News Summary
Generated by OK AI. Editorially reviewed.- सन्देश पौड्यालले रास्वपालाई पुराना दलका गल्ती नदोहोर्याउन, नेतृत्वलाई प्रश्नको घेराभन्दा माथि नराख्न र अन्धभक्ति त्याग्न आग्रह गरेका छन्।
- उनले गरिबी, बेरोजगारी, अशिक्षा, अन्याय, कुशासन र प्राकृतिक प्रकोपसँग जुध्न पार्टीभित्र एकता, सहकार्य र समन्वय आवश्यक भएको बताएका छन्।
- उनले अहिलेको सरकार असफल भए सबैले ठूलो मूल्य चुकाउनुपर्ने भन्दै फरक विचारलाई दबाउन नहुने र नयाँ राजनीतिक संस्कार बसाल्नुपर्ने उल्लेख गरेका छन्।
आदरणीय साथीहरू,
यथास्थितिको राजनीतिलाई परिवर्तन गर्न तपाईंहरूले देखाउनुभएको साहस र लिनुभएको नेतृत्वको म प्रशंसक हुँ र रहिरहनेछु। आवश्यक समयमा तपाईंहरूले ‘पुराना’ भन्ने हामीले सही ढङ्गको हस्तक्षेप गर्न नसकेकाले छोटो समयमै नेपाली राजनीतिको मूलधार तपाईंहरू नै बन्नुभएको छ। आशा छ, त्यसको जिम्मेवारीबोध र त्यससँगै आउने दायित्वको बोध तपाईंहरूले गर्नु नै भएको होला।
यो पत्र कसैलाई खुइल्याउन वा पाठ पढाउन लेखिएको होइन। यो त हिजो ‘पुराना’ पार्टीहरूलाई साँच्चै ‘पुरानो’ बनाउने जुन कुसंस्कार हाबी भएको थियो, त्यो रास्वपामा नदोहोरियोस् भन्ने उद्देश्यका साथ लेखिएको हो। आशा छ, त्यही ‘स्पिरिट’मा पढिदिनुहुनेछ।
यति भन्दै गर्दा ‘खुब तैँले चाहिँ गरेथिस् !’ भन्ने टिप्पणी आउने कुरा पनि मलाई थाहा नै छ। गालीगलौजका लागि पनि वातावरण बनाइसक्नुभएको छ। रास्वपालाई नै समर्थन गर्ने मेरी आमाचाहिँ त्यस्तो गाली सुन्न तयार हुनुहुन्न, तर म तयार नै छु।
विचारको विविधता र राजनीतिक आन्दोलनको पाठ
साथीहरू, मानिस भइसकेपछि आफ्नो भोगाइ, बुझाइ र परिवेशका आधारमा सबैको आफ्नै विचार हुन्छ; त्यही नै राजनीतिको आधारस्तम्भ हो। कुनै पनि विषयलाई हेर्ने दृष्टिकोण सबैको फरक हुन्छ। जहाँ विचार हुन्छ, त्यहाँ कुनै पनि विषय सधैँ निरपेक्ष हुँदैन। विचारको त्यही भिन्नता र भिन्नताका बीच गरिने सहकार्यले नै हामीलाई मानव बनाउने हो।
सैद्धान्तिक रूपमा हेर्दा- देशको शासकीय स्वरूप कस्तो हुनुपर्छ ? शक्तिको बाँडफाँड कसरी हुन्छ ? अधिकार प्रत्यायोजन कसरी हुन्छ ? सरकारले उद्योग चलाउन हुन्छ कि हुँदैन ? करको दर बढाउन हुन्छ कि हुँदैन ? कुनै वस्तुको आयात प्रतिबन्ध गर्नुपर्छ कि पर्दैन ? बजेट विनियोजन कसरी हुनुपर्छ ? यस्ता प्रश्नहरूमा सबैको समान धारणाको आशा गर्नु जायज हुँदैन।
नेपालमा धेरै राजनीतिक शक्तिहरूले विभिन्न आन्दोलनमार्फत ठूला राजनीतिक क्रान्ति गरेका छन्। प्रजातन्त्रका लागि नेपाली कांग्रेसले गरेको क्रान्तिदेखि गणतन्त्रका लागि तत्कालीन माओवादी र सात दलले गरेको आन्दोलनसम्म; सबै आन्दोलनले परिवर्तनलाई आत्मसात् गरेकै हुन्।
देश र जनताको स्थिति परिवर्तन गर्ने ध्येय राखेकै हुन्। तर, त्यति ठूला आन्दोलनपछि पनि हामी आजको स्थितिमा किन छौँ ? किन हामी एउटा राजनीतिक आन्दोलनपश्चात् फेरि अर्को राजनीतिक आन्दोलनको तयारीमा बस्नुपर्ने स्थिति आउँछ ?
नेतृत्वको एकै दिनमा क्षयीकरण हुँदैन; सामान्य गल्ती र घटनाहरूको जोड एकैपटक असफलताका रूपमा देखिने हो। दुःखद कुरा, त्यसको एक साक्षी म पनि हुँ। यी गम्भीर प्रश्नहरूको मिहीन उत्तर खोज्नु आजको आवश्यकता हो।
हिजोका सबै फटाहा, सबै असक्षम, सबै भ्रष्टाचारी, सबै देशविरोधी र सबै जनताविरोधी थिए भन्ने कोणबाट मात्र विश्लेषण गर्न थालियो भने सायद हामी सही उत्तरमा पुग्न सक्दैनौँ।
राजनीतिक आन्दोलनबाट उदाएका शक्तिहरू कसरी खिइन्छन् ? कसरी जनतासँग उनीहरूको दूरी बढ्दै जान्छ ? कसरी जनताका नाममा भएका आन्दोलनहरू तिनै जनतालाई अवमूल्यन गर्ने स्थितिमा पुग्छन् ? अंग्रेजीको एउटा भनाइको सार यहाँ उपयुक्त हुन्छ- ‘कसैले एकपटक भूल गर्न सक्छ, तर एकै किसिमको भूल धेरैपटक भयो भने समस्या आफैँमा खोज्नुपर्छ।’
अन्धभक्ति र देवत्वकरणको डर
पटक–पटक हामीले राजनीतिक आन्दोलनबाट उदाएका शक्तिहरूलाई अन्धविश्वास गरेका छौँ, तिनको नेतृत्वलाई लिएर अन्धभक्ति देखाएका छौँ। आन्दोलनको रापतापपछि नेतृत्वलाई प्रश्नको घेराभन्दा माथि राख्दाराख्दै कतिबेला उनीहरू स्वेच्छाचारी हुन्छन्, हामीले देखेकै छौँ।
हाम्रो ‘शङ्काको सुविधा’ (बेनिफिट अफ डाउट) ले कसरी उनीहरू जनताप्रति जवाफदेही र उत्तरदायी हुन छाडेका छन्, त्यो पनि हामीले भोगेका छौँ। यो त समयमै हिसाबकिताब नराख्दा कतिबेला व्यवसाय चौपट भयो भन्ने थाहा नपाएजस्तै हो।
अहिले म त्यही रापताप देखिरहेको छु। अहिले पनि नेतृत्वलाई बिनाप्रश्न अभेद्य कवचभित्र राखिरहेको देख्छु। प्रश्न गर्नेहरूलाई उल्याएको देख्छु, फरक विचार राख्नेहरूलाई गिज्याएको देख्छु।
प्रश्नभन्दा माथि राखेर नेतृत्वको देवत्वकरण गरिएको देख्छु। जुन प्रवृत्तिलाई फाल्न हाम्रा कैयौँ नौजवानको जीवन र सार्वजनिक सम्पत्तिको आहुति दिएका छौँ, त्यही प्रवृत्ति फेरि दोहोरिँदै गरेको देख्छु।
अनि डर लाग्छ। डर लाग्छ- कतै हामी फेरि पुरानो गल्ती अक्षरशः पालना गर्ने दलदलमा त फस्दै छैनौँ ? डर लाग्छ- कतै फेरि अर्को ‘बा’ वा ‘दाइ’ थापना गर्न तँछाडमछाड गर्दै त छैनौँ ? डर लाग्छ— कतै फेरि ‘अरिङ्गाल’ र ‘साइबर सेना’ बनाउँदै त छैनौँ ? अनि डर लाग्छ- नयाँपनको रोमाञ्चकतामा सिक्नुपर्ने पुराना पाठहरूलाई नेस्तनाबुद बनाइरहेका त छैनौँ ?
डर लाग्छ— कतै हरेक समस्याको ‘छुमन्तर’ समाधान खोज्न हामी अभ्यस्त भइसक्यौँ कि ! अनि डर लाग्छ— कतै सामाजिक सञ्जालमा नेतृत्वको कवच बन्दै गर्दा हामीले सरकार र जनताबीच ठूलै पर्खाल त खडा गरिरहेका छैनौँ ?
सामूहिक लडाइँ र अभिभावकीय भूमिका
साथीहरू, पार्टी, नेतृत्व र विचारमा हाम्रा आ–आफ्ना आन्तरिक लडाइँ त छँदै छन् र सदैव रहिरहने नै छन्। तर, हाम्रा यस्ता सामूहिक लडाइँहरू छन्, जुन आन्तरिक लडाइँभन्दा पेचिला र महत्त्वपूर्ण छन्। गरिबी, बेरोजगारी, अशिक्षा, अन्याय, अत्याचार र कुशासनसँगको आन्तरिक लडाइँ तथा जटिल भूराजनीतिसँगको बाह्य लडाइँ त छँदै थिए, अहिले प्राकृतिक प्रकोपसँगको हाम्रो लडाइँ पनि थप चुनौतीपूर्ण बनेको छ। यी यस्ता लडाइँ हुन्, जुन हामीबीचको एकता, सहकार्य र समन्वयबिना छिचोल्न सकिँदैन। आफैँसँग जुधिरहेको मानिस बाहिर अरूसँग त के जुध्न सक्ला र ?
देशको नेतृत्वमा हुनु भनेको देशको अभिभावक हुनु पनि हो। फरक विचार र फरक आशालाई समन्वय गर्दै अघि बढ्नु हो, सबैको कुरा सुन्नु हो अनि त्यसपछि आवश्यक निर्णय लिनु हो। यो सर्वमान्य प्रक्रिया हो। शासनको बागडोर सम्हालिरहेको नेतृत्वले कसैको पनि आवाज दबाउन मिल्दैन, कसैको आवाज सुन्दिनँ भन्न मिल्दैन अनि कसैलाई पनि अवमूल्यन गर्न मिल्दैन। नेतृत्वको सारथि भएका नाताले यो कुरा तपाईंहरूमा पनि लागू हुन्छ।
तर, अहिलेको स्थितिले मलाई चिन्तित बनाएको छ। आफू र आफ्नाबाहेक सबैलाई रिस, द्वेष र पूर्वाग्रहको कालो चस्मा लगाएर हेर्ने प्रवृत्ति हाबी भएको छ। गुण र दोषका आधारमा गरिनुपर्ने तीतामीठा टिप्पणी व्यक्तिको इतिहास र आवरण हेरेर गर्ने गरिएको छ। बेनामे जमात खडा गरेर फरक विचार राख्नेहरूलाई खुइल्याइदिने र ‘खुच्चिङ’ भन्ने प्रवृत्ति हाबी भएको छ।
यसले क्षणिक सन्तोष र जितको आभास त देला, कसैलाई केही आर्थिक–सामाजिक लाभ पनि देला; तर सोच्नुहोस् त, यस्ता साना घटनाले समाजलाई कति विभक्त बनाउँदै लैजान्छ ? सबैजना मिलेर जानुपर्ने अवस्थामा एकले अर्कालाई हेर्नै नसक्ने, कुरा सुन्नै नसक्ने र अस्तित्व नै स्वीकार गर्न नसक्ने स्थितिले हामीलाई कहाँ पुर्याउला ? फेरि सोच्नुहोस् त, यो सत्ता स्थायी त हुँदैन।
आज तपाईंले कसैमाथि प्रतिशोध साँध्नुभयो वा पूर्वाग्रह राख्नुभयो भने भोलि ऊ सत्तामा पुगेको बेला तपाईंलाई पनि त्यस्तै गर्यो भने के हुन्छ ? ‘आँखाको बदला आँखा मागियो भने संसार नै अन्धकार हुन्छ’ भन्ने भनाइ पक्कै सुन्नुभएकै होला।
जनताको अभूतपूर्व मत लिएर नेतृत्वमा पुग्नुभएका तपाईंहरूले त अभूतपूर्व सद्भाव राख्नुपर्ने होइन र ? फरक विचारलाई चौडा छाती बनाएर ‘इन्गेज’ गर्नुपर्ने होइन र ? सही कुरालाई समर्थन गर्न र गलतको विरोध गर्न निर्भीक हुनुपर्ने होइन र ?
नयाँ अध्यायको सुरुवात
साथीहरू, लोकतन्त्रमा दलहरू जति वैचारिक रूपमा स्पष्ट र साङ्गठनिक रूपमा लोकतान्त्रिक हुन्छन्, त्यसको फाइदा समग्र देशलाई हुन्छ। तपाईंहरू सुध्रिनु भनेको हामी बिग्रिनु होइन, न त हामी बिग्रिनु तपाईंहरू सुध्रिनु हो।
तपाईंहरूले नेपालको राजनीतिमा नयाँ अध्याय सुरु गर्ने अवसर पाउनुभएको छ। नयाँ अध्याय भनेको पुराना पात्रको ठाउँमा नयाँ पात्र राख्नु मात्र होइन, पुरानो राजनीतिक संस्कारलाई पनि बदल्नु हो।
आशा छ, तपाईंहरू त्यो संस्कार बदल्ने आँट गर्दै हुनुहुन्छ। आशा छ, नेतृत्वलाई प्रश्न गर्ने विषयलाई प्रतिष्ठा र पूर्वाग्रहमा लगेर टुङ्ग्याउनुहुनेछैन र सुरुवातबाटै सही प्रश्नलाई सही स्थान दिनुहुनेछ।
अहिलेको सरकार असफल भयो भने त्यसको मूल्य हामी सबैले निकै ठूलो चुकाउनुपर्नेछ। हामी पनि सुधारमा लाग्छौँ र प्रयत्न गर्दै छौँ; तपाईंहरू पनि गर्दै हुनुहुन्छ भन्ने आशासहित !
एक नागरिक
सन्देश पौड्याल
प्रतिक्रिया 4