+
+
Shares
विचार :

अनि मात्रै भन्नेछौं– कांग्रेसमा ‘रेनेसाँ’ भएकै हो

अहिले कांग्रेसमा देखिएको यो ‘रेनेसाँ’ आकस्मिक घटना भने होइन । यसको बलियो जग पोहोर पुसमा भएको ‘दोस्रो विशेष महाधिवेशन’ ले तयार पारेको हो । पार्टी गहिरो संकट र अलमलमा रहेका बेला तत्कालीन महामन्त्रीद्वयको आँट, साहस र आत्मविश्वासका कारण दोस्रो विशेष महाधिवेशन सम्भव भएको थियो ।

सोझो गाउँले सोझो गाउँले
२०८३ कात्तिक १३ गते ११:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसको १५औँ महाधिवेशनले गगनकुमार थापाको नेतृत्वमा नयाँ नीति, युवा सहभागिता र महिला प्रतिनिधित्वसहित नवजागरण ल्याएको लेखमा उल्लेख छ।
  • महाधिवेशनमा ३५ वर्षमुनिका युवाहरू र महिलाको बलियो उपस्थिति देखिएको छ, र इतिहासमै पहिलोपटक कांग्रेसले महिला महामन्त्री पाएको छ।
  • लेखले अबउप्रान्त कांग्रेसका निम्ति सत्ता, सरकार, चुनाव र हारजित गौण हुने र विचार, सिद्धान्त, मूल्य तथा आदर्श प्रधान हुने गगनकुमार थापाको भनाइ उद्धृत गरेको छ।

चौधौँ शताब्दीअघिको युरोप एउटा निष्पट्ट अन्धकारको बन्दी थियो। मानवीय चेतना गिर्जाघरका पर्खालभित्र थुनिएको थियो। यस्तो निस्सासिँदो परिवेशका बीच इटालीको फ्लोरेन्सबाट एउटा क्रान्तिकारी कम्पन पैदा भयो, जसलाई युरोपेली इतिहासमा ‘रेनेसाँ’ अर्थात् पुनर्जागरण भनिन्छ। यो शताब्दीयौँदेखि निदाएको मानवीय विवेकको ब्युँझिँदो सुस्केरा मात्र थिएन; प्राचीन ग्रिस तथा रोमको समृद्ध ज्ञान परम्पराको गौरवशाली पुनरुत्थान पनि थियो। यो बौद्धिक आन्दोलनले युरोपलाई मात्र ब्युँझाएन; संसारभरिका मानिसमा आफ्नो अधिकार र आत्मसम्मानका लागि बोल्न सक्ने एउटा सार्वभौम चेतना जागृत गरायो।

‘रेनेसाँ’ इतिहासको निश्चित कालखण्डमा सीमित घटना मात्र होइन। तत्कालीन युरोपमा जस्तै कुनै पनि समाजमा यस किसिमको पुनर्जागरण हुन सक्छ। जब कुनै समाज वा संस्था आफ्नो मौलिक चरित्र, मूल्य र आदर्शबाट विमुख हुँदै जान्छ, तब त्यसलाई पुनर्जीवन दिन सामान्य सुधारले मात्र हुँदैन; वैचारिक पुनर्जागरणकै आवश्यकता पर्छ।

यही दृष्टिकोणबाट यतिखेर नेपाली कांग्रेसलाई हेर्न सकिन्छ। यस्तै ऐतिहासिक परिघटना अहिले नेपाली कांग्रेसमा देखिएको छ। आफ्नो स्थापनाकालीन छविलाई सम्झाउने गरी यसपटक कांग्रेसमा पुनर्जागरण भएको छ।

राणाकालीन अन्धकार चिर्न नेपाली कांग्रेसको स्थापना भएको थियो। स्थापनाकालीन समयमा नेपाली कांग्रेस पार्टी क्रान्ति र परिवर्तनको संवाहक थियो। यसका संस्थापक नेताहरूले पार्टीलाई मूल्य, सिद्धान्त र आदर्शको जगमा स्थापित गराएका थिए। राणाकालीन अन्धकारमा होस् अथवा पञ्चायतकालीन कालरात्रिमा, यसका नेता–कार्यकर्ताहरूले मूल्य र सिद्धान्तका लागि गरेको सङ्घर्ष, त्याग र बलिदानको इतिहास गौरवमय रहेको छ।

प्रजातन्त्रको पुनर्स्थापनापछि भने त्याग र बलिदानले ओतप्रोत पार्टी सत्ता सञ्चालनको माथापच्चीमा अल्झिन थाल्यो। आदर्शको उदात्त राजनीति क्रमशः सत्ताको खेलमा रूपान्तरित हुँदै गयो। सत्ता प्राप्त गर्नु र त्यसलाई टिकाइराख्नु नै राजनीतिको साध्य बन्न थाल्दा कांग्रेसले आफ्नो मूल्य र सिद्धान्तको धरातल बिर्सिँदै गयो।

सरकार बनाउने र भत्काउने संसदीय अङ्कगणितमा नेताहरू व्यस्त हुँदा उनीहरूले जनताका वास्तविक मुद्दाहरूलाई पर्याप्त ध्यान दिन सकेनन्। पार्टीभित्रको अस्वस्थ प्रतिस्पर्धा र गुटबन्दीको बढ्दो प्रभावले नेपाली कांग्रेसको छवि एउटा क्रान्तिकारी राष्ट्रिय शक्तिबाट सत्ताको खेलमा लिप्त समूहको जस्तो बन्न पुग्यो।

नेपाली कांग्रेसकै नेतृत्वमा २००७ सालको क्रान्ति, २०४६ को जनआन्दोलन, २०६२/६३ को दोस्रो जनआन्दोलन, हतियारबद्ध माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने काम र २०७२ को संविधान निर्माण एवम् सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको स्थापनाजस्ता ऐतिहासिक कार्यहरू सम्पन्न भए। तर, पार्टी नेतृत्व सत्ताको दाउपेचमा केन्द्रित भएका कारण यी महान् ऐतिहासिक योगदानहरूको वास्तविक जस लिनबाट कांग्रेस पार्टी वञ्चित भयो।

इतिहासका यी गौरवशाली उपलब्धिहरूलाई जनतामाझ सही ढङ्गले सम्प्रेषण गर्नुको सट्टा पार्टी नेतृत्व प्रधानमन्त्रीका लागि पालो कुर्ने, मन्त्रालयको बाँडफाँट, टिकट वितरण, आन्तरिक शक्तिसङ्घर्ष र अन्तर्घातमा अल्झिरह्यो। जसको फाइदा विपक्षीहरूले निरन्तर उठाइरहे।

पछिल्लो समय सत्तामोह उत्कर्षमा पुग्यो। कुर्सीमा पुग्न र टिकिरहनका लागि वैचारिक रूपमा विपरीत कम्युनिस्टहरूसँग अप्राकृतिक गठबन्धन गर्ने शृङ्खला चल्यो। निर्वाचन अगाडि र निर्वाचन पछाडि गरिएका अपवित्र सम्झौताहरूले कांग्रेसको सैद्धान्तिक निष्ठामाथि मात्र प्रश्न उठाएन; आम मतदातामा निराशा पनि पैदा गरायो। जसका कारण कांग्रेसको परम्परागत भोट बैङ्क भत्किँदै गयो र जनतासँगको सम्बन्ध टुट्दै गयो।

सत्ताको भागबन्डाका लागि गरिएका गठबन्धनले कांग्रेसलाई एउटा निर्णायक राष्ट्रिय शक्तिबाट सम्झौतापरस्त दलमा सीमित गरिदियो। नीति र एजेन्डाको राजनीति हराउँदै जाँदा कांग्रेसप्रति जनताको आकर्षण घट्दै जान थाल्यो। जनताले कांग्रेसलाई आफ्ना सुखदुःखको सारथीभन्दा पनि सत्ताको लुछाचुँडीमा लिप्त दलका रूपमा हेर्न थाले; जसको परिणाम पछिल्ला निर्वाचनहरूमा कांग्रेसले प्राविधिक रूपमा केही सिट जिते पनि लोकप्रिय मत घट्दै गयो।

पार्टीमा देखिएको यो किसिमको विचलन, अकर्मण्यता र शिथिलतालाई तोड्दै नेपाली कांग्रेसभित्र अहिले स्थापना कालको जस्तै ऊर्जा, उत्साह र स्पष्टता देखिएको छ। नीति, नेतृत्व र सङ्गठनको तहमा पार्टीमा नवजागरण आएको छ। भर्खरै सम्पन्न १५औँ महाधिवेशनले त्यो नवजागरण ल्याएको छ। यो महाधिवेशन नेपाली कांग्रेसको इतिहासमा एउटा कोसेढुङ्गा बनेको छ। यसले कांग्रेसको रूढिवादी ढर्रालाई बदलिदिएको छ। स्वस्थ लोकतान्त्रिक प्रक्रियाबाट निकै समावेशी, योग्य र युवा नेतृत्व चयन गरेर पार्टीले नयाँ कीर्तिमान कायम गरेको छ।

विगतका महाधिवेशनहरूमा सभापति, पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्मकै प्यानल बनाएर चुनाव लड्ने एउटा घातक र अस्वस्थ परम्परा थियो। यसले पार्टीलाई भावनात्मक रूपमा विभाजित गर्थ्यो र अधिवेशन सकिएपछि गुटबन्दीको खाडल गहिरो हुँदै जान्थ्यो। तर, १५औँ महाधिवेशनमा त्यो विकृति पूर्ण रूपमा तोडिएको छ।

स्थापना कालको जस्तो झल्को दिने ऊर्जावान् युवाहरू नेतृत्वमा आएका छन्। नेतृत्वमा ऊर्जावान् युवाहरूको उल्लेख्य उपस्थितिले पार्टीमा नयाँ रक्तसञ्चार गराएको छ। यसपटक कांग्रेसले ‘बुढाहरूको पार्टी’ भनेर लगाइने आरोपलाई निस्तेज गरिदिएको छ। पार्टी सभापतिदेखि बहुसङ्ख्यक पदाधिकारी एवम् केन्द्रीय सदस्यको टोली युवा ऊर्जाले भरिएको छ।

‘जेनजी’ आन्दोलनको भावना, आक्रोश र आकाङ्क्षाको कांग्रेसले गम्भीरतापूर्वक कदर गरेको छ। ३५ वर्षमुनिका युवाहरूलाई केन्द्रीय समितिमा समेटेर कांग्रेसले आफूलाई समयको बहावसँगै हिँड्न सक्ने गतिशील पार्टीका रूपमा उभ्याएको छ।

यस महाधिवेशनको अर्को उल्लेखनीय पक्ष भनेको महिला नेतृत्व शीर्ष तहमै स्थापित गरिनु हो। इतिहासमै पहिलोपटक नेपाली कांग्रेसले महिला महामन्त्री पाएको छ। केन्द्रीय कार्यसमितिमा महिलाको बलियो उपस्थिति सुनिश्चित भएको छ। पार्टीभित्र महिलाहरूको क्षमता, योग्यता र योगदानलाई कदर गर्दै उनीहरूको नीतिगत नेतृत्व स्वीकार गरिएको छ।

१५औँ महाधिवेशनले नेपालको सामाजिक विविधताको प्रतिरूप पार्टीको केन्द्रीय समितिमा उतारेको छ। आदिवासी/जनजाति, दलित, मधेसी, मुस्लिम, थारु, अल्पसङ्ख्यक, पिछडिएको क्षेत्रका तथा अपाङ्गता भएका नागरिकहरूको सम्मानजनक प्रतिनिधित्व शीर्ष तहमै सुनिश्चित गरिएको छ। विगतमा कोटा प्रणालीमा सीमित यस किसिमको प्रतिनिधित्व यसपटक नीतिनिर्माणको मूलधारमै जोडिएको छ। यसले कांग्रेस साँच्चिकै समाजका सबै वर्ग र समुदायको साझा चौतारी हो भन्ने तथ्यलाई व्यवहारमा प्रमाणित गरेको छ।

विगतका महाधिवेशनहरूमा सभापति, पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्मकै प्यानल बनाएर चुनाव लड्ने एउटा घातक र अस्वस्थ परम्परा थियो। यसले पार्टीलाई भावनात्मक रूपमा विभाजित गर्थ्यो र अधिवेशन सकिएपछि गुटबन्दीको खाडल गहिरो हुँदै जान्थ्यो। तर, १५औँ महाधिवेशनमा त्यो विकृति पूर्ण रूपमा तोडिएको छ।

यसपटक कुनै संस्थागत प्यानल बनेनन्; नेताहरू आ–आफ्नो व्यक्तिगत योग्यता, एजेन्डा र लोकप्रियताका आधारमा स्वतन्त्र ढङ्गले निर्वाचनको मैदानमा उत्रिए। महाधिवेशन प्रतिनिधिहरूले आ–आफ्नो विवेकको प्रयोग गरेर आफूले इच्छाएका पात्रहरूलाई छाने। यस किसिमको प्यानलमुक्त निर्वाचनले कांग्रेसभित्रको आन्तरिक लोकतन्त्रलाई परिपक्व मात्र बनाएको छैन; पार्टीभित्रको गुटबन्दीको राजनीतिलाई पनि भत्काएको छ।

अहिले नेपाली कांग्रेसमा देखिएको यो ‘रेनेसाँ’ आकस्मिक घटना भने होइन। यसको बलियो जग पोहोर पुसमा भएको ‘दोस्रो विशेष महाधिवेशन’ ले तयार पारेको हो। पार्टी गहिरो सङ्कट र अलमलमा रहेका बेला तत्कालीन महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको आँट, साहस र आत्मविश्वासका कारण दोस्रो विशेष महाधिवेशन सम्भव भएको थियो।

तत्कालीन नेतृत्वको अकर्मण्यता, पुरातन शैली र यथास्थितिवादका विरुद्ध महामन्त्रीद्वयले लिएको वैचारिक अडानले आम कार्यकर्तामा नयाँ आशा जगाएको थियो। विशेष महाधिवेशनका क्रममा भएका छलफल, बहस र वादविवादले पार्टीलाई बदल्ने सङ्कल्प गरेको थियो। त्यही सङ्कल्पकै जगमा टेकेर १५औँ महाधिवेशनले नयाँ नीति र नेतृत्व चयनको उचाइ लिन सकेको हो। तत्कालीन महामन्त्रीद्वयको त्यो साहस नै कांग्रेसलाई पुनर्जागरणको यो गौरवशाली मोडसम्म ल्याइपुर्‍याउने मुख्य इन्जिन साबित भयो।

नेपाली कांग्रेसको इतिहास हेर्दा बीपी कोइराला कुनै पद वा सत्ताका कारण स्थापित भएका नेता थिएनन्। उनी आफ्नो स्पष्ट नीति, क्रान्तिकारी विचार र जोखिमपूर्ण विद्रोहका कारण नेपाली राजनीतिको युगपुरुष बनेका हुन्। ठीक त्यसैगरी, आजको समयमा गगन थापा पनि आफ्नो स्पष्ट विचार, समयानुकूल एजेन्डा र विद्रोहका कारण स्थापित भएका छन्।

बीपीको जुन किसिमको विद्रोही स्वभाव, बौद्धिक उचाइ र वैचारिक स्पष्टता थियो, त्यस्तै किसिमको विद्रोही स्वभाव, बौद्धिक उचाइ र वैचारिक स्पष्टता आज गगन थापामा भेटिन्छ। उनका तथ्यपरक र तार्किक प्रस्तुतिहरूले संसद् र सडक दुवैमा एउटा मानक स्थापित गरेका छन्। विषयको गहिराइमा पुगेर समस्या पहिचान गर्न सक्ने र समाधान पहिल्याउन सक्ने क्षमताले नेपाली राजनीतिमा उनलाई विशिष्ट बनाएको छ। आफ्ना एजेन्डालाई सैद्धान्तिक रूपमा प्रस्तुत गर्न सक्ने र व्यावहारिक रूपमा कार्यान्वयनमा लैजान सक्ने नेता भएकाले गगन थापा बीपीको सच्चा उत्तराधिकारी र कांग्रेस पुनर्जागरणको मुख्य संवाहक हुन् भन्ने कुरा पुष्टि हुन्छ।

‘अबउप्रान्त नेपाली कांग्रेसका निम्ति सत्ता, सरकार, चुनाव र हारजित जस्ता कुरा गौण र विचार, सिद्धान्त, मूल्य र आदर्श प्रधान हुनेछन्’ भनेर उनले बताएका छन्। यसमा उनी अडिन सके र यही नीतिमा पार्टीलाई टिकाउन सके भने मात्र कांग्रेस बदलिएको अर्थात् नेपाली कांग्रेसमा ‘रेनेसाँ’ भएको ठहरिनेछ।

स्थापनाकालीन आदर्श र मूल्यको संवर्द्धन गर्दै नेपाली कांग्रेसले आफ्नो नीति र सिद्धान्तलाई समयानुकूल परिमार्जन गर्नुपर्ने देखिन्छ। बीपीले २०१२ सालको ऐतिहासिक वीरगन्ज महाधिवेशनमार्फत अगाडि सारेको ‘प्रजातान्त्रिक समाजवाद’ को मर्म आज पनि सान्दर्भिक छ, तर यसको स्वरूप र व्याख्यामा युग सुहाउँदो परिवर्तन आवश्यक छ।

आजको भूमण्डलीकृत र प्रविधिमैत्री विश्वमा बीपीको समाजवादलाई ‘सामाजिक लोकतन्त्र’ को आधुनिक ढाँचामा बदल्नुपर्ने देखिन्छ। अर्थबजारको उत्पादकत्वलाई स्वीकार गर्दै शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा र वातावरणीय न्यायजस्ता आधारभूत क्षेत्रमा राज्यको बलियो र कल्याणकारी भूमिका सुनिश्चित गर्नुपर्छ। बदलिँदो विश्वव्यापी परिदृश्य र राष्ट्रिय आवश्यकतालाई ध्यानमा राख्दै कांग्रेसले देशलाई नयाँ, प्रगतिशील र वैज्ञानिक आर्थिक–सामाजिक दिशा प्रदान गर्न सक्नुपर्छ।

सभापति थापाले आफ्नो वैचारिकीलाई मूर्त रूप दिन ‘समुन्नत नेपाल : सम्मानित नेपाली’ को मार्गचित्र अगाडि सारेका छन्। यो एउटा आकर्षक चुनावी नारा मात्र होइन; यो नेपाललाई समुन्नत र नेपालीलाई आत्मसम्मानयुक्त बनाउने बृहत् राष्ट्रिय सङ्कल्प हो। यसको मर्म भनेको आर्थिक वृद्धि मात्र होइन; आर्थिक वृद्धिसँगै प्रत्येक नागरिकको जीवनस्तरमा सुधार, गुणस्तरीय शिक्षा र स्वास्थ्यमा समतामूलक पहुँच, व्यक्तित्व विकास र रोजगारीको समतामूलक अवसर, विधिको शासन तथा आत्मसम्मानको सुनिश्चितता हो।

नेपाली कांग्रेसका नेता–कार्यकर्ताहरूले यो राष्ट्रिय सङ्कल्पको कार्यसूचीलाई सरल, स्पष्ट र व्यावहारिक भाषामा आम नागरिकको घरदैलोमा पुर्‍याउनुपर्छ। कांग्रेससँग गौरवशाली इतिहास मात्र छैन; नेपाललाई २१औँ शताब्दीको समुन्नत राष्ट्र बनाउने स्पष्ट नीति, सक्षम नेतृत्व र दृढ सङ्कल्प पनि छ भन्ने विश्वास नागरिकलाई दिलाउन सक्नुपर्छ। यो कुरा मानिसहरूलाई ठीक ढङ्गले बुझाउन सकियो भने मात्र नेपाली कांग्रेसको ‘रेनेसाँ’ ले पूर्णता पाउनेछ।

नेपाली कांग्रेस मूलतः अरूका कारण कमजोर भएको पार्टी होइन। आफूभित्रैको अस्वस्थ प्रतिस्पर्धा, गुटगत स्वार्थ र सत्तामोहका कारण कमजोर हुँदै गएको हो। नेताहरूले पार्टीलाई बलियो बनाउनभन्दा आफू र आफ्नो गुटलाई बलियो बनाउन आफ्नो सम्पूर्ण ऊर्जा खर्च गर्ने गरेका कारण पार्टी कमजोर भएको हो। अब यो किसिमको आत्मघाती प्रवृत्ति पूर्ण रूपमा रोकिनुपर्छ। नेताहरूले गुट निर्माणमा खर्च गर्ने गरेको त्यो ऊर्जा अब कांग्रेसलाई बलियो बनाउन लगाउनुपर्छ।

नयाँ नेतृत्वले गुटबन्दीलाई निरुत्साहित गर्दै निष्पक्ष रूपमा काम गर्ने स्वस्थ वातावरण सिर्जना गर्नुपर्छ। नवनिर्वाचित सभापति गगनकुमार थापाले नेपाली कांग्रेसलाई एउटा राजनीतिक दलका रूपमा मात्र नभएर राष्ट्रिय शक्तिका रूपमा परिभाषित गरेका छन्। ‘अबउप्रान्त नेपाली कांग्रेसका निम्ति सत्ता, सरकार, चुनाव र हारजित जस्ता कुरा गौण र विचार, सिद्धान्त, मूल्य र आदर्श प्रधान हुनेछन्’ भनेर उनले बताएका छन्। यसमा उनी अडिन सके र यही नीतिमा पार्टीलाई टिकाउन सके भने मात्र कांग्रेस बदलिएको अर्थात् नेपाली कांग्रेसमा ‘रेनेसाँ’ भएको ठहरिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?