१५ कात्तिक, काठमाडौं । अमेरिकाको एक अदालतले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वाल स्ट्रिट जर्नल पत्रिका र यसका मालिक रुपर्ट मर्डकविरुद्ध हालेको अर्बौं डलरको मानहानि मुद्दा खारेज गरिदिएको छ।
उक्त पत्रिकाले एक रिपोर्टमा ट्रम्पको सम्बन्ध बदनाम धनाढ्य व्यापारी जेफ्री एप्स्टिनसँग रहेको दाबी गरेको थियो।
रिपोर्टका अनुसार, सन् २००३ मा एप्स्टिनको ५०औँ जन्मदिनको एउटा एल्बममा एउटा चिठी फेला परेको थियो, जसमा ट्रम्पको नाम लेखिएको थियो। उक्त चिठीमा एक निर्वस्त्र महिलाको स्केच कोरिएको थियो र अन्त्यमा जन्मदिनको शुभकामना दिइएको थियो।
ट्रम्पले यसलाई झुटो भएको दाबी गर्दै आफूले त्यस्तो कुनै चिठी नलेखेको र यसले आफ्नो छविमा भारी नोक्सान पुर्याएको बताएका थिए। तर, मियामीका न्यायाधीश ड्यारिन गेल्सले यो मुद्दा रद्द गरिदिएका छन्।
ट्रम्पले पत्रिकाले जानीजानी वा दुर्भावनापूर्ण तरिकाले उक्त समाचार छापेको थियो भनेर प्रमाणित गर्न नसेकको न्यायाधीशले तर्क गरेका छन् । उनका अनुसार, उनका दलीलहरू निराधार थिए।
न्यायाधीशले भने- ट्रम्पका दलिल निराधार
न्यायाधीशले यो पनि भने कि ट्रम्प जबरजस्ती पत्रिकाको खोजबिनमा कमीकमजोरी निकाल्ने प्रयास गरिरहेका थिए।
अदालतले यो फैसला स्थायी रूपमा सुनाएको हो, जसको अर्थ अब ट्रम्पले यस मामिलालाई फेरि अदालतमा लैजान पाउने छैनन्।
करोडपति फाइनान्सर थिए यौन अपराधी एप्स्टिन
जेफ्री एप्स्टिन न्युयोर्कका करोडपति फाइनान्सर थिए। उनको ठूला नेता र सेलिब्रेटीहरूसँग मित्रता थियो।
सन् २००५ मा उनीमाथि नाबालिग बालिकासँग यौन दुर्व्यवहार गरेको आरोप लागेको थियो। सन् २००८ मा उनलाई नाबालिगसँग यौनसम्पर्कको माग गरेकोमा दोषी ठहर गरिएको थियो।
त्यसपछि उनलाई १३ महिनाको जेल सजाय भएको थियो।
सन् २०१९ मा जेफ्रीलाई सेक्स ट्राफिकिङको आरोपमा पक्राउ गरिएको थियो। तर, मुद्दाको सुनुवाइ हुनुअघि नै उनले जेलमा आत्महत्या गरेका थिए।
उनकी पार्टनर घिस्लेन म्याक्सवेललाई सन् २०२१ मा उनलाई सहयोग गरेको आरोपमा दोषी ठहर गरिएको थियो। हाल उनी २० वर्षको जेल सजाय काटिरहेकी छन्।
(एजेन्सीहरूको सहयोगमा)
प्रतिक्रिया 4