+
+
Shares

प्रहरी हेडक्वाटरमा साढे ६ घण्टा लामो चलेको पीसीसी बैठकमा के भयो ?

एक वरिष्ठ अधिकारीले भने– व्यक्तिमाथिका आरोपको जिम्मा संगठनले लिँदैन

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १२ गते २१:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रहरी प्रधान कार्यालयमा बिहीबार ६ घण्टा ३० मिनेट पीसीसी बैठक बसेर संगठनमाथि भइरहेका प्रहारविरुद्ध एकजुट हुनुपर्ने निष्कर्ष निकालेको छ।
  • आईजीपी दानबहादुर कार्कीलाई राजीनामाको दबाब परेको चर्चाबीच बैठकमा उच्च अधिकारीहरूले प्रश्न उठाएपछि उहाँले घुमाउरो जवाफ दिनुभयो।
  • बैठकमा प्रहरीभित्र अनुशासनहिनता, नेतृत्वविरुद्ध मिडिया ट्रायल र प्रधानमन्त्रीलाई सामूहिक रूपमा भेट्ने विषयमा पनि छलफल भएको छ।

१२ कात्तिक, काठमाडौं । प्रहरी संगठनभित्रको दबाब र बाहिर चलिरहेका विविध हल्लाखल्लाबीच प्रहरी प्रधान कार्यालयमा बिहीबार दिउँसो साढे ६ घण्टा पीसीसी (पोलिसी कोअर्डिनेशन कमिटी) को बैठक बसेको छ ।

दिउँसो सवा २ बजेबाट सुरु भएको बैठक साँझ पौने ८ बजेसम्म चलेको थियो ।

प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई राजीनामा दिन सरकारबाटै दबाब पुगेको भन्नेसम्मका चर्चाबीच यो बैठकलाई चासोका साथ हेरिएको थियो ।

बैठक स्रोतका अनुसार, बैठकमा प्रहरी संगठनमाथि भइरहेको प्रहारमा एकजुट हुनुपर्नेमा सबै एकमत छन् ।

‘बाहिर चलिरहेका विविध विषयमाथि विविध छलफल भयो । संगठनमाथि भएका प्रहारमाथि सबै एकजुट भएर लाग्ने कुरा भएको छ,’ प्रहरीका एक वरिष्ठ अधिकारीले अनलाइनखबरसँग भने ।

ती अधिकारीका अनुसार, एक वरिष्ठ अधिकारीले भने केहीबेर फरक कुरा राखे । उनले प्रहरी संगठनविरुद्ध भएका प्रहारको एकजुट भएर सामना गर्ने भएपनि कुनैपनि व्यक्तिमाथि लागेका आरोपमा संगठनले प्रतिवाद नगर्ने खुलेरै बताएका थिए ।

‘संगठनका लागि सबै एकजुट भएर लाग्ने हो, यसमा दुईमत नै छैन । तर व्यक्तिविरुद्ध लागेको आरोपको भने व्यक्ति नै लाग्ने हो । संगठनले त्यसको भारी बोक्न सक्दैन,’ ती वरिष्ठ अधिकारीले बैठकमा राखेको भनाइ उद्धृत गर्दै बैठक स्रोतले भन्यो ।

बैठकमा आईजीपी कार्कीमाथि राजीनामाको दबाब आइरहेको भन्ने विषयबारे केही उच्च अधिकारीहरूले प्रश्न समेत गरेका थिए ।

स्रोतका अनुसार, आईजीपी कार्कीले उक्त विषयमा घुमाउरो जवाफ प्रस्तुत गरेका थिए ।

बैठकमा प्रहरीभित्र अनुशासनहिनता मौलाएको, संगठन र नेतृत्वविरुद्ध प्रहरीभित्रैबाट पनि मिडिया ट्रायल भएको लगायतका विषयहरूमा गहन छलफल भएको स्रोत बताउँछ ।

सरकार–आईजीपी दानबहादुर कार्कीबीच राम्रो सम्बन्ध नरहेको र राजीनामा दिन दबाब दिएको गाइँगुइँ बाहिर आएसँगै सामूहिक रुपमा प्रधानमन्त्रीलाई भेट्न जानुपर्ने विषयमा समेत छलफल भएको थियो ।

पीसीसी बैठकमा काठमाडौं उपत्यकामा कार्यरत डीआईजी र एआईजी सहभागी हुँदै आएकोमा पहिलो पटक यो बैठकका लागि भन्दै हेडक्वाटर सातै प्रदेशका प्रमुख तथा डीआईजीहरूलाई समेत बोलाएको थियो । बुधबार नै प्रदेशका डीआईजीहरूलाई मध्यान्ह १२ बजेभित्र हेडक्वाटर आइपुग्न भनिएको थियो ।

त्यसपछि आज सातै प्रदेशका डीआईजीहरू काठमाडौं आएका थिए । उनीहरूसँगै उपत्यकामा कार्यरत एसएसपी, डीआईजी, एआईजीहरूसहितलाई राखेर दिउँसो २ बजेदेखि आईजीपी कार्कीले पीसीसीको बैठक बसाए । नीतिगत निर्णय तथा छलफलका विषयहरूमा प्रहरीको पीसीसी बैठक बस्ने गर्छ ।

तर यो बैठकमा कुनै नीतिगत निर्णय भन्दा पनि संगठन प्रमुखका विषयमा बाहिर आएका समाचार र प्रधानमन्त्रीकोमा सामूहिक रुपमा जानुपर्ने विषय उठान भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?