News Summary
Generated by OK AI. Editorially reviewed.- तिलोत्तमा-६ कुञ्जलापुरस्थित कुञ्जपार्कमा १ करोड २६ लाख रुपैयाँमा म्युजिकल वाटर फाउन्टेन निर्माण भई सोमबार उद्घाटन गरिएको छ।
- नगरपालिकाले कुञ्जपार्कलाई रात्रिकालीन पर्यटनको केन्द्र बनाउँदै अन्य पार्क समेटेर एकीकृत पर्यटन टुर प्याकेज तयार गर्ने योजना अघि बढाएको छ।
- पार्कमा दैनिक तीन सयभन्दा बढी पर्यटक पुग्ने र वार्षिक ५० लाख रुपैयाँभन्दा बढी आम्दानी हुने गरेको छ।
१० कात्तिक, बुटवल । रूपन्देहीको तिलोत्तमाको पर्यटनमा नयाँ आकर्षण थपिएको छ । तिलोत्तमा–६, कुञ्जलापुरस्थित कुञ्जपार्कमा एक करोड २६ लाख रुपैयाँ लगानीमा निर्मित म्युजिकल वाटर फाउन्टेनले नगरको पर्यटन विकासमा नयाँ आकर्षण र आयाम थपेको हो ।
कुञ्जपार्क र फाउन्टेन निर्माणको परिकल्पनाकार स्थानीय लोक पुनको दाबी अनुसार यो रात्रिकालीन म्युजिकल वाटर फाउन्टेन नेपालकै पहिलो हो ।
तिलोत्तमा नगरपालिकाको गौरवको आयोजनाका रूपमा कुञ्जपार्क भित्र निर्माण गरिएको फाउन्टेनको सोमबार साँझ नगरप्रमुख रामकृष्ण खाँण र उपप्रमुख जागेश्वरीदेवी चौधरीले उद्घाटन गरेका छन् । सात बिघा क्षेत्रफलमा फैलिएको कुञ्जपार्कको मुख्य आकर्षण बनेको एक बिघाको पोखरीको पश्चिमतर्फ म्युजिकल वाटर फाउन्टेन निर्माण गरिएको हो ।
संगीतको तालअनुसार पानीका फोहरा सञ्चालन हुने र रंगीन बत्तीको संयोजनले तालको दृश्यलाई आकर्षक बनाउने प्रविधिसहित फाउन्टेन निर्माण गरिएको छ । यसले कुञ्जपार्कको आकर्षणमा नयाँ आयाम थपेको छ ।
तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेलका अनुसार म्युजिकल वाटर फाउन्टेन निर्माणमा १ करोड २६ लाख रुपैयाँ खर्च भएको छ । फाउन्टेनको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार लागत करिब १ करोड ५० लाख रुपैयाँ अनुमान गरिएको थियो । तर, निर्माण व्यवसायीले १ करोड २६ लाख रुपैयाँमा निर्माण सम्पन्न गरेको उनले जानकारी दिए ।
विगतमा गौचरन र काँडे झाडी रहेको स्थानलाई स्थानीय झरना स्पोर्टस् क्लब र त्यसका नेतृत्वकर्ता लोक पुन, धनन्जय पौडेल लगायतको समूहले २०६६ सालदेखि झाडी सफा गर्दै पार्कको रूपमा अघि बढाएका हुन् ।
नगरपालिकाले कुञ्जपार्कलाई रात्रिकालीन पर्यटनको केन्द्रका रूपमा विकास गर्ने योजना अघि बढाएको र नगरभित्रका अन्य पार्कहरू वनवाटिका, बाउन्नकोटी, तिलोत्तमा पार्क, सिद्धार्थ पिस पार्क, जमुहानी पार्क सबैलाई समेटेर एकीकृत पार्क पर्यटन टुर प्याकेज तयार गरिने नगरप्रमुख खाँणले बताए ।
‘कुञ्जपार्कसँगै तिलोत्तमाका अन्य पर्यटकीय स्थललाई जोडेर पर्यटन प्रवर्द्धन गर्ने योजना छ,’ खाँणले भने, ‘सबै पार्कलाई समेटेर पर्यटकलाई अवलोकन गर्न प्रोत्साहित गरिनेछ,यसले पर्यटकको बसाइ लम्बिने र स्थानीय व्यवसायले समेत लाभ लिन सक्ने अपेक्षा गरिएको छ ।’

नगर उपप्रमुख जगेश्वरदेवी चौधरीले नगरपालिकाले पर्यटन पूर्वाधारमा लगानी बढाएर पर्यटकको आगमन वृद्धि गर्ने र त्यसबाट स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने लक्ष्य लिएको बताइन् ।
ऐतिहासिक, धार्मिक र पर्यटकीय विशेषता बोकेको कुञ्जपार्कलाई थप व्यवस्थित र आकर्षक बनाउन नगरपालिकाले आवश्यक पहल गर्ने उनले प्रतिबद्धता व्यक्त गरिन् ।
कुञ्जपार्कमा पर्यटकको आकर्षण बढ्दै गएकाले नगरपालिकाले प्राथमिकताका आधारमा बजेट विनियोजन गर्दै पूर्वाधार विकासलाई निरन्तरता दिएको वडा नं ६ का वडाध्यक्ष गणेश पाठकले बताए । पर्यटन क्षेत्रमा गरिएको लगानीले समृद्ध तिलोत्तमा निर्माणमा योगदान पुर्याउने विश्वास उनले व्यक्त गरे ।
कुञ्जपार्कमा पोखरीमा डुंगा सयर, पिकनिक सेड, बगैँचा, बाल उद्यान, क्याफे र हरियालीसहितका संरचना छन् । पार्क परिसरमा पुरानो सोमई माई मन्दिर तथा अन्य धार्मिक र प्राकृतिक सम्पदासमेत रहेका छन् । यिनै विशेषताले पार्कलाई घुमफिर, मनोरञ्जन र धार्मिक आस्थाको संगमका रूपमा विकास गर्न सहयोग पुर्याएका छन् ।
पार्कको संरक्षण र व्यवस्थापनमा स्थानीय समुदाय तथा झरना स्पोर्टस् क्लबले भूमिका खेल्दै आएका छन् । स्थानीय स्तरमा खेलकुदको विकाससँगै रमणीय र पर्यटकीय स्थल निर्माण गर्ने उद्देश्यले पार्कको विकासमा पहल गरिएको लोक पुनले बताए ।
पार्कमा दैनिक तीन सयभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन् । पार्कबाट वार्षिक ५० लाख रुपैयाँभन्दा बढी आम्दानी हुने गरेको छ । पार्कसँगै जोडिएको उमा आधारभूत विद्यालयको चार बिघा जग्गा ३० वर्षका लागि भाडामा लिएर पैदलमार्ग, हरियाली र मनोरञ्जनका लागि आवश्यक संरचना निर्माण गरिएको छ ।
प्रतिक्रिया 4