News Summary
Generated by OK AI. Editorially reviewed.- दीपकराज गिरीले केही वर्षअघिसम्म ‘महानायक’ शब्द सुन्दा प्यानिक अट्याक जस्तो हुने र नराम्ररी तर्सिने गरेको पोडकास्टमा बताएका छन्।
- दीपाश्री निरौलाको अन्तर्वार्तापछि मानिसहरूले आफूलाई ‘ओ महानायक’ भनेर जिस्क्याउँदा यो शब्दले आफूलाई लखेटेको गिरीले सुनाएका छन्।
- अहिले दीपकराज गिरीको फिल्म ‘छ माया छपक्कै–२’ दोस्रो सातामा प्रदर्शनरत छ।
के तपाईंलाई कुनै शब्दले तर्साएको अनुभव छ ? सम्भवतः यो दुर्लभ प्रश्न हो । किनभने मान्छेहरू शब्दसँग खासै आत्तिने वा डराउने गर्दैनन् । तर, अभिनेता दीपकराज गिरीको हकमा भने कुरा फरक छ ।
उनलाई एकदमै अत्याउने एउटा शब्द छ, ‘महानायक’ । अहिले त होइन, तर केही वर्षअघिसम्म जब कसैले ‘महानायक’ भनी सम्बोधन गर्थे, तब दीपकराज गिरीको दिमाग नै हल्लिन्थ्यो । मनमा भूकम्प आउँथ्यो । उनलाई त ज्वरो नै आउला जस्तो हुन्थ्यो ।
उनलाई किन त्यस्तो हुन्थ्यो ? त्यो महाभारततिर नजाऔँ । तर, केही समयअघि उनले एक पोडकास्टमा यसै सन्दर्भका कुरा गरेका छन् । महानायक शब्दले आफूलाई कसरी लखेट्यो भन्ने किस्सा सुनाएका छन् ।
खासमा दीपकराज गिरीले आफूलाई महानायक घोषणा गरेका थिएनन् । उनले त्यसको दाबी पनि गरेका थिएनन् । न कुनै अन्तर्वार्तामा यो शब्द चुहाएका थिए । दीपाश्री निरौलाले दिएको एक अन्तर्वार्तालाई लिएर जब आलोचनाको ज्वारभाटा उठ्यो, त्यसले स्वयं दीपाश्रीलाई त भावनात्मक रूपमा घाइते बनायो नै । चार हात पर बसेका दीपकराज गिरीलाई पनि त्यसको रापले नराम्ररी पोल्यो ।
सो अन्तर्वार्तापछि दीपकराजलाई मान्छेहरूले ‘ओ महानायक’ भनी सम्बोधन गर्न थाले । यो श्रद्धाको शब्द थिएन, दिल्लगीको थियो । दिल्लगी पनि कतिसम्म भयो भने यो शब्द सुन्नासाथ दीपकराज गिरीलाई प्यानिक अट्याक नै आउला जस्तो हुन्थ्यो ।
कसैले अरू नै सन्दर्भमा महानायक भनिदिँदा पनि उनी झसङ्ग हुन्थे । उनलाई यो शब्द हरर फिल्मको ‘डायलग जस्तो लाग्ने’ बताएका छन् ।
एकपटक उनी कतै यात्रामा रहेछन् । खाना वा नास्ता खान बीच बाटोमा रोकिएछन् । त्यहाँ होटलका म्यानेजरले उनलाई देखेपछि उमङ्गित भावमा भने, ‘ए भाइ, यहाँ आइज, आइज । यहाँ महानायक आउनुभएछ ।’
सुनेर दीपकराज गिरी नराम्ररी तर्सिएछन् ।
भनिहालौँ, यतिबेला दीपकराज गिरीको फिल्म ‘छ माया छपक्कै–२’ प्रदर्शनरत छ । दोस्रो सातामा चलिरहेको यो फिल्मले सामाजिक विषयवस्तुमा चोटिलो र रसिलो कथा बुनेको छ ।
अर्को कुरा थपिहालौँ, दीपकराज गिरी यस्ता पात्र हुन्, जसले सर्वाधिक गाली खान्छन् । तर, जसले गाली खान्छन्, उसैको फिल्म फेरि ब्लकबस्टर हुन्छ । दर्शकहरूले कतै ‘म्याच फिक्सिङ’ त गरेका होइनन् ?
प्रतिक्रिया 4