News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंमा सम्पन्न ‘नेपाल अनबाउन्ड : नेपाली बिजनेस बियोन्ड बोर्डर्स’ सम्मेलनले नेपाली उद्यमशीलता, लगानी र व्यवसायलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने विषयमा छलफल गर्यो।
- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार शाहले स्वदेशी उत्पादन वृद्धि र आयात प्रतिस्थापनमार्फत आर्थिक सुदृढीकरणमा सबै पक्ष एकजुट हुनुपर्ने बताए।
- फिनेले आगामी मध्यपूर्व क्षेत्रीय सम्मेलन २०२७ अप्रिल १७ मा दुबईमा गर्ने घोषणा गर्दै नेपाली उद्यमीलाई विश्वव्यापी व्यावसायिक सञ्जालसँग जोड्ने योजना सार्वजनिक गर्यो।
१३ कात्तिक, काठमाडौं । नेपाली उद्यमशीलता, लगानी र व्यवसायलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने उद्देश्यसहित ‘नेपाल अनबाउन्ड : नेपाली बिजनेस बियोन्ड बोर्डर्स’ सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ ।
अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासङ्घ (फिने)को आयोजनामा काठमाडौंको मेरियट होटलमा सम्पन्न सम्मेलनमा सरकारी अधिकारी, उद्योगी, व्यवसायी, बैंकिङ क्षेत्रका प्रतिनिधि, उद्यमी तथा विभिन्न क्षेत्रका विज्ञहरूको सहभागिता थियो ।
सम्मेलनमा नेपालको डिजिटल अर्थतन्त्र, विश्व बजारमा नेपाली व्यवसायको सम्भावना, वैदेशिक लगानी, उद्यमशीलता र अन्तर्राष्ट्रिय व्यावसायिक सञ्जाल विस्तारलगायतका विषयमा छलफल गरिएको थियो ।
नेपाली उद्यमी तथा व्यवसायीलाई देशको सीमाभन्दा बाहिर पुगेर आफ्नो व्यवसाय विस्तार गर्न प्रोत्साहित गर्नु सम्मेलनको मुख्य उद्देश्य रहेको फिनेका आईइसी अध्यक्ष गोकर्ण ढकालले बताए ।
कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार शाहले देशको आर्थिक विकास र समृद्धिका लागि सबै पक्ष एकजुट भएर अघि बढ्नुपर्ने बताए । उनले नेपालमा आयात भइरहेका वस्तुहरूको पहिचान गरी ती वस्तु स्वदेशमै उत्पादन गर्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए ।
स्वदेशी उत्पादन वृद्धि र आयात प्रतिस्थापनले राष्ट्रिय अर्थतन्त्रलाई सुदृढ बनाउन महत्त्वपूर्ण योगदान पुर्याउने उनको भनाइ थियो ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गुनाखर भट्टले युवा उद्यमी तथा व्यवसायीको लगानीको दायरा विस्तार गर्नुपर्ने बताए । उनले नेपालमा वैदेशिक लगानी भिर्त्याउन आवश्यक पहल गर्नुपर्ने उल्लेख गर्दै लगानीका अवसर र प्रतिफलबारे अन्तर्राष्ट्रिय लगानीकर्तालाई जानकारी गराउनुपर्नेमा जोड दिए ।
त्यसैगरी, नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले कार्यक्रममा आफ्नो धारणा राखे। सार्क उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चण्डीराज ढकालले कार्यक्रमलाई सान्दर्भिक बताउँदै सीमापार व्यावसायिक सम्बन्ध र लगानी सहकार्य विस्तारका लागि यस्ता पहल महत्त्वपूर्ण हुने धारणा व्यक्त गरे ।
फिनेका महासचिव दिपेन घलेले संयोजन तथा संचालन गरेको कार्यक्रममा संस्थाका सचिव धर्म अधिकारीले स्वागत मन्तव्य राखेका थिए ।
सम्मेलनको मुख्य सम्बोधन अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का नेपालका आवासीय प्रतिनिधि प्रणव गुप्ताले गरेका थिए । उनले नेपालको आर्थिक अवस्था, आर्थिक सुधार तथा सम्भावित अवसरका विषयमा आफ्नो धारणा प्रस्तुत गरेका थिए ।
कार्यक्रमको पहिलो प्यानल छलफल ‘नेपालको डिजिटल अर्थतन्त्र : फड्को, रूपान्तरण वा पछि पर्ने जोखिम?’ शीर्षकमा भएको थियो । काठमाडौं फिन्टेकका संस्थापक सञ्जीव सुब्बाको सहजीकरणमा भएको छलफलमा इन्स्टिच्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिज (आईआईडीएस) का डा. बिश्वास गौचन, नेपाल उद्योग परिसंघ (सीएनआई) का वीरेन्द्र पाण्डे र नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेल सहभागी थिए ।
छलफलमा डिजिटल पूर्वाधार, प्रविधि, नवप्रवर्तन, लगानी र नीतिगत सुधारमार्फत नेपालको अर्थतन्त्रलाई कसरी रूपान्तरण गर्न सकिन्छ भन्ने विषयमा बहस भएको थियो ।
डिजिटल अर्थतन्त्रको विकासबाट उत्पादकत्व वृद्धि, रोजगारी सिर्जना र अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न सकिने सम्भावनाका साथै समावेशी डिजिटल अर्थतन्त्र निर्माणका चुनौतीबारे पनि छलफल गरिएको थियो ।
त्यसैगरी, फिनेका हङकङ र अस्ट्रेलियामा आयोजित ’आई–यस’ कार्यक्रमका प्रतिनिधिहरूले पनि आफ्नो अनुभव आदानप्रदान गरेका थिए । उनीहरूले अन्तर्राष्ट्रिय युवा उद्यमशीलता सम्मेलन आयोजना गर्दा प्राप्त अनुभव, उपलब्धि र सिकाइबारे जानकारी गराएका थिए ।
कार्यक्रममा फिनेको आगामी मध्यपूर्व क्षेत्रीय सम्मेलन दुबईमा आयोजना गर्ने घोषणा पनि गरिएको थियो । नेपाली र नेपाललाई विश्वमाझ पुर्याउने मूल भावनासहित आयोजना हुन लागेको उक्त सम्मेलन सन् २०२७ अप्रिल १७ मा दुबईमा हुनेछ ।
फिनेका मध्यपूर्व क्षेत्रीय अध्यक्ष मनोज मरहट्टाले सम्मेलनको घोषणा गर्दै नेपाल र नेपाली उद्यमीलाई विश्वव्यापी व्यावसायिक सञ्जालसँग जोड्ने योजनाबारे जानकारी गराएका थिए । उक्त सम्मेलनमा नेपालसहित विश्वका विभिन्न मुलुकका उद्यमी तथा व्यवसायीलाई सहभागी गराउने लक्ष्य राखिएको छ ।
सम्मेलनको दोस्रो प्यानल छलफल ‘विश्व बजारदेखि आफ्नै भूमिसम्म : नेपालको आगामी व्यावसायिक अवसरको खोजी’ विषयमा केन्द्रित थियो । फिने आईइसीका वरिष्ठ उपाध्यक्ष शमिम अनवरको सहजीकरणमा भएको छलफलमा सिमजुङ कम्पनीकी अध्यक्ष कर्विका थापा, निम्बस नेपालका प्रबन्ध निर्देशक आनन्द बगरिया र आध्यन्ता फन्ड म्यानेजमेन्टका संस्थापक मनोज पौडेल प्यानलिस्ट थिए ।
उक्त छलफलमा अन्तर्राष्ट्रिय बजारको अनुभव, सीप, लगानी र व्यावसायिक सञ्जाललाई नेपालको आर्थिक विकासमा कसरी उपयोग गर्न सकिन्छ भन्ने विषयमा विचार आदानप्रदान भएको थियो। नेपालमा लगानीका सम्भावना बोकेका क्षेत्र, व्यावसायिक चुनौती, साझेदारीको आवश्यकता र उद्यमशीलता प्रवर्द्धनका लागि आवश्यक नीतिगत वातावरणबारे पनि छलफल गरिएको थियो ।
कार्यक्रममा टाइटल स्पोन्सर लेजेन्ड्स प्रोपर्टीको भिडियो प्रस्तुति पनि देखाइएको थियो ।
प्रतिक्रिया 4