१४ कात्तिक, डोल्पा । भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्डमा पर्ने डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ खदाङस्थित पुल निर्माणमा विवाद देखिएको छ। २०७८ सालमा ठेक्का सम्झौता भएको पुलको निर्माण कार्य सम्झौताअनुसारको समयसीमा सकिँदासमेत सुरु हुन सकेको छैन।
पुल निर्माणमा देखिएको विवाद समाधानका लागि मंगलबार जिल्ला प्रशासन कार्यालय डोल्पाकी प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालको नेतृत्वमा पुल सेक्टरका प्रमुख तथा इन्जिनियर, निर्माण व्यवसायी, भेरी करिडोरका प्रतिनिधि र स्थानीयबीच छलफल भएको थियो।
छलफलका क्रममा स्थानीयले आफूहरूको मागविपरीत र झुक्याएर पुलको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिएको आरोप लगाए। सुरुमा हाइड्रोपावरका लागि डीपीआर तयार गरिने भन्दै आफूहरूलाई झुक्याइएको र डीपीआर बनाउने क्रममा केही स्थानीयको हस्ताक्षरसमेत नलिइएको उनीहरूको भनाइ छ।
स्थानीयले आफूहरूले माग गरेको स्थानमा पुल निर्माण नभएसम्म काम अघि बढाउन नदिने अडान राखेका छन्। आफ्नो मागअनुसार पुल निर्माण हुने सुनिश्चितता भए आवश्यक सहजीकरण गर्न तयार रहेको उनीहरूले बताएका छन्।
पुल निर्माणको जिम्मा पाएको निर्माण व्यवसायीका प्रतिनिधि सागर भट्टराईले स्थानीयको विवाद नभएको भए निर्माण कार्य यसअघि नै अघि बढिसक्ने बताए। उनले पुल निर्माणका लागि आवश्यक वातावरण बनाउन जिल्ला प्रशासन कार्यालयसँग आग्रह गरे।
पुल सेक्टर नम्बर–५ सुर्खेतका कार्यालय प्रमुख देवेन्द्र भट्टराईले डीपीआरमा उल्लेख भएकै स्थानमा पुल निर्माण गर्न सके प्रक्रिया छिटो अघि बढ्ने बताए। तर, प्रस्तावित स्थानमा पुल बनाउन नहुने स्थानीयको मागका कारण निर्माणमा ढिलाइ भएको उनले स्वीकार गरे।
छलफलमा सहभागी सबइन्जिनियर नवराज शर्मा र पुल सेक्टरका इन्जिनियर महेश विकले पनि पुल निर्माणको अवस्थाबारे जानकारी गराएका थिए।
प्रमुख जिल्ला अधिकारी हमालले खदाङ पुल निर्माणसम्बन्धी विवाद समाधान गरी निर्माण कार्य तत्काल अघि बढाउन पहल गरिने बताइन्। खदाङको विवादका कारण छलगाडतर्फको पुल निर्माणसमेत रोक्न नहुने भन्दै उनले अन्य स्थानको निर्माण कार्यलाई तीव्रता दिन निर्देशन दिइन्।
‘पुल निर्माणमा अनेकथरी बहाना बनाएर काम रोक्नु हुँदैन,’ उनले भनिन्, ‘खदाङको विवाद समाधानका लागि आवश्यक पहलकदमी गर्छौं र अन्य स्थानको निर्माण कार्यलाई समेत प्रभावित हुन दिँदैनौँ।’
खदाङ पुल निर्माणको विषयमा यसअघि पनि पटक–पटक स्थानीयसँग छलफल हुँदै आएको थियो। तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री माधव चौलागाईं डोल्पा पुगेका बेला पनि विवाद समाधानको प्रयास भएको स्थानीयले बताएका छन्। त्यसबेला विवाद टुंगिएको भनिए पनि समस्या अझै कायम रहेको उनीहरूको भनाइ छ।
स्थानीयले त्रिपुरासुन्दरी नगरपालिकाका नगरप्रमुखले समेत पुल निर्माणका विषयमा पटक–पटक झुक्याउने गरेको आरोप लगाएका छन्।
मंगलबारको छलफलपछि सबै सरोकारवालाको चासो समेटेर थप समन्वय र पहल गर्ने तथा आवश्यक अध्ययन र छलफल अघि बढाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी हमालले जानकारी दिइन्।
ठेक्का सम्झौता भएको पाँच वर्ष पुग्न लाग्दासमेत निर्माण कार्यले गति लिन नसक्दा भेरी करिडोरको उक्त खण्डमा आवतजावत र सडक पूर्वाधार विकासमा समेत असर परेको स्थानीयको भनाइ छ।
प्रतिक्रिया 4