+

इशान पाण्डे लण्डन इयर केयरको ब्रान्ड एम्बेसडर नियुक्त

२०८३ कात्तिक  १२ गते २३:१९ २०८३ कात्तिक १२ गते २३:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली क्रिकेटर इशान पाण्डे लण्डनस्थित स्वास्थ्य सेवा प्रदायक लण्डन इयर केयरको ब्रान्ड एम्बेसडरमा नियुक्त भएका छन्।
  • बिहीबार काठमाडौंमा पाण्डे र संस्थाका निर्देशक राजन खकुरेलबीच सम्झौतापत्रमा हस्ताक्षर भएको कार्यक्रममा क्यान अध्यक्ष चतुरबहादुर चन्द पनि उपस्थित थिए।
  • चन्दले यस्तो सहकार्यले नेपाली खेलाडीलाई आर्थिक रूपमा बलियो बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।

१२ कात्तिक, काठमाडौं । नेपाली क्रिकेटर इशान पाण्डे बेलायतस्थित स्वास्थ्य सेवा प्रदायक संस्था लण्डन इयर केयरको ब्रान्ड एम्बेसडरमा नियुक्त भएका छन्।

बिहीबार काठमाडौँमा आयोजित कार्यक्रममा पाण्डे र संस्थाका निर्देशक राजन खकुरेलबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो। कार्यक्रममा नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द पनि उपस्थित थिए।

चन्दले यस किसिमको सहकार्यले नेपाली खेलाडीलाई आर्थिक रूपमा बलियो बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।

ब्रान्ड एम्बेसडर नियुक्त भएपछि पाण्डेले आफूलाई विश्वास गरेर जिम्मेवारी दिएको लण्डन इयर केयर र आफ्नो क्रिकेट यात्रामा सहयोग गर्ने क्यानप्रति आभार व्यक्त गरे।

लण्डन इयर केयर बेलायतको लण्डनमा रहेको कानको स्वास्थ्य तथा श्रवणसम्बन्धी सेवा प्रदान गर्ने संस्था हो। संस्थाले कानको जाँच, कानमा जमेको मैन हटाउने, श्रवण परीक्षण तथा श्रवण सहायक उपकरण उपलब्ध गराउँदै आएको छ।

संस्थाका निर्देशक खकुरेल बेलायतमा स्वास्थ्य सेवा, सामाजिक कार्य, सामुदायिक विकास तथा नेपाली क्रिकेटको प्रवर्द्धनमा सक्रिय छन्। उनले सन् २०१६ मा लर्ड्स क्रिकेट मैदानमा नेपाल र मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) बीच भएको ऐतिहासिक खेलमा टिकट व्यवस्थापनको जिम्मेवारी सम्हालेका थिए। सन् २०१८ मा नेपाल, नेदरल्यान्ड्स र एमसीसीबीच भएको त्रिकोणात्मक टी–२० शृङ्खलाको व्यवस्थापन तथा समन्वयमा पनि उनले भूमिका निर्वाह गरेका थिए।

खकुरेलले बेलायतमा रहेका नेपाली क्रिकेट टोली र खेलाडीलाई सहयोग गर्दै नेपाल तथा बेलायतबीचको खेलकुद सम्बन्ध विस्तारमा योगदान पुर्‍याउँदै आएका छन्। उनले सन् २०२४ मा ‘नेपाल–ब्रिटेन मिडिया पर्सनालिटी अफ द इयर’ सम्मानसमेत प्राप्त गरेका थिए।

पाण्डेसँगको सहकार्यले लण्डन इयर केयरको पहिचान विस्तार गर्नुका साथै नेपाली क्रिकेट र बेलायतमा रहेको नेपाली समुदायबीचको सम्बन्ध थप बलियो बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

इशान पाण्डे इशान पान्डे

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय