+
+
Shares

बंगलादेशमा नेपाल प्रवर्द्धन

मेलाले पर्यटन व्यवसायीबीच व्यावसायिक सम्बन्ध विस्तारसँगै सम्भावित पर्यटकलाई नयाँ गन्तव्य छनोट गर्न प्रेरित गर्ने अपेक्षा गरिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १२ गते १९:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ढाकामा सुरु भएको बीटीटीएफ २०२६ मा नेपाल पर्यटन बोर्ड नेतृत्वको १५ नेपाली पर्यटन कम्पनीले नेपालको पर्यटन प्रवर्द्धन गरिरहेका छन् ।
  • नेपाली टोलीले हिमाली दृश्य, सांस्कृतिक सम्पदा, साहसिक पर्यटन र विविध अनुभव बंगलादेशी पर्यटकमाझ प्रस्तुत गर्दै पर्यटन सहकार्य विस्तार गरेको छ ।
  • मेलामा बीटुबी र बीटुसीका माध्यमबाट नेपाली पर्यटन सेवाको प्रचार र बंगलादेशलाई नेपालको महत्त्वपूर्ण पर्यटक स्रोत बजार बनाउने लक्ष्य राखिएको छ ।

१२ कात्तिक, काठमाडौं । बंगलादेशको राजधानी ढाकामा आयोजित बंगलादेश ट्राभल एन्ड टुरिज्म फेयर (बीटीटीएफ) २०२६ मा नेपाल पर्यटन बोर्ड नेतृत्वको १५ नेपाली पर्यटन कम्पनीले नेपालको पर्यटन प्रवर्द्धन गरिरहेका छन् ।

बोर्ड नेतृत्वको नेपाली टोलीले नेपालका हिमाली दृश्य, सांस्कृतिक सम्पदा, साहसिक पर्यटन र विविध पर्यटकीय अनुभव बंगलादेशका पर्यटकमाझ परिचित गराउँदै दुई देशबीच पर्यटन सहकार्य र व्यावसायिक सम्बन्ध विस्तार गरिएको बोर्डका वरिष्ठ अधिकृत प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।

‘एआईमा आधारित पर्यटन, दिगो गन्तव्य’ भन्ने मूल नारासाथ आजदेखि सुरु भएको तीन दिने मेलामा नेपालले आफ्नो प्राकृतिक सौन्दर्य, मौलिक संस्कृति, पदयात्रा, पर्वतारोहण, आध्यात्मिक पर्यटन तथा साहसिक गतिविधिलाई प्रमुख आकर्षणका रूपमा प्रस्तुत गरिरहेको छ ।

ढाकास्थित बंगलादेश–चीन मैत्री सम्मेलन केन्द्रको कार्निभल हलमा सञ्चालन भइरहेको मेलाले पर्यटन व्यवसायीबीच व्यावसायिक सम्बन्ध विस्तारसँगै सम्भावित पर्यटकलाई नयाँ गन्तव्य छनोट गर्न प्रेरित गर्ने अपेक्षा गरिएको छ ।

यसअघि पर्यटन बोर्ड र ढाकास्थित नेपाली दूतावासको सहकार्यमा २८ अक्टोबर २०२६ मा ‘नेपाल इज कलिङ : भिजिट, एक्स्प्लोर, एक्स्पेरियन्स’ अर्थात् ‘नेपालले बोलाइरहेको छ : भ्रमण गर्नुहोस्, अन्वेषण गर्नुहोस् र अनुभव लिनुहोस्’ नारासहित पर्यटन प्रवर्द्धन कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रममा पर्यटन व्यवसायीबीच व्यावसायिक छलफल तथा सम्पर्क विस्तार (बीटुबी), नेपालको पर्यटनबारे प्रस्तुति र सांस्कृतिक प्रदर्शनी गरिएको थियो ।

मेलामा व्यवसायीबीच प्रत्यक्ष व्यावसायिक सम्पर्क (बीटुबी) तथा उपभोक्तासँग प्रत्यक्ष संवाद (बीटुसी) का माध्यमबाट नेपाली पर्यटन सेवाको प्रचार, व्यापारिक साझेदारीको खोजी र बंगलादेशी पर्यटकलाई नेपाल भ्रमणका लागि आकर्षित गर्ने अवसर प्राप्त हुने विश्वास गरिएको छ ।

भौगोलिक निकटता, सांस्कृतिक समानता र सहज क्षेत्रीय सम्पर्क सम्भावना उपयोग गर्दै बंगलादेशलाई नेपालको महत्त्वपूर्ण पर्यटक स्रोत बजारका रूपमा विकास गर्ने लक्ष्यसहित बोर्डले प्रवर्द्धनलाई प्राथमिकता दिएको छ ।

नेपाललाई हिमाल र पदयात्रामा मात्र सीमित नराखी संस्कृति, सम्पदा, वन्यजन्तु, आध्यात्मिकता, स्वास्थ्य तथा आरोग्य पर्यटन र वर्षैभरि अनुभव गर्न सकिने विविध गतिविधिको गन्तव्यका रूपमा स्थापित गर्नु यस अभियानको उद्देश्य हो ।

पर्यटन बोर्डले बंगलादेशी पर्यटकलाई नेपालको प्राकृतिक तथा सांस्कृतिक विविधता अनुभव गर्न आमन्त्रण गर्दै दुई देशबीचको पर्यटन साझेदारी थप सुदृढ बनाउन व्यावसायिक सहकार्य र बजार प्रवर्द्धनलाई निरन्तरता दिने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?