+
+
Shares

गोलबजारका पूर्वमेयरसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

पशु, बाख्रा र गुद्री हाटबजारको ठेक्कामा अनियमितता गरेको आरोप

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १० गते १४:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
  • ठेक्कासम्बन्धी विवाद मिलाउने क्रममा रकम दिएर हिनामिना, सम्झौताबिना अग्रिम राजस्व असुल र बाँकी राजस्व रकम हिनामिना गरेको आरोप उनीहरूमाथि छ ।
  • आयोगले पूर्वमेयर तेली, उपमेयर रेशमकुमारी थापा र तत्कालीन प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसीविरुद्ध जनही १ करोड ६० लाख ४६ हजार ३४४ रुपैयाँ १० पैसा बिगो कायम गरेको छ ।

१० कात्तिक, सिरहा । सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख (पूर्वमेयर) देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमेयर तेली, उपमेयर रेशमकुमारी थापा, प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसी, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामनारायण महतो, राजस्व शाखा प्रमुख दिनेश कुमार सहनी र ठेकेदार वीरेन्द्र कुमार यादव लगायतविरुद्ध मुद्दा दायर गरेको हो ।

ठेक्कासम्बन्धी विवाद मिलाउने क्रममा व्यक्तिलाई रकम दिई हिनामिना गरेको, सम्झौता नगरी अग्रिम राजस्व असुल गरेको तथा बाँकी राजस्व रकम हिनामिना गरेको लगायतका आरोप उनीहरुमाथि छ ।

आयोगका अनुसार आर्थिक वर्ष २०७७/७८ मा वडा नम्बर ६ र ७ मा पशु हाटबजार, बाख्रा हाटबजार तथा गुद्री हाटबजार सञ्चालनबापत राजस्व संकलन गर्ने प्रयोजनका लागि ठेकेदार वीरेन्द्र कुमार यादवलाई अमानतमा जिम्मेवारी दिइएको थियो । तर, नगर कार्यपालिकाको निर्णय र प्रचलित कानुनी व्यवस्थाविपरीत राजस्वमा छुट दिइएको तथा राजस्व संकलनमा अनियमितता भएको आयोगको ठहर छ ।

नगर कार्यपालिकाको निर्णयअनुसार नगरसभाबाट मात्र दिन मिल्ने कर छुटको अधिकार प्रयोग गरी ७३ लाख ३४ हजार ९१३ रुपैयाँ राजस्व छुट दिने निर्णय गरिएको आयोगले जनाएको छ । त्यस्तै, अमानतमा संकलन गर्नुपर्ने राजस्व रकम ठेकेदारलाई दिइएको र त्यसबाट सरकारी रकम हिनामिना भएको आरोपपत्रमा उल्लेख छ ।

आयोगका अनुसार, ठेकेदार यादवबाट असुल गर्नुपर्ने रकमसमेत असुल नगरी सरकारी सम्पत्तिमा हानि–नोक्सानी पुर्‍याइएको छ ।

आयोगले तत्कालीन नगरप्रमुख देवनाथ साह तेली, उपप्रमुख रेशमकुमारी थापा र तत्कालीन प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसीविरुद्ध जनही १ करोड ६० लाख ४६ हजार ३४४ रुपैयाँ १० पैसा बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार सजायको मागदाबी गरेको छ ।

त्यस्तै, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत रामनारायण महतो र राजस्व शाखा प्रमुख दिनेश कुमार सहनीविरुद्ध जनही १ करोड ३३ लाख ११ हजार ४३१ रुपैयाँ १० पैसा बिगो कायम गरिएको छ ।

ठेकेदार वीरेन्द्र कुमार यादवविरुद्ध पनि १ करोड ६० लाख ४६ हजार ३४४ रुपैयाँ १० पैसा बिगो कायम गरी भ्रष्टाचारबाट प्राप्त लाभ तथा गैरकानुनी कार्यमा संलग्नताको आरोपमा सजायको मागदाबी गरिएको आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?