२५ असार, काठमाडौं । नेपाली उद्यमी दीपजंग थापा सहसंस्थापक रहेको भारतीय साइबर सुरक्षा कम्पनी क्रतिकल टेक लिमिटेडको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) मुम्बई स्टक एक्स्चेन्ज (बीएसई) मा सूचीकृत भएको छ ।
भारतको सेयर बजारमा सूचीकृत हुने नेपाली संस्थापकको यो पहिलो कम्पनी हो । खोटाङका स्थायीवासिन्दा थापा कम्पनीका सहसंस्थापक तथा प्रमुख सञ्चालन अधिकृत (सीओओ) हुन् ।
उनको कम्पनी क्रतिकलको सेयरमा माग गरेभन्दा २ सय ५ गुणा बढी आवेदन परेको थियो । भारतको नोएडास्थित मुख्यालय रहेको आर्टिफिसियल इन्टिलिजेन्स (एआई) मा आधारित साइबर सुरक्षा कम्पनीको आईपीओ असार १६ मा खुलेर १८ मा बन्द भएको थियो ।
कम्पनी बीएसईको एसएमई प्ल्याटफर्म अन्तर्गत सूचीकृत भएको हो । कम्पनीले भारतीय पूँजीबजारमा उल्लेखनीय प्रतिक्रिया पाएको जनाएको छ ।
सन् २०१३ मा मोतीलाल नेहरु राष्ट्रिय प्रविधि संस्थान (एमएनएनआईटी) अलाहावादमा बीटेक अध्ययनकै क्रममा दीपजंग थापा, पवन कुमार र परतोष कुमारले यो कम्पनी स्थापना गरेका थिए ।
सन् २०१५ मा उनीहरू इन्जिनियरिङ उत्तीर्ण भए । २०१७ मा कम्पनीमा पहिलो चरणको लगानी जुटाएपछि भने पूर्णरूपमा कम्पनीमा लागेको थापाले अनलाइनखबरलाई बताए । थापा केही समय पेटीएममा प्रडक्ट म्यानेजरका रूपमा कार्यरत थिए ।
कम्पनीले हाल एआईमा आधारित साइबर सुरक्षा समाधान उपलब्ध गराउँदै आएको छ । आईपीओ सफल भएपछि थापाले खोटाङको गाउँदेखि बीएसईसम्मको यात्रा आफ्ना लागि सपना जस्तै भएको प्रतिक्रिया दिए ।
लगानीकर्ताबाट प्राप्त विश्वासले कम्पनीको सोच र यात्रालाई थप ऊर्जा दिएको भन्दै उनले अब नयाँ पूँजीमार्फत विश्वव्यापी विस्तार, नयाँ प्रविधि विकास र सीमापार साइबर सुरक्षा समाधान थप सुदृढ बनाइने बताए ।
यो आईपीओ आफूहरूको महत्त्वाकांक्षी यात्राको सुुरुवात मात्रै भएको उनले बताए ।
कम्पनीको स्थापना पनि रोचक घटनाबाट भएको थियो । सहसंस्थापकमध्ये एक जनाको इमेल क्याम्पसको साझा कम्प्युटरबाट ह्याक भएपछि साइबर सुरक्षाको आवश्यकता महसुस गर्दै तीन साथीले कम्पनी स्थापना गरेका थिए ।
त्यसयता कम्पनीले एआई–सञ्चालित सफ्टवेयर–एज–ए–सर्भिस (सास) प्ल्याटफर्म, साइबर सुरक्षा परामर्श तथा नियामकीय कम्प्लायन्स सेवा उपलब्ध गराउँदै आएको छ ।
कम्पनीका ग्राहक भारत सहित मध्यपूर्वका बैंकिङ तथा वित्तीय सेवा, फिनटेक, टेलिकम, सूचना प्रविधि, स्वास्थ्य, औषधि, ई–कमर्स र उत्पादनमूलक क्षेत्रसम्मका छन् । करिब नौ वर्षअघि चार जना एन्जल इन्भेस्टरबाट प्रारम्भिक लगानी जुटाएको कम्पनीको हालको मूल्य करिब ३ अर्ब २३ करोड नेपाली रुपैयाँ बराबर पुगेको कम्पनीले जनाएको छ ।
आईपीओबाट उठेको रकम अमेरिका, मध्यपूर्व लगायत अन्तर्राष्ट्रिय बजारमा व्यवसाय विस्तारका लागि उपयोग गरिने कम्पनीले जनाएको छ ।
नेपालमा पनि आफ्नो उपस्थिति विस्तार गर्ने क्रममा क्रतिकल टेकले काठमाडौंस्थित प्रविधि कम्पनी ग्याप टेक्नोलोजिजसँग साझेदारी गरिसकेको छ ।
प्रतिक्रिया 4