+
+
Shares

आनीको नियुक्ति बदरको माग गर्ने लुम्बिनी बचाउ महाअभियानका संयोजकसहित दुई जना पक्राउ

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले दुवैजना पक्राउको पुष्टि गर्दै सार्वजनिक स्थानमा ‘उच्छृंखल गतिविधि’ गरेको आरोपमा अनुसन्धानका लागि पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय भैरहवामा राखिएको जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १० गते ९:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरम खान र वाविउद्दिन मुसलमानलाई प्रहरीले गएराति बुटवलको लुम्बिनी पर्साचोकबाट पक्राउ गरेको छ।
  • शान्तिपूर्ण आन्दोलनमाथि मध्यरातमा धरपकड भएको भन्दै महाअभियानले दुबै जनाको नि:शर्त रिहाइको माग गरेको छ।
  • जिल्ला प्रहरी कार्यालय रुपन्देहीले सार्वजनिक स्थानमा ‘उच्छृंखल गतिविधि’ गरेको आरोपमा पक्राउ गरिएको र अनुसन्धानका लागि भैरहवामा राखिएको जनाएको छ।

१० कात्तिक, बुटवल । लुम्बिनी विकास कोषको नवनियुक्त उपाध्यक्ष आनी छोइङ डोल्माको नियुक्ति बदरको माग गर्दै आन्दोलन गरिरहेको लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरम खान सहित दुईजना पक्राउ परेका छन् ।

प्रहरीले मध्यराति लुम्बिनी पर्साचोकस्थित घरमा सुतिरहेको अवस्थामा ६१ वर्षीय संयोजक खान र लुम्बिनी सांस्कृतिक नगरपालिका ९ का ३३ वर्षीय वाविउद्दिन मुसलमानलाई पक्राउ गरेर लगेको अभियानका सहसंयोजक रामविकास चौधरीले जानकारी दिए ।

शान्तिपूर्णरुपमा आफ्ना माग राखेर आन्दोलन गरेको आधारमा प्रहरीले मध्यरातमा धरपकड गरेको भन्दै महाअभियानले दुबै जनालाई नि:शर्त रिहाइको माग गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले दुबैजनाको पक्राउको पुष्टी गर्दै सार्वजनिक स्थानमा ‘उच्छृंखल गतिविधि’ गरेको आरोपमा अनुसन्धानका लागि पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय भैरहवामा राखिएको जनाएको छ ।

महाअभियानले आनीको नियुक्ति बदर गरी स्थानीय योग्य व्यक्तिलाई कोषमा नियुक्ति गर्न माग गर्दै चरणबद्ध आन्दोलन गरिरहेको छ । आन्दोलन अन्तर्गत महाअभियानले सोमबार दिउँसो पर्साचोकमा संस्कृति तथा  पर्यटन मन्त्री गनेश पौडेलको पुत्ला दहनसमेत गरेको थियो ।

कोषको उपाध्यक्षमा आवेदन नै नदिएकी आनी छोइङलाई नियुक्ति दिइएको भन्दै लुम्बिनी बचाउ महाअभियानसँगै कपिलवस्तु तिलौराकोट संघर्ष समिति, लुम्बिनीवासी प्रदेश सांसद र पूर्व मन्त्री चन्द्रकेश गुप्ता, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, राष्ट्रिय जेनजी नागरिक अभियान लगायतले विरोध गर्दै आएका छन् ।

उनीहरुले आनीमाथि वंशजको नागरिकता प्राप्ति र उनले हङकङबाट प्राप्त गरेको भनिएको करोडौं रकमको वैधता र पारदर्शितामाथि पनि प्रश्न उठाएका छन् । आनीमाथि उठेका विषयमा निष्पक्ष छानबिन गरेर निर्दोष सावित भए मात्र नियुक्ति स्वीकार्य हुने उनीहरुको माग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?