+
+
Shares

कम्पनीको कर तथा जरिबाना मिनाहा म्याद पुस मसान्तसम्म थप

व्यवसाय सञ्चालन क्रममा विभिन्न कारण कम्पनीको विवरण अद्यावधिक गर्न नसकेका तथा समयमै कानुनी प्रक्रिया पूरा गर्न नसकेका व्यवसायीले यो अवसरबाट लाभ लिन सक्नेछन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १३ गते १३:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले कम्पनी दर्ता नवीकरण र विवरण अद्यावधिक नगरेका कम्पनीलाई लाग्ने कर, दस्तुर र जरिबाना मिनाहा गर्ने म्याद २०८३ पुस मसान्तसम्म थपेको छ ।
  • उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले व्यवसायीहरूको अनुरोध र समस्या मध्यनजर गर्दै ९ कात्तिकको निर्णयअनुसार म्याद बढाएको हो ।
  • तोकिएको अवधिभित्र विवरण पेस गरे अघिल्ला वर्षहरूको कर, शुल्क, दस्तुर, ब्याज र जरिबाना पूर्णरूपमा मिनाहा हुनेछ ।

१३ कात्तिक, काठमाडौं । सरकारले कम्पनी दर्ता नवीकरण र विवरण अद्यावधिक नगरेका कम्पनीलाई लाग्ने कर, दस्तुर तथा जरिबाना मिनाहा गर्ने म्याद आगामी पुस मसान्तसम्म थपेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले व्यवसायीहरूको अनुरोध तथा उद्योगी–व्यवसायीले भोगेका समस्या मध्यनजर गर्दै यस्तो छुटको म्याद लम्ब्याएको बताएको छ ।

यसअघि यस्तो छुट सुविधा लिने अन्तिम म्याद २०८३ असोज मसान्तसम्म मात्र थियो । तर, ९ कात्तिकमा भएको निर्णय अनुसार उक्त म्याद बढाएर २०८३ पुस मसान्तसम्म कायम गरिएको छ ।

मन्त्रालयका अनुसार कम्पनी ऐन २०६३ बमोजिम दर्ता भई कानुन बमोजिम समयमै विवरण पेस नगरेका, नवीकरण नगरेका वा दाखिल गर्नुपर्ने कर, शुल्क, दस्तुर, ब्याज तथा जरिबाना तिर्न बाँकी रहेका कम्पनीलाई लक्षित गरी यो व्यवस्था गरिएको हो ।

यो व्यवस्था अनुसार त्यस्ता कम्पनीले आफ्नो कारोबार नियमित राख्न वा दर्ता खारेज (बन्द) गर्न चाहे आर्थिक वर्ष २०८२/८३ का लागि कानुन बमोजिम लाग्ने नियमित कर, शुल्क, दस्तुर तथा विवरण आउँदो पुस मसान्तभित्र पेस गर्नुपर्ने छ ।

तोकिएको अवधिभित्र विवरण पेस गरे त्यसभन्दा अघिका वर्षहरूमा लागेको वा लाग्ने सम्पूर्ण कर, शुल्क, दस्तुर, ब्याज तथा जरिबाना पूर्णरूपमा मिनाहा हुनेछ ।

व्यवसाय सञ्चालन क्रममा विभिन्न कारण कम्पनीको विवरण अद्यावधिक गर्न नसकेका तथा समयमै कानुनी प्रक्रिया पूरा गर्न नसकेका व्यवसायीले यो अवसरबाट लाभ लिन सक्नेछन् ।

सरकारको यस कदमले लामो समयदेखि विवरण पेस गर्न नसकेका कम्पनीलाई पुन: कानुनी दायरामा आउन, अभिलेख अद्यावधिक गर्न तथा व्यवसाय सञ्चालन सहज बनाउन महत्त्वपूर्ण सहयोग पुग्ने अपेक्षा छ ।

सम्बन्धित निकायले तोकिएको समयसीमा (पुस मसान्त) भित्रै आवश्यक विवरण पेस गरी यस विशेष छुट व्यवस्थाको लाभ लिन सम्पूर्ण व्यवसायीलाई आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?