+
+
Shares
विचार :

सम्झने मेसिन होइनन् विद्यार्थी, प्रश्नशील बन्न सिकाउँ

उदार कला शिक्षा कुनै देश, काल, विचारधारा र अर्थतन्त्रमा आधारित प्रणालीको पक्षपोषक होइन; यो मानवीयता र लोकतन्त्र फुल्ने प्रक्रियाको सार्वभौमिक सर्त हो ।

बालचन्द्र लुइटेल/पुरुषोत्तम घिमिरे बालचन्द्र लुइटेल/पुरुषोत्तम घिमिरे
२०८३ कात्तिक १२ गते १०:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लेखकद्वयले नेपालको उच्च शिक्षाले ज्ञान भर्ने भाँडो होइन, प्रश्न गर्ने र ज्ञान निर्माण गर्ने ज्वाला तयार गर्नुपर्ने बताएका छन्।
  • उनीहरूले उदार कला शिक्षा प्रथम सिद्धान्तमा आधारित, आलोचनात्मक र सिर्जनशील सिकाइ प्रणाली भएको भन्दै विश्वविद्यालयमा लागू गर्नुपर्ने औँल्याएका छन्।
  • लेखले सङ्कीर्ण उपयोगितावाद, बैङ्किङ शिक्षा र स्थानीय ज्ञानबाट विच्छेद भएको शिक्षाविरुद्ध सिप र विवेकको सन्तुलन आवश्यक रहेको जोड दिएको छ।

समुन्नत नेपालको सपना साकार पार्न नेपालको उच्च शिक्षाले कस्तो जनशक्ति तयार गर्नुपर्ला ? के नेपालमा उच्च शिक्षा हासिल गरेका जनशक्ति आशा गरेअनुसार नै आफ्नो परिवार, समुदाय, समाज र राष्ट्रप्रति निष्ठावान् भई ज्ञाननिर्माणका लागि जिज्ञासु र सर्जक बनिरहेका छन् ? के शिक्षित भनिएको जनशक्ति ज्ञानका सूचना थुपार्ने ‘भाँडो’ बन्दै छन् कि विचार प्रज्वलित गर्ने ‘ज्वाला’ बनिरहेका छन् ?

यी प्रश्नहरू हामीले कुनै किताबी ज्ञानको सीमाभित्र रहेर मात्र उठाएका होइनौँ; हामीले आफ्नै सिकाइयात्रामा भोगेका यथार्थबाट प्राप्त सिकाइका आधारमा उठाएका हौँ । नेपालको विश्वविद्यालयीय शिक्षाको अभ्यासमा हामीले ज्ञानलाई ‘स्वीकार गर्ने सूचना, तर्क र प्रमाण’ का रूपमा मात्र देख्यौँ र तथ्यतथ्याङ्कका भण्डारलाई पहिलो प्राथमिकता दिएको पायौँ; प्रश्न सोध्ने, शङ्का व्यक्त गर्ने र वैकल्पिक सम्भावना कल्पना गर्ने अवसरको उपयोग गरी ज्ञान नै सिर्जना गर्ने सर्जकको तयारी गरेको पाएनौँ ।

त्यही अनुभवले हामीलाई शिक्षाको गहिरो अध्ययनतर्फ डोर्‍यायो र हामीले बुझ्यौँ : शिक्षा केवल ‘ज्ञान हस्तान्तरण’ को प्रक्रिया होइन; यो मानवीय मुक्ति, विषयवस्तुको गहिरोपना, विवेक र सामाजिक न्यायको परियोजना हो । यो बुझाइ हाम्रो सिकाइसँगै विकसित वैकल्पिक शैक्षिक दृष्टिकोणको जग बन्यो । यस लेखमा त्यही दृष्टिकोण तथा त्यसको आधारलाई व्यक्त गरेका छौँ ।

आज हामीले नेपालको उच्च शिक्षाको सान्दर्भिकताका बारेमा उठेको मूल प्रश्नका बारेमा चिन्तन गर्न जरुरी छ: हाम्रा विश्वविद्यालयहरूले आलोचनात्मक र सिर्जनशील चिन्तक उत्पादन गर्ने हो भने कुन सिकाइ प्रणाली अँगाल्नुपर्छ ? हाम्रो उत्तर छ : उदार कला शिक्षा (लिबरल आर्ट्स एजुकेशन) बाट गरिने सिकाइ प्रणाली । तर हामी यसलाई केवल विषयहरूको समूहका रूपमा सीमित गर्न वा बुझ्न बुझाउन सक्दैनौँ ।

धेरै शिक्षाविद्‌हरूले उदार कला शिक्षालाई इतिहास, दर्शन, साहित्य, समाजशास्त्र र राजनीतिशास्त्र जस्ता विषयहरूको सूचीका रूपमा बुझ्ने बुझाउने गरेको पाइन्छ । हाम्रो दृष्टिमा यो अपूर्ण तथा सीमित बुझाइ हो । उदार कला शिक्षा विविध विषयहरूको सूची होइन, शिक्षाको मूल दर्शन र विधि हो । उदार कलामा आधारित शैक्षिक प्रणाली प्रथम सिद्धान्तमा आधारित सिकाइ (फस्ट प्रिन्सिपल पेडागोजी) पनि हो ।

अर्थात् यो विद्यार्थीलाई तयार पारिएको संरचित उत्तर दिने होइन; बरु मूल प्रश्न, मूल मूल्य तथा मान्यता र ज्ञानको जगबाट सुरु गरेर आफ्नै चिन्तनप्रक्रिया निर्माण गर्न सिकाउने खुला शिक्षा प्रणाली हो । यसलाई हामीले केन्द्रीय तर्क बनाई यही तर्कलाई विस्तार गरेका छौँ ।

उदार कला शिक्षा नै प्रथम सिद्धान्तमा आधारित सिकाइ

हाम्रो बुझाइमा ‘प्रथम सिद्धान्त’ ले विषय वा समस्याको सबैभन्दा आधारभूत, अनिवार्य र स्वतःसिद्ध मान्यताहरूको प्रतिनिधित्व गर्छ । जब हामी कुनै जटिल समस्याको सामना गर्छौं, हामी प्रायः त्यसको सतहमा अड्किन्छौँ, लक्षणलाई कारण ठान्छौँ र उपचार प्रक्रियालाई रोग ठान्छौँ ।

‘प्रथम सिद्धान्त’ मा आधारित सिकाइले सतहभन्दा पनि गहिराइ गई जान्न तथा बुझ्न, मूल कारण खोज्न र त्यहाँबाट नयाँ समाधान निर्माण गर्न सिकाउँछ । अतः प्रथम सिद्धान्त सिकाइले विद्यार्थीलाई ‘के भनिएको छ’ भन्दा ‘किन भनिएको रहेछ’, ‘कसरी भनिएको रहेछ’, ‘कसको हितमा भनिएको रहेछ’ र ‘यसलाई कसरी पुनर्निर्माण गर्न सकिन्छ’ भन्ने प्रश्नतर्फ डोर्‍याउँछ ।

हामीले आफ्नो अनुसन्धान र अध्यापनमा यही प्रश्नपद्धतिलाई केन्द्रमा राख्नुपर्छ भन्छौँ किनभने हामी विद्यार्थीलाई यही पद्धतिमार्फत ज्ञानको निष्क्रिय उपभोक्ता होइन, ज्ञानको सक्रिय निर्माता बनाउन चाहन्छौँ ।

अब प्रश्न उठ्छ : उदार कला शिक्षा कसरी ‘प्रथम सिद्धान्त’ सिकाइ प्रणाली बन्न सक्छ त ? हाम्रो विचारमा यसका केही आधारभूत कारणहरू छन् ।

तीमध्ये पहिलो कारण यस शिक्षाले प्राथमिकता दिने ज्ञान र मानवीय सिकाइको प्रकृतिबारेका मुख्य मुख्य प्रश्नहरूबाट सुरु हुन्छ, जस्तैः सिकारुले कसरी  सिक्छ ? उसले सिक्ने भनेको ज्ञानको स्वरूप के हो ? सिकारुको ज्ञान र विश्वासबिचको भिन्नता के हो ? के सिकारुले हासिल गरेको ज्ञान तटस्थ हुन्छ ? यी कुनै एक विषयका प्रश्नहरू मात्र होइनन्; यी शिक्षाकै प्रथम सिद्धान्तका प्रश्नहरू हुन् । दोस्रो कारण उदार कला शिक्षाले विशेष रूपमा जोड दिने मानवीय जीवनका प्रश्नहरूबाट सुरु हुन्छ, जस्तैः विवेक र स्वतन्त्रताको सम्बन्ध के हो ? नागरिकता, न्याय र समानताको आधार के हो ? कला, विज्ञान, दर्शन र साहित्यले मानवीय जीवनलाई कसरी अर्थपूर्ण बनाउँछन् ?

बहुदृष्टिकोणीय सोच नै उदार कला शिक्षाको उपहार हो । हामीले आफ्नो अध्यापनमा यही क्षमता विकास गर्ने प्रयास गरेको छौँ ।

यी प्रश्नहरूले विद्यार्थीलाई आफ्नो अध्ययनलाई जीवनसँग जोड्न सिकाउँछन् । तेस्रो कारण उदार कला शिक्षाले विद्यार्थीलाई आफ्नै सिकाइको प्रश्नशीलता विकास गर्न सिकाउँछ र प्रणाली र आफैँलाई प्रश्न गर्न सिकाउँछ । आफ्ना पूर्वाग्रह, आफ्नो सामाजिक स्थिति र आफ्नो ज्ञाननिर्माण प्रक्रियालाई आलोचनात्मक रूपमा परीक्षण गर्न उत्प्रेरित गर्छ । यो प्रश्नशीलता नै प्रथम सिद्धान्त अवधारणाको मुटु हो किनभने यसले विद्यार्थीलाई आफ्नै चिन्तनको जग जाँच्न सिकाउँछ र आफ्नो सिकाइ वृद्धि गर्न सक्रिय गराउँछ ।

सामान्यतः उदार कला शिक्षामा आधारित सिकाइले दुई काम एक साथ गर्छ । पहिलो यसले विद्यार्थीलाई आफ्नो सिकाइप्रति प्रश्नशीलता विकास गर्न सिकाउँछ । दोस्रो यसले विद्यार्थीलाई विषयगत अनुशासनात्मक सीमा भत्काएर जीवनका जटिल प्रश्नहरूलाई अन्तरसम्बन्धित बनाई एकीकृत रूपमा बुझ्न सिकाउँछ । हामीले महसुस गरेको विषय पनि यही होः विद्यार्थीले आफ्नै सिकाइलाई प्रश्न गर्न सक्नु र तिनलाई अन्तरसम्बन्धित बनाई सन्दर्भीकृत गर्नु नै आलोचनात्मक चिन्तनको पहिलो सर्त हो ।

यस चिन्तनका क्रममा विद्यार्थीलाई तयार ज्ञानको सतहबाट मूल सिद्धान्ततर्फ लैजानु र त्यहाँबाट नयाँ ज्ञान निर्माण गर्न सक्षम बनाउनु अर्को सर्त हो । हाम्रो अनुभवमा जब विद्यार्थीले ‘यो ज्ञानको जग के हो ?’ भनेर सोध्न सिक्छ, तब उसको सिकाइ गतिशील र अर्थपूर्ण बन्न सक्छ ।

३. सङ्कीर्ण उपयोगितावादप्रति हाम्रो असहमति

हामीले पटकपटक अनुभव गरेका छौँ : आजका विश्वविद्यालयहरू बजारको माग, रोजगारीको सङ्ख्या र परीक्षाको नतिजाबाट आफ्नो मूल्याङ्कन गर्न अभ्यस्त बन्नुपर्छ भन्ने दबाब बढ्दो छ । यो उपयोगितावादी दृष्टि केही हदसम्म आवश्यक छ तर हाम्रो विचारमा यति मात्र पर्याप्त होइन किनभने यसले शिक्षालाई ‘तत्काल उपयोगी सिप’ मा सीमित गर्ने र विद्यार्थीको दीर्घकालीन चिन्तन क्षमता, नैतिक विवेक, विषयवस्तुको गहिरोपना र सामाजिक जिम्मेवारीलाई ओझेलमा पार्ने जोखिम राख्छ । हामी विश्वविद्यालयलाई केवल ‘रोजगारी उत्पादन गर्ने कारखाना’ का रूपमा हेर्दैनौँ; हाम्रो दृष्टिमा यो विचारको प्रयोगशाला हो । त्यसैले विश्वविद्यालयले ‘सिप’, ‘विषयको गहिरोपना’ र ‘विवेक’ का बिचमा सन्तुलन कायम गर्नुपर्छ ।

यहाँ हामी एउटा तथ्य स्पष्ट पार्न चाहन्छौँ : हामी सिप शिक्षाको विरोधी होइनौँ । विद्यार्थीलाई रोजगारयोग्य बनाउन आवश्यक छ र यो विश्वविद्यालयको जिम्मेवारी पनि हो ।  रोजगारी मात्र शिक्षाको अन्तिम उद्देश्य हो त ? अर्थात् के मानिस केवल ‘आर्थिक प्राणी’ हो ? हाम्रो विचारमा मानिस बहुआयामिक प्राणी हो । उसको आर्थिक जीवनसँगै नैतिक, सामाजिक, सांस्कृतिक र राजनीतिक जीवन पनि छ । यदि शिक्षाले केवल आर्थिक जीवनलाई मात्र ध्यान दिन्छ भने त्यो अपूर्ण हुन्छ । उदार कला शिक्षाले यही अपूर्णतालाई पूर्णता दिन खोज्छ । यसले विद्यार्थीलाई पेसागत जीवनका लागि आवश्यक सिप मात्र दिँदैन, बरु पारिवारिक, सामाजिक र राजनीतिक जीवनमा पनि आलोचनात्मक र सिर्जनशील दृष्टिकोण अपनाउन सिकाउँछ । यसले विद्यार्थीलाई ‘के गर्ने’ मात्र होइन, ‘किन गर्ने’, ‘कसका लागि गर्ने’ र ‘कसरी अधिक न्यायपूर्ण ढङ्गले गर्ने’ भन्ने प्रश्नसँग जोड्छ । हाम्रो अनुभवमा यही प्रश्नक्षमता नै आलोचनात्मक र सिर्जनशील चिन्तकको पहिचान हो ।

हामी यसलाई एउटा उदाहरणबाट स्पष्ट पार्न चाहन्छौँ : एक जना इन्जिनियरले पुल बनाउन सिक्नु सिप हो । तर त्यही इन्जिनियरले ‘यो पुल कसका लागि बनाइरहेको छु ? यसले कसलाई फाइदा पुर्‍याउँछ र कसलाई पुर्‍याउँदैन ? यसको वातावरणीय प्रभाव के हुन्छ ?’ भनेर सोची सोअनुसार सही कार्य गर्नु विवेक हो । उदार कला शिक्षाले इन्जिनियरलाई पुल बनाउन मात्र सिकाउँदैन, त्यो पुलको सामाजिक, नैतिक र वातावरणीय अर्थबारे सोची सही कार्य गर्न पनि सिकाउँछ । यही नै सिप र विवेकको सन्तुलन हो जुन हाम्रो शिक्षाशास्त्रीय दृष्टिकोणको केन्द्रमा छ ।

४. आलोचनात्मक चिन्तन : बैङ्किङ प्रणालीबाट समस्याको खोजी र प्रस्तुतीकरणतर्फको यात्रा

हाम्रो दार्शनिक यात्रामा पाउलो फ्रेरेको ‘बैङ्किङ शिक्षा’ प्रतिको आलोचनाले गहिरो प्रभाव पारेको छ । फ्रेरेले देखाए झैँ शिक्षक ज्ञानको भण्डार र विद्यार्थी निष्क्रिय भाँडो हुने अवस्था आएमा शिक्षा संवादबाट ज्ञाननिर्माणतर्फ अग्रसर नबनी हस्तान्तरणको प्रक्रियामा सीमित बन्छ । यो हस्तान्तरणमूलक सम्बन्धमा शिक्षक सधैँ सर्वज्ञानी र विद्यार्थी सधैँ अज्ञानी मानिन्छ; विद्यार्थीको काम केवल शिक्षकले दिएको ज्ञान सञ्चित गर्नु हो भन्ने मान्यता स्थापित हुन्छ । हामीले पनि आफ्ना विद्यार्थीहरूलाई ‘ज्ञान भर्ने भाँडो’ का रूपमा होइन, ‘विचार गर्ने व्यक्ति’ का रूपमा हेर्न र त्यहीअनुसार व्यवहार गर्न सिकेका छौँ ।

यस सन्दर्भमा उदार कला शिक्षाले समस्याको खोजी र प्रस्तुतीकरण (Problem-posing) मा जोड दिँदै समाजमा रूपान्तरण गर्ने बाटो देखाउँछ भनी हामी आफ्नै अनुभवबाट निखारिका छौँ । यहाँ मननीय पक्ष के पनि छ भने शिक्षक र विद्यार्थी दुबै सँगै ज्ञानको खोजीमा हिँड्ने; प्रश्न गर्ने; एकअर्काबाट सिक्ने र संवादमार्फत नयाँ ज्ञान निर्माण गर्ने प्रक्रियामा अगि बढाउनुपर्ने हुन्छ ।

उदार कला शिक्षामा आधारित समस्याको खोजी र प्रस्तुतीकरणले कसरी काम गर्छ भन्ने सन्दर्भमा यस उदाहरणले थप स्पष्ट पार्छ : कुनै कक्षामा शिक्षणसिकाइका क्रममा जलवायु परिवर्तनको विषय उठ्दा हामीले विद्यार्थीलाई ‘जलवायु परिवर्तनका कारण के हुन् ?’ भनेर सोध्ने गर्छौँ । यस क्रममा विद्यार्थीमध्ये कसैले औद्योगिकीकरण भन्ने गरेको पाइयो, कसैले वनविनाश भनी जोड दिएको पाइयो भने कसैले उपभोग संस्कृतिलाई प्राथमिकता दिएको देखियो । त्यसपछि ‘यी कारणहरूको मूल जग के हो ? किन मानिसले यस्तो गरिरहेको छ ? के यो केवल वैज्ञानिक समस्या हो, वा यो नैतिक र राजनीतिक समस्या पनि हो ?’ भन्ने जस्ता प्रश्नशृङ्खलाले विद्यार्थीलाई सतहबाट मूल विषयहरूको गहिरो सिकाइतर्फ लगेको अनुभव गरियो । यही नै प्रथम सिद्धान्त अवधारणाको कार्यान्वयन हो । हाम्रो दृष्टिमा यसले विद्यार्थीलाई विषयवस्तुको सतही ज्ञान मात्र दिँदैन; बरु ज्ञान कसरी निर्माण हुन्छ, कसको हितमा हुन्छ र यसलाई कसरी पुनर्निर्माण गर्न सकिन्छ भन्ने आलोचनात्मक चेतना दिन्छ । यही चेतनाले विद्यार्थीलाई ‘चिन्तक’ बनाउँछ ।

हामी आफ्ना विद्यार्थीलाई सधैँ भन्छौँ : आलोचनात्मक चिन्तन भनेको सबै कुरालाई अस्वीकार गर्नु होइन; यो दाबीहरूलाई प्रमाण, तर्क र नैतिकताको कसीमा जाँच्ने क्षमता हो । आलोचनात्मक चिन्तकले ‘यो सही हो कि गलत ?’ मात्र सोध्दैन; ‘यो कसको दृष्टिकोणबाट सही वा गलत भनिएको हो ? के यसमा अरू दृष्टिकोण पनि सम्भव छन् ?’ भनेर पनि सोध्छ । यही बहुदृष्टिकोणीय सोच नै उदार कला शिक्षाको उपहार हो । हामीले आफ्नो अध्यापनमा यही क्षमता विकास गर्ने प्रयास गरेको छौँ ।

५. आलोचनात्मक आशा : हाम्रो राजनीतिक, शैक्षिक र नैतिक दृष्टिकोण

हामीले उदार कला शिक्षालाई निराशावादी होइन, ‘आलोचनात्मक आशा’ (क्रिटिकल होप) मा आधारित पद्धतिका रूपमा चित्रण गर्छौँ । हाम्रो बुझाइमा आलोचनात्मक आशा भनेको भविष्यलाई निर्माण र परिवर्तन गर्ने शक्ति हो; यो समानता र न्यायको दृष्टिले वर्तमानको मूल्याङ्कन गर्ने र भविष्यका सम्भावनाहरूको कल्पना गर्ने क्षमता हो । हामी विद्यार्थीलाई विगत र हालका व्यवस्थालाई जस्ताको तस्तै स्वीकार गर्ने मात्र होइन; उनीहरूलाई त्यसका बारेमा प्रश्न गर्न, चुनौती दिन र पुनर्कल्पना गर्न सिकाउन चाहन्छौँ । यस प्रक्रियाले व्यवस्थालाई नै उन्नत बनाउन मदत गर्छ ।

यहाँ हामी आलोचनात्मक आशालाई अझ स्पष्ट पार्न चाहन्छौँ । आलोचनात्मक आशा र अन्धो आशामा भिन्नता छ । अन्धो आशा भन्छ : ‘सबै ठिक हुन्छ, केही गर्नुपर्दैन ।’ आलोचनात्मक आशा भन्छ : ‘वर्तमान व्यवस्था न्यायपूर्ण छैन, तर यसलाई परिवर्तन गर्न सकिन्छ र त्यसका लागि हामीले आफ्नो भूमिका निर्वाह गर्नुपर्छ ।’ यो आशा निष्क्रिय होइन, सक्रिय हो । यसले विद्यार्थीलाई ‘पीडित’ होइन, ‘परिवर्तनको सर्जक’ बनाउँछ । हाम्रो दृष्टिमा यही आलोचनात्मक आशा नै उदार कला शिक्षाको राजनीतिक, शैक्षिक र नैतिक आधार हो ।

शिक्षण एक राजनीतिक, शैक्षिक र नैतिक पक्षको अन्तरसम्बन्धित, एकीकृत तथा ज्ञानपरक कार्य हो; त्यसैले ज्ञान तटस्थ हुँदैन र सामाजिक न्याय तथा लोकतन्त्रका प्रश्न शिक्षणसिकाइबाट अलग हुँदैन । जब शिक्षकले कक्षामा के पढाउने, कसरी पढाउने र कसको आवाज समावेश गर्ने भन्ने निर्णय गर्छ, त्यो निर्णय राजनीतिक पनि हुन्छ । उदार कला शिक्षाले यो राजनीतिकतालाई लुकाउँदैन; बरु यसलाई खुला रूपमा स्वीकार गर्छ र विद्यार्थीलाई पनि यसबारे सचेत बनाई छलफलमा उत्रन लगाउँछ । हामी विद्यार्थीलाई शक्ति र असमानता कसरी काम गर्छन् र आफ्नो सन्दर्भमा परिवर्तन कसरी ल्याउन सकिन्छ भन्ने बुझाउन खोज्छौँ । यसरी हामी उदार कला शिक्षालाई केवल कक्षाकोठाको विधि होइन, न्यायपूर्ण र लोकतान्त्रिक समाज र समुदाय निर्माणको साधनका रूपमा हेर्छौँ ।

६. सिर्जनशीलताको पुनर्जागरण

ज्ञाननिर्माण तथा व्यक्तित्व विकासका लागि आलोचनात्मक चिन्तन मात्र पर्याप्त छैन; सिर्जनशीलता पनि त्यसको अभिन्न अङ्ग हो । आलोचनात्मक चिन्तनले ‘के गलत छ ?’ भनेर देखाउँछ भने सिर्जनशीलताले ‘के कस्ता वैकल्पिक बाटाहरू सम्भव छन् ?’ भनेर प्रस्ट्याउँछ । यी दुई एकअर्काका पूरक पनि हुन् । हाम्रो अनुसन्धान ‘रूपान्तरणकारी शिक्षा’ मा केन्द्रित छ । यसले विद्यार्थीलाई सन्दर्भमा आधारित र खोजमूलक सिकाईमार्फत आलोचनात्मक, सक्रिय र सामाजिक रूपमा उत्तरदायी नागरिक बन्न आवश्यक ज्ञान र सिप प्रदान गर्न खोज्छ । यसको मूलमान्यता नै विषयहरूबिचको कृत्रिम सीमा भत्काएर जीवनका जटिल प्रश्नहरूलाई एकीकृत र गहिरो रूपमा बुझ्ने हो ।

उदार कला शिक्षामा आधारित प्रामाणिक मूल्याङ्कनले विद्यार्थीलाई ‘कसरी सोच्यो’, ‘कसरी प्रश्न गर्‍यो’, ‘कसरी प्रमाण जुटायो’, ‘कसरी निष्कर्ष निकाल्यो’ र ‘कसरी आफ्नै निष्कर्षलाई पुनर्विचार गर्‍यो’ भनेर जाँच्नुपर्छ भनी सिकाउँछ ।

हामीले आफ्नो अध्यापन तथा अनुसन्धानमा कलामा आधारित शिक्षालाई विद्यार्थी र शिक्षक दुबैको आत्मप्रेरणा र आलोचनात्मक चिन्तन बलियो बनाउने माध्यमका रूपमा उपयोग गरेका छौँ । कलामा आधारित शिक्षा भनेको केवल चित्र बनाउने वा गीत गाउने होइन; यो अनुभवलाई बहुअर्थमा व्यक्त गर्ने र नयाँ दृष्टिकोण निर्माण गर्ने विधि हो । जब विद्यार्थीले कुनै जटिल सामाजिक समस्यालाई विभिन्न विधाका दृष्टिकोणबाट व्यक्त गर्छ, तब उसले त्यो समस्यालाई नयाँ दृष्टिकोणबाट देख्न सिक्छ । यसले विद्यार्थीलाई केवल ‘सही उत्तर’ खोज्ने होइन, बरु ‘नयाँ प्रश्न’ सोध्ने र ‘नयाँ सम्भावना’ सिर्जना गर्ने क्षमता दिन्छ ।

‘प्रथम सिद्धान्त’ शिक्षाका रूपमा हामी उदार कला प्रणालीलाई सिर्जनशीलता र प्रतिभाको विषयसहित नियमित कल्पना र आलोचनात्मक परीक्षणको अभ्यासका रूपमा बुझ्छौँ । यसअनुरूप हाम्रा विद्यार्थीहरूले कल्पना गर्छन्, प्रयोग गर्छन्, असफल हुन्छन्, पुनः प्रयास गर्छन् र आफ्नै सिकाइको मूल्याङ्कन गर्छन् । यही प्रक्रियामा सिर्जनशीलता र आलोचनात्मकता सँगै फुल्छन् भन्ने हाम्रो विश्वास छ । हाम्रो अनुभवमा विद्यार्थीले असफलताबाट सिक्न सक्नु नै सिर्जनशीलताको पहिलो सर्त हो । यदि कक्षाकोठामा असफल हुन डर लाग्छ भने सिर्जनशीलता फुल्न सक्दैन । उदार कला शिक्षाले असफलतालाई ‘गल्ती’ होइन, ‘सिकाइको अवसर’ का रूपमा स्वीकार गर्ने संस्कृति निर्माण गर्न सक्छ ।

७. स्थानीय ज्ञान, अनौपनिवेशीकरण र हाम्रो दृष्टिकोण

हाम्रो दृष्टिमा नेपालको शिक्षा प्रणालीमा एउटा अर्को गहिरो समस्या छ : आफ्नो सांस्कृतिक सन्दर्भबाट विच्छेद गरिएको शिक्षा । विद्यार्थीलाई उनीहरूको गाउँ, समुदाय, भाषा, संस्कृति र दैनिक जीवनबाट टाढा राखेर ‘तटस्थ’ र ‘सार्वभौम’ मानिने ज्ञान मात्र सिकाइरहेका छौँ भन्ने हामीलाई लाग्छ । यसले गर्दा विद्यार्थीले आफ्नो समुदायको ज्ञानलाई ‘अवैज्ञानिक’ वा ‘पिछडिएको’ ठान्न थाल्छ र बाहिरी ज्ञानलाई मात्र ‘उच्च’ मान्न थाल्छ । यो आत्म-अवमूल्यनको संस्कृति पनि हो । यसबाट नै विद्यार्थीको आत्मविश्वास र सिर्जनशीलतालाई कमजोर बनाउँछ । वास्तवमा परिवर्तित संसारमा उत्पन्न ज्ञान ‘तटस्थ’ र ‘सार्वभौम’ हुन्छ भनेर मान्नु ज्ञानको विधात्मकता, स्थानीयता र समसामयिकतालाई चुनौती दिनु र शैक्षिक पछौटेपनलाई अङ्गीकार गर्नु  हो ।

हामी उदार कला शिक्षालाई स्थानीय/रैथाने ज्ञान, पूर्वीय/दक्षिणी दर्शन र स्वदेशी ज्ञान प्रणालीसँग जोड्नुपर्छ भन्ने मान्यता राख्छौँ । यस क्रममा पश्चिमा ज्ञानलाई पूर्ण रूपमा अस्वीकार नगरी पूर्वपश्चिम संश्लेषण (East-West Symbiosis) को बाटो लिनुपर्छ भन्ने हाम्रो अडान हो । कहीँको पनि सांसारिक ज्ञान आफैँमा सधैँका पूर्ण र शाश्वत हुँदैन । यो सर्दै जान्छ, घुलमिल हुन्छ, सहकार्यबाट सन्दर्भकृत हुन्छ र नयाँ स्वरूपमा विकसित हुन्छ । यसकारण हाम्रा विद्यार्थीले आफ्नै समुदायका सिद्धान्त तथा ज्ञानपरम्परालाई पनि उत्तिकै गम्भीरतापूर्वक अध्ययन गर्नुपर्छ जसरी उनीहरू पश्चिमा वैज्ञानिक सिद्धान्त तथा ज्ञानपरम्परा पढ्छन् । उदाहरणका लागि हाम्रा किसानका मौसम पूर्वानुमानका परम्परागत ज्ञान, वैद्य वा चिकित्सकका जडीबुटी ज्ञान र समुदायका सामूहिक निर्णयप्रक्रियाका परम्परालाई पनि वैज्ञानिक र दार्शनिक गम्भीरताका साथ अध्ययन गर्न सकिन्छ । यसले विद्यार्थीलाई आफ्नै जगमा उभिएर विश्वलाई हेर्न सिकाउँछ र वैश्विक चेतनाको जगमा स्थानीयलाई सम्बोधन गर्न दृढ बनाउँछ ।

हामी अनौपनिवेशिक (डिकोलोनियल) शिक्षाको अवधारणालाई महत्त्वका साथ समावेश गर्न एवम् लागु गर्न चाहन्छौँ । हामीले शिक्षालाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा देखिने औपनिवेशिक शक्तिका सबै पदचिह्नहरूमाथि प्रश्न गर्ने प्रक्रियाका रूपमा विकसित गर्नुपर्छ । औपनिवेशिक संस्कृतिको प्रतिरोध गर्ने, आफ्ना ज्ञानसंस्कृतिको पुनर्दाबी गर्ने र स्वदेशी ज्ञानलाई मूल्य दिने काम गर्नुपर्छ । यसले विद्यार्थीलाई ‘आयातित ज्ञान’ को निष्क्रिय उपभोक्ता होइन, आफ्नै सन्दर्भमा ज्ञान निर्माण गर्ने सर्जक बनाउँछ भन्ने हाम्रो विश्वास छ । यो नै प्रथम सिद्धान्त सिकाइको व्यावहारिक रूप हो ।

ज्ञानको जग आफ्नै जीवन-जगत्‌मा खोज्ने यस अभ्यासलाई हामीले आफ्नो अध्ययन तथा अनुसन्धानमा आत्मसात् गर्नुपर्ने हुन्छ । हाम्रो दृष्टिमा ‘जीवन-जगत्’ भनेको विद्यार्थीको दैनिक अनुभव, सामाजिक सम्बन्ध, सांस्कृतिक पृष्ठभूमि र भाषिक पहिचानको समग्रता हो । शिक्षा यही जीवन-जगत्‌बाट सुरु हुनुपर्छ र त्यहीँ फर्केर आउनुपर्छ ।

८. विश्वविद्यालयको भूमिका : हाम्रो पाठ्यक्रम र अनुसन्धान दृष्टिकोण

हाम्रो विचारमा विश्वविद्यालयले उदार कला शिक्षालाई व्यवहारमा उतार्न त्यसै अनुरूपको पाठ्यक्रम पुनर्निर्माण गर्नुपर्छ । पाठ्यक्रम विषयहरूको लामो सूची होइन; यो प्रश्नहरूको वास्तुकला हुनुपर्छ । प्रत्येक पाठ्यक्रमले विद्यार्थीलाई मूल प्रश्नबाट सुरु गरेर प्रमाण, तर्क, संवाद र सिर्जनातर्फ लैजानुपर्छ । हामी मूल्याङ्कनलाई पनि ‘कति सम्झियो’ भन्दा ‘कसरी सोच्यो, कसरी प्रश्न गर्‍यो, कसरी निर्माण गर्‍यो’ लाई केन्द्रमा राख्नुपर्छ भन्ने मान्छौँ । यसका लागि हामी परियोजनामा आधारित सिकाइ, सहभागितामूलक अनुसन्धान, प्रामाणिक मूल्याङ्कन, संवादात्मक प्रस्तुति र सामुदायिक सहभागितालाई उपयोगी मान्छौँ ।

हामी यसलाई अझ स्पष्ट पार्न चाहन्छौँ । परम्परागत मूल्याङ्कनले विद्यार्थीलाई ‘के सम्झियो’ भनेर मात्र जाँच्छ। यसले गर्दा विद्यार्थी ‘सम्झने मेसिन’ बन्छ । तर उदार कला शिक्षामा आधारित प्रामाणिक मूल्याङ्कनले विद्यार्थीलाई ‘कसरी सोच्यो’, ‘कसरी प्रश्न गर्‍यो’, ‘कसरी प्रमाण जुटायो’, ‘कसरी निष्कर्ष निकाल्यो’ र ‘कसरी आफ्नै निष्कर्षलाई पुनर्विचार गर्‍यो’ भनेर जाँच्नुपर्छ भनी सिकाउँछ । यस्तो मूल्याङ्कनले विद्यार्थीलाई आफ्नै सिकाइको प्रतिबिम्बन गर्न सिकाउँछ जुन प्रथम सिद्धान्त सोचको अनिवार्य अङ्ग हो । हाम्रो अनुभवमा जब विद्यार्थीले आफ्नै सिकाइको मूल्याङ्कन गर्न सिक्छ तब उसको सिकाइ स्थायी बन्छ ।

अनुसन्धान पनि रूपान्तरणकारी सिकाइको माध्यम बन्नुपर्छ भन्ने हाम्रो दृष्टिकोण छ । हामी ‘मानिसमाथि अनुसन्धान’ होइन, ‘मानिससँगै अनुसन्धान’ गर्ने अभ्यासले आलोचनात्मक चेतना र सामाजिक न्यायको संस्कृति विकास गर्छ भन्ने विश्वास राख्छौँ । हामीले आफ्ना अध्ययन तथा अनुसन्धान परियोजनाहरूमा विद्यालय, समुदाय र नागरिक समाजसँग मिलेर सहभागितामूलक कार्यअनुसन्धान गर्ने प्रयास गरेका छौँ । यसले सिद्धान्त र अभ्यासबीचको दूरी कम गर्छ भन्ने हाम्रो विश्वास छ । यसरी विश्वविद्यालय केवल डिग्री दिने संस्था होइन, ज्ञाननिर्माणको सामाजिक-वैज्ञानिक प्रयोगशाला बन्छ भन्ने हाम्रो भनाइ हो ।

९. ‘भाँडो’ होइन, ‘ज्वाला’

हाम्रो दृष्टिमा विश्वविद्यालयहरू ज्ञानको भण्डार मात्र होइनन्, विचार निर्माण प्रक्रियाका प्रयोगशाला हुन् । त्यसैले हामी भन्छौँ : हामीले विद्यार्थीलाई ज्ञान भर्ने ‘भाँडो’ होइन, विचार प्रज्वलित गर्ने ‘ज्वाला’ बनाउनुपर्छ । यसका लागि उदार कला शिक्षालाई प्रथम सिद्धान्त शिक्षाका रूपमा अँगाल्नुपर्छ जहाँ विद्यार्थीले ‘के’ भन्दा ‘किन’, ‘कसरी’ र ‘कसका लागि’ भनेर सोच्न सिक्छन्; जहाँ ज्ञानको जग, मानवीय मूल्य र सामाजिक न्यायका प्रश्न सँगै उठ्छन् ।

यसका लागि हामी बैङ्किङ शिक्षाबाट मुक्त भएर समस्या खोजी र प्रस्तुतीकरणतर्फ अगि बढ्नुपर्छ भन्ने मान्यता राख्छौँ; विषयकेन्द्रित सोचबाट मुक्त भएर जीवनकेन्द्रित सिकाइतर्फ लाग्नुपर्छ भन्ने ठान्छौँ र सङ्कीर्ण उपयोगितावादबाट मुक्त भएर सिप र विवेकको सन्तुलन कायम गर्नुपर्छ भन्ने विश्वास राख्छौँ ।

नेपाललाई विकास गर्ने दिशामा यही हाम्रो शैक्षिक आस्था हो; यही आस्थाका साथ हामी  नेपालको उच्च शिक्षालाई उदार कला शिक्षातर्फ डोर्‍याउन जरुरी देख्छौँ र समग्रतामा नेपालका लागि चिन्तक, सर्जक, वैज्ञानिक र समाज सुधारक यही बाटोबाट उत्पादन गर्ने सपना देख्छौँ ।

हाम्रो शैक्षिक दर्शनले पनि यही भन्छ : शिक्षा सामाजिक न्याय, समानता एवम् दिगोपनतर्फ उन्मुख हुनुपर्छ र विद्यार्थीलाई ‘साध्यको साधन’ होइन, ‘आफैँमा साध्य’ का रूपमा सम्मान गर्नुपर्छ । हामी आफ्नो अनुभव, अध्ययन र अनुसन्धानका आधारमा यो दाबी गर्छौँः तब मात्र हाम्रा विश्वविद्यालयले समाजलाई आलोचनात्मक र सिर्जनशील चिन्तक दिन सक्ने छन् जब उनीहरूले विद्यमान व्यवस्थालाई प्रश्न गर्न र वैकल्पिक सम्भावनाहरूको खोजी गर्न सिकाउने छन् । उदार कला शिक्षा केवल एक विकल्प होइन; यो प्रथम सिद्धान्तमा आधारित शैक्षिक भविष्यको अनिवार्य सर्त हो र यही हाम्रो शिक्षाशास्त्रीय प्रतिबद्धता हो ।

अन्त्यमा हामी एउटा सन्दर्भ थप्न चाहन्छौँ : उदार कला शिक्षा कुनै देश, काल, विचारधारा र अर्थतन्त्रमा आधारित प्रणालीको पक्षपोषक होइन; यो मानवीयता र लोकतन्त्र फुल्ने प्रक्रियाको सार्वभौमिक सर्त हो । नेपाल जस्तो विविधता, असन्तुलन र सङ्क्रमणबाट गुज्रिरहेको देशमा यसको महत्त्व अझ बढी छ किनभने जब समाजमा असमानता, शोषण र अन्याय व्याप्त छ तब हामीलाई केवल सिप सम्पन्न नागरिक होइन, विवेक सम्पन्न र प्रश्न गर्न सक्ने नागरिक चाहिन्छ । त्यस्ता नागरिक उत्पादन गर्ने बाटो उदार कला शिक्षा प्रणाली हो । यसले विद्यार्थीलाई आफ्नै जीवनजगत्‌बाट सुरु गरेर, मूल प्रश्न सोध्दै, प्रमाण र तर्कका आधारमा सोच्दै र न्यायपूर्ण समाजको कल्पना गर्दै अगि बढ्न सिकाउँछ ।

नेपाललाई विकास गर्ने दिशामा यही हाम्रो शैक्षिक आस्था हो; यही आस्थाका साथ हामी  नेपालको उच्च शिक्षालाई उदार कला शिक्षातर्फ डोर्‍याउन जरुरी देख्छौँ र समग्रतामा नेपालका लागि चिन्तक, सर्जक, वैज्ञानिक र समाज सुधारक यही बाटोबाट उत्पादन गर्ने सपना देख्छौँ ।

(बालचन्द्र लुइटेल काठमाडौं विश्वविद्यालयका प्राध्यापक हुन् । पुरुषोत्तम घिमिरे पाठ्यक्रम विकास केन्द्रका निर्देशक हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?