+
+
Shares

मृत भनिएका पदम घर फर्किएपछि…

छोरा गुमाएको शोक परेको भन्दै परिवारले यसपालिको दशैंमा टीकासमेत लगाएन । तर, उनी दशैंको पूर्णिमाका दिन जीवितै घर फर्किए ।

हरि अधिकारी हरि अधिकारी
२०८३ कात्तिक १२ गते १३:०४

१२ कात्तिक, विराटनगर । मोरङको लेटाङ नगरपालिका– ५ खेरुवाका ३६ वर्षीय पदमबहादुर राय क्षेत्री बेलाबेला घरबाट हिँड्थे । मानसिक स्वास्थ्य सामान्य भन्दा कमजोर रहेका उनी कहिले आफैं घर फर्कन्थे, कहिले परिवारले खोजेर ल्याउँथे ।

गत २०८२ को माघमा भने घरबाट निस्किएका उनी फर्किएनन् । परिवार फर्किएर आउने आशमा थियो ।

गत २६ जेठमा सुनसरीको बराहक्षेत्र नगरपालिकामा –४ चतरा पकली खण्डमा मोटरसाइकलको ठक्करबाट एक जना घाइते भए । प्रहरीका अनुसार जेम्स चौधरीले चलाइरहेका प्र.१-०४-००१ प.३६०४ नम्बरको मोटरसाइकलको ठक्करबाट घाइते भएका उनकाे विराट टिचिङ अस्पताल २७ जेठ दिउँसाे १ बजे मृत्यु भयाे । पहिचान हुन नसकेको शवको हुलिया माघदेखि हराइरहेका पदमबहादुरसँग मिल्दोजुल्दो थियो ।

शव पहिचान हुन नसकेपछि कोशी अस्पतालको शवगृहमा राखेर प्रहरीले आफन्तको खोजीका लागि हुलियासहित सार्वजनिक सूचना जारी गर्‍यो ।

सूचनाका आधारमा अस्पताल पुगेकी पदमबहादुरकी आमाले शव आफ्नै छोराको भएको भन्दै सनाखत गरेकी थिइन् । त्यसपछि प्रहरीले शव परिवारलाई जिम्मा लगायो । आफन्तले चिसाङ खोलामा अन्त्येष्टि गरे ।

छोरा गुमाएको शोक परेको भन्दै परिवारले यसपालिको दशैंमा टीकासमेत लगाएन । तर, उनी दशैंको पूर्णिमाका दिन जीवितै घर फर्किए ।

पदमबहादुर घर आइपुगेपछि उनको परिवार एकातिर खुसी छ भने अर्कोतिर ‘आफ्नो छोरो भनेर कसको अन्त्येष्टि गरियो ?’ भन्ने अन्योल र त्रासमा पनि छ ।

मृत्यु संस्कार गरिसकेका व्यक्ति जीवितै घर फर्केपछि परिवारले धार्मिक विधिअनुसार उनको पुनर्जन्मको संस्कार गराएको छ ।

घटनापछि परिवारमा खुसी छाए पनि अर्काको शव जलाइएको विषयले त्रास पनि थपेको स्थानीय पत्रकार प्रशान्त निरौला बताउँछन् । ‘मृत्यु संस्कार गरिसकेको छोरो फर्किंदा परिवार खुसी छ,’ छिमेकीसमेत रहेका निरौला भन्छन्, ‘तर, दुर्घटनामा परेको शव कसको थियो र अब के होला भन्ने डर छ ।’

प्रहरीले सुरुमै डीएनए परीक्षण गरेर शव जिम्मा लगाएको भए यस्तो स्थिति नआउने उनको बुझाइ छ ।

दुर्घटना बीमाबापतको क्षतिपूर्ति समेत बुझिसके अभिभावकले

पदमबहादुर घर फर्किएपछि इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक सागर साहको टोली उनको घर पुगेर वस्तुस्थिति बुझेको थियो । उनी लामो समय कहाँ र कसरी बसे भन्ने कुरा अझै स्पष्ट हुन सकेको छैन । अहिले पनि उनको मानसिक अवस्था कमजोर नै छ ।

जेठको दुर्घटनापछि परिवारले दुर्घटना बीमाबापतको क्षतिपूर्ति रकमसमेत बुझिसकेको प्रहरीले जनाएको छ । पदमबहादुर जीवितै भेटिएपछि अब कसरी अगाडि बढाउने भन्ने अन्योलमा प्रहरी छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता तथा डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार बीमाबापत प्राप्त भएको रकम फिर्ता गर्ने प्रक्रिया अघि बढाइनेछ । ‘सरकारी अभिलेखमा बेवारिसे शवको रूपमा विवरण सच्याइनेछ,’ डीएसपी मिश्रले भने, ‘त्यसपछि जेठ महिनामा दुर्घटनामा परी ज्यान गुमाएका ती वास्तविक मृतकको पहिचानका लागि पुन: अनुसन्धान सुरु हुनेछ ।’

लेखक
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?