+
+
Shares

२० दिनमा इतिहास: लुलाले कसरी बोल्सोनारोलाई हराए ?

अब यो चुनावी सङ्केतलाई उनले मूर्त र ठोस प्रस्तावमा परिणत गर्छन् या गर्दैनन् भन्ने हेर्न बाँकी नै छ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक ९ गते १३:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लुइज इनासियो लुला दा सिल्भाले ब्राजिलको राष्ट्रपति निर्वाचन जित्दै चौथो पटक राष्ट्रपति पद जित्ने पहिलो नेता बनेका छन्।
  • उनले दक्षिणपन्थी प्रतिद्वन्द्वी फ्लाभियो बोल्सोनारोलाई दोस्रो चरणमा पछि पार्दै पहिलो चरणको पराजय उल्टाएर जित हासिल गरेका छन्।
  • लुलासामु अब दक्षिणपन्थी बहुल संसद्, राज्य सरकारहरूको सहकार्य र आर्थिक तथा सुरक्षा चुनौतीहरू सामना गर्ने जिम्मेवारी छ।

लुइज इनासियो लुला दा सिल्भाले आइतबार ब्राजिल र समग्र ल्याटिन अमेरिकाकै लागि एउटा नयाँ कीर्तिमान कायम गर्दै चौथो पटक राष्ट्रपति पद जित्ने पहिलो नेता बनेका छन्। उनले आफ्नो ८१औँ जन्मजयन्ती मनाउन केही दिन मात्र बाँकी छँदा यो ऐतिहासिक सफलता हासिल गरेका हुन् । यो उमेरको यो यस्तो मोड हो जहाँ अधिकांश विश्व नेताहरू राजनीतिक जीवनबाट सन्न्यास लिने निर्णय गर्छन्।

आफ्ना दक्षिणपन्थी प्रतिद्वन्द्वी फ्लाभियो बोल्सोनारो विरुद्ध ब्राजिलियाली राष्ट्रपतिको यो अभूतपूर्व पुनरागमनले अर्को एउटा कीर्तिमान पनि बनाएको छ। सन् १९८५ मा ब्राजिलमा प्रजातन्त्रको पुनःबहाली भएयता, पहिलो चरणको पराजयलाई उल्टाएर कुनै पनि उम्मेदवारले राष्ट्रपतिको चुनाव जित्न सकेका थिएनन्। ‘वर्कर्स पार्टी’ का यी उम्मेदवारले दुई चरणका मतदानबीचको तीन हप्ताको छोटो अवधिमै १ करोडभन्दा बढी थप मत बटुले । जबकि उनका प्रतिद्वन्द्वीले केवल ३६ लाख मत मात्र थप्न सके।

यह मतान्तर लुलाका लागि सन् २०२२ को दाँजोमा अझ फराकिलो अग्रता सुरक्षित गर्न पर्याप्त थियो । त्यतिबेला उनले तत्कालीन बहालवाला राष्ट्रपति तथा फ्लाभियोका पिता जेयर बोल्सोनारोलाई पराजित गरेका थिए। यस पुनरागमनले ल्याटिन अमेरिकाका अन्य देशहरूमा दक्षिणपन्थी मत हाबी भइरहँदा र धेरैजसो सरकारहरू डोनाल्ड ट्रम्पको ह्वाइट हाउससँग नजिकिँदै गर्दा लुलालाई क्षेत्रीय वामपन्थी राजनीतिमा एक प्रमुख शीर्ष नेताका रूपमा स्थापित गरिरहन सहयोग पुर्‍याएको छ।

चार वर्षअघि उनका पिताले गरेझैँ, फ्लाभियो बोल्सोनारोले पनि चुनावी परिणामलाई स्वीकार गर्न अस्वीकार गरे र अदालतका माध्यमबाट निर्वाचन रद्द गराउन प्रयास गर्ने घोषणा गरे। सेनेटर बोल्सोनारोले सर्वोच्च सङ्घीय अदालतका न्यायाधीश क्रिस्टियानो जानिनले मतदानको समय दुई घण्टा थप्ने निर्णयलाई चुनौती दिँदै, सो मापदण्डको असमान प्रयोगले समान चुनावी परिस्थितिलाई कमजोर बनाएको तर्क गरे। “जुन परिस्थितिमा यी घटनाक्रमहरू विकसित भए, त्यसलाई ध्यानमा राख्दै चुनावी परिणामलाई मान्यता दिन असम्भव छ,” उनले भने।

बोल्सोनारोको भनाइले लुलाको ऐतिहासिक उपलब्धिपछिको उत्सव र उत्साहलाई भने कम गर्न सकेन । तथापि, दक्षिणपन्थी खेमाको राजनीतिक सामर्थ्यले उनको नयाँ प्रशासनको सहज सञ्चालनमा व्यवधान खडा गर्न सक्छ। यो विजयले लुलाको ‘स्टेइङ पावर’ लाई पुन: पुष्टि त गर्छ, तर बोल्सोनारोको पराजयले कंग्रेस (संसद) र राज्य सरकारहरूमाथि दक्षिणपन्थीहरूको पकडलाई भने अलिकति पनि कमजोर बनाउँदैन। लुलाको आगामी कार्यकालको विरोधाभास नै यही हो: एउटा ऐतिहासिक चुनावी विजय, तर शासन सञ्चालनका लागि भने अत्यन्तै सीमित ठाउँ ।

लुलाको अप्रत्याशित विजयलाई के कुराले स्पष्ट पार्छ?

लुलाको अप्रत्याशित विजयलाई बुझ्नका लागि पहिले ब्राजिलको भूगोल बुझ्न जरूरी छ । ब्राजिलको दोस्रो ठूलो मतदाता सङ्ख्या रहेको राज्य मिनास गेराइस मा उनी करिब ५ लाख ९० हजार मतले पछि परेको स्थिति पार गर्दै करिब ९९ हजार मतले विजयी बने । जसले दुई उम्मेदवारहरूबीचको मतान्तरमा लगभग ६ लाख ९० हजारको भोट स्विंग ल्याइदियो। सन् १९८९ यताका प्रत्येक प्रत्यक्ष राष्ट्रपतीय निर्वाचनका विजेतालाई साथ दिँदै आएको यस राज्यले पुनः एक पटक राष्ट्रिय परिणामकै अनुकूल मतदान गर्‍यो।

यद्यपि, फ्लाभियोले साओ पाउलो र रिओ दि जेनेरियो राज्यहरूमा आफ्नो अग्रता कायम राखे तापनि, लुलाले ती राज्यका राजधानीहरू ब्राजिलका दुई ठूला सहरहरूमा जित हासिल गरे र रिओ सहरमा पहिलो चरणको नतिजालाई उलटपुलट गरिदिए।

उम्मेदवारहरूका बीचमा भएका यी उपलब्धिहरूलाई उत्तर-पूर्वी क्षेत्रका सबै नौवटा राज्यहरूमा हासिल भएको विजय र उच्च मतदान प्रतिशत (भोटर टर्नआउट) ले अझ बढावा दिएका थिए। पहिलो चरणमा २१.०८ प्रतिशत रहेको गैमतदान नगर्ने दर दोस्रो चरणसम्म आइपुग्दा घटेर करिब १९.२ प्रतिशतमा सीमित भयो । जसले झन्डै ३० लाख थप ब्राजिलियालीहरूलाई मतदान केन्द्रसम्म ल्यायो।

त्यो अतिरिक्त सहभागिताको सम्पूर्ण श्रेय लुलालाई मात्र दिन त सकिँदैन । तर यसले पहिलो चरणमा मतदान नगरेका मानिसहरूलाई गोलबन्द (मोबिलाइज) गर्नुको महत्त्वलाई भने स्पष्ट रूपमा रेखांकित गर्दछ । पहिलो चरणमा दुई उम्मेदवारहरूबीचको अन्तर २२ लाख मतभन्दा केही बढी मात्र थियो।

यो चुनावी प्रतिस्पर्धा ब्राजिलियालीहरूका मोबाइल फोनका स्क्रिनहरूमा पनि उत्तिकै लडिएको थियो। पहिलो चरणमा दोस्रो स्थानमा सीमित भएपछि, लुलाले आफ्नो पहुँच विस्तार गर्न र समर्थकहरूलाई मतमा बदल्न डिजिटल मोबिलाइजेसनका प्रयासहरूलाई अझ तीव्र बनाए। उनको चुनौती अन्योलमा रहेका मतदाताहरूलाई मनाउनु मात्र थिएन, बल्कि पहिले नै आफूलाई रोजिसकेका मतदाताहरूलाई मतदान केन्द्रसम्म ल्याउनु पनि थियो।

यस अभियानका साथै मतदाताहरूका व्यावहारिक र ठोस चिन्ताहरूलाई सम्बोधन गर्ने उद्देश्यले अन्तिम समयका कतिपय उपाय र प्रस्तावहरू पनि अघि सारिएका थिए। लुलाले व्यक्तिगत साना उद्यमीहरू (माइक्रोएन्टरप्राइजर्स) का लागि करयोग्य आयको सीमा बढाउने विधेयकलाई प्रमाणीकरण गरे, उपभोक्ताहरूको ऋण पुनर्संरचनाका लागि नयाँ योजनाहरूको प्रस्ताव गरे र अनलाइन बेटिङलाई अन्त्य गर्ने वकालत गरे । जसको तीव्र विस्तारले परिवारहरूलाई ऋणको भारमा पार्न ठूलो भूमिका खेलेको थियो।

सुरक्षाका मुद्दामा त उनले परम्परागत रूपमा दक्षिणपन्थीहरूले लिँदै आएको अडानलाई समेत अपनाए । उनले विशेष रूपमा गम्भीर र जघन्य अपराधहरूका लागि आपराधिक दायित्वको उमेर हद (उमेर सीमा) घटाउने नीतिको समर्थन गरे। यो कदम निर्वाचनको अर्को प्रमुख मुद्दाको रूपमा रहेको अपराधविरुद्ध अझ कडा दृष्टिकोण अपनाउनुपर्छ भन्ने जनताको मागलाई सम्बोधन गर्ने उद्देश्यले चालिएको थियो।

यस विजयले लुलालाई सत्तामा निरन्तर टिकिरहन त मद्दत पुर्‍याएको छ । तर यसले उनलाई जित हासिल गर्नका लागि जनतासामु जगाएका उच्च आकाङ्क्षाहरू र अपेक्षाहरू पूरा गर्नुपर्ने दायित्व पनि सुम्पिएको छ।

अगाडि एउटा मात्र होइन, अनेकौँ चुनौतीहरू

आफ्नो विजयको उत्सव मनाइसकेपछि लुलाको पहिलो चुनौती व्यवस्थापकीय (संसदीय) हुनेछ। तल्लो सदनका ५१३ सिटमध्ये ३०३ सिटमा दक्षिणपन्थी दलहरूको वर्चस्व रहनेछ, जबकि वामपन्थीहरूसँग १२४ र केन्द्रमार्गीहरूसँग ८६ सिट मात्र छन्।

माथिल्लो सदनमा पनि दक्षिणपन्थीहरूले झन्डै दुई-तिहाइ सिटमा नियन्त्रण कायम गर्नेछन्। यसको अर्थ ती सबै सांसदहरू स्वतः विरोधी नै भइहाल्छन् भन्ने त होइन, तर लुलाले आफ्ना प्रस्तावहरू अगाडि बढाउन र आफ्ना सरकारी प्राथमिकताहरूको रक्षा गर्न आफ्नै परम्परागत आधारभन्दा बाहिर गएर गठबन्धनहरू निर्माण गर्नुपर्ने हुन्छ।

राज्य सरकारहरूको राजनीतिक नक्साले पनि रूढिवादी खेमाले कायम राखेको बलियो पकडलाई स्पष्ट पार्छ। दुवै चरणको निर्वाचन परिणाम हेर्दा बोल्सोनारोको ‘लिबरल पार्टी’ (PL) ले पाँचवटा गभर्नर (राज्य प्रमुख) पद जितेको छ भने ‘रिपब्लिकन्स’ र ‘प्रोग्रेसिभ पार्टी’ (PP) ले चार-चार वटामा जित हासिल गरेका छन्।

अर्कातिर, लुलाको ‘वर्कर्स पार्टी’ (PT) ले चारवटा राज्यमा मात्र विजय पाएको छ। विभिन्न राजनीतिक गठबन्धनहरूलाई समेट्ने ‘सोसल डेमोक्रेटिक पार्टी’ (PSD) ले अन्य पाँच राज्यहरूमा जित हासिल गर्‍यो। यी गभर्नरहरूसँगको वार्ता र समझदारी लुलाका लागि अर्को ठूलो चुनौती हुनेछ, किनभने आफ्ना नीतिहरू कार्यान्वयन गर्न उनलाई राज्य स्तरको सहकार्य अनिवार्य हुनेछ।

“एक पटक चुनाव जितिसकेपछि हाम्रा कुनै विरोधी रहँदैनन्। मैले २१ करोड ५० लाख जनताका लागि शासन गर्नुछ,” लुलाले आफ्नो विजय भाषणमा भने। उनले अझ बढी रूढिवादी बनेको संसद्‌सँग वार्ता र सहकार्य गर्ने चुनौतीपूर्ण परिस्थितिलाई सम्बोधन गर्दै भने: “मैले कंग्रेस चुनेको होइन, जनताले चुनेका हुन्। र त्यही कंग्रेस हो जसको साथमा रहेर मैले मतदान गर्नेछु, काम गर्नेछु र परिणाम निकालेर देखाउनेछु।”

सबैभन्दा तत्कालीन चुनौती भनेको आर्थिक उपलब्धिहरूलाई यस्तो राहतमा परिणत गर्नु हो जुन ब्राजिलियालीहरूले आफ्नो दैनिक जीवनमा महसुस गर्न सकून्। अर्थतन्त्रप्रतिको जनधारणा नै चुनावी अभियानका क्रममा लुलाको जनसमर्थन घट्नुको मुख्य कारण बनेको थियो। मुद्रास्फीति (इन्फ्लेसन) मा कमी आउँदैमा वस्तु तथा सेवाका मूल्यहरू पुरानै स्तरमा फर्किंदैनन्, र रोजगारीमा भएको सुधारले पनि परिवारहरूको ऋण र घरायसी खर्चको भारलाई पूर्ण रूपमा सम्बोधन गर्न सक्दैन। तसर्थ, जीवनयापनको लागतप्रतिको यो असन्तोष निर्वाचनपछि पनि कायमै रहनेछ।

वित्तीय सीमा र बाधा (फिस्कल कन्स्ट्रन्ट्स) का कारण त्यो असन्तोषलाई सम्बोधन गर्न अझ कठिन हुनेछ। बढेको सार्वजनिक ऋण, बजेट घाटा र उच्च ब्याजदरले सरकारी खर्च बढाउने क्षमतालाई सीमित गरिदिन्छन्, जसले सामाजिक सहायता कार्यक्रमहरूलाई जोखिममा नपारी चुनावी प्रतिबद्धताहरू पूरा गर्न कसरी बजेट जुटाउने भन्ने विषयमा उत्पन्न हुने टकरावको सङ्केत गर्दछ। प्रतिकूल (विपक्षी) कंग्रेसको उपस्थितिमा, करको भार कसले व्यहोर्ने र कहाँ बजेट कटौती गर्ने भन्ने निर्णयहरूले पनि लुलाको वार्ता र सम्झौता गर्ने क्षमताको कडा परीक्षा लिनेछन्।

सुरक्षा अर्को चुनौती बन्नेछ। लुलाले अपराधविरुद्ध अझ कडा कदम चाल्नुपर्ने जनदबाबको सामना गर्नुपर्नेछ । किनभने दक्षिणपन्थी खेमाले कडा सुरक्षा नीतिको वकालतलाई आफ्नो मुख्य राजनीतिक एजेन्डा बनाएको छ। चुनावी अभियानको अन्तिम चरणमा, उनले जघन्य अपराधहरूका लागि आपराधिक दाय दायित्वको उमेर हद घटाएर १६ वर्षमा झार्न आफू तयार रहेको सङ्केत दिएका थिए। अब यो चुनावी सङ्केतलाई उनले मूर्त र ठोस प्रस्तावमा परिणत गर्छन् या गर्दैनन् भन्ने हेर्न बाँकी नै छ। यसका साथै, राष्ट्रपति निर्वाचन जित्ने क्षमता अझै पनि लुलाकै राजनीतिक कद र व्यक्तित्वमाथि निर्भर रहेको वामपन्थी खेमाका लागि आफ्नो योग्य उत्तराधिकारी तयार पार्ने चुनौती पनि उनीसामु छ। सीएनएनबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?