+
+
Shares

बूढीगण्डकी बाढी प्रभावित क्षेत्रमा ड्रोनमार्फत् पुर्‍याइयो राहत 

‘हामीले भिडियो कल वा फोन मार्फत गाइड गरेर ड्रोनबाट पठाएको सामग्री अनलोड गर्न स्थानीयलाई सिकायौँ, त्यसपछि हामीले सामान लोड गरेर पठाउने र उहाँहरुले अनलोड गर्ने गर्नुभयो,’ सशस्त्र प्रहरी बल गोरखा गुल्म प्रमुख (डिएसपी) सुदीप रेग्मीले भने ।

विकास मरहट्टा विकास मरहट्टा
२०८३ कात्तिक १३ गते ८:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गोरखाको बूढीगण्डकी बाढी प्रभावित क्षेत्रमा सडक र पदमार्ग अवरुद्ध भएपछि सशस्त्र प्रहरीले चार ड्रोनबाट राहत सामग्री पुर्‍याएको छ ।
  • सशस्त्र प्रहरीका ११ प्राविधिकले फिलिम र खोर्लावेशीबाट ८७ र ६४ पटक ड्रोन उडाएर खाद्यान्न, टेन्ट, त्रिपाल र औषधि ढुवानी गरेका छन् ।
  • ड्रोनमार्फत करिब ३५ सय लिटर इन्धनसमेत ढुवानी गरी बेनिघाट आरुघाट लार्के सडक खुलाउने काममा प्रयोग गरिएको छ ।

१३ कात्तिक, गोरखा । रसुवा बाढीमा जस्तै बूढीगण्डकी बाढी प्रभावित क्षेत्रमा पनि राहत वितरणका लागि ड्रोन प्रयोग भएको छ । बाढीले सडक र पदमार्ग दुवै अवरुद्ध भएपछि ड्रोनको सहायता लिइएको हो ।

राहत वितरणमा कुल चार वटा ड्रोन प्रयोग भएको थियो । ड्रोन उडानका लागि सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट ११ जना प्राविधिक टोली खटिएका थिए । ‘दुई वटा ड्रोनले चुमनुब्री गाउँपालिकाको केन्द्र फिलिमबाट राहत सामाग्री ओसार्‍यो,’ सशस्त्र प्रहरी बल गोरखा गुल्म प्रमुख डिएसपी सुदीप रेग्मीले भने, ‘बाँकी दुई वटाले धार्चे गाउँपालिकाको खोर्लावेशीबाट बोक्यो ।’

खाद्यान्नसँगै टेन्ट, त्रिपाल, औषधी लगायतका राहत सामग्री ड्रोनबाट प्रभावित क्षेत्रमा पुर्‍याइएको उनले जानकारी दिए ।

राहत वितरणका लागि फिलिमबाट ८७ र खोर्लावेशीबाट ६४ पटक ड्रोन उडान गरिएको उनले बताए । उनका अनुसार सडक र पदमार्ग बगाएर आउजाउ नै बन्द भएका स्थानमा ड्रोनमार्फत राहत पुर्‍याएर पीडितहरुलाई वितरण गरिएको हो ।

‘हामीले भिडियो कल वा फोन मार्फत गाइड गरेर ड्रोनबाट पठाएको सामग्री अनलोड गर्न स्थानीयलाई सिकायौँ, त्यसपछि हामीले सामान लोड गरेर पठाउने र उहाँहरुले अनलोड गर्ने गर्नुभयो,’ डिएसपी रेग्मीले भने ।

सडक मर्मतका लागि राखिएका डोजर र एक्स्काभेटरमा आवश्यक इन्धनसमेत ड्रोनमार्फत ढुवानी गरिएको उनले  बताए । करिब ३५ सय लिटर इन्धन ड्रोनमार्फत ढुवानी भएको उनले जानकारी दिए । उनका अनुसार बाढीले अवरुद्ध बेनिघाट आरुघाट लार्के सडक खुलाउने काममा उक्त इन्धन प्रयोग भएको हो ।

विशेष गरी उत्तरी गोरखाको पाङसिङ, जगत, यारुबगर, केरौजा लगायतका स्थानमा राहत वितरणका लागि ड्रोनको प्रयोग गरिएको हो । कात्तिक १ गतेदेखि ३ गतेसम्म ड्रोनमार्फत राहत सामग्री ढुवानीको काम भएको बताइएको छ ।

राहत वितरणमा प्रयोग भएको ड्रोनले ६ किलोमिटरको दुरीसम्म सामान ढुवानी गर्न सक्छ । एकपटकमा ८५ केजीसम्मको तौल बोक्ने क्षमता रहेको बताइएको छ । फिलिममा नेपाली सेनाको हेलिमार्फत ड्रोन लगिएको थियो भने खोर्लावेशीमा सडकमार्गबाट ।

बाढी लगतै राहत तथा उद्धारमा सशस्त्र प्रहरी निरन्तर खटिएको डिएसपी रेग्मीले बताए । ‘पुग्न सक्ने स्थानमा आफैं पुगेर उद्धार तथा राहतमा लाग्यौं, पुग्न नसक्ने स्थानमा ड्रोनको सहायता लियौं,’ उनले भने ।

लेखक
विकास मरहट्टा

मरहट्टा अनलाइनखबरका गोरखा संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?