अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्राजिलमा भएको निर्वाचनलाई लज्जास्पद र ब्राजिलका जनताका लागि अपमानजनक भएको टिप्पणी गरेका छन् ।
वासिङ्टनमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले आफूले निर्वाचनमा कसैको पक्ष नलिएको, तर ब्राजिलमा भएका घटनाक्रम देख्दा त्यसलाई शब्दमा वर्णन गर्न कठिन भएको बताएका हुन् ।
भर्खरै सम्पन्न ब्राजिलको निर्वाचनमा वामपन्थी नेता लुइज इनासियो लुला दा सिल्भाले शानदार पुनरागमन गर्दै राष्ट्रपति निर्वाचनमा जित हासिल गरेका थिए । योसँगै वर्कर्स पार्टीबाट प्रतिनिधित्व गर्ने ८० वर्षीय नेता लुलालाई चौथोपटक राष्ट्रपति बन्ने अवसर प्राप्त भएको छ ।
उनले कट्टर दक्षिणपन्थी प्रतिस्पर्धी तथा लिबरल पार्टीका नेता फ्लाभियो बोल्सोनारोलाई झिनो मतान्तरले पराजित गरेका हुन् ।
लगभग सबै मतगणना सम्पन्न हुँदा आइतबार ल्याटिन अमेरिकाको सबैभन्दा ठूलो लोकतान्त्रिक मुलुक ब्राजिलमा भएको निर्वाचनको दोस्रो चरणमा लुलाले ५१.७६ प्रतिशत मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी तथा जेलमा रहेका पूर्वराष्ट्रपति जायर बोल्सोनारोका छोरा फ्लाभियो बोल्सोनारोले ४८.२४ प्रतिशत मत पाएका छन् ।
लुलाको जित विभिन्न निर्वाचनपूर्व सर्वेक्षणको अनुमानविपरीत आएको हो। ती सर्वेक्षणमा बोल्सोनारोलाई झिनो अग्रता दिइएको थियो ।
यसै महिनाको सुरुवातमा भएको पहिलो चरणको मतदानमा ४५ वर्षीय सिनेटर फ्लाभियो बोल्सोनारोले करिब दुई प्रतिशत विन्दुको अग्रता लिएका थिए ।
प्रतिक्रिया 4