+
+
Shares

पत्रकार धरपकड : प्रहरी प्रवक्ताले हटाए मध्यरातिको वक्तव्य

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १४ गते ११:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल प्रहरीले पत्रकार पक्राउबारे प्रष्टीकरण दिन ह्वाट्सएप ग्रुपमार्फत जारी गरेको विज्ञप्ति शनिबार बिहान मेटाएको छ।
  • प्रहरीले सञ्चारकर्मीलाई बोलाउने कार्य प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप नभई नियमित कार्यसम्पादनअन्तर्गतको कदम भएको दाबी गरेको थियो।
  • शुक्रबार प्रहरीले नयाँ पत्रिका कार्यालय घेराउ गर्दै केही पत्रकारलाई पक्राउ गरेर पछि छाडेको थियो।

१४ कात्तिक, काठमाडौं । नेपाल प्रहरीले पत्रकार पक्राउबारे प्रष्टीकरण दिन जारी गरेको विज्ञप्ति मेटाएको छ ।

प्रवक्ता अभिनारायण काफ्लेले गएराति १ बजेर ४० मिनेटमा ह्वाट्सएप ग्रुपमार्फत प्रष्टीकरण दिन जारी गरेको विज्ञप्तिलाई प्रहरीले शनिबार बिहान मेटाएको हो ।

प्रहरीले सञ्चारकर्मीलाई बोलाउने कार्यलाई आफ्नो नियमित कार्यसम्पादनअन्तर्गतको कदम भन्दै यसको उद्देश्य प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गर्नु नभएको दाबी गरेको थियो । ‘त्यस्ता प्रचारबाजीको सत्यता, तथ्यपरकता र कानुनी आधारका बारेमा सामान्य जानकारी लिने उद्देश्यले नेपाल प्रहरीको साइबर ब्युरोले केही सञ्चारकर्मीहरूलाई कार्यालयमा बोलाएको कार्य प्रहरीको कार्यसम्पादनअन्तर्गतको सही मनसाय हो,’ प्रहरीको वक्तव्यमा भनिएको थियो ।

नेपाल प्रहरीले शुक्रबार नयाँ पत्रिका कार्यालयमा साढे २ घण्टा घेराउ गर्दै पत्रकार पक्राउ गर्न खोजेको थियो । केही पत्रकारलाई पक्राउ पछि छाडेको थियो ।

उक्त प्रकरणमा प्रधानमन्त्रीको सचिवालय र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अनभिज्ञता प्रकट गरेको थियो । तर प्रहरीले राति वक्तव्य जारी गर्दै प्रधानमन्त्री कार्यालयकै चासो पछि खटिएको प्रस्ट्याएको थियो ।

प्रहरीविरुद्ध पछिल्लो समय सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा गलत समाचार र सन्देशहरू निरन्तर प्रचार भइरहेको भन्दै त्यसले प्रहरीको व्यावसायिकता, सर्वसाधारणको विश्वास, सरकार र प्रहरी संगठनबीचको सम्बन्ध तथा अनुसन्धान प्रक्रियामा नकारात्मक असर पार्न सक्ने विषयमा प्रधानमन्त्री कार्यालयले चासो व्यक्त गरेको प्रहरीको भनाइ थियो ।

प्रधानमन्त्री कार्यालयबाट भएको उक्त चासोलाई सम्बोधन गर्ने क्रममा साइबर ब्युरोले केही सञ्चारकर्मीलाई कार्यालयमा बोलाएर प्रहरीविरुद्ध भइरहेका प्रचारबाजीको सत्यता, तथ्यपरकता र कानुनी आधारबारे सामान्य जानकारी लिने काम गरेको प्रहरीको वक्तव्यमा उल्लेख थियो ।

यस्तो थियो प्रहरीले ह्वाट्सएप ग्रुपमा पठाएको वक्तव्य

हालका दिनहरूमा नेपाल प्रहरीविरुद्ध गलत समाचार तथा सन्देशहरू सामाजिक सञ्जाल र सञ्चारमाध्यमहरूमा निरन्तर प्रचार भइरहेको सन्दर्भमा यस्ता सन्देशहरूले प्रहरीको व्यावसायिकता, सर्वसाधारणप्रतिको विश्वास, सरकार र प्रहरी संगठनबिचको सम्बन्ध, अनुसन्धानलगायतका विषयमा जनमानसमा नकारात्मक भावना जाने विषयलाई लिएर प्रधानमन्त्री कार्यालयबाट भएको चासोप्रति क्रियाशील हुँदै, सो सम्बन्धमा त्यस्ता प्रचारबाजीको सत्यता, तथ्यपरकता र कानुनी आधारका बारेमा सामान्य जानकारी लिने उद्देश्यले नेपाल प्रहरीको साइबर ब्युरोले केही सञ्चारकर्मीहरूलाई कार्यालयमा बोलाएको कार्य प्रहरीको कार्यसम्पादनअन्तर्गतको सही मनसाय हो ।

यसलाई मनन गर्दा सुरक्षित समाजको निर्माण गर्न सबै जनमानसमा सहयोग पुग्ने अवस्थाको सिर्जना हुन्छ। राज्यको चौथो अंग प्रेसप्रति नेपाल प्रहरी जहिले पनि सकारात्मक भावनाका साथ प्रेस स्वतन्त्रता र सञ्चारकर्मीहरूको सुरक्षाप्रति सदैव प्रतिबद्ध र कटिबद्ध रहने व्यहोरा सम्बन्धित सबैमा अनुरोध गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?