान र स्मृतिको प्रभाव देखाएको छ।
  • फिल्ममा बच्चीले आमाबुबाबीचको चिसोपन र रातिको कलहबाट असुरक्षा महसुस गर्छन्, जसले उनको बालमस्तिष्कमा स्थायी आघात बनाउँछ।

‘अमरावती !

यो एउटा मात्रै शब्दभित्र कति धेरै स्मृतिहरू लुकेका छन् । त्यो वर्ष ज्वरो अलि लामो समयसम्म नै लागिरह्यो । बिरामी हुँदा कहिलेकाहीँ अजीव अनुभूति हुन्थ्यो । लाग्थ्यो, म पनि आमा जस्तै छु– लाग्थ्यो, उहाँको कुनै अंश वा छाप मभित्र पनि छ । हिउँमा बेरिएको एउटा सेतो छायाँ जस्तै, जुन अँध्यारोमा पनि टल्कने गर्छ ।’

हिन्दी साहित्यका मूर्धन्य कथाकार निर्मल वर्माको क्लासिक कथामा आधारित सर्ट फिल्म ‘अन्धेरे मे’ (२०१६) को प्रारम्भिक हरफहरू हुन् यी । निर्मल वर्मा मूलत : भाषाका कथाकार हुन् । उनका कथाहरू कम घटनाप्रधान हुन्छन् । लाग्न सक्छ – यो कथै हैन । त्यसकारण फिल्मलाई बुझ्नका लागि एकपटक ‘परिन्दे’ कथासङ्ग्रह पढ्नुपर्ने हुन सक्छ ।

माथिको कथन बोल्ने सुत्रधार फिल्मको मूल चरित्र बच्ची हो । ऊ आफ्नो बाल्यकालको विशेष सम्झनामा घोत्लिएको छ । परिवेश पनि स्मृति झझकाउने वाला छ – मधुर गोधुली साँझ ।

१५ मिनेटको यो फिल्मले पारिवारिक सम्बन्धको आन्तरिक विखण्डन, बालमनोविज्ञानमा पर्ने गहिरो आघात र मानव स्मृतिको रहस्यमयी स्वभावलाई अत्यन्तै मिहीन ढंगले केलाएको छ ।

फिल्मको कथानक अमरावती नामक एक सुनसान पृष्ठभूमिमा बुनिएको छ । एउटा परिवार आफ्नो गर्मीको बिदा बिताउन त्यहाँ पुग्छ । बाहिरी रूपमा यो एउटा सामान्य पारिवारिक यात्रा जस्तो देखिन्छ । तर घरको चौघेराभित्र पस्नेबित्तिकै त्यहाँको माहोलमा व्याप्त तनाव महसुस हुन्छ । कथाको मूल संरचना एउटा वयस्क पुरुषको स्मृतिमार्फत अगाडि बढ्छ । वर्षौंपछि, ऊ आफ्नो बाल्यकालको त्यो विशेष गर्मी महिनालाई सम्झिरहेको छ ।

फिल्ममा मुख्य रूपमा चारवटा चरित्रहरू छन् जसमा ९-१० वर्षका संवेदनशील बालक बच्ची, आन्तरिक रूपमा अस्थिर उसकी आमा, अहमको प्रतिमूर्ति बनेका बुबा र परिवारको एक नजिकको साथी विरेन रहेका छन् ।

 

अमरावतीको त्यो पुरानो, ओसिलो र खासै उज्यालो नछिर्ने घर आफैंमा एउटा जीवित चरित्र जस्तो लाग्छ । विरेनको आगमनसँगै घरको समीकरण केही हल्लिन्छ । आमा र विरेनबीचको सामीप्यता र कुराकानीले बुबाको भित्री अहम् र शंकालाई उचालिदिन्छ । बुबाले आफ्नो असन्तुष्टि स्पष्ट शब्दमा व्यक्त गर्दैनन् । तर उनको दुर्बोध्य गाम्भीर्य र उनको उपस्थितिले रच्ने सन्नाटाले घरको वातावरणलाई झन्–झन् भारी बनाउँदै लैजान्छ ।

बालक बच्ची यी सबै जटिल वयस्क सम्बन्धहरू र तिनीहरूका निहितार्थहरू बुझ्न असमर्थ छ । तर ऊ आफ्नो आमाबुबाबीचको यो चिसोपनाबाट बिमुख रहन सक्दैन । ऊ रातिको समयमा बुबाको भारी पाइलाको आवाज सुन्छ, जसले उसलाई त्रसित बनाउँछ । त्यहाँ उसकी आमा र बुबाबीच कलह भइरहेको हुन्छ । ऊ केही थाहा नपाएको अभिनय गर्दै सुतिरहन्छ । त्यो रात र त्यो घटना बच्चीको बालमस्तिष्कमा एउटा स्थायी आघात बनेर रहन्छ ।

फिल्ममा संवादहरूको प्रयोग एकदमै सीमित भएकाले पात्रहरूको अभिनय शारीरिक हाउभाउ, आँखाको हेराइ र मौनताको अभिव्यक्तिमा निर्भर छ । सोधम घैसासले बच्चीको भूमिकामा एक अविश्वसनीय र परिपक्व अभिनय प्रदर्शन गरेका छन् । उनको चरित्र एउटा यस्तो बालकको हो जो आफ्नै घरमा असुरक्षित महसुस गरिरहेको छ । क्यामराले पटक-पटक उनको अनुहार र आँखाको क्लोज-अप लिन्छ । जहाँ डर, कौतुहलता र विवशता देखिन्छ । आफ्ना आमाबुबाको झगडाको कारण थाहा नपाए पनि त्यसको नकारात्मक ऊर्जालाई उसले जसरी ग्रहण गर्छ, त्यसले बालमनोविज्ञानको संवेदनशीलतालाई उजागर गर्छ ।

त्यस्तै मधुरानी प्रभुलकरले आमाको चरित्रलाई अत्यन्तै सूक्ष्मताका साथ निभाएकी छन् । उनको अभिनयमा एउटा मध्यमवर्गीय भारतीय महिलाको घरेलु बन्धन, मानसिक थकावट र स्वतन्त्रताको चाहना देखिन्छ । विरेनको उपस्थितिमा उनको अनुहारमा आउने क्षणिक न्यानोपन र बुबाको अगाडि देखिने उनको संकुचनले उनको आन्तरिक द्वन्द्वलाई स्पष्ट पार्छ ।

उनका उपस्थितिहरूमा एउटा गहिरो शून्यता अनुभूत हुन्छ । दानिश हुसेनले बुबाको भूमिकालाई एक भयानक र अकाट्य गम्भीरता प्रदान गरेका छन् । उनको अभिनयले चरित्रको अहम् र असुरक्षाको भावनालाई उत्कृष्ट ढंगले प्रस्तुत गर्छ । उनी परम्परागत खलनायक होइनन्, तर एउटा यस्तो पुरुष हुन् जो आफ्नो नियन्त्रण गुम्न लागेको डरले आफैंभित्र जलिरहेका छन् । उनको मौनता संवादभन्दा बढी आक्रामक लाग्छ । विरेनको भूमिकामा अस्मित पाठारेले कथामा आवश्यक पर्ने रहस्य र संयमलाई कायम राखेका छन्, जसले परिवारको भित्री फाटोलाई सतहमा ल्याउने उत्प्रेरकको काम गरेको छ ।

हिलाल सवादको छायांकनले फिल्ममा उज्यालो र अँध्यारोको कन्ट्रास्टको प्रयोग निकै प्रतीकात्मक रूपमा गरेका छन् । घरभित्रका दृश्यहरूमा प्राकृतिक प्रकाशको न्यून प्रयोग गरिएको छ, जसले पात्रहरूको जीवनमा छाएको वैचारिक र भावनात्मक अँध्यारोलाई संकेत गर्छ । फ्रेमहरूमा पात्रहरूलाई प्रायः ढोका, झ्याल वा भित्ताको ओझेलमा देखाइएको छ, जसले उनीहरूको स्वायत्तताको अभावलाई दृश्यमान बनाउँछ ।

शानेत सिजोको ध्वनि योजनले प्राकृतिक आवाजहरूलाई नै संगीतजस्तै प्रयोग गरिएको छ । अमरावतीको गर्मीमा लाग्ने चरा, किराहरू र हावाको गतिको निरन्तरको आवाजले पात्रहरूको भित्री छटपटीतिर संकेत गर्छ । फिल्ममा संवाद नभएका सटहरू छन्, जहाँ मौनता आफैँमा संवाद बन्न पुग्छ । वर्धन धैमोडकरको सम्पादनको गति निकै सन्तुलित र विचारणीय छ । स्मृतिको प्रवाह जस्तै फिल्मको गति पनि संयमित छ । प्रत्येक दृश्यले दर्शकलाई सोच्न र त्यो वातावरणमा डुब्न पर्याप्त समय दिन्छ ।

निर्मल वर्माको साहित्यमा स्मृति एउटा यस्तो ऐना हो, जसमा कतिपय आयामहरू सधैं धमिलो र अस्पष्ट रहन्छन् । तर त्यसले मानिसको पिछा भने छाड्दैन । बच्चीले भौतिक रूपमा ठूलो हिंसा नभोगे पनि, घरको विषाक्त वातावरणले उसको मनोविज्ञानमा एउटा छुट्टै स्थान बनाउछ ।

संक्षेपमा , फिल्म ‘अन्धेरे मे’ ले मानव सम्बन्धका ती पाटाहरूलाई संकेत गर्छ, जसको कुनै स्पष्ट उत्तर वा समाधान हुँदैन ।

लेखक
कञ्चन

कञ्चन अनलाइनखबरमा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?