News Summary
Generated by OK AI. Editorially reviewed.- धनकुटा नगरपालिका–९ छिम्सुवाका किशोर भण्डारीले तमोर नदीको बगरमा ड्रागन फल, एप्पल बयर, केरा र अन्य बाली खेती विस्तार गरेका छन्।
- भण्डारीले करिब तीन वर्षअघि पाँच रोपनीमा ३ सय बिरुवाबाट ड्रागन फल खेती शुरू गरेका थिए र अहिले करिब नौ रोपनीमा विस्तार गरेका छन्।
- उनले कृषि व्यवसायबाट वार्षिक १५ लाख रुपैयाँभन्दा बढी आम्दानी भइरहेको र दुईदेखि चार वर्षभित्र २ देखि ४ करोड रुपैयाँ कारोबार पुर्याउने लक्ष्य रहेको बताए।
- कृषि ज्ञान केन्द्र धनकुटाले सुख्खा तथा कम पानी हुने क्षेत्रमा ड्रागन फल खेतीप्रति किसानको आकर्षण बढेको र अनुदान कार्यक्रम तयारी भइरहेको जनाएको छ।
१५ कात्तिक, धनकुटा । नेपालका धेरै स्थानमा खेतीयोग्य जमिन बाँझो छ भने परम्परागत खेतीबाट किसानले पर्याप्त आम्दानी गर्न सकेका छैनन् । जमिनको प्रकृति, सिँचाइ अभाव र बजारको चुनौतीका कारण कतिपय स्थानमा खेतीप्रतिको आकर्षणसमेत घट्दै गएको छ । तर, उपयुक्त बाली छनोट, प्रविधिको प्रयोग र बजारको सम्भावना पहिचान गर्न सके कम उत्पादन दिने जमिनबाट पनि राम्रो आम्दानी लिन सकिन्छ भन्ने उदाहरण धनकुटा नगरपालिका–९ छिम्सुवाका किशोर भण्डारीले दिएका छन् ।
चारैतिर बालुवा नै बालुवा । न मलिलो माटो, न पर्याप्त पानीको सुविधा । सामान्यतया खेती गर्न कठिन मानिने तमोर नदीको बगरमा अहिले हरियाली छाएको छ । लहरै फैलिएका ड्रागन फलका बोट, कतै फलले भरिन थालेका बिरुवा त कतै नयाँ बालीका लागि तयार पारिएका संरचना । कुनै बेला खेतीका लागि अनुपयुक्त मानिने यही जमिन अहिले आम्दानीको स्रोत बनेको छ ।
परम्परागत सोचभन्दा फरक ढङ्गले खेती गर्ने आँट गरेका भण्डारीले बालुवा र ढुङ्गाले भरिएको जमिनलाई व्यावसायिक कृषि उद्यमको आधार बनाएका छन् । उनको प्रयासले खेती गर्न उर्वर जमिन नै चाहिन्छ भन्ने मान्यतालाई चुनौती दिएको छ ।
करिब तीन वर्षअघि भण्डारीले तमोर नदीको बगरमा ड्रागन फल खेती सुरु गरेका थिए । सुरुमा करिब पाँच रोपनी क्षेत्रफलमा तीन सय बिरुवा लगाएर खेती सुरु गरेको उनले बताए । सुख्खा तथा बलौटे जमिनमा पनि उत्पादन लिन सकिने सम्भावना देखेपछि आफूले यो खेती रोजेको उनको भनाइ छ ।
नयाँ बाली भएकाले सुरुवातमा उत्पादन र बजार दुवै चुनौतीपूर्ण थिए । तर उत्पादन हुन थालेपछि बजारमा राम्रो माग देखियो । ड्रागन फलको मूल्यसमेत राम्रो पाएपछि उनको आत्मविश्वास बढ्दै गयो । त्यसपछि खेती विस्तार गर्ने योजना बनाएर अहिले करिब नौ रोपनी क्षेत्रफलमा ड्रागन फल खेती गरिरहेको उनले बताए ।

ड्रागन फल खेतीबाट सुरु भएको उनको कृषि यात्रा अहिले बहुबाली खेतीसम्म पुगेको छ । एउटै बालीमा निर्भर हुँदा जोखिम बढी हुने र वर्षभरि नियमित आम्दानी गर्न कठिन हुने भएकाले जमिनको प्रकृति तथा हावापानीअनुसार विभिन्न फलफूल र तरकारी खेती विस्तार गरेको उनले बताए ।
हाल उनले करिब पाँच रोपनीमा एप्पल बयरका पाँच सय बोट लगाएका छन् । त्यस्तै, करिब १५ रोपनी क्षेत्रमा स्थानीय मालभोग जातको केरा खेती विस्तार गरेका भण्डारीले यस वर्ष जी–नाइन जातको केरा पनि परीक्षणका रूपमा लगाएका छन् । त्यसैगरी म्याकाडेमिया, आँप, एभोकाडो र टमाटर खेतीसमेत गरेका छन् । बगरको जमिनदेखि माथिल्लो भागसम्म उपलब्ध क्षेत्रको उपयोग गर्दै उनले विभिन्न बालीको सम्भावना परीक्षण गरिरहेको बताए ।
ड्रागन फलले दिलायो बजारको विश्वास
भण्डारीका लागि ड्रागन फल खेती व्यावसायिक कृषिको पहिलो खुड्किलो बनेको छ । सुरुमा नयाँ बालीका रूपमा लगाइएको ड्रागन फल अहिले आम्दानीको महत्त्वपूर्ण आधार बनेको उनको भनाइ छ ।
सुरुमा ड्रागन फल प्रतिकिलो पाँच सय रुपैयाँसम्म बिक्री भएको भण्डारी बताउँछन् । अहिले सिजन र बजारको अवस्थाअनुसार प्रतिकिलो दुई सय ५० देखि तीन सय रुपैयाँसम्म बिक्री भइरहेको छ ।
उत्पादन खरिद गर्न ग्राहक तथा व्यापारी खेतीस्थलमै आउने गरेका छन् । यसले बजार खोज्दै विभिन्न स्थानमा पुग्नुपर्ने झन्झटसमेत कम गरेको छ । उत्पादनको गुणस्तर र मागका कारण बगानमै आएर फल खरिद गर्ने ग्राहक बढेको उनी बताउँछन् ।
ड्रागन फलको बजार सम्भावना देखेपछि नै आफूले अन्य फलफूल तथा तरकारी खेतीमा समेत लगानी बढाएको भण्डारीको भनाइ छ ।
बाली विविधीकरणबाट आम्दानी बढाउने योजना

कृषिमा एउटै बालीमा निर्भर हुँदा उत्पादनमा समस्या आए आम्दानी प्रभावित हुन सक्छ । त्यसैले भण्डारीले विभिन्न समयमा उत्पादन दिने फलफूल तथा तरकारीलाई प्राथमिकता दिएका छन् ।
ड्रागन फलपछि एप्पल बयर खेती सुरु गरेका उनले अहिले त्यसका करिब पाँच सय बोट हुर्काइरहेका छन् । बोटको आकार र उमेर बढ्दै जाँदा उत्पादन पनि बढ्ने अपेक्षा उनको छ । नयाँ लगाइएका बालीले आगामी दुईदेखि चार वर्षभित्र राम्रो उत्पादन दिने विश्वास उनले व्यक्त गरे ।
केरा खेतीमा पनि उनले नयाँ जातको परीक्षण गरिरहेका छन् । स्थानीय मालभोग जातसँगै जी–नाइन जातको केरा लगाएर उत्पादनको सम्भावना बुझ्ने प्रयास गरेको उनले बताए । त्यस्तै, म्याकाडेमिया र एभोकाडो खेतीलाई पनि भविष्यको आम्दानीको आधार बनाउने उनको योजना छ ।
तरकारी खेतीतर्फ टमाटरलाई प्राथमिकता दिएका भण्डारीले यसअघि करेला खेतीको अनुभव पनि लिएका थिए । तर करेला उत्पादनमा बढी मेहनत गर्नुपर्ने र बजारको समस्या हुने भएकाले अपेक्षित आम्दानी लिन नसकेको उनको अनुभव छ ।
सिँचाइ व्यवस्थापनमा सहयोग
तमोर नदीको बगरमा खेती विस्तार गर्दा सबैभन्दा ठूलो चुनौती सिँचाइ व्यवस्थापन हो । बलौटे जमिनमा पानी टिकाउन कठिन हुने भएकाले नियमित सिँचाइको व्यवस्था नगरी व्यावसायिक खेती सम्भव छैन ।
यसलाई ध्यानमा राखेर भण्डारीले सिँचाइको व्यवस्थापन गरेका छन् । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी)को आर्थिक सहयोग र पर्डेप नेपाल धनकुटाको प्राविधिक सहयोगमा सिँचाइका लागि पोखरी निर्माण गरिएको छ । यसबाट खेतीका लागि आवश्यक पानी व्यवस्थापन गर्न सहज भएको छ । सोही सहयोग तथा सहजीकरणमा केरा खेतीसमेत विस्तार गरिएको हो ।
भण्डारीको कृषि उद्यमबाट केही स्थानीयले रोजगारीसमेत पाएका छन् । खेती विस्तारसँगै कामदारको आवश्यकता बढेको छ । रोजगारीको खोजीमा अन्यत्र जाने युवाका लागि आफ्नै ठाउँमा कृषि व्यवसायमार्फत अवसर सिर्जना गर्न सकिने उनले बताए ।
वार्षिक आम्दानी १५ लाखभन्दा बढी, लक्ष्य करोडौँको कारोबार

अहिले कृषि व्यवसायबाट वार्षिक १५ लाख रुपैयाँभन्दा बढी आम्दानी भइरहेको भण्डारीले बताए । विभिन्न बालीको उत्पादन बढ्दै जाँदा आम्दानीसमेत बढ्ने उनको भनाइ छ ।
अहिले लगाइएका एप्पल बयर, म्याकाडेमिया, एभोकाडो र अन्य फलफूलका बोटले पूर्ण उत्पादन दिन थालेपछि कृषि व्यवसायलाई थप ठूलो आकारमा विस्तार गर्न सकिने उनले बताए ।
आगामी दुईदेखि चार वर्षभित्र वार्षिक दुईदेखि चार करोड रुपैयाँसम्मको कारोबार पुर्याउने लक्ष्य रहेको भण्डारीले बताए । त्यसका लागि अहिले नै विभिन्न जातका फलफूल तथा तरकारी खेती विस्तार गर्दै बजारको सम्भावना खोजिरहेको उनको भनाइ छ ।
धनकुटामा बढ्दै ड्रागन फल खेतीको आकर्षण
धनकुटामा पछिल्लो समय सुख्खाग्रस्त तथा कम पानी हुने क्षेत्रमा पनि ड्रागन फल खेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ । धनकुटा नगरपालिका र साँगुरीगढी गाउँपालिकाका विभिन्न क्षेत्रमा यसको खेती विस्तार हुन थालेको छ ।
परम्परागत बालीबाट अपेक्षित आम्दानी लिन नसकेका किसानले वैकल्पिक खेतीका रूपमा ड्रागन फललाई अपनाउन थालेका छन् । जमिनको प्रकृति र हावापानीअनुसार उपयुक्त प्रविधि अपनाउन सके कम पानी हुने क्षेत्रमा समेत व्यावसायिक खेती गर्न सकिने सम्भावना रहेको कृषि ज्ञान केन्द्र धनकुटाले जनाएको छ ।
केन्द्रले व्यावसायिक खेती गर्ने किसानलाई प्रोत्साहन गर्दै आएको जनाएको छ । विगतमा अनुदानका कार्यक्रम सञ्चालन गरिएको र अहिले किसानलाई आवश्यकताअनुसार विशेषज्ञ सेवा तथा प्राविधिक परामर्श उपलब्ध गराउँदै आएको कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्र राना मगरले बताए ।
उनले चालु आर्थिक वर्षदेखि अनुदानका कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको पनि जानकारी दिए । अनुदानका लागि ज्ञान केन्द्रले आवेदन खुलाएको र कृषकले आवेदन दिएपछि छनोट गरिने उनले बताए । अनुदान कार्यक्रम ड्रागन फल खेतीका लागि मात्रै नभएर व्यावसायिक किसानका लागि रहेको मगरले स्पष्ट पारे ।
प्रतिक्रिया 4