News Summary
Generated by OK AI. Editorially reviewed.- अर्घाखाँचीमा पहिलोपटक सवारी दर्ता किताब नवीकरण सेवा सुरु भएपछि मोटरसाइकलदेखि ठूला सवारीसम्मको नवीकरण जिल्लामै गर्न सकिने भएको छ।
- मुख्यमन्त्री चेतनारायण आचार्यले घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीमा सेवा शुभारम्भ गरी नवीकरण गरिएका सवारी दर्ता किताब सेवाग्राहीलाई हस्तान्तरण गरे।
- सेवा सुरु भएपछि बुटवल जानुपर्ने बाध्यता हटेको र समय तथा खर्च बचत हुने प्रदेश सरकारले जनाएको छ।
१३ कात्तिक, अर्घाखाँची । सवारी साधनको राजस्व बुझाउन र ब्लुबुक नवीकरण गर्न बुटवल जानुपर्ने अर्घाखाँचीवासीको बाध्यता अन्त्य भएको छ । जिल्लामै पहिलोपटक सवारी दर्ता किताब (ब्लुबुक) नवीकरण सेवा सुरु भएपछि मोटरसाइकलदेखि ठूला सवारी साधनसम्मको नवीकरण अब अर्घाखाँचीबाटै गर्न सकिने भएको छ ।
मुख्यमन्त्री चेतनारायण आचार्यले घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीमा आयोजित कार्यक्रममा सेवाको शुभारम्भ गरे । सो अवसरमा उनले नवीकरण गरिएका सवारी दर्ता किताब सेवाग्राहीलाई हस्तान्तरण गरेका थिए ।
लामो समयदेखि जिल्लावासीले अपेक्षा गर्दै आएको सेवा प्रदेश सरकारले जिल्लामै उपलब्ध गराउन सफल भएको मुख्यमन्त्री आचार्यले बताए । जिल्लाबाटै सेवा सञ्चालन हुनु अर्घाखाँचीवासीका लागि खुसी र गौरवको विषय भएको उनको भनाइ थियो । ‘आज अर्घाखाँची जिल्ला र यहाँ बसोवास गर्ने नागरिकहरुकोलागि खुसी र गौरवको क्षण हो’उनले भने,‘यातायात क्षेत्रको सेवा थपिएको छ । यसलाई विस्तार गर्दै लैजाने प्रदेश सरकारको योजना छ ।’
सेवा सुरु भएसँगै सवारी साधनको नवीकरण र राजस्व बुझाउन बुटवल पुग्नुपर्ने बाध्यता हटेको भन्दै मुख्यमन्त्री आचार्यले यातायात क्षेत्रका अन्य सेवा पनि क्रमशः जिल्लामै विस्तार गर्ने योजना रहेको बताए । आवश्यक प्रक्रिया पूरा गरेर सवारी साधनको जाँचपाससम्बन्धी सेवा पनि अर्घाखाँचीबाटै उपलब्ध गराउने तयारी भइरहेको उनले जानकारी दिए ।
मुख्यमन्त्री आचार्यले सेवा प्रवाहलाई प्रभावकारी, व्यवस्थित र गुनासोरहित बनाउन कर्मचारी तथा सम्बन्धित व्यवसायीलाई निर्देशनसमेत दिए । घरेलु तथा साना उद्योग कार्यालयको जिम्मेवारी थपिएको उल्लेख गर्दै उनले सेवाग्राहीले कुनै पनि प्रकारको सास्ती र असुविधा भोग्न नपर्ने गरी काम गर्न आग्रह गरे ।
यातायात क्षेत्रको सेवा प्रवाहमा सेवाग्राहीबाट विभिन्न गुनासा आउने गरेको उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले त्यस्ता गुनासा नआउने गरी जिम्मेवारीपूर्वक सेवा दिनुपर्ने बताए । व्यवसायी तथा कर्मचारीले उच्च मनोबलका साथ नागरिकलाई सहज र गुणस्तरीय सेवा उपलब्ध गराउनुपर्ने उनको भनाइ थियो ।
जिल्लामै सवारी दर्ता किताब नवीकरण सेवा सुरु भएपछि सेवाग्राहीको समय र खर्च बचत हुनुका साथै सामान्य कामका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता हटेको छ । प्रदेश सरकारले आगामी दिनमा यातायात क्षेत्रका थप सेवा जिल्लास्तरबाटै उपलब्ध गराउने तयारी गरेको जनाएको छ ।
प्रतिक्रिया 4